ahnsahnghong.com is provided in English. Would you like to change to English?

येशूज्यूसम्बन्धी पुरानो करार बाइबलको अगमवाणी

15783 읽음

पुरानो करारचाहिँ येशूज्यू आउनुभन्दा लामो समयअघि लेखिएको भए पनि यसमा येशूज्यूले गर्नुहुने कार्यको विषयमा ठीकसँग अगमवाणी गरिएको छ । यसकारण येशूज्यूले “बाइबलले मेरो विषयमा गवाही दिएको छ” भन्नुभयो (यूह ५:३९) र पुनरुत्थानपछि उहाँले पुरानो करारको अगमवाणीद्वारा आफ्नो विषयमा गवाही दिनुभयो (लूक २४:२५; ४४-४५) । मानिसहरूलाई आकर्षित गर्ने त्यस्तो केही सुन्दरता नभएको स्वरूपमा उहाँ प्रकट हुनुभए तापनि प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले बाइबलको अगमवाणी हेरेर उहाँलाई ख्रीष्टको रूपमा ग्रहण गरे । यो पृथ्वीमा आउनुभएका मुक्तिदातालाई चिन्न सकिने स्पष्ट प्रमाण, अनि येशूज्यूसम्बन्धी पुरानो करारको अगमवाणी र त्यसको पूर्णताबारे अध्ययन गरौं ।

येशूज्यूको जन्म सम्बन्धी अगमवाणी

येशूज्यूका बुबा-आमा योसेफ र मरियम गालील क्षेत्रको नासरत भन्ने ठाउँमा बस्दथे (लूक २:४-५) । तर तिनीहरू दक्षिणको धेरै टाढा यहूदियाको बेथलेहेममा गए र त्यहाँ येशूज्यूको जन्म भयो । यसरी तिनीहरूलाई नै थाहा नभएको घडीमा बाइबलको एउटा अगमवाणी पूरा भयो ।

“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ ।” मीका ५:२

मीकाको पुस्तकचाहिँ येशूज्यू आउनुभन्दा करीब ७०० वर्षअघि लेखिएको थियो । यहाँ इस्राएलका शासक जसको सुरु पुरानो समयदेखि छ, उहाँ बेथलेहेमबाट आउनुहुनेछ भनिएको छ । मूलभूत रूपमा परमेश्वर हुनुभएका येशूज्यू बेथलेहेममा जन्मनुभएर यो अगमवाणी पूरा गर्नुभयो ।

हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, … मत्ती २:१-६

येशूज्यू जन्मनुहुँदा इस्राएल देश रोमको अधीनमा थियो । कैसर अगस्टसले रोमी साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । सम्राटको आदेशका कारण दाऊदको वंशका योसेफ, दाऊदको गृहनगर यहूदियाको बेथलेहेममा जानुपऱ्यो । योसेफ र तिनकी पत्नी मरियमले १०० किलोमिटरको लामो यात्रा पार गरे र अन्त्यमा मरियमले येशूज्यूलाई जन्म दिइन् ।

ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । … योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए । नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए । मरियम गर्भवती थिइन् । तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो । तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन । लूक २:१-७

आफू जन्मने ठाउँ आफैले छनोट गर्न सक्ने मानिस संसारमा कोही छैन । तर अगमवाणीअनुसार येशूज्यू बेथलेहेममा जन्मनुभयो । रोमी सम्राटले हुकुम जारी गर्नु र योसेफ आफ्नी गर्भवती पत्नीलाई आफूसँगै बेथलेहेम लिएर जानु कुनै संयोग थिएन । योचाहिँ बाइबलको अगमवाणी पूरा गर्नुहुने परमेश्वरको कार्य थियो ।

येशूज्यूको सेवा-कार्य सम्बन्धी अगमवाणी

येशूज्यूको समयभन्दा करीब ७०० वर्षअघि लेखिएको यशैयाको पुस्तकमा उहाँको विषयमा अगमवाणी गरिएको थियो ।

कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । … हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, … उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ । उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ । उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोऱ्याउनुहुन्छ ।” यशै ४०:३, ९-११

“मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर” भन्ने वचनचाहिँ “परमेश्वर यो पृथ्वीमा आउनुअघि उहाँको निम्ति बाटो तयार गर” भन्ने अर्थ हो । साथै परमेश्वरको बाटो तयार भएपछि परमेश्वर स्वयम् गोठालोको रूपमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । यो अगमवाणी बप्तिस्मा-दिने यूहन्ना र येशूज्यूद्वारा पूरा भयो ।

त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’ ।” मत्ती ३:१-३

बप्तिस्मा-दिने यूहन्नाले उजाड-स्थानमा येशूज्यूको निम्ति मार्ग तयार गरेका कुरा संयोग थिएन तर बाइबलको अगमवाणीअनुसार पूरा भएको कार्य थियो । यशैया अध्याय ९मा पनि येशूज्यूको बारेमा अगमवाणी गरिएको छ ।

तापनि सङ्कष्ट परेकाहरूका निम्ति नैराश्य हुनेछैन । पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो, तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरूको गालीललाई सम्मानित तुल्याउनुहुनेछ । अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन् । मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ । यशै ९:१-२

जबूलून र नप्ताली दुवै गालीलको क्षेत्रमा पर्छ । इस्राएलको उत्तरी भागमा अवस्थित गालीलचाहिँ प्रायः अन्यजातिहरूको आक्रमणमा परेको र सांस्कृतिक रूपमा अन्यजातिहरूबाट धेरै ग्रस्त भएको क्षेत्र थियो । अन्यजातिहरूले अन्य देवताहरूको पूजा गर्ने र अशुद्ध भोजन खाने भएकाले इस्राएलीहरूले तिनीहरूलाई अशुद्ध ठानी घृणा गर्थे । यस्तो अवस्थामा गालील जस्तो ठाउँमा परमेश्वरको महान् कार्य हुन सक्छ भन्ने कुरा सोच्न पनि गाह्रो थियो ।

तर परमेश्वरले गालीलमा ठूलो ज्योति चम्काउनुहुनेछ भन्नुभयो । येशूज्यूले गालीलमा सुसमाचारको ज्योति चम्काउनुभएर यो अगमवाणी पूरा गर्नुभयो ।

यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो, र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो । यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ । यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: … त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ ।” … अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो । मत्ती ४:१२-१७, २३

मृत्युको पीडामा चिच्याइरहेका मानिसहरूलाई अनन्त जीवन दिन येशूज्यू यो पृथ्वीमा आउनुभयो (यूह १०:१०), र यसैको लागि उहाँले राज्यको सुसमाचार प्रचार गर्नुभयो । यसरी येशूज्यूले गालीलमा सुसमाचारद्वारा जीवनको ज्योति चम्काउनुभएर यशैया अध्याय ९को अगमवाणी पूर्ण रूपमा पूरा गर्नुभयो । जकरियाको पुस्तकमा पनि येशूज्यूले ५०० वर्षपछि गर्नुहुने कार्यको विषयमा अगमवाणी गरिएको छ ।

हे सियोनकी छोरी, खूब रमाऊ । हे यरूशलेमकी छोरी, जोडसित कराऊ ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ । उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ । उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ । जक ९:९

सियोनका राजा गधामा सवार हुनुहुनेछ भन्ने अगमवाणी, सियोनका राजा हुनुभएका येशूज्यू यरूशलेममा प्रवेश गर्नुभए पछि पूरा गर्नुभयो ।

भोलिपल्ट चाडमा आउने ठूलो भीडले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो, र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना ! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा !” अनि गधाको एउटा बछेडो भेट्टाएर येशू त्यसमाथि चढ्‌नुभयो, जस्तो लेखिएको छ, “सियोनकी छोरी, नडराऊ । हेर, तिम्रा राजा गधाको बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ ।” यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन् । तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे ।यूह १२:१२-१६

यी अगमवाणीहरूबाहेक, मुक्तिदाताको रूपमा आउनुहुने येशूज्यूको बारेमा पुरानो करारमा अन्य थुप्रै अगमवाणीहरू छन् ।

“तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खडा गर्नेछु । म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन् …” व्य १८:१८-१९

परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ ।” भज ११०:४

योचाहिँ मोशाजस्तै अगमवक्ता र मल्कीसेदेकको दर्जाअनुसारका पूजाहारी भविष्यमा देखा पर्नुहुने कुराको अगमवाणी हो । यसअनुसार मोशाले जस्तै येशूज्यूले पनि निस्तार-चाडद्वारा मानव-जातिलाई पापको दासत्वबाट छुटकारा गराउनुभयो । अनि मल्कीसेदेकले जस्तै उहाँले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो । यसकारण प्रेरितहरूले येशूज्यू नै बाइबलको अगमवाणी पूरा गर्नुभएका ख्रीष्ट हुनुहुन्छ भनी गवाही दिए (प्रे ३:२२-२४; हिब्रू ५:८-१०) ।

येशूज्यूको कष्ट सम्बन्धी अगमवाणी

यशैया अगमवक्ताले ख्रीष्टको कष्ट सम्बन्धी अगमवाणी गरे ।

… ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, … तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । … र उसका कोर्राको चोटले हामी निको भयौं । … यशै ५३:१-६

यो अगमवाणीअनुसार येशूज्यू मानव-जातिको पापको खातिर घृणित हुनुभयो, कीला र भालाले छेडिनुभयो र कोर्रा खानुभयो ।

तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए … तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए । तिनीहरूले काँढाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँडा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम ।” तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए । मत्ती २७:२६-३०

तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो । यूह १९:३४

बाइबलमा येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएपछि हुने कुराको विषयमा पनि अगमवाणी गरिएको छ र यो अगमवाणी पनि जस्ताको तस्तै पूरा भयो ।

उसको चिहान दुष्टहरूसित बनाइयो, र मृत्युमा धनीहरू उसको साथमा थिए, … यशै ५३:९

उसको चिहान दुष्टहरूसित बनाइयो भन्ने अगमवाणीअनुसार येशूज्यू क्रूसमा टाँगिनुहुँदा उहाँको दायाँ र बायाँपट्टि दुई जना डाँकूहरू अर्थात् दुष्टहरू टाँगिएका थिए । अनि मृत्युमा धनीहरू उसको साथमा हुनेछन् भन्ने अगमवाणीअनुसार येशूज्यूको शरीरलाई अरिमाथियाको धनी मानिस योसेफको चिहानमा राखियो ।

उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि । मत्ती २७:३८

साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए । तिनी स्वयम् येशूका चेला थिए । तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, … योसेफले मृत शरीर लिएर सफा मलमलको कपडाले बेह्रे, र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाइदिए, र तिनी गए । मत्ती २७:५७-६०

परमेश्वरले भविष्यमा आउनुहुने ख्रीष्टको बारेमा बाइबलमा विस्तृत रूपले अगमवाणी गर्नुको कारणचाहिँ, जसले सबै अगमवाणी पूरा गर्नुहुन्छ, उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई विश्वास दिलाउनको निम्ति हो । यो पृथ्वीमा जन्मेका असंख्य मानिसहरूमध्ये, हामीले येशूज्यू नै ख्रीष्ट अर्थात् मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्न सक्नुको कारणचाहिँ, येशूज्यूले बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएकोले गर्दा हो ।

मुक्तिदातासम्बन्धी बाइबलका अगमवाणीहरूको पूर्णताचाहिँ २,००० वर्षअघि मात्र सीमित रहेन । बाइबलमा येशूज्यू दोस्रो पल्ट आउनुहुने कुरा अगमवाणी गरिएको छ (हिब्रू ९:२८) । येशूज्यूले दोस्रो आगमनमा पूरा गर्नुपर्ने त्यस्ता थुप्रै अगमवाणीहरू नयाँ करार र पुरानो करार बाइबलमा जताततै छन् । यी अगमवाणीहरू र तिनको पूर्णताबारे लगनशीलताका साथ अध्ययन गरेमा हामीले दोस्रो आगमनका येशूज्यूलाई ग्रहण गर्न सक्नेछौं ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기