२,००० वर्षअघि मानव-जातिलाई मुक्ति दिन यहोवा परमेश्वर एक जना बालक, एक जना छोरोको रूपमा शरीर धारण गरी आउनुभयो । उहाँ नै येशू ख्रीष्ट हुनुहुन्थ्यो । एउटा गहूँको दाना माटोमा मरेर उम्रिन्छ र त्यसले सयौँ वा हजारौँ दाना फलाउँछ । त्योजस्तै, येशूज्यूले आफू मृत्युसम्म बलिदान हुनुभएर मानव-जातिलाई बचाउनुभयो । उहाँले आफ्नो अनमोल देह र रगतद्वारा नयाँ करार स्थापना गर्नुभई मुक्तिको मार्ग खोलिदिनुभयो ।
पुरानो करारको समयदेखि नै परमेश्वरले अगमवक्ताहरूद्वारा, यस अमूल्य नयाँ करारबारे पहिल्यै अगमवाणी गर्नुभएको थियो । अनि त्यसको केन्द्रबिन्दु निस्तार-चाडद्वारा येशूज्यूले, मृत्युको बन्धनमा परेका मानिसहरूलाई छुटकारा गराउनुभयो ।
पाप-क्षमाको लागि स्थापित नयाँ करार
अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूखको फल नखानू भन्नुभएका परमेश्वरको वचनमा अनाज्ञाकारी भएर आदम र हव्वाले पाप गरेकाले तिनीहरू मर्नुपर्ने भयो । योचाहिँ सम्पूर्ण मानव-जातिको कहानी हो । आत्मिक रूपमा मानव-जातिले आदम र हव्वाले गरेजस्तै पाप गरेकाले सबैले मृत्युदण्ड भोग्नुपर्ने भएको हो भनेर बाइबलले बताउँदछ (रोम ३:९-१०; ६:२३) । मानव-जातिचाहिँ पाप र मृत्युबाट आफै मुक्त हुन नसक्ने दयालाग्दा अस्तित्वहरू हुन् (रोम ७:२४) । परमेश्वरले मानव-जातिमाथि कृपा गर्नुभएर तिनीहरूको पाप क्षमा गरिदिन व्यवस्थाको रूपमा नयाँ करार स्थापना गर्नुभयो ।
पुरानो करारको समयमा यहोवा परमेश्वरले इस्राएलीहरूलाई चुन्नुभयो । अनि सीनै पर्वतमा आफ्ना प्रजाको निम्ति दश आज्ञा दिनुभएर व्यवस्था अर्थात् पुरानो करार स्थापना गर्नुभयो (प्रस ३४:२८; इज २०:१०-१२) । पुरानो करारको व्यवस्थाभित्र, इस्राएलीहरूले पाप गरे भने पवित्रस्थानमा गएर होमबलिको वेदीमा पशुको रगत बगाई पाप-क्षमाको अनुग्रह पाउने धर्मविधि थियो (लेवी ४:१-३५) ।
नयाँ करार स्थापना गर्नेछु भन्नुभएका परमेश्वर
इस्राएलीहरूले परमेश्वरको व्यवस्थालाई लगातार उल्लङ्घन गरेका पापले गर्दा श्राप पाएर नष्ट भए । यस सम्बन्धमा प्रेरित पावलले “व्यवस्थाले पाप निम्त्याउँछ” भनेका छन् (रोम ७:७-११) ।
परमेश्वरका प्रजाले व्यवस्था(पुरानो करार)लाई उल्लङ्घन गरेर मृत्युमा पुगेका अवस्थामा यहोवा परमेश्वरले, पालन गर्ने जो कोहीले पनि जीवन पाउन सक्ने व्यवस्था नयाँ करार स्थापना गर्नेछु भन्नुभयो । अनि उहाँचाहिँ नयाँ करार पालन गर्नेहरूका परमेश्वर हुनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभयो ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोऱ्याएर ल्याएको थिएँ ।” परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ ।” … “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।” यर ३१:३१-३३
नयाँ करार स्थापना गर्नुभएका येशू ख्रीष्ट
यर्मिया अगमवक्ताको अगमवाणीअनुसार यहोवा परमेश्वर ‘येशू’ नाउँमा यो पृथ्वीमा आउनुभयो, र उहाँले निस्तार-चाडद्वारा नयाँ करार स्थापना गर्नुभयो ।
… “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ …” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूक २२:१५-२०
येशूज्यूले आफ्नो रगतद्वारा नयाँ करार स्थापना गर्नुभयो । पुरानो करारको समयमा इस्राएलीहरूले पापबलिको रूपमा पशुको रगत बगाएर पाप-क्षमा पाउँथे । तर नयाँ करारको समयमा चाहिँ निस्तारको थुमाको वास्तविकता हुनुभएका येशू ख्रीष्टको रगतद्वारा पाप क्षमा पाउन सकिन्छ (१ कोर ५:७) । येशूज्यूले नयाँ करार निस्तार-चाडको दाखमद्य नै पाप-क्षमा दिलाउने नयाँ करारको रगत हो भन्नुभयो ।
… तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । … तब कचौरा पनि लिएर धन्यवाद दिई … “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:१७–२८
पशुको रगतद्वारा स्थापित पुरानो करारभित्र सम्पूर्ण व्यवस्था पालन गरेर पूर्णतः पाप क्षमा पाउनु सम्भव थिएन । तर येशूज्यूको पवित्र रगतद्वारा स्थापित नयाँ करारभित्र चाहिँ जो कोहीले सित्तैँमा पूर्णतः पाप क्षमा पाउन सक्छ (एफि १:७) ।
येशूज्यूले नयाँ करारद्वारा पूर्णतः पाप क्षमा गरिदिनुहुन्छ
पुरानो करार र नयाँ करारको विषयमा प्रेरित पावलले निम्नानुसार लेखेका छन् ।
किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन । किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” हिब्रू ८:७-८
पहिलो करारमा खोट भएकोले त्यसबाट पूर्णतः पाप क्षमा र मुक्ति पाउन सकिँदैन । तर येशूज्यूले स्थापना गर्नुभएको दोस्रो करार अर्थात् नयाँ करारचाहिँ पाप-क्षमा दिलाउने खोटरहित पूर्ण सत्यता हो । मानव-जातिको मुक्तिको निम्ति यो पृथ्वीमा आउनुभएका येशूज्यूले चेलाहरूलाई निस्तार-चाडको तयारी गर्न लगाउनुभयो, र आफ्नो जीवनको अन्तिम घडीमा उहाँले नयाँ करार निस्तार-चाड मान्नुभयो । उहाँले “मैले दुःख भोग्नु अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” भन्नुभयो । अनि मृत्यु भोग्नुपर्ने मानव-जातिलाई अनन्त जीवनको प्रतिज्ञा दिनुभयो ।
मानिसले संसारमा जन्मेर जति परिश्रम गरे तापनि उसले मृत्युलाई कहिल्यै रोक्न सक्दैन । येशूज्यूले पाप र मृत्युको साङ्लोले बाँधिएका मानव-जातिलाई जीवनका आत्माको व्यवस्था नयाँ करार निस्तार-चाडद्वारा छुटकारा र मुक्ति दिनुभयो (रोम ८:१-२) । पुरानो करारको समयमा लामो समयसम्म मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाड मानेर छुटकारा पाए (प्रस १२:१-१४) । त्यसै गरी नयाँ करारको समयमा, सन्तहरूले नयाँ करार निस्तार-चाड मानेमा तिनीहरू पाप र मृत्युबाट छुटकारा पाई स्वर्गतर्फको मार्गमा जान सक्नेछन् ।