अन्तिम इन्साफको दिन नजिक रहेको पछिल्ला दिनहरूमा येशूज्यू शरीरमा दोस्रो पल्ट आउनुभएर मानव-जातिलाई मुक्तिको सत्यतामा डोऱ्याउनुहुनेछ । त्यसोभए येशूज्यूको दोस्रो आगमनको समय कहिले होला ? बाइबलमा एउटा निर्णायक चिन्हद्वारा, येशूज्यूको दोस्रो आगमनको समय स्पष्टसँग जानकारी दिइएको छ । त्यो चिन्ह नै अञ्जीरको रूखको दृष्टान्त हो ।
“अञ्जीरको रूखबाट शिक्षा लेओ”
२,००० वर्षअघि चेलाहरूले येशूज्यूलाई दोस्रो आगमनको समयको चिन्हबारे सोधेका थिए (मत्ती २४:३) । त्यो समयमा येशूज्यूले आफ्नो दोस्रो आगमनको समयको बारेमा वर्णन गर्नुहुँदै अञ्जीरको रूखबाट शिक्षा लिन भन्नुभयो ।
“तब … तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” मत्ती २४:३०-३३
येशूज्यूले “अञ्जीरको रूखबाट शिक्षा लेओ” भन्नुभएपछि “जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान” भन्नुभयो । अर्थात् हामीले अञ्जीरको रूखको दृष्टान्तमा जानकारी दिइएको चिन्हलाई हेरेमा दोस्रो आगमनका येशूज्यू कहिले आउनुहुन्छ भन्ने कुरा जान्न सक्छौं भन्ने वचन हो ।
बाइबलमा अञ्जीरको रूखले केलाई जनाउँछ ?
बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई जनाउँछ (यर २४:५) । येशूज्यूले पनि इस्राएल देशलाई अञ्जीरको रूखसँग तुलना गरेर शिक्षा दिनुभएको घटना छ ।
भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो । अनि टाढामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन । तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस् ।” अनि यो भनेको उहाँका चेलाहरूले सुने । … बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो । अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ ।” मर्क ११:१२-१४, २०-२१
बाटोमा हिँड्दै जानुहुँदा येशूज्यूले एउटा अञ्जीरको रूख देख्नुभएर त्यसमा फल खोज्नुभयो तर पाउनुभएन । किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन । तरै पनि येशूज्यूले फलविहीन त्यस अञ्जीरको रूखलाई श्राप दिनुभएर जरैदेखि सुकाइदिनुभयो । अञ्जीरको रूखचाहिँ इस्राएलमा अत्यधिक मात्रामा पाइने रूख हो । अझ भन्ने हो भने येशूज्यू स्वयम् परमेश्वर हुनुभएकोले उहाँलाई अञ्जीरको रूखमा फल फल्ने समय थाहा थिएन भन्नचाहिँ मिल्दैन ।
त किन येशूज्यूले अञ्जीरको रूखलाई श्राप दिनुभएको होला ? येशूज्यूले त्यस प्राकृतिक अञ्जीरको रूखलाई श्राप दिनु मात्र भएनकि त्यो घटनाद्वारा उहाँले हामीलाई केही कुरा जानकारी दिन चाहनुभएको छ । फलविहीन अञ्जीरको रूखले, येशूज्यूलाई इन्कार गरेको इस्राएल देशलाई जनाउँछ । येशूज्यूले सुनाउनुभएको सुसमाचारलाई ग्रहण नगरी उल्टै उहाँलाई इन्कार गरेको इस्राएल देश भविष्यमा गएर इन्साफ पाई नष्ट हुनेछ भन्ने कुरा जानकारी दिन उहाँले अञ्जीरको रूखलाई श्राप दिनुभएको हो ।
अञ्जीरको रूखको दृष्टान्त र इस्राएलको विनाशबारे अगमवाणी
येशूज्यूले फेरि अञ्जीरको रूखको अर्को दृष्टान्तद्वारा पनि इस्राएलको विनाशबारे अगमवाणी गर्नुभयो ।
त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ । यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने ?’ तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु, र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनुहोस्’ ।” लूक १३:६-९
दृष्टान्तमा, ३ वर्षसम्म अञ्जीरको रूखमा फल खोज्नुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ । येशूज्यूले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर क्रूसमा टाँगिनेसम्म ३ वर्षभरि इस्राएल देशमा सुसमाचार सुनाउनुभयो । त्यसैले यो कुरालाई उहाँले ३ वर्षसम्म अञ्जीरको रूखमा फल खोज्नुभएको कुरासँग दृष्टान्त गर्नुभएको हो ।
उहाँले अञ्जीरको रूखमा फल खोज्नुभए तापनि नपाउनुभएकोले त्यस रूखलाई काटेर ढाल्न भन्नुभयो । येशूज्यूलाई इन्कार गरेर सुसमाचार ग्रहण नगरेको इस्राएल देश भविष्यमा परमेश्वरबाट इन्साफ पाई नष्ट हुनेछ भन्ने कुरा उहाँले योद्वारा चेताउनी दिनुभयो । ‘यसलाई अझै एक वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्छु’ भन्ने वचनचाहिँ येशूज्यू क्रूसमा टाँगिनुभएपछि उहाँले इस्राएल देशलाई तुरुन्त नष्ट नगर्नुभई पश्चात्ताप गर्ने मौका दिनुहुनेछ, तैपनि यदि पश्चात्ताप गरेन भने त्यो नष्ट हुनेछ भन्ने अर्थ हो ।
यो वचनअनुसार येशूज्यूले मृत्यु भोग्नुभएपछि ४० वर्षसम्म इस्राएल देशलाई पश्चात्ताप गरेर सुसमाचारतिर फर्कन मौका दिनुभयो (इज ४:६) । तर मानिसहरूले अन्तिमसम्म सुसमाचार ग्रहण गरेनन्, र ई.सं. ७०मा इस्राएल देश नष्ट भयो । यसरी ‘फलेन भने तपाईंले त्यसलाई ढालिदिनुहोस्’ भन्ने वचन पूरा भयो ।
इस्राएलको विनाशबारे सीधै अगमवाणी
बाइबलमा येशूज्यूले इस्राएलको विनाशको बारेमा अञ्जीरको रूखको दृष्टान्तद्वारा मात्र जानकारी दिनुभएको होइनकि उहाँले सीधै अगमवाणी पनि गर्नुभएको छ ।
“तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजीकै आइपुगेको छ भन्ने जान । तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् । सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून् । किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन् । ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय ! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ । तिनीहरू तरवारले मारिनेछन्, र सबै राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन् । …” लूक २१:२०-२४
येशूज्यूको अगमवाणीअनुसार ई.सं. ७०मा टाइटसको नेतृत्वमा आएका रोमी सेनाद्वारा इस्राएल देश विनाश भयो । यरूशलेमको पर्खाल र मन्दिरचाहिँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्कियो (मर्क १३:२) । यहूदी इतिहासकार योसेफसले यरूशलेमको विनाशको भयावह अवस्थाबारे स्पष्टसँग लेखे । त्यस बेला ११ लाख मानिसहरू मारिए र ९७,००० जना कैदी बनाएर लगिए । “तिनीहरू तरवारले मारिनेछन्, र सबै राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन्” भन्ने येशूज्यूको वचन पूरा भयो ।
इस्राएलको पुनर्स्थापना र दोस्रो आगमनका येशूज्यूको उदय
येशूज्यूले इस्राएल देश सधैँभरि विनाश भएकै अवस्थामा रहनेछैन, तर निर्धारित समयमा पुनर्स्थापन हुनेछ भन्नुभयो ।
“अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन् ।” लूक २१:२४
अन्यजातिहरूले यरूशलेमलाई निर्धारित अवधिसम्म मात्र खुट्टामुनि कुल्चेर राख्नेछन् भनिएको छ । अन्यजातिहरूको समय जतिसुकै लामो भए पनि त्यो समय पूरा भएपछि यरूशलेम फेरि यहूदीहरूका निम्ति पुनर्स्थापन हुनेछ भन्ने अर्थ हो । ई.सं. ७०पछि यरूशलेम अन्यजातिहरूद्वारा कब्जा गरियो । इस्राएलीहरू करीब १,९०० वर्षसम्म देशविहीन भएर संसारभरि भौंतारिए । तर दोस्रो विश्वयुद्ध समाप्त भएपछि सन् १९४८मा इस्राएलीहरू चमत्कारपूर्ण ढङ्गले आफ्ना पिता-पुर्खाको भूमिमा फर्के, र स्वतन्त्रताको घोषणा गरियो । इस्राएल देशको स्वतन्त्रताको विषयमा येशूज्यूले मत्तीको पुस्तकमा अञ्जीरको रूखको शिक्षाद्वारा पहिल्यै अगमवाणी गर्नुभएको थियो ।
“तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरू पनि जब यी सबै कुरा भएको देख्नेछौ, तब ऊ नजीकै, ढोकामै छ भनी जान ।” मत्ती २४:३२-३३
हिउँदमा जब रूखको सबै पात झर्छ तब रूख मरेजस्तो देखिन्छ । तर वसन्त वा ग्रीष्म आयो भने त्यसका हाँगाहरू कलिला हुन्छन्, र रूखले पालुवा फेर्छ । योजस्तै अञ्जीरको रूखद्वारा सङ्केत गरिएको इस्राएल देश पनि अन्यजातिहरूको समय पूरा भएपछि, अर्थात् परमेश्वरले तोक्नुभएको समयमा पुनर्स्थापन हुनेछ भन्ने अगमवाणी हो ।
येशूज्यूले “अञ्जीरको रूखबाट शिक्षा लेओ” भन्नुभएपछि “जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान” पनि भन्नुभयो । इस्राएल देशको पुनर्स्थापनचाहिँ येशूज्यू यो पृथ्वीमा दोस्रो पल्ट आउनुहुने कुरा जानकारी दिने चिन्ह हो । मानव-इतिहासमा करीब १,९०० वर्षसम्म आफ्नो सार्वभौमिकता गुमाएर फेरि खडा भएको देशचाहिँ इस्राएल मात्र हो । इतिहासकारहरू पनि इस्राएलको स्वतन्त्रताचाहिँ मानव-इतिहासमा फेरि घट्न नसक्ने चमत्कार हो भन्छन् । अगमवाणी नजानेका मानिसहरूले इस्राएलीहरू विशेष जाति भएकोले यो कार्य सम्भव भएको हो भनी सोच्न सक्छन् । तर वास्तवमा परमेश्वरले आफ्नो दोस्रो आगमनको चिन्हको रूपमा इस्राएलको स्वतन्त्रतालाई प्रयोग गर्नुभएको मात्र हो ।
परमेश्वरले यस्तो चमत्कारपूर्ण कार्य गर्नुको एकमात्र उद्देश्य नै, अञ्जीरको रूखले पालुवा फेरेको सन् १९४८मा येशूज्यूको दोस्रो आगमन हुने कुरा जानकारी दिनको निम्ति हो । त्यस बेला दोस्रो आगमनका येशूज्यूले मानिसहरूको हृदयको ढोका ढकढक्याउनुभएर राज्यको सुसमाचार सुनाउनुहुनेछ (प्रका ३:२०) । तसर्थ दोस्रो आगमनका येशूज्यूले इस्राएल देश स्वतन्त्र भएको सन् १९४८देखि सुसमाचार प्रचार गर्न सुरु गर्नुपर्छ ।
बाइबलको यस्तो अगमवाणीअनुसार दोस्रो पल्ट आउनुभएका येशूज्यू नै आन साङ होङज्यू हुनुहुन्छ । आन साङ होङज्यूले इस्राएल देश पुनर्स्थापन भएको सन् १९४८मा बप्तिस्मा लिनुभएर सुसमाचारको कार्य सुरु गर्नुभयो । अनि लामो समयसम्म कसैले पनि पालन नगरेको नयाँ करारको सत्यता उहाँले प्रचार गर्नुभयो । यसकारण आन साङ होङज्यू नै बाइबलले गवाही दिएको दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ ।