सन् १९१८मा जन्म
आन साङ होङज्यू बाइबलको अगमवाणीअनुसार पूर्वको पल्लो छेउको देश दक्षिण कोरियामा जन्मनुभयो । सन् १९१८ जनवरी १३को हिउँदे याममा कोरियाको जन्लाबुग-दो, जाङसु-गुन, ग्येनाम-म्यन, म्यङदग-लिको परित्यक्त खानी गाउँको एउटा घरमा उहाँको जीवन आरम्भ भयो ।
जापानी उपनिवेशको समय र पहिलो विश्वयुद्ध
त्यस बेला पूर्ण अन्धकार छाएको थियो । सन् १९१४देखि १९१८सम्म साम्राज्यवादी शक्तिद्वारा गरिएको पहिलो विश्वयुद्धमा २ करोडभन्दा बढी मानिसहरू मारिए । अनि फेरि २०औँ शताब्दीको भयानक महामारी स्पेनी फ्लूबाट १० करोडभन्दा बढीले ज्यान गुमाए । मृत्युको डरले सारा संसार आतङ्कित थियो । कोरियाली प्रायद्वीप अपवाद थिएन । जापानी उपनिवेशको समयमा झण्डै कोरियाको आधा जनसंख्या ७६ लाख मानिसहरू स्पेनी फ्लूद्वारा सङ्क्रमित भए । तीमध्ये १ लाख ४० हजार मानिसहरूले ज्यान गुमाए ।
दोस्रो विश्वयुद्ध र अन्धकार युगको जीवन
सन् १९३९मा दोस्रो विश्वयुद्ध सुरु भयो । जर्मनी, इटाली र जापानमा केन्द्रित अक्ष शक्तिहरू अनि बेलायत, फ्रान्स, संयुक्त राज्य अमेरिका, सोभियत संघ र चीनमा केन्द्रित सम्बद्ध शक्तिहरूबीच भएको महायुद्धले मानव इतिहासमा सबैभन्दा धेरै रक्तपात ल्यायो । कोरियाली प्रायद्वीपचाहिँ जापानको औपनिवेशिक शासनमुनि थियो, जसले मानव र भौतिक स्रोतहरू जबरजस्ती परिचालन गऱ्यो । त्यस बखत स्वतन्त्रताबाट वञ्चित हुँदै आन साङ होङज्यूले सतावट, गरिबी र शोषण सहनुहुँदै कष्टको जीवन जिउनुभयो ।
सन् १९४८मा बप्तिस्मा, दोस्रो आगमनका ख्रीष्टको सेवा-कार्य आरम्भ
आन साङ होङज्यूको जीवनीचाहिँ गणतन्त्र कोरियाको इतिहास र विश्व इतिहासको मूलधारसँग सम्बन्धित छ । दोस्रो विश्वयुद्ध समाप्त भएको ३ वर्षपछि सन् १९४८मा, अञ्जीरको रूखको दृष्टान्तअनुसार १,९०० वर्षसम्म देशविहीन जातिको रूपमा कष्ट भोगेका इस्राएलीहरूले चमत्कारपूर्वक स्वतन्त्रता पाए । बाइबलमा भनिएअनुसार इस्राएलको स्वतन्त्रताचाहिँ ख्रीष्टको दोस्रो आगमनको चिन्ह हो । त्यो वर्षदेखि आन साङ होङज्यूले आफ्नो सेवा-कार्य आरम्भ गर्नुभयो ।
२,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको नयाँ करार सुसमाचार धार्मिक अन्धकारको युगमा संसारबाट सबै लोप भयो । केवल शबाथ-दिनको सत्यता मात्र मधुरो रूपमा देखा पऱ्यो । आन साङ होङज्यू सन् १९४७मा सेभेन्थ डे एड्भेन्टिस्ट चर्चमा जानुभयो, र दाऊदको सिंहासनको अगमवाणीअनुसार ३० वर्ष पुग्नुभएको सन् १९४८मा उहाँले कोरियाको इन्छन नाग्सममा बप्तिस्मा लिनुभयो । त्यो समयदेखि उहाँले नयाँ करारको सत्यता र व्यवस्था सिकाउन थाल्नुभयो ।
स्वतन्त्रतापछि कठिन समयमा गुज्रेको गणतन्त्र कोरिया सन् १९५०मा भएको कोरियाली युद्धद्वारा फेरि भताभुङ्ग भयो । कोरियाली प्रायद्वीपलाई सामूहिकीकरण गर्ने प्रयासमा उत्तर कोरियाले तुरुन्तै दक्षिण कोरियाको राजधानी सउललाई कब्जा गरेर दक्षिणतिर अगि बढ्यो । तर आन साङ होङज्यूले सुसमाचार प्रचार गरिरहनुभएको बुसानलाई चाहिँ तिनीहरूले कब्जा गर्न सकेनन् । दक्षिण कोरिया र यूएनका सेनाहरूले तिनीहरूलाई उतै उत्तरतिरै फर्काइदिए । ३ वर्षको युद्धपछि अन्ततः युद्धविराम सहमति हस्ताक्षर गरियो । निरन्तरको युद्धले गर्दा ध्वस्त भएको देशमा अत्यधिक गरिबी र भोकमा कष्ट भोग्नुभएका आन साङ होङज्यूले खाँचोमा परेकाहरूलाई दया देखाउनुभयो, र परमेश्वरको आज्ञामध्ये एक, शबाथ-दिन पवित्र रूपमा मानेर उदाहरण देखाउनुभयो । त्यो समयको अवस्थालाई उद्धृत गर्नुहुँदै आफ्नो हस्तलिखित नोटमा उहाँले “कोरियाली युद्धको बेला मृत्युको पीडा भोग्दै याङसान ब्यन्ने पहाडमा कडा परिश्रम गर्नुपरे तापनि मैले जीवनप्रति हार मानिनँ । कार्यक्षेत्रमा समेत मैले कहिल्यै शबाथ उल्लङ्घन गरिनँ” भनेर लेख्नुभयो ।
सन् १९६४मा परमेश्वरको मण्डलीको स्थापना
सेभेन्थ डे एड्भेन्टिस्ट चर्चको मिसन समाप्त गर्नुभएपछि आन साङ होङज्यूले सन् १९६४मा परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो । २,००० वर्षअघि सुरुको मण्डलीको सत्यता र वैधानिकतालाई पछ्याउने परमेश्वरको मण्डली प्रारम्भिक दिनहरूमा हाउस चर्चको रूपमा सानो र जीर्ण थियो । आन साङ होङज्यूको बलिदान र समर्पणद्वारा राजधानी तथा स्थानीय क्षेत्रका धेरै ठाउँहरूमा सुसमाचारका बीउहरू छरिए र हुर्किए । येशूज्यू स्वयम्ले मान्नुभएको र प्रेरितहरूले मानेका नयाँ करार निस्तार-चाड लगायत सम्पूर्ण मुक्तिका सत्यताहरू आन साङ होङज्यूले पुनर्स्थापना गरिदिनुभयो । उहाँले गैर-बाइबलीय सिद्धान्तहरूलाई तोड्नुहुँदै परमेश्वरप्रतिको सही विश्वासको जग बसालिदिनुभयो ।
सुसमाचार प्रचारमा उहाँको बलिदानपूर्ण जीवन
समाज र अर्थव्यवस्थाका सबै पक्षहरू भौतिक र आत्मिक रूपमा उजाड भएको युगमा आन साङ होङज्यूले नयाँ करार सुसमाचारको जग पुनर्निर्माण गर्न जीवनभर कष्ट भोग्नुहुँदै दरिद्र र निम्न स्तरको जीवन जिउनुभयो । शबाथ-दिन लगायतका परमेश्वरका आज्ञा पालन गरेर सुसमाचार सुनाउनको निम्ति कठिन र अप्रिय काम रोज्नुबाहेक उहाँसित अर्को विकल्प थिएन । उहाँले पहाडमा ठूल्ठूला रूखहरू काट्ने, ढुङ्गा फुटाउने र बोक्नेजस्ता जोखिमपूर्ण कामहरू विनाहिचकिचाहट गर्नुभयो । कष्टकर श्रमको ज्यालाद्वारा सत्यताको पुस्तक लेख्नमा समर्पित हुनुभएकोले उहाँले जौको खोले पनि विरलै खान पाउनुहुन्थ्यो, प्रायःजसो त्यो पनि पाउनुहुन्नथ्यो । उहाँले आफ्नो कष्टलाई पर्वाह गर्नुभएन तर सत्यता थाहा नपाएर कठिनाइमा जिइरहेका मानिसहरूमाथि दया देखाउनुभयो । कोरियाको बुसान गुम्जङ पहाड जस्ता ठाउँहरूमा प्रार्थना गर्नुहुँदै उहाँले कैयौँ दिनसम्म उपवास बस्नुभयो, र मानव-जातिलाई बचाउन उहाँले सधैँ बलिदान गर्नुभयो ।
विश्राम नभएको कष्टकर जीवनमा समेत आन साङ होङज्यूले आफ्नो सुरक्षाको पर्वाह गर्नुभएन तर मायालु परिवारलाई प्रेमद्वारा हेरचाह गर्ने बुबाको मनद्वारा मण्डली, सन्तहरू र छिमेकीहरूको पीडा र कष्टलाई प्राथमिकता दिनुभई उनीहरूको हेरचाह गर्नुभयो । थकित स्वरूप कहिल्यै नदेखाउनुहुने, तर सधैँ मुस्कुराउनुहुने र न्यानो व्यवहार देखाउनुहुने भएकोले सन्तहरू लगायत छिमेकीहरूले समेत उहाँलाई आदर गर्थे । उहाँले कसैलाई भेदभाव नगरी सबैसित नम्र र विचारशील व्यवहार गर्नुहुन्थ्यो, र खाँचोमा परेकाहरूलाई देख्नेबित्तिकै सहयोग गर्नुहुन्थ्यो । जहिले पनि बाइबल र विभिन्न पुस्तकहरूले भरिएको झोला काँधमा बोक्नुहुँदै उहाँ देशभरिका विकट गाउँमा र सानो समुद्री किनारका गाउँहरूमा समेत पुग्नुहुन्थ्यो, र भेटेजति सबैलाई व्याकुलतासाथ सत्यता सुनाउनुहुन्थ्यो । उहाँले हर किसिमका कष्टहरू भोग्नुहुँदै आफूलाई केवल सुसमाचार प्रचारमा समर्पित गर्नुभयो, र मधुरो टुकीमा रातभर मुक्तिको शिक्षा लेख्नुभयो । सात मेघ गर्जन खोलिएको, स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू, असल र खराबको ज्ञान दिने रूखको फल र सुसमाचार, मोशाको व्यवस्था र ख्रीष्टको व्यवस्था, अन्तिम विपत्ति र परमेश्वरको छाप, त्रिएक विषयको वर्णन, परमेश्वरको रहस्य र जीवनको पानीको मूल लगायतका सबै पुस्तकहरू आन साङ होङज्यूको रगत र पसिनाद्वारा लेखिएका हुन् ।