ahnsahnghong.com is provided in English. Would you like to change to English?

येशूज्यू र दाऊदबीचको सम्बन्ध (२)
: सियोन केन्द्रित

15767 읽음

बाइबलमा दाऊद र येशूज्यूबीच अगमवाणी र पूर्णताको सम्बन्ध रहेको छ । शारीरिक रूपमा ख्रीष्टको पुर्खा रहेका दाऊदको कार्यलाई हेरेमा येशूज्यूले गर्नुहुने कार्यबारे सजिलै जान्न सकिन्छ । दाऊदका उपलब्धिहरूमा अगमवाणीगत तत्त्वहरू रहेका छन्, जसमध्येको एक नै सियोन निर्माणको कार्य हो । बाइबलमा सियोन दुई किसिमका छन् : दाऊदले स्थापना गरेको प्यालेस्टाइनको भौतिक सियोन, अनि आत्मिक दाऊद हुनुभएका येशूज्यूले स्थापना गर्नुभएको आत्मिक सियोन ।

दाऊद र येशूज्यूबीचको अगमवाणीगत सम्बन्ध

“मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ । … मेरो दास दाऊद सदासर्वदाको निम्ति तिनीहरूको राजकुमार हुनेछ ।” इज ३७:२४-२५

इजकिएलको पुस्तकचाहिँ दाऊदको मृत्यु भएको करीब ४५० वर्षपछि लेखिएको हो । त्यसैले यो वचन, पुरानो करारको समयमा जिएका शारीरिक दाऊदसम्बन्धी अगमवाणी होइन । त इजकिएल अगमवक्ताले अगमवाणी गरेका, ‘सदासर्वदाको राजकुमार, दाऊद’ले कसलाई जनाएको होला ?

“अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।” लूक १:३१-३२

लूकाको पुस्तकमा येशूज्यूलाई दाऊदको सिंहासन दिइएको व्यक्ति भनिएको छ । यसकारण बाइबलको अगमवाणीका राजा दाऊदचाहिँ येशूज्यू, अर्थात् शरीरमा आउनुभएका परमेश्वर हुनुहुन्छ । भविष्यमा आउनुहुने ख्रीष्टसम्बन्धी अगमवाणी गरिएका बाइबलका असंख्य पात्रहरूमध्ये दाऊदलाई नै चुनिनुको कारणचाहिँ, पुरानो करारको समयमा दाऊदले गरेका कार्यद्वारा पछि येशूज्यूले गर्नुहुने कार्यबारे जान्न सकिने भएकोले गर्दा हो ।

सियोन निर्माण गरेका दाऊद

दाऊदका उल्लेखनीय उपलब्धिहरूमध्येको एक नै सियोन निर्माणको कार्य हो । मिश्रबाट निस्केका इस्राएलीहरू कनानमा प्रवेश त गरे तर तिनीहरूले लामो समयसम्म सियोन कब्जा गर्न सकेका थिएनन् । इस्राएलमा धेरै अगुवाहरू भए पनि सियोन कब्जा गर्न सक्ने व्यक्ति कोही थिएन । तर दाऊद राजा हुनेबित्तिकै तिनले सियोन कब्जा गरे, र त्यसलाई इस्राएलको राजधानी बनाए । त्यसैले बाइबलमा सियोनलाई दाऊदको सहर भनिएको छ ।

तापनि दाऊदले सियोनको गढी, दाऊदको सहर लिइहाले । … दाऊद त्यही गढीमा बस्न लागे, र त्यसको नाउँ दाऊदको सहर राखे । दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढीका चारैतिर सहर बनाए । अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो । २ शमू ५:७-१०

दाऊद र येशूबीच अगमवाणी र पूर्णताको सम्बन्ध भएकोले दाऊदले सियोन निर्माण गरेका कार्यचाहिँ येशूज्यूले दाऊदको रूपमा आत्मिक सियोन निर्माण गर्नुहुने विषयको अगमवाणी हो । येशूज्यू पापीहरूलाई बचाउन आउनुभयो । येशूज्यूले निर्माण गर्नुहुने आत्मिक सियोनचाहिँ ‘परमेश्वरका चाडहरू मनाइने ठाउँ’ हो, र यहाँ बस्ने परमेश्वरका मानिसहरूका पाप क्षमा गरिनेछन् ।

हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्, एउटा शान्तिमय वासस्थान … त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । यशै ३३:२०-२४

यसरी बाइबलको अगमवाणीअनुसार येशूज्यूले नयाँ करारका चाडहरू मनाइने परमेश्वरको मण्डली स्थापना गर्नुभएर आत्मिक सियोन निर्माण गर्नुभयो । येशूज्यूले चेलाहरूसँगै निस्तार-चाड मान्नुभएर पाप-क्षमा र अनन्त जीवनको आशिष् दिने प्रतिज्ञा गर्नुभयो (मत्ती २६:१७-२८), अनि छाप्रो-वासको चाड मान्नुहुँदै जीवनको पानीको आशिष्‌, र पेन्तिकोसको दिनमा पवित्र आत्मा खन्याइदिनुभयो (यूह ७:२, ३७-३९; प्रे २:१-४) । यसको अतिरिक्त उहाँले साप्ताहिक चाड शबाथ-दिन पनि मान्नुभयो (लूक ४:१६) । पुरानो करारको समयमा राजा दाऊदले भौतिक सियोन निर्माण गरेजस्तै, आत्मिक राजा दाऊदको रूपमा आउनुभएका येशूज्यूले नयाँ करारका चाडहरूद्वारा आत्मिक सियोन निर्माण गर्नुभयो ।

चाडहरू लोप भएपछि सियोन भग्नावशेष

येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारका चाडहरू प्रेरितहरूको युगको अन्त्यतिरदेखि बिस्तारै फेरिन थालेर अन्त्यमा सबै हटाइयो । ई.सं. ३२१मा शबाथ-दिन हटाइएर आइतबारको सेवा भित्र्याइयो । ई.सं. ३२५मा निस्तार-चाड हटाइयो, र सूर्य देवताको जन्मदिन रहेको डिसेम्बर २५लाई क्रिसमस भन्ने नाम दिएर भित्र्याइयो । यो नै सर्वोच्चको विरुद्धमा बोल्ने शैतानले, परमेश्वरका ठहराइएका समय र व्यवस्था अर्थात् चाडहरू फेर्न प्रयत्न गर्नेछ भन्ने बाइबलको अगमवाणीको पूर्णता हो (दान ७:२५) ।

सियोनचाहिँ चाडहरू मनाइने ठाउँ भएकोले परमेश्वरका चाडहरू लोप हुनु भनेको नै सियोन ढलेर भग्नावशेष हुनु भन्ने अर्थ हो । यशैया अगमवक्ताले पनि सियोन भग्नावशेष हुने र पछि पुनर्स्थापना हुने कुराबारे अगमवाणी गरे ।

परमप्रभुले निश्चय नै सियोनलाई सान्त्वना दिनुहुनेछ, र उहाँले त्यसका सब भग्नावशेषहरूलाई दयाको दृष्टिले हेर्नुहुनेछ । अनि त्यसको मरुभूमिलाई अदनझैँ, र त्यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ । … यशै ५१:३

अनन्त जीवन र पाप-क्षमा आदि परमेश्वरको आशिष्‌को प्रतिज्ञा गरिएका चाडहरू लोप भएर सियोन सधैँभरि भग्नावशेष अवस्थामै रह्यो भने कसैले पनि मुक्ति पाउन सक्दैन । मानव-जातिको मुक्तिको निम्ति सियोन जसरी पनि पुनर्निर्माण हुनैपर्छ । त्यसैले भग्नावशेष भएको सियोनलाई परमेश्वरले सान्त्वना दिनुहुनेछ, र त्यसलाई पुनर्निर्माण गर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।

सियोन पुनर्निर्माण गर्नुभएका परमेश्वर

पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । मीका ४:१-२

‘परमप्रभुका मन्दिरको पहाड’ले परमेश्वरको मन्दिर भएको ठाउँ सियोनलाई जनाउँछ । पछिल्ला दिनहरूमा धेरै जातिहरू सियोनमा ओइरिएर आउनेछन् भन्ने वचनभित्र, त्यो समयमा सियोन पुनर्निर्माण हुनेछ भन्ने अर्थ बोकेको छ । त्यसोभए भग्नावशेष भएको सियोनलाई कसले पुनर्निर्माण गर्नुहुन्छ होला ?

किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्नो महिमामा उहाँ प्रकट हुनुहुनेछ । … जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्यहरू एकत्रित हुनेछन् । भज १०२:१६-२२

परमेश्वरले सियोनाको पुनर्निर्माण गर्नुहुनेछ भनिएको छ । भजनसंग्रह ८७:५मा पनि सर्वोच्च प्रभु अर्थात् परमेश्वरले नै सियोनलाई स्थापित गर्नुहुनेछ भनेर लेखिएको छ । यसरी परमेश्वर स्वयम्‌ले सियोनलाई स्थापना गर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । २,००० वर्षअघि पहिलो आगमनका येशूज्यूले सियोन निर्माण गर्नुभएजस्तै, पछिल्ला दिनहरूमा पनि दोस्रो आगमनका येशूज्यू आत्मिक राजा दाऊदको रूपमा आउनुभएर सियोन निर्माण गर्नुहुनेछ (होशे ३:५) । सियोन भनेको नयाँ करारका चाडहरू मनाइने मण्डली हो । त्यसैले लोप भएका चाडहरू पुनर्स्थापना गरेर परमेश्वरले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ ।

बाइबलको यस्तो अगमवाणीअनुसार नयाँ करारका चाडहरू फेरि खोजिदिनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । आन साङ होङज्यूले निस्तार-चाड, पेन्तिकोसको दिन, छाप्रो-वासको चाड आदि येशूज्यूले सिकाउनुभएको ३ चरणका ७ वटा चाडहरू पूर्ण रूपमा पुनर्स्थापना गरिदिनुभएको छ । ख्रीष्टियान धर्ममा व्याप्त रहेको गैर-बाइबलीय सिद्धान्तहरूलाई उहाँले सच्च्याइदिनुहुँदै प्रेरितहरूको युगको सत्यता पालन गर्ने परमेश्वरको मण्डली स्थापना गर्नुभयो । तसर्थ आन साङ होङज्यू नै पछिल्ला दिनहरूमा सियोन पुनर्निर्माण गर्नुभएका आत्मिक राजा दाऊद हुनुको साथै बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएका परमेश्वर हुनुहुन्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기