हिजोआज संसारमा एक-अर्कामा फरक सिद्धान्त लिएका मण्डलीहरू धेरै छन् । त्यसोभए ख्रीष्टियान धर्ममा कोपिला लाग्न थालेको २,००० वर्षअघि चाहिँ कस्तो थियो होला ? येशूज्यूले स्थापना गर्नुभएको र प्रेरितहरू जाने गरेको मण्डलीचाहिँ फरक-फरक नभएर एउटै थियो । सुरुको मण्डलीले येशूज्यूको उदाहरणलाई पछ्याउँदै विश्वासको सही मार्गमा हिँडेको थियो ।
साँचो ख्रीष्टियान विश्वासको रूपमा उच्च सम्मान पाएको सुरुको मण्डलीको नाउँ के थियो, त्यहाँ के-कस्तो सत्यता पालन गरिन्थ्यो र त्यसको वैधानिकता प्राप्त गरेको मण्डली कुन मण्डली हो भन्ने कुरा बाइबलद्वारा पत्ता लगाऔं ।
सुरुको मण्डलीको नाउँ, परमेश्वरको मण्डली
कुनै कम्पनी अथवा पसल स्थापना गर्दा त्यसलाई नाउँ दिने गरिन्छ । त्योजस्तै येशूज्यूले स्थापना गर्नुभएको मण्डलीको पनि नाउँ छ । त्यो मण्डलीको नाउँ नै ‘परमेश्वरको मण्डली’ हो भनेर नयाँ करार बाइबलमा लेखिएको छ ।
कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, … १ कोर १:२
१ कोरिन्थीको पुस्तकचाहिँ प्रेरित पावलले कोरिन्थ क्षेत्रमा रहेका सुरुको मण्डलीका सन्तहरूलाई लेखेका पत्र हो । यहाँ पावलले मण्डलीलाई ‘कोरिन्थमा भएका परमेश्वरको मण्डली’ भनेर व्यक्त गरेका छन् ।
यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें । गला १:१३
प्रेरित पावलले आफू यहूदी धर्ममा छँदा ‘परमेश्वरको मण्डली’लाई सताएको कुरा स्वीकार गरेका छन् । पावलले येशूज्यूलाई ग्रहण गर्नुअघि, येशूज्यूले स्थापना गर्नुभएको मण्डलीलाई तिनले भयानक रूपले सताएका कुरा हामीलाई राम्ररी थाहा छ । यसबाट हेर्दा पनि, येशूज्यूले स्थापना गर्नुभएको मण्डलीको नाउँ ‘परमेश्वरको मण्डली’ थियो भन्ने कुरा देख्न सकिन्छ ।
सुरुको मण्डलीको सत्यता
नाउँ मात्र ‘परमेश्वरको मण्डली’ हुँदैमा त्यो नै, येशूज्यूले स्थापना गर्नुभएको र प्रेरितहरू जाने गरेको मण्डली हो भन्न मिल्दैन । साँचो परमेश्वरको मण्डलीमा परमेश्वरको आज्ञा हुन्छ । मूलभूत रूपमा परमेश्वर हुनुभएका येशूज्यूले सधैँ ती आज्ञाहरू मानेर उदाहरण देखाउनुभयो, र सन्तहरूले पनि मान्नुपर्छ भन्ने शिक्षा दिनुभयो (यूह १३:१५) । येशूज्यूले उदाहरण देखाउनुभएका र सन्तहरूले पालन गरेका सत्यताहरू नै नयाँ करारको शबाथ-दिन, निस्तार-चाड, बप्तिस्मा आदि हुन् ।
नयाँ करारको शबाथ-दिन
सातौँ दिन शबाथ-दिनचाहिँ पवित्र सृष्टिकर्तालाई सम्झना गर्ने दिन हो (उत २:१-३; प्रस २०:८-११) । पुरानो करारको समयमा पशुको रगत बलि गरेर शबाथ-दिन मान्ने गरिन्थ्यो । तर नयाँ करारको समयमा येशूज्यूले आत्मा र सत्यतामा गरिने आराधनाद्वारा नयाँ करारको शबाथ-दिन मान्ने उदाहरण देखाइदिनुभयो ।
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो । लूक ४:१६
शबाथ-दिनलाई ‘आफ्नो आदतअनुसार’ मान्नुभएका येशूज्यूको उदाहरणलाई पछ्याउँदै प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले पनि शबाथ-दिन माने ।
त्यो तयारीको दिन थियो, अनि शबाथ सुरु हुनै लागेको थियो । गालीलबाट उहाँको साथमा आउने स्त्रीहरू पछिपछि गए, र त्यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे । तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे । अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे । लूक २३:५४-५६
शबाथ-दिन बितेपछि … हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि … मर्क १६:१-९
बाइबलमा ‘शबाथ-दिन बितेपछि हप्ताको पहिलो दिनमा’ येशूज्यू पुनरुत्थान हुनुभयो भनेर लेखिएको छ । येशूज्यू आइतबारमा पुनरुत्थान हुनुभएकोले सन्तहरूले मानेका शबाथ-दिनचाहिँ शनिबार पर्छ । सुरुको मण्डलीले येशूज्यूको उदाहरणलाई पछ्याउँदै सातौँ दिन(शनिबार)मा नयाँ करारको शबाथ-दिन माने । यसकारण परमेश्वरको मण्डलीले येशूज्यू र प्रेरितहरूले गर्नुभएजस्तै शनिबार शबाथ-दिनको आराधना गर्दछ ।
नयाँ करारको निस्तार-चाड
मानव-जातिलाई अनन्त जीवन दिन यो पृथ्वीमा आउनुभएका येशूज्यू स्वयम्ले (यूह १०:१०) अनन्त जीवन पाउन सकिने तरिका सिकाइदिनुभयो ।
येशूले तिनीहरूलाई भन्नुभयो, “… मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, …” यूह ६:५३-५४
अब अखमिरी रोटीको चाडको पहिलो दिन … तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो । … येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:१७-२०, २६-२८
येशूज्यूले बाइबलमा लेखिएको मितिबमोजिम (लेवी २३:५) पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मान्नुभयो । अनि निस्तार-चाडको रोटी र दाखमद्यलाई उहाँले आफ्नो देह र रगत भनेर प्रतिज्ञा गर्नुभयो । “मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ” भनिएको यूहन्नाको पुस्तकको वचनलाई विचार गर्ने हो भने हामीलाई येशूज्यूको देह र रगतमा सहभागी गराउने र अनन्त जीवन दिलाउने सत्यता नै निस्तार-चाड हो ।
येशूज्यूले निस्तार-चाडलाई “यो मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” भन्नुहुँदै “मेरो सम्झनामा यो गर्ने गर” भनी आग्रह गर्नुभयो (लूक २२:१५-२०) । त्यो वचनअनुसार सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले येशूज्यूको क्रूसको बलिदानपछि पनि नयाँ करार निस्तार-चाड माने ।
… हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी … चाड मनाऔं । १ कोर ५:७-८
कसै-कसैले निस्तार-चाडको पवित्र भोज र पुनरुत्थानको दिन एउटै हो भन्ने गर्छन् । तर निस्तार-चाडचाहिँ येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि मान्नुभएको धर्मविधि हो (लूक २२:१५) । यो चाडचाहिँ, क्रूसमा टाँगिनुभएपछि मृत्युको शक्तिलाई तोड्नुभएर पुनरुत्थान हुनुभएको दिनभन्दा पूर्णतया फरक छ । यसकारण परमेश्वरको मण्डलीले येशूज्यू र प्रेरितहरूले जस्तै पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाडको पवित्र भोज मान्दछ ।
पुनरुत्थानको दिन र पेन्तिकोसको दिन
२,००० वर्षअघि येशूज्यूले गर्नुभएका शक्तिशाली कार्यहरूमध्ये पुनरुत्थान र पवित्र आत्माको आगमनलाई छुटाउनै मिल्दैन । सुरुको मण्डलीका सन्तहरूको विश्वासलाई अझ दृढ बनाएको र सुसमाचारमा पुनर्जीवन ल्याएका यी सबै कार्यहरू येशूज्यूले स्थापना गर्नुभएका चाडहरूद्वारा पूरा भयो ।
अगौटे फलको चाडचाहिँ पुरानो करारको समयदेखि नै हरेक वर्ष परमेश्वरलाई बालीको पहिलो उब्जनी चढाउने चाड हो (लेवी १३:१०-११) । येशूज्यू पुनरुत्थान हुनुभएर ‘सुतिजानेहरूमध्येमा प्रथम(अगौटे) फल’ हुनुभयो (१ कोर १५:२०) । पुरानो करारको चाडअनुसार उहाँ आगौटे फलको चाडको बलि हुनुभयो । सुरुको मण्डलीका सन्तहरूले अगौटे फलको चाडको अगमवाणी पूरा गर्नुभएका येशूज्यूको पुनरुत्थानलाई सम्झना गर्दै, आत्मिक आँखा खोलिदिने रोटी भाँचेर पुनरुत्थानको चाड माने (प्रे २०:६-७) ।
पुरानो करारको समयमा अगौटे फलको चाडदेखिको ५०औँ दिनमा साताहरूको चाड अर्थात् पेन्तिकोसको दिन पर्थ्यो (लेवी २३:१५-१८) । येशूज्यू पुनरुत्थान हुनुभएको ४०औँ दिनमा स्वर्ग उचालिनुभयो । त्यस दिनदेखि १० दिनसम्म सन्तहरूले गहिरो प्रार्थना चढाए, र पेन्तिकोसको दिनमा येशूज्यूले तिनीहरूमाथि पवित्र आत्माको आशिष् खन्याइदिनुभयो (प्रे २:१-४) । त्यस दिन पवित्र आत्माको शक्तिद्वारा एकै दिनमा ३,००० जनाले पश्चात्ताप गरेर ख्रीष्टलाई ग्रहण गर्ने चमत्कारपूर्ण घटना घट्यो । त्यस बेलादेखि सुरुको मण्डलीले प्रत्येक वर्ष पेन्तिकोसको दिन माने (१ कोर १६:८) ।
बप्तिस्मा, घुम्टोको नियम, अखमिरी रोटीको चाड, छाप्रो-वासको चाड आदि
येशूज्यूले बप्तिस्मा लिनुभयो (मत्ती ३:१३-१६), र बप्तिस्मा दिनू भनी आज्ञा गर्नुभयो (मत्ती २८:१९) । त्यो शिक्षाअनुसार प्रेरितहरूले सुसमाचार सुनेर महसुस गर्नेहरूलाई तुरुन्त बप्तिस्मा दिए (प्रे अध्याय ८, १०, १६) । साथै ख्रीष्टको उदाहरणलाई पछ्याएको सुरुको मण्डलीमा प्रार्थना वा आराधना गर्दा पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ शिर घुम्टोले ढाक्नुपर्छ भन्ने घुम्टोको नियम पनि थियो (१ कोर ११:१-१६) ।
यीबाहेक पनि येशूज्यूले मान्नुभएका र सिकाउनुभएका सत्यताहरू धेरै छन् । येशूज्यूले दुलहा अलग हुने दिनमा जन्तीहरू उपवास बस्नुपर्छ भनी आज्ञा गर्नुभयो (मर्क २:१९-२०), अनि निस्तार-चाडको भोलिपल्ट अखमिरी रोटीको चाडमा उहाँले क्रूसमा मृत्यु भोग्नुभयो (मर्क १५:१-३७) । त्यसैले नयाँ करारको समयमा हामीहरू अखमिरी रोटीको चाडमा उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी हुन्छौं । अनि येशूज्यूले छाप्रो-वासको चाडमा जीवनको झरनाजस्तो पवित्र आत्माको आशिष् दिने प्रतिज्ञा गर्नुभयो (यूह ७:२, ३७-३९) । यी सबै सत्यताहरू येशूज्यूले स्थापना गर्नुभएको र प्रेरितहरू जाने गरेको परमेश्वरको मण्डलीमा मानिएका नयाँ करार हुन् ।
हामीहरू सुरुको मण्डलीको विश्वासमा फर्कनुपर्छ
परमेश्वरको आज्ञालाई त्यागेर मानिसको नियम पालन गर्दै ओठले मात्र परमेश्वरको उपासना गर्नुचाहिँ व्यर्थ हो भनेर येशूज्यूले भन्नुभयो (मत्ती १५:७-९) । साथै परमेश्वरको इच्छाविपरीत अधर्म काम(व्यवस्था भङ्ग) गर्नेहरू स्वर्ग-राज्यमा प्रवेश गर्न सक्नेछैनन् भनेर चेताउनी पनि दिनभयो (मत्ती ७:२१-२३) । त्यसैले सुरुको मण्डलीका प्रेरितहरूसमेत ख्रीष्टको सुसमाचारबाहेकका भिन्न सुसमाचार सुनाउने कुरामा सावधान थिए ।
मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँडै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ । वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन् । हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गऱ्यो भने पनि त्यो व्यक्ति श्रापित होस् । … तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस् । गला १:६-९
तर दुर्भाग्यवश, सबै प्रेरितहरू संसारबाट बिदा भएपछि मण्डली सांसारिक भयो, र गैर-ईसाई विचारधाराहरूलाई तर्कसङ्गत बनाउँदै त्यसलाई स्वीकार गरियो । परिणामस्वरूप मानिसका विचार र सूर्य पूजाको रीतिको मिश्रण रहेको आइतबारको सेवा, क्रिसमस जस्ता झूटा सिद्धान्तहरू मण्डलीमा भित्रिए । यसरी येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको सत्यता सबैको मन-मस्तिष्कबाट हरायो ।
धेरै मानिसहरूले पछ्याएको सिद्धान्त भए तापनि यदि त्यो परमेश्वरको इच्छा होइन भने मुक्तिसँग त्यसको कुनै सम्बन्ध हुँदैन । परमेश्वरलाई सही तरिकाले विश्वास गर्न र मुक्ति पाई स्वर्ग जानको निम्ति हामीले मानिसको नियम होइनकि परमेश्वरको आज्ञा मान्ने मण्डली खोज्नुपर्छ । हामीले भिन्न सुसमाचारलाई इन्कार गर्दै केवल ख्रीष्टको सुसमाचार पालन गरी सुरुको मण्डलीको विश्वास पुनर्स्थापना गर्ने मण्डली खोज्नुपर्छ ।
वर्तमान समयमा नयाँ करारको शबाथ-दिन, निस्तार-चाड लगायतका सुरुको मण्डलीको विशुद्ध सत्यता पालन गर्ने मण्डलीचाहिँ दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज मात्र हो । यसकारण २,००० वर्षअघिको सुरुको मण्डलीको वैधानिकता प्राप्त गरेको र परमेश्वरले यो पृथ्वीमा स्थापना गर्नुभएको एकमात्र सत्य मण्डली नै परमेश्वरको मण्डली हो ।