ahnsahnghong.com is provided in English. Would you like to change to English?

बप्तिस्मा-दिने यूहन्ना र एलियाको मिसन

5190 읽음

बप्तिस्मा-दिने यूहन्नाको, येशूज्यूसँग विशेष सम्बन्ध थियो । हुन त उहाँहरू शारीरिक रूपमा पनि अन्तर्सम्बन्धित हुनुहुन्थ्यो तर उहाँहरूबीचको आत्मिक सम्बन्ध अझ महत्त्वपूर्ण थियो । बप्तिस्मा-दिने यूहन्नाचाहिँ अगमवाणीका एलियाको रूपमा परमेश्वरबाट पठाइएका अगमवक्ता थिए । तिनको मिसन भनेको यो पृथ्वीमा आउनुहुने मुक्तिदाता येशूज्यूको बाटो तयार गर्नु र उहाँको गवाही दिनु थियो । यसर्थ येशूज्यूले सुसमाचार प्रचारको कार्य गर्नुअघि नै बप्तिस्मा-दिने यूहन्नाले इस्राएलीहरूलाई पश्चात्तापको बप्तिस्मा दिएर ख्रीष्टको बाटो तयार गरे । साथै तिनले, येशूज्यू नै ‘संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा हुनुहुन्छ’ भनेर स्पष्टसँग गवाही पनि दिए (यूह १:२९) ।

बप्तिस्मा-दिने यूहन्नाको जन्म

हेरोद राजाले यहूदियामा शासन गर्दा, पूजाहारी जकरिया र हारूनको वंशकी एलीशिबाले विवाह गरेर यहूदियामा जीवन बिताइरहेका थिए । ती दुवै जना परमेश्वरका सबै आज्ञा र नियमहरू राम्ररी पालन गर्ने धार्मिक मानिस थिए । तर एलीशिबा बाँझी भएकीले तिनीहरूको कोही सन्तान थिएन ।

एक दिन जकरिया मन्दिरमा पूजाहारीको काम गरिरहेका बेला एक जना स्वर्गदूत देखा परेर तिनकी पत्नी एलीशिबाले छोरो जन्माउनेछिन्, र त्यसको नाउँ यूहन्ना राख्नू भनी बताए (लूक १:१३-१७) । यो कुरा सुनेर चकित भएका जकरियाले आफू र आफ्नी पत्नीको उमेर ढल्किसकेकोले कसरी छोरो जन्मन सक्छ र भनेर सोधे । त्यो समयदेखि तिनी गूँगो भए र बोल्न सकेनन् । तिनको छोरो जन्मिएर आठौँ दिनमा खतना भएपछि बल्ल तिनी फेरि बोल्न सक्ने भए ।

आफू बोल्न सक्ने हुनेबित्तिकै जकरियाले परमेश्वरको प्रशंसा गरे, र जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा भयो । तिनीहरूका सबै छिमेकीमा डर छायो, र सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुन्न लागे । पवित्र आत्माले भरिएर जकरियाले तिनको छोरो सर्वोच्चका अगमवक्ता हुनेछ र मुक्तिदाताको अगि बाटो तयार गर्नेछ भनेर अगमवाणी कहे (लूक १:७६-७७) ।

एलियाको मिसन पूरा गरेका बप्तिस्मा-दिने यूहन्ना

बप्तिस्मा-दिने यूहन्ना जब हुर्किए तब तिनले अगमवाणीका एलियाको मार्ग हिँडे । तिनले सलह र वन-मह खाएर उजाड-स्थानमा मानिसहरूलाई ‘पश्चात्ताप गर’ भन्दै कराए । अनि ऊँटका रौँको वस्त्र लगाउने र कम्मरमा छालाको पेटी बाँध्ने गरेकाले तिनी उत्तर इस्राएलका एलिया अगमवक्ताजस्तै देखिन्थे (२ राज १:८; मर्क १:६) ।

आफ्ना पापहरू स्वीकार गरेर पश्चात्ताप गर्ने मानिसहरूलाई तिनले बप्तिस्मा दिए, र धेरै मानिसहरू तिनीकहाँ ओइरिएर आए (मर्क १:४-५) । मानिसहरूले कतै तिनी ख्रीष्ट हुन् कि भनेर सोध्दा यूहन्नाले “मपछि आउनुहुने एक जना हुनुहुन्छ” भनी जवाफ दिए (यूह १:२६-२७) । अन्ततः येशूज्यू तिनीकहाँ आउनुहुँदा तिनले उहाँलाई बप्तिस्मा दिए, अनि पवित्र आत्माद्वारा प्रेरित भई तिनले उहाँ नै मुक्तिदाता हुनुहुन्छ भनी गवाही दिए (यूह १:३६) ।

यसरी बप्तिस्मा-दिने यूहन्नाको उदयचाहिँ यशैया र मलाकी अगमवक्ताद्वारा गरिएको अगमवाणीको पूर्णता थियो ।

कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ : “मरूभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । … सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्लो पर्वतमा जाऊ । यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोरसँग तिम्रो सोर उचाल, नडराऊ । यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्वर यहीँ हुनुहुन्छ !” … उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ । उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ । उहाँले स-साना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोऱ्याउनुहुन्छ । यशै ४०:३, ९, ११

“हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन् । तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।मला ३:१

एलियासम्बन्धी अगमवाणीको पूर्णताः बप्तिस्मा-दिने यूहन्ना र दोस्रो आगमनका ख्रीष्ट

अगमवाणीअनुसार यहोवा परमेश्वर ‘येशू’ नाउँमा यो पृथ्वीमा आउनुभयो । अनि बप्तिस्मा-दिने यूहन्नाले अगमवाणीका एलियाको रूपमा मरुभूमिमा गएर ‘पश्चात्ताप गर’ भनेर कराउँदै येशूज्यूको गवाही दिए । येशूज्यूले यशैया र मलाकीको पुस्तकमा अगमवाणी गरिएका एलियाचाहिँ बप्तिस्मा-दिने यूहन्ना हुन् भन्ने कुरा जानकारी दिनुभयो ।

“किनकि यूहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे । तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन् ।” मत्ती ११:१३-१४

त्यस बेलाका धार्मिक नेता रहेका फरिसीहरूले एलिया ख्रीष्टभन्दा पहिला आउनेछन् भन्ने कुरा राम्ररी बुझेका थिए (मत्ती १७:१०-१३; ११:१३-१४) । तर बाइबलमा अगमवाणी गरिएका एलिया नै बप्तिस्मा-दिने यूहन्ना हुन् भन्ने कुरा तिनीहरूले ठीकसँग बुझ्न सकेनन् । पुरानो करारको समयमा एलिया अग्निमय रथ र घोडाहरूमा माथि लगिएकाले (२ राज २:११), अगमवाणीका एलिया पनि त्यसरी नै आउनेछन् भन्ने तिनीहरूले सोचेका थिए । तिनीहरूले आफूले बाइबल राम्ररी जानेको, र विश्वास गरेको भन्ठाने तापनि वास्तवमै बाइबलका अगमवाणीहरू पूरा भइरहेको दृश्यलाई हेरे पनि देख्न नसक्ने गरी तिनीहरू आत्मिक अन्धा भएका थिए (यूह ९:३९-४१) ।

परमेश्वरको इच्छाप्रति संसार अनभिज्ञ रहेको घडीमा एलिया र ख्रीष्ट पहिल्यै यो पृथ्वीमा जन्मनुभयो । एलियाले यर्दन नदीबाट मुक्तिदाताको आगमनबारे घोषणा गरे, र यता ख्रीष्टले चाहिँ मन्दिरमा वचन सिकाइरहनुभएको थियो । येशूज्यूले “म परमेश्वर हुँ” भन्नुको सट्टा बाइबलको अगमवाणी र अगमवक्ताहरूको गवाहीद्वारा आफू नै ख्रीष्ट रहेको कुरा प्रकट गरिदिनुभयो । बप्तिस्मा-दिने यूहन्नाले येशूज्यू नै मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा गवाही दिने अगमवाणीगत भूमिका र मिसनलाई ईमानदारितापूर्वक निर्वाह गरे । तर पुरानो करार बाइबलमा एलियासम्बन्धी गरिएका अगमवाणीहरू बप्तिस्मा-दिने यूहन्नाले सबैचाहिँ पूरा गरेनन् ।

“हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु । त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, …” मला ४:५-६

परमेश्वरले २,००० वर्षअघि होइनकि परमप्रभुको त्यो महा र डरलाग्दो दिन अर्थात् न्यायको दिन आउन अघि एलियालाई पठाउनेछु भन्नुभएको छ । अन्त्यका दिनहरूमा आउनुहुने एलियासम्बन्धी यस्ता थुप्रै अगमवाणीहरू बाइबलमा अभिलेख गरिएका छन् । एलियासम्बन्धी सबै अगमवाणीहरूको पूर्णताचाहिँ दोस्रो आगमनका ख्रीष्ट आउनुभएर सबै पूरा गर्नुहुनेछ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기