असंख्य मानिसहरूले क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीक ठान्ने गर्छन्, तर वास्तवमा क्रूस भनेको गैर-ईसाई मूर्ति मात्र हो । ख्रीष्टियान धर्म सुरु हुनुभन्दा धेरै पहिलेदेखि क्रूसलाई अन्य धर्ममा प्रतीकको रूपमा प्रयोग गर्ने गरिन्थ्यो । प्रेरितहरूको युगमा लिखित नयाँ करार बाइबलमा, क्रूसलाई मण्डलीको प्रतीक भनिएको वचन कतै पनि भेट्टाउन सकिँदैन । उल्टै प्रेरितहरू मूर्तिपूजादेखि टाढा रहे, अनि मूर्तिपूजकहरू कुनै हालतमा परमेश्वरका राज्यको हकदार हुनेछैनन् भनी सिकाए (१ कोर ६:९-१०) । तैपनि क्रूसले मण्डलीभित्र कसरी यति दह्रो गरी जरा गाड्न सकेको होला ?
क्रूसको उत्पत्ति
ख्रीष्टको क्रूसको घटनापछि मात्र देखा पर्न थालेको क्रूस कदापि धार्मिक जीवनको प्रतीक होइन । यसको उत्पत्तिचाहिँ प्राचीन बेबिलोनबाट भएको हो ।
“काठको क्रूसको आकारचाहिँ प्राचीन कल्दीहरूबाट आएको हो । त्यो देशमा, त्यसका आसपासका क्षेत्रहरूमा र मिश्रमा पनि तम्मूज (तिनको नामको पहिलो अक्षर, T आकार) देवताको प्रतीकको रूपमा प्रयोग गर्ने गरिन्थ्यो ।” क्रूस, पुरानो र नयाँ करार बाइबलका शब्दहरूसम्बन्धी भाइनको पूर्ण व्याख्या शब्दकोश, थोमस नेल्सन प्रकाशक, सन् १९९६
कल्दीचाहिँ बेबिलोनको केन्द्रीय इलाका थियो । बेबिलोनमा तम्मूजलाई पुज्नको निम्ति त्यसको नाउँको पहिलो अक्षर ‘T’लाई धार्मिक प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो । छिमेकी देशहरूमा पनि फैलँदैगएकोले मिश्र र सिरिया जस्ता प्राचीन देशहरूको अवशेषहरूमा क्रूसको आकार देख्न सकिन्छ । रोमी साम्राज्य स्थापना भएपछि पनि क्रूस श्रद्धाको रीति निरन्तर जारी रह्यो ।
मण्डलीमा क्रूस भित्रिएको इतिहास
मण्डलीमा क्रूस प्रयोग हुन थालेको चाहिँ कन्स्टेन्टाइनको पालादेखि हो । सम्राट कन्स्टेन्टाइनले मण्डलीलाई मान्यता दिनुअघि मण्डलीले रोमी साम्राज्यबाट सतावट पाएको थियो । क्रूसचाहिँ सन्तहरूलाई मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग गरिन्थ्यो । यस्तो अवस्थामा, मृत्युदण्ड दिने भयानक साधन रहेको क्रूसलाई आदर्शीकरण गर्नु र यसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्नु वाहियात् कुरा हो । वास्तवमा येशूज्यूको समयदेखि कन्स्टेन्टाइनको समय गरेर करीब ३०० वर्षसम्म मण्डलीभित्र क्रूस राखिएको थिएन ।
“ख्रीष्टियानहरूले क्रूसलाई ख्रीष्टियान धर्मको प्रतीकको रूपमा औपचारिक रूपमा प्रयोग गर्न थालेका चाहिँ कन्स्टेन्टाइनको पालादेखि हो । सुरुको मण्डलीका सन्तहरूका लागि क्रूसचाहिँ नाम मात्र सुन्यो भने पनि घृणा लाग्ने कुरा भएकोले यसलाई संवेदनशील तरिकाले आदर्शीकरण गर्ने सम्भावना नै भएन ।” एभरेट एफ्. ह्यारिसन, बेकरको आध्यात्मिक शब्दकोश, बेकर पुस्तक भण्डार, सन् १९७३
तर सम्राट कन्स्टेनटाइनले ख्रीष्टियान धर्मलाई आधिकारिक रूपमा मान्यता दिएपछि परिवर्तन आयो । ख्रीष्टियान धर्मलाई मान्यता दिने नीति लागू हुनेबित्तिकै मण्डली तीव्र गतिमा धर्मनिरपेक्ष भयो, र भ्रष्ट भएका रोमन क्याथोलिक अगुवाहरूले अझ धेरै अन्यजातिहरूलाई प्रचार गर्ने निहुमा अन्य धर्मका विचार र प्रतीकहरूलाई आत्मसात् गरे । तीमध्ये क्रूस पनि एक थियो । क्रूसको प्रतिमालाई आदर्शीकरण गरेका धर्म परिवर्तनकारीहरूले, येशूज्यूको क्रूसको घटनालाई सम्झना गराउने कुरा नै क्रूस हो भन्दै मण्डलीमा क्रूस भित्र्याए । यसबाहेक पनि अन्य धर्मका देवीलाई पुज्नेहरूका निम्ति तिनीहरूले येशूज्यूकी आमा मरियमलाई देवीको रूपमा माने, र विभिन्न पराई देवताको बहानामा सन्तहरू र शहीदहरूलाई उपासना गर्न लगाए ।
यसरी गैर-ईसाई विचारधारा र प्रतीकहरू भित्रियो, र यसले मण्डलीमा लामो समयसम्म गहिरो गरी जरा गाड्यो । विश्वासीहरूले ती कुराहरू परमेश्वरलाई सेवा गर्ने साधन अथवा ख्रीष्टियान धर्मको प्रतीकको रूपमा विश्वास गरे । ई.सं. ४३१मा मण्डलीको भित्री भागमा क्रूस राखियो, र त्यसपछि मण्डलीको भवनको धूरीमा समेत राखियो ।
“मण्डली र कार्यालय कक्षभित्र क्रूस राखिएको चाहिँ ई.सं. ४३१तिर हो, र त्यसलाई मण्डलीको धूरीमा राखिएको चाहिँ ई.सं. ५६८तिर हो ।” Harper’s Book of Facts, हार्पर एन्ड ब्रदर्स, सन् १८९५
क्रूस श्रद्धाचाहिँ मूर्तिपूजा
प्रेरितहरूको युगको धार्मिक जीवनसँग असम्बन्धित क्रूसचाहिँ, मण्डलीमा धर्मनिरपेक्षता र अन्य धर्मको रीतिरिवाज अपनाइने क्रममा भित्रिएको मूर्ति मात्र हो ।
“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू । तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू …” प्रस २०:४-५
परमेश्वरले दश आज्ञामध्येको दोस्रो आज्ञाद्वारा, आफ्ना प्रजालाई मूर्ति बनाउन र त्यसलाई श्रद्धा गर्न कडा निषेध गर्नुभयो । साथै उहाँले तिनीहरूलाई आफ्नो निम्ति कुनै देवताको मूर्ति नबनाउनू अथवा परमेश्वरलाई पुज्नको निम्ति कुनै मूर्ति नबनाउनू पनि भन्नुभयो (प्रस २०:२३) । मूर्ति बनाउनु वा खडा गर्नुचाहिँ परमेश्वरको निम्ति घिनलाग्दो कार्य, श्राप निम्त्याउने कार्य हो भनेर बाइबलमा स्पष्टसित गवाही दिइएको छ (व्य २७:१५) ।
यस्ता चेताउनीको बाबजुद, पुरानो करारको समयमा इस्राएलीहरूले कनान प्रवेश गरेपछि वरपरका अन्यजातिहरूले पुज्ने गरेका बाल र अशेराका मूर्तिहरूलाई पनि मान्यता दिँदै त्यसलाई आफ्नो विश्वाससँग मिसाए । तिनीहरूले अनेक किसिमका मूर्तिहरू बनाएर पुज्दै, त्यो नै परमेश्वरलाई अझ राम्ररी उपासना गर्ने कार्य हो भन्दै आफ्नो कार्यलाई तर्कसङ्गत बनाए । परिणामस्वरूप परमेश्वरद्वारा श्राप पाएर तिनीहरू नष्ट भए (यर २:२७-२८) ।
हिजोआज धेरै मण्डलीहरूले उस्तै मूर्खता दोहोऱ्याइरहेका छन् । अन्य धर्मको प्रतीक रहेको क्रूसलाई मण्डलीको चिन्हको रूपमा स्वीकारेर त्यसलाई खडा गर्नु भनेको “कुनै किसिमको प्रतिमूर्ति नबनाउनू र त्यसलाई नपुज्नू” भन्ने परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्ने कार्य हो । तिनीहरू क्रूसचाहिँ मण्डलीको प्रतीक मात्र हो भन्छन् तर वास्तवमा तिनीहरूले मानिसहरूका माझमा क्रूसलाई विशेष अर्थ दिने गर्छन् ।
इस्राएलीहरूको इतिहासमा क्रूस श्रद्धासम्बन्धी अगमवाणी
काँसाको सर्प पुजेका इस्राएलीहरू
मण्डलीभित्र क्रूस श्रद्धा गरिनेबारे परमेश्वरले विगतको इतिहासद्वारा पहिल्यै अगमवाणी गर्नुभएको थियो । मिश्रबाट निस्केर कनानतर्फ जाने उजाड-स्थानको बाटोमा इस्राएलीहरूले परमेश्वरको विरुद्धमा गनगन गरे । परिणामस्वरूप धेरै इस्राएलीहरू विषालु सर्पको टोकाइले मरे (गन्ती २१:४-६) । तब ढीलै भए पनि इस्राएलीहरूले पश्चात्ताप गरे र आफ्नो जीवन बचाइदिन परमेश्वरलाई बिन्ती गरे । तब सर्पको टोकाइले गर्दा मर्न लागेका मानिसहरूलाई परमेश्वरले बाँच्न सक्ने तरिका जानकारी दिनुभयो ।
… परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या । सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।” तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए । सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे । गन्ती २१:७-९
जो कोही होस्, खामामा झुण्ड्याएको काँसाको सर्पलाई हेरे मात्र भने बाँच्न सक्ने त्यस्तो आश्चर्यको घटना घट्यो । काँसाको सर्प आफैमा शक्ति भएकोले त्यसो भएको होइनकि काँसाको सर्पलाई हेरेपछि तिनीहरू बाँच्नेछन् भन्ने परमेश्वरको वचनले गर्दा यो सम्भव भएको थियो । तर समय बित्दैजाँदा इस्राएलीहरूले, काँसाको सर्पले नै हामीलाई बचाएको हो भन्ठानेर हिजकियाको पालासम्म काँसाको सर्पलाई श्रद्धा गरे ।
आफ्ना पुर्खा दाऊदले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे । तिनले अल्गा-अल्गा ठाउँहरू हटाइदिए, चोखा ढुङ्गाहरू भत्काइदिए, र अशेराका खम्बाहरू ढालिदिए । मोशाले बनाएको काँसाको साँपलाई तिनले टुक्रा-टुक्रा पारिदिए, किनकि त्यस बेलासम्म इस्राएलीहरूले त्यसको निम्ति धूप बालेका थिए । तिनीहरूले त्यसलाई नहूश्तान भन्थे । २ राज १८:३-४
निस्तार-चाड मानेपछि मूर्तिहरूलाई नष्ट गर्ने क्रममा हिजकियाले काँसाको सर्पलाई पनि टुक्रा-टुक्रा पारेर त्यसलाई नहूश्तान अर्थात् काँसाको टुक्रा भने । काँसाको सर्पचाहिँ काँसाको टुक्रा अर्थात् मूर्ति मात्र हो भन्ने कुरा तिनले इस्राएलीहरूलाई बोध गराए ।
क्रूसलाई श्रद्धा गर्ने मण्डलीहरू
काँसाको सर्पको घटनाचाहिँ पछि येशूज्यूले क्रूसमा पूरा गर्नुहुने मुक्तिको कार्यसम्बन्धी अगमवाणी हो ।
“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।” यूह ३:१४-१५
मोशाले उजाड-स्थानमा सर्प उचालेझैँ येशूज्यूले पनि आफू क्रूसमा उचालिनुपर्छ भन्नुभयो । मोशाले काँसाको सर्पलाई उचालेका कार्यचाहिँ येशूज्यू क्रूसमा उचालिनुहुने कुराको अगमवाणी हो । मर्न लागेका इस्राएलीहरूले काँसाको सर्पलाई हेरेपछि बाँचेजस्तै मानव-जाति पनि येशूज्यूको क्रूसको बलिदानद्वारा बाँच्नेछन् ।
काँसाको सर्प आफैमा शक्ति भएकोले पुरानो करारको समयमा इस्राएलीहरू बाँचेका होइनन् । तापनि तिनीहरूले परमेश्वरको वचनको शक्तिलाई बिर्से, र आँखामा देखिने काँसाको सर्पलाई पुजे । वर्तमानका मण्डलीहरू पनि उस्तै हुन् । ख्रीष्टले क्रूसमा बगाउनुभएको बलिदानको रगतद्वारा मात्र मानव-जातिले मुक्ति पाउन सक्छन् (एफि १:७; १ पत्र १:१८-१९) । क्रूस आफैले मुक्ति दिन अथवा पाप-क्षमा गरिदिन सक्दैन । तापनि परमेश्वरलाई विश्वास गर्छु भनौदा मानिसहरू, मानव-जातिलाई मुक्ति दिनुहुने ख्रीष्टको बलिदानलाई बिर्सेर क्रूसलाई श्रद्धा गरिरहेका छन् ।
इस्राएलीहरूले गर्दैआएको लामो समयको मूर्तिपूजाको रीतिलाई जब हिजकियाले टुक्रा-टुक्रा पारिदिए, तब परमेश्वरले तिनलाई ‘परमेश्वरसँग रहेर उहाँले मोशालाई दिनुभएका आज्ञाहरू तिनले पालन गरे’ भनेर प्रशंसा गर्नुहुँदै ठूलो आशिष् दिनुभयो (२ राज १८:६-७) । यो युगमा पनि, मूर्तिपूजा रहेको क्रूस श्रद्धाको मानसिकतालाई टुक्रा-टुक्रा पार्ने अनि ख्रीष्टको बलिदानद्वारा स्थापना भएको मुक्तिको सार, नयाँ करारको मूल्य जानेर त्यसमा ध्यान दिने र पालन गर्नेहरूले नै मुक्तिको आशिष् पाउनेछन् ।