नयाँ करार निस्तार-चाड हटाइएको इतिहास
। सुरुको मण्डलीको समयदेखि ई.सं. ३२५ निकेया धार्मिक सम्मेलनसम्म

2857 읽음

वर्तमान समयमा येशू ख्रीष्टलाई विश्वास गर्ने मानिसहरू धेरै भए तापनि येशूज्यूले आफ्नो रगतद्वारा स्थापना गर्नुभएको नयाँ करार निस्तार-चाड मान्ने ख्रीष्टियानहरू भने भेट्टाउन सकिँदैन । किनभने ई.सं. ३२५मा निकेया धार्मिक सम्मेलनमा निस्तार-चाड हटाइएको थियो । सम्राट कन्स्टेन्टाइनद्वारा गठित उक्त सम्मेलन विश्वव्यापी धार्मिक सम्मेलन थियो, जसले ख्रीष्टियानहरूको इतिहास लगायत संसारको इतिहासमा महत्त्वपूर्ण ठाउँ ओगट्यो ।

“मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” भन्नुहुँदै येशूज्यूले नयाँ करारको रूपमा निस्तार-चाड स्थापना गर्नुभयो । तर यो सत्यता किन र कसरी इतिहासबाट लोप भयो भन्नेबारे मण्डलीको इतिहासदेखि नै अध्ययन गरौं ।

नयाँ करार निस्तार-चाडको सत्यता परिवर्तन

येशूज्यूले निस्तार-चाड(पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझ, बिहीबार)मा पवित्र भोज मान्नुभयो, र त्यसको भोलिपल्ट अखमिरी रोटीको चाड(पहिलो महिनाको १५औँ दिन, शुक्रबार)को दिनमा क्रूसमा टाँगिनुभयो । अनि अखमिरी रोटीको चाडपछि आउने शबाथको भोलिपल्ट अर्थात् हप्ताको पहिलो दिन(आइतबार) उहाँ पुनरुत्थान हुनुभयो । अर्थात् पुनरुत्थानको दिनचाहिँ अखमिरी रोटीको चाडपछिको पहिलो आइतबार थियो, जुन येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि मान्नुभएको निस्तार-चाडभन्दा बिलकुल फरक छ (लूक २२:१५) ।

त्यसैले सुरुको मण्डलीले ख्रीष्टको अन्तिम इच्छाअनुरूप पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा ख्रीष्टको मृत्युलाई सम्झना गर्न निस्तार-चाड मानेका थिए (१ कोर ५:७; ११:२३-२६) । त्यसको भोलिपल्ट १५औँ दिनमा अखमिरी रोटीको चाड मान्दै तिनीहरू उपवास बसेका थिए (मर्क २:१९-२०) । अनि अखमिरी रोटीको चाडपछि आउने पहिलो आइतबारमा रोटी भाँचेर पुनरुत्थानको चाड मानेका थिए (प्रे २०:६-७; लूक २४:३०-३१) । तर प्रेरितहरू यस संसारबाट बिदा भएपछि नयाँ करारको सत्यता बिस्तारै परिवर्तन भयो ।

सुरुमा दासहरू र निम्न वर्गका मानिसहरू मात्र जाने गरेको मण्डलीमा मध्यम वर्गका मानिसहरू र पछिचाहिँ कुलीन वर्गका मानिसहरूसमेत जान थालेपछि, ‘संसारको राजधानी’ भनेर चिनिने रोममा अवस्थित मण्डलीले नजिकका मण्डलीहरूमाथि आफ्नो अधिकार जमाउन थाल्यो । तर यही रोमको मण्डलीले ख्रीष्टको शिक्षालाई त्यागेर निस्तार-चाडमा पवित्र भोज मान्ने कुरालाई इन्कार गर्दै निस्तार-चाडपछि आउने आइतबार(पुनरुत्थानको दिन)मा पवित्र भोज मान्न थाल्यो । पवित्र भोजचाहिँ ख्रीष्टको पुनरुत्थान नभएर उहाँको मृत्युको सम्झना गर्ने धर्मविधि हो (१ कोर ११:२६) । तैपनि रोममा भएको मण्डलीले पूर्ण रूपमा फरक यी दुई चाडहरू अर्थात् निस्तार-चाड र पुनरुत्थानको चाडलाई एउटै चाडको रूपमा गाभ्यो ।

निस्तार-चाडको विषयमा उठेको पहिलो विवाद

रोममा केन्द्रित पश्चिमी मण्डलीहरूको नयाँ परम्पराले गर्दा, येशूज्यूको समयदेखि पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा पवित्र भोज मान्दैआएका पूर्वी मण्डलीहरूसँग मतभेद उत्पन्न भयो । ई.सं. १५५मा रोमको मण्डलीका अगुवा एनिसिटस र स्मुर्ना मण्डलीका बिशप पोलिकार्पबीच विवाद उत्पन्न भयो । येशूज्यूका चेला यूहन्नाबाट सीधै शिक्षा पाएका पोलिकार्पले, आफूले धेरै प्रेरितहरूसँग प्रत्येक वर्ष पवित्र पात्रोअनुसार पहिलो(निशान) महिनाको चौधौँ दिनमा निस्तार-चाड मान्दैआएको र निस्तार-चाडको दिनमा पवित्र भोज गर्नु नै येशूज्यूको समयदेखि हस्तान्तरण हुँदैआएको परम्परा हो भनेर जोड दिए । तर दुवै जना एउटै सहमतिमा भने आउन सकेनन् ।

“तर पूर्वी र पश्चिमी मण्डलीबीच मतभेद उत्पन्न भयो । एसियामा सबैभन्दा महत्त्वपूर्ण मिति निशान महिनाको चौधौँ दिन थियो … र त्यसपछि पवित्र भोज(Eucharist) मनाइन्थ्यो । तर पश्चिमी मण्डलीमा चाहिँ निशान महिनाको चौधौँ दिनपछि आउने आइतबारसम्म उपवास बसेपछि मात्रै पास्कल पवित्र भोज मनाइन्थ्यो … ई.सं. १५५मा पोलिकार्पले पोप एनिसिटससँग त्यो प्रश्नबारे बहस गरे, तर अरूलाई आश्वासन दिलाउन नसकेकोले उनीहरू अन्तत: त्यो दिनलाई छुट्टाछुट्टै मान्ने सहमतिमा पुगे ।” जोन विलियम चार्ल्स वान्ड, ई.सं. ५००सम्मको सुरुको मण्डलीको इतिहास (A History of the Early Church to A.D. 500) पेज नं. ८२-८३

निस्तार-चाडको विषयमा उठेको दोस्रो विवाद

ई.सं. १९७मा निस्तार-चाडको विषयलाई लिएर फेरि अर्को विवाद उठ्यो । त्यो समयमा रोमको मण्डलीका बिशप(अहिले पोप) भिक्टरले निस्तार-चाड पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा होइन, तर निस्तार-चाडपछि आउने पहिलो आइतबार(पुनरुत्थानको दिन)मा पवित्र भोज मान्नु नै ‘डोमिनिक(प्रभु)को नियम’ हो भनेर जिद्दी गर्दै धेरै मण्डलीहरूलाई त्यसो गर्न कर गरी खैलाबैला मच्चाए । येशूज्यूले निशान महिनाको चौधौँ दिनमा पवित्र भोज मान्नुभए तापनि भिक्टरले निस्तार-चाडपछिको आइतबारमा पवित्र भोज मान्ने रोमी परम्परा नै येशूज्यूको नियम हो भन्दै जिद्दी गरे ।

“रोममा ई.सं. १९७मा अवस्था झनै विवादास्पद भयो । एनिसिटसभन्दा अझ बढी दमनकारी प्रवृत्तिका पोप भिक्टरले सम्पूर्ण अन्योलहरूलाई रोक्ने र सबै मण्डलीहरूलाई आइतबारमा पुनरुत्थानको दिन मान्ने डोमिनिकको नियम स्वीकार गर्न विवश पारिदिने प्रतिबद्धता जाहेर गरे । पूर्व र पश्चिमका विभिन्न क्षेत्रहरूमा सम्मेलनहरू आयोजना गरियो । परिणामस्वरूप एसियाबाहेक सबै क्षेत्रहरूले डोमिनिकको नियममा सहमति जनाए । तब मौकाको फाइदा उठाएर भिक्टरले हठी मण्डलीहरूलाई बहिष्कार गर्ने मनशाय लिए । तर यसले विरोधलाई झनै चर्कायो ।” जोन विलियम चार्ल्स वान्ड, ई.सं. ५००सम्मको सुरुको मण्डलीको इतिहास (A History of the Early Church to A.D. 500) पेज नं. ८३

यसरी पश्चिमी मण्डलीहरूले रोमी मण्डलीको निर्णय पछ्याउने निधो गरे, तर प्रेरितहरूको समयदेखि निस्तार-चाडको पवित्र भोज पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनमा मान्दैआएका एसियाली मण्डलीहरू भने त्यो निर्णयमा सहमत भएनन् । एफिससका बिशप पोलिक्रेट्सले भिक्टरलाई पत्र पठाएर एसियाका मण्डलीहरूलाई मार्गनिर्देशन गरेका प्रेरित फिलिप, प्रेरित यूहन्ना र धेरै शहीदहरूले पहिलो महिनाको १४औँ दिनमा निस्तार-चाड मानेका, अनि आठौँ बिशप रहेका उनले पनि त्यही रीतिअनुसार पहिलो महिनाको १४औँ दिनमा निस्तार-चाड मान्दैआएको कुरा बताउँदै निस्तार-चाड मान्नैपर्ने कुरालाई जोडका साथ वर्णन गरे । त्यसरी एसियाको परम्परा विरोध गरेको आरोपमा भिक्टरले मण्डलीहरूलाई समाजबाट बहिष्कार गराउन कोसिस त गरे, तर धेरै मण्डलीका अगुवाहरूको अनुनयका कारण तिनले आफ्नो कार्यलाई रोके ।

यता आफ्ना पुर्खाहरूबाट आएको परम्परालाई दृढतासाथ पालन गर्दैआएका एसियाका बिशपहरूलाई नेतृत्व गर्ने व्यक्ति पोलिक्रेट्स थिए । उनले भिक्टर र रोमको मण्डलीलाई पठाएको पत्रमा, तिनीहरूमा हस्तान्तरण भएको परम्परालाई अत्युक्ति दिँदै निम्नानुसार व्याख्या गरे :

“हामी नथपी, नघटाई सही तरिकाले चाड मान्दछौं । एसियाका महान् ज्योतिहरू सुतिगएकाले … बाह्र प्रेरितहरूमध्येको एक रहेका फिलिप … यूहन्ना …एफिससमा गाडिए … । यी सबै जनाले कुनै कुरामा नअलमलीकन विश्वासको नियम पालन गर्दै सुसमाचारअनुसार चौधौँ दिनमा निस्तार-चाड माने । सबैभन्दा कान्छो रहेको म, पोलिक्रेट्सले पनि नातेदारहरूका केही परम्पराहरूलाई पछ्याएको छु । …”

… यो पत्र पाएका रोमका बिशप भिक्टरले एसियाभरिका मण्डलीहरू लगायत स्थानीय मण्डलीहरू सबैलाई विधर्मीको संज्ञा दिँदै जरैदेखि हटाउन खोजेका थिए । उनले पत्रहरूमार्फत त्यहाँका सबै सदस्यहरूलाई पूर्ण रूपमा बहिष्कार गरिनुपर्ने कुरा घोषणा गरे । तर खासमा योचाहिँ सबै बिशपहरूको राय भने थिएन ।” युसेबियस प्याम्फिलस, युसेबियसको मण्डलीसम्बन्धी इतिहास (Eusebius’ Ecclesiastical History) अध्याय २४, पेज नं. २०८-२०९

निकेया सम्मेलनमा निस्तार-चाड हटाइएको

एनिसिटस र भिक्टरजस्ता रोमका पोपहरूले निस्तार-चाडलाई हटाउन हरप्रयास गरे, तर तिनीहरू सफल भएनन् । चौथो शताब्दीमा निस्तार-चाडको विषयमा पुन: विवाद उठ्यो र अन्तत: रोमी सम्राट कन्स्टेन्टाइनद्वारा गठित निकेया धार्मिक सम्मेलनमा निस्तार-चाडलाई हटाएरै छाडियो । ई.सं. ३२५मा निकेयामा आयोजित धार्मिक सम्मेलनले रोमी मण्डलीको पक्ष लिएर निस्तार-चाडलाई हटायो, र पुनरुत्थानको दिनमा पवित्र भोज मान्ने निर्णय जारी गरिदियो ।

अनि सम्मेलनले पुनरुत्थानको दिनको मिति वसन्तकालीन विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारको दिनलाई तोकिदियो । निस्तार-चाड र अखमिरी रोटीको चाड भन्ने बाइबलीय आधारलाई नै हटाएर पुनरुत्थानको चाडको मिति तोक्न खोज्दा तिनीहरू आफैले बाइबलमा नभएको ‘वसन्तकालीन विषुवको पूर्णिमा’ भन्ने नयाँ आधार बनाएर त्यसपछि आउने आइतबारलाई पुनरुत्थानको चाडको रूपमा तोके ।

“इस्टर मनाउने उपयुक्त मितिको विषयलाई लिएर दोस्रो शताब्दीको मध्यतिर इस्टरसम्बन्धी विवाद उठ्यो । पूर्वी मण्डलीहरूले यहूदी पात्रोअनुसार निसान महिनाको चौधौँ दिनमा पर्ने निस्तार-चाड, हप्ताको जुनसुकै दिनमा परे पनि सोही दिनमा इस्टर मनाइनुपर्छ भनेर जोड दिए । तर निसान महिनाको १४औँ दिनपछि आउने आइतबारको दिनमा इस्टर मनाइनुपर्छ भन्ने विश्वास लिएका रोमका बिशप एनिसिटसले एसियाका पोलिकार्पको धारणाप्रति आपत्ति जनाए । पश्चिमी मण्डलीहरूको धारणालाई अपनाइएको ई.सं. ३२५को निकेया सम्मेलनसम्म पनि पूर्वी र पश्चिमी मण्डलीहरू कुनै सहमतिमा आउन सकेनन् ।” अर्ल एड्विन केर्न्स, शताब्दीऔँदेखिको ख्रीष्टियान धर्म(Christianity Through the Centuries) पेज नं. ११२

त्यसपछि रोमको मण्डलीको अधिकारसामु नझुकीकन पहिलो महिनाको १४औँ दिनमा निस्तार-चाड मान्ने मण्डलीहरूलाई विधर्मीको संज्ञा दिइयो र सताइयो । येशूज्यूको शिक्षाअनुसार जिउन चाहने सन्तहरूले उजाड-स्थानमा, पहाडहरूमा र गुफाहरूमा लुकेर निस्तार-चाड मान्नुपर्ने भयो । [ई.सं. ५००सम्मको सुरुको मण्डलीको इतिहास(A History of the Early Church to A.D. 500) पेज नं. १९३ हेर्नुहोला ।]

यसरी नयाँ करार निस्तार-चाड इतिहासबाट लोप भयो । अगमवाणीअनुसार शैतानले परमेश्वरको समय र व्यवस्थालाई फेरिदिएर क्षणिक जित हासिल गऱ्यो (दान ७:२५) । त्यसपछि बाइबलमा नभएका झूटा सिद्धान्तहरू र मूर्तिहरू लगातार मण्डलीमा एक-एक गर्दै भित्रिए । अनि येशूज्यूले सिकाउनुभएको र सुरुको मण्डलीले पालन गरेको जीवनको सत्यता धार्मिक अन्धकारको युगमा पूर्ण रूपले हरायो ।

FacebookTwitterEmailLineKakaoMessage
सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기