ahnsahnghong.com is provided in English. Would you like to change to English?

दोस्रो आगमनका येशूज्यूले
नयाँ करार पुनर्स्थापन गर्नुहुन्छ

19960 읽음

२,००० वर्षअघि येशूज्यू मानव-जातिलाई बचाउन शरीरमा जन्मनुभयो । दाऊदको सिंहासनको अगमवाणीअनुसार उहाँले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभई ३ वर्षसम्म नयाँ करारको सुसमाचार प्रचार गर्नुभयो र आफ्नो मिसन पूरा गर्नुभई उहाँ स्वर्गारोहण हुनुभयो (प्रे १:६-९) ।

हिजोआज धेरै ख्रीष्टियानहरू स्वर्गतिर हेर्दै बादलमा आउनुहुने दोस्रो आगमनका येशूज्यूलाई पर्खिरहेका छन् (मत्ती २४:३०-३१) । तर दोस्रो आगमनका येशूज्यू यो पृथ्वीमा आइसक्नुभयो । उहाँ मानिसको स्वरूपमा फेरि आउनुभई, शैतानद्वारा हटाइएको जीवनको सत्यता नयाँ करारलाई उहाँले पुनर्स्थापन गर्नुभएर मुक्तिको मार्ग खोलिदिनुभयो ।

येशूज्यू शरीरमा दोस्रो पल्ट आउनुपर्ने कारण

येशूज्यूको स्वर्गारोहणपछि संसारमा धेरै परिवर्तनहरू देखिन थाले । शैतानले यो संसारमा अधर्म छर्नेछ, अनि येशूज्यूको दोस्रो आगमनको समयमा उहाँले यो संसारमा साँचो विश्वास भेट्टाउनुहुनेछैन भनी अगमवाणी गर्नुभयो (लूक १८:८) । त्यो अगमवाणीअनुसार प्रेरितहरूको युगपछि देखि अधर्मको बीउ छरिन थाल्यो र तीव्र गतिमा फैलिएकोले यो पृथ्वीबाट मुक्तिको सत्यता नयाँ करार लोप भयो ।

सत्यताको ज्योति लोप भएपछि धार्मिक अन्धकारको युग सुरु भयो । १६औँ शताब्दीको धर्मसुधार अभियानछि धेरै बाइबलविदहरू र सम्प्रदायहरू त देखा परे तर तिनीहरूमध्ये कसैले पनि हराएको नयाँ करारको सत्यता पुनर्स्थापन गर्न सकेनन् । तिनीहरूले केवल आफ्नै अर्थ लगाइ मात्र सही छ भनी जिद्दी गरे । आत्मिक अन्धकारमा सत्य र झूटलाई छुट्ट्याउन सक्ने र सिकाउन सक्ने मानिस कोही थिएन । त्यसैले ख्रीष्ट यो पृथ्वीमा दोस्रो पल्ट शरीरमा आउनुभएर हराएको सत्यता पुनर्स्थापन गरिदिनुभयो । पहिलो आगमनमा जस्तै उहाँ फेरि आफ्ना बगाललाई डोऱ्याउन गोठालोको रूपमा आउनुभयो ।

“मेरा अरू भेडा छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ ।” यूह १०:१६

नयाँ करार पुनर्स्थापन गर्नुहुने दाऊदको मूल, दोस्रो आगमनका येशूज्यू

प्रेरित यूहन्नाले दोस्रो आगमनका येशूज्यू दाऊदको मूलको रूपमा आउनुभई सत्यता पुनर्स्थापन गर्नुहुनेछ भनेर अगमवाणी गरे ।

सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो । … कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।” प्रका ५:१-५

धर्मशास्त्र बाइबल बन्द गरिनेछ भनिएको छ । योचाहिँ मानव-जातिको मुक्तिलाई नै प्रभाव पार्ने गम्भीर विषय हो । त्यसैले पुस्तक बन्द भएको देखेर यूहन्ना खूबै रोए भनिएको छ । येशूज्यूको स्वर्गारोहणपछि प्रेरित यूहन्नाद्वारा लिखित प्रकाशको पुस्तकमा भविष्यमा हुने कुरा जानकारी दिइएको छ (प्रका १:१) । तसर्थ योचाहिँ येशूज्यूले प्रथम आगमनको समयमा स्थापना गर्नुभएको नयाँ करार मुक्तिको सत्यता लोप हुने विषयको अगमवाणी हो । यो नयाँ करारको सत्यता सदाको लागि बन्द हुने होइन तर दाऊदको मूलले मोहोर खोलिदिनुहुनेछ भनिएको छ ।

बाइबलमा दाऊदको मूल नै येशूज्यू हुनुहुन्छ (प्रका २२:१६) । प्रकाश अध्याय ५चाहिँ येशूज्यूको स्वर्गारोहणपछि हुने कुराको अगमवाणी भएकोले दाऊदको मूलले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । धार्मिक अन्धकारको युगमा लोप भएको नयाँ करारको सत्यता दोस्रो आगमनका येशूज्यूले पुनर्स्थापन गर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।

बाइबलको अगमवाणीअनुसार आउनुभएका दोस्रो आगमनका येशूज्यू, आन साङ होङज्यू

दाऊदको मूलको रूपमा देखा पर्नुहुने दोस्रो आगमनका येशूज्यूको चिन्ह, अनन्त करार अर्थात् येशूज्यूले रगतद्वारा स्थापना गर्नुभएको नयाँ करार हो (यशै ५५:३; हिब्रू १३:२०; लूक २२:२०) । यो युगमा सारा मानव-जातिका लागि नयाँ करार पुनर्स्थापन गरिदिनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ ।

येशूज्यूको पहिलो आगमनमा जस्तै दोस्रो आगमनमा उहाँले गर्नुहुने कार्यबारे पनि बाइबलमा सबै अगमवाणी गरिएको छ । बाइबलमा दोस्रो आगमनका येशूज्यू पूर्वको पल्लो छेउमा देखा पर्नुहुनेछ, र अञ्जीरको रूखद्वारा सङ्केत गरिएको इस्राएल देश स्वतन्त्र हुँदा सुसमाचार कार्य आरम्भ गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । यो अगमवाणीअनुसार आन साङ होङज्यू पूर्वको पल्लो छेउको देश गणतन्त्र कोरियाबाट आउनुभयो । इस्राएल चमत्कारपूर्ण ढङ्गले स्वतन्त्र भएको सन् १९४८मा जब उहाँ ३० वर्ष पुग्नुभयो तब उहाँले बप्तिस्मा लिएर सुसमाचारको कार्य सुरु गर्नुभयो ।

शैतानद्वारा हटाइएर लामो समयसम्म कसैले पनि मान्न नसकेको नयाँ करारको केन्द्रबिन्दु रहेको निस्तार-चाडको बारेमा आन साङ होङज्यूले प्रचार गर्नुभयो । साथै उहाँले ३ चरणका ७ वटा चाडहरूलाई पुनर्स्थापना गरी आत्मिक सियोन निर्माण गर्ने अगमवाणी पनि पूरा गर्नुभयो । सन् १९६४मा उहाँले औपचारिक रूपमा परमेश्वरको मण्डली स्थापना गर्नुभयो । अनि ३७ वर्षसम्म सुसमाचारको बाटो हिँड्नुभएर दाऊदको सिंहासनको अगमवाणी पूरा गर्नुभई सन् १९८५मा उहाँ स्वर्गारोहण हुनुभयो । आन साङ होङज्यूले आफ्नो सारा जीवन बाइबलको अगमवाणीअनुसार बिताउनुभयो ।

दोस्रो आगमनका येशूज्यूको बलिदान र परमेश्वरको मण्डली

२,००० वर्षअघि परमेश्वर यो पृथ्वीमा शरीरमा आउनुहुँदा मानिसहरूले उहाँलाई ग्रहण गरेनन् (यूह १:१-११, १४) । येशूज्यूले बाइबलको अगमवाणी पूरा गर्नुहुँदा पनि, र जीवनको सत्यता सिकाउनुहुँदा पनि तिनीहरूले ध्यान दिएनन् । उल्टै “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउछौ” भन्दै उहाँको निन्दा गरे । तिनीहरूले उहाँलाई केवल एक सिकर्मीको छोरा देखे र उहाँको पृष्ठभूमि र वातावरणलाई हेर्दै उहाँलाई इन्कार गरे (यूह १०:३३; मत्ती १३:५४-५७) । अन्ततः तिनीहरूले येशूज्यूलाई क्रूसमा टाँगे । अनि येशूज्यू पुनरुत्थान हुनुहुँदा पनि, मुख्य पूजाहारीहरूले सिपाहीहरूलाई घुस खुवाएर झूटो खबर फैलाउन लगाएका थिए (मत्ती २८:११-१५) ।

येशूज्यू फेरि आउनुभएको यस पवित्र आत्माको युगमा पनि अवस्था खासै फरक छैन । आत्मिक अन्धकार छाएको यो संसारमा उहाँले सत्यताको ज्योति चम्काइदिनुभयो, तापनि धेरै मानिसहरूले उहाँलाई स्वीकार गरेनन्, उल्टै निन्दा गरे । यद्यपि दोस्रो आगमनका येशूज्यू, आन साङ होङज्यूले ३७ वर्षसम्म शान्त रूपले सुसमाचारको कार्य गर्नुभई नयाँ करारको सत्यता पुनर्स्थापन गरिदिनुभयो । त्यो समयमा सारा कोरिया देश भग्नावशेष भएको थियो । जापानको औपनिवेशिक शासन र कोरियाली युद्धले गर्दा मानिसहरू गरीब र दरिद्र थिए । यस्ता कठिनाइहरूको सामना गर्दै भए पनि आन साङ होङज्यूले नयाँ करारको सुसमाचार विनाविश्राम सुनाउनुभयो ।

उहाँको त्यो बलिदान र प्रेमले गर्दा आज मानव-जातिका लागि मुक्तिको शरणस्थान सियोनको बाटो फराकिलो गरी खुलेको छ । आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली नै सुरुको मण्डलीको विश्वासलाई पूर्ण रूपमा लिएको सत्य मण्डली हो, जसले सारा संसारलाई एलोहिम परमेश्वरको महिमा र नयाँ करार सत्यताको ज्योतिमा डोऱ्याउँछ ।

पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । मीका ४:१-२

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기