परमेश्वरले स्वर्गमा मात्र रहेर मुक्तिको कार्य गर्नुहुने होइन । उहाँले शरीर धारण गरेर यो पृथ्वीमा आउनुभई स्वर्ग-राज्यको सुसमाचार प्रचार गर्नुभयो । बाइबलमा मानव-जातिको मुक्तिको निम्ति शरीरमा आउनुभएका परमेश्वरलाई ‘ख्रीष्ट’ भनेर वर्णन गरिएको छ ।
ख्रीष्टोस्(Χριστός) भन्ने ग्रीक शब्दबाट ख्रीष्टको उत्पत्ति भएको हो, जसको अर्थ ‘अभिषिक्त जन’ हो । पुरानो करारको समयमा परमेश्वरले राजाहरू, पूजाहारीहरू र अगमवक्ताहरूलाई तेलले अभिषेक गरेर नियुक्त गर्नुभयो (प्रस ४०:१३; १ राज १९:१५-१६) । परमेश्वरले ख्रीष्टलाई प्रतिनिधित्व गर्ने राजा, पूजाहारी वा अगमवक्ता नियुक्त गर्नुभएर नयाँ करारको समयमा देखा पर्नुहुने ख्रीष्टको विषयमा अगमवाणी गर्नुभयो । ख्रीष्टचाहिँ राजा दाऊद, मल्कीसेदेक पूजाहारी र मोशा अगमवक्ताको रूपमा आउनुभयो ।
मानिसहरूले परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ त भन्छन्, तर परमेश्वर मानव-जातिको मुक्तिको निम्ति मानिसको स्वरूपमा आउनुहुनेछ भनिएको बाइबलको शिक्षालाई भने सजिलै स्वीकार्दैनन् । शरीरमा आउनुभएका परमेश्वरलाई इन्कार गर्ने तिनीहरूको मनोवृत्तिचाहिँ येशूज्यूलाई “तिमी मानिस भएर आफैलाई परमेश्वर तुल्याउँछौ” भन्दै ढुङ्गाले हान्न खोजेका यहूदीहरूको भन्दा फरक छैन (यूह १०:३३) । ख्रीष्टियान धर्मको केन्द्रबिन्दु भनेको ‘बालकको रूपमा जन्मनुभएका परमेश्वर’ अर्थात् शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्नु हो (यशै ९:६) । सुरुको मण्डलीका सन्तहरूले शरीरमा जन्मनुभएका येशूज्यू नै यावत् थोकका सृष्टिकर्ता परमेश्वर, जसको युगानयुग स्तुति हुनेछ भनेर गवाही दिए (यूह १:१-३; रोम ९:५; १ यूह ५:२०) ।
मानिस, ख्रीष्ट
२,००० वर्षअघि यहूदीहरूले येशूज्यूलाई इन्कार गर्नुको कारणचाहिँ उहाँ तिनीहरूजस्तै शरीरमा आउनुभएकोले गर्दा हो (यूह १०:३०-३३) । तर मानिसको रूपमा आउनुभएर तिनीहरूको जस्तै जीवन जिउनुभएका येशूज्यू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरामा प्रेरितहरूचाहिँ विश्वस्त थिए । प्रेरितहरूद्वारा लिखित नयाँ करारको पुस्तकमा, शरीर धारण गरी आउनुभएका परमेश्वरलाई विश्वास गर्नुपर्छ भनेर जोड दिइएको छ । प्रेरित पावलले तिमोथीलाई लेखेका पत्रमा, येशूज्यू मानिस हुनुहुन्छ भन्ने कुरालाई जोड दिए ।
किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ– मानिस, ख्रीष्ट येशू । १ तिमो २:५
प्रेरित पावलले ख्रीष्टको अगाडि ‘मानिस’ भन्ने शब्द राखेर ‘मानिस, ख्रीष्ट’ भनेर जोड दिए । पावल आफैले विश्वास गरेका र सारा मानव-जातिले ग्रहण गर्नुपर्ने ख्रीष्टचाहिँ हामीजस्तै मानिसको स्वरूपमा हुनुहुन्छ भनेर तिनले प्रष्ट्याए । तर ठीक विपरीत २,००० वर्षअघिका यहूदीहरूले येशूज्यूलाई “तिमी मानिस भएर आफैलाई परमेश्वर तुल्याउँछौ” भन्दै इन्कार गरे । शरीरमा आउनुभएका येशूज्यूलाई स्वीकार नगर्ने हरेक आत्मा ख्रीष्ट विरोधीको आत्मा हो भनेर प्रेरित यूहन्नाले बताएका छन् ।
यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो । येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ । अब त्यो यस संसारमा आइसकेको छ । १ यूह ४:२-३
येशूज्यू शरीरमा आउनुभएको कुरालाई स्वीकार गर्ने आत्मा परमेश्वरबाट हो भनेर प्रेरित यूहन्नाले गवाही दिए । यसको ठीक विपरीत ख्रीष्ट शरीरमा आउनुभएको कुरालाई अस्वीकार गर्ने आत्मा ख्रीष्ट विरोधीको आत्मा हो, अर्थात् परमेश्वरलाई विरोध गर्ने शैतानको आत्मा हो । प्रेरितहरूले ख्रीष्ट हुनुभएका परमेश्वर सारा मानव-जातिलाई बचाउन शरीरमा आउनुभयो भनेर गवाही दिएका छन् ।
ख्रीष्टलाई ग्रहण गरेकाहरूलाई दिइने आशिष्
२,००० वर्षअघि मात्र होइनकि वर्तमान युगमा पनि परमेश्वर हामीजस्तै मानिसको स्वरूपमा आउनुहुन्छ भन्ने कुरालाई स्वीकार नगर्नेहरू धेरै छन् । परमेश्वर अकल्पनीय र महान् महिमामा प्रकट हुनुपर्छ भन्ने तिनीहरूको अडिग सोचाइले तिनीहरूको आत्मिक आँखालाई बन्द गरिदिएको छ । तरै पनि आफूलाई होच्याएर शरीरमा देखा पर्नुभएका येशूज्यूलाई प्रेरितहरूले सही तरिकाले ग्रहण गरे । शरीरमा आउनुभएका परमेश्वरलाई ग्रहण गरेका प्रेरितहरूलाई परमेश्वरले स्वर्ग-राज्यका साँचाहरू दिनुको साथै परमेश्वरका सन्तान हुने अधिकार पनि दिनुभयो ।
सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।” मत्ती १६:१६-१९
उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन । उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् । तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो । यूह १:१०-१२
मानव-जातिलाई बचाउन शरीरमा आउनुभएका परमेश्वरलाई हामीले आफ्नो अडिग सोचाइद्वारा अस्वीकार गर्नुहुँदैन, तर बाइबलको अगमवाणीद्वारा उहाँलाई सही तरिकाले चिनेर स्वर्गको अनन्त आशिष् प्राप्त गर्नुपर्छ ।
ख्रीष्टको मनुष्यत्व : मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गो
मानिसहरूले परमेश्वर यो पृथ्वीमा आउनुहुँदा आँखामा देखिने महा-महिमामा आउनुहुनेछ भनेर अपेक्षा गरेका थिए । के बाइबलमा त्यसरी लेखिएको छ ?
हाम्रो समाचार कसले विश्वास गरेको छ ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो ? ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन । यशै ५३:१-२
येशूज्यू यो पृथ्वीमा आउनुभन्दा ७०० वर्षअघि पुरानो करारमा उहाँको स्वरूपचाहिँ “सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो” भनेर अगमवाणी गरिएको थियो । पानी छैन भने सुक्खा जमिनबाट निस्केको जरो बढ्न सक्दैन । पुरानो करारको समयमा येशूज्यूचाहिँ मानिसहरूले चिन्न सक्ने विशेष स्वरूपमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छैन । उहाँमा हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । संसारका मानिसहरूले अपेक्षा गरेकोभन्दा ठीक विपरीत, परमेश्वर होचिएको स्वरूपमा आउनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । तर यदि हामीले ख्रीष्टलाई उहाँका शारीरिक पक्षहरूद्वारा चिन्न खोज्यौं भने हामी ठेस खाएर लोट्नेछौं ।
“सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू । र उहाँ नै तेरो वासस्थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ । अनि उहाँ यरूशलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ । धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन् ।” यशै ८:१३-१५
इस्राएलका दुवै घरानाले चाहिँ, परमेश्वरलाई विश्वास गर्छु भन्ने मानिसहरूलाई जनाउँछ । तर परमेश्वर मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा, लोट्न लगाउने चट्टान अनि धराप र पासो हुनुहुन्छ भनेर अगमवाणी गरिएको छ । यदि सबैले अपेक्षा गरेअनुसारै परमेश्वर महिमित स्वरूपमा प्रकट हुनुभयो भने कसैले पनि ठेस खानेछैन । तर उहाँ शरीरमा आउनुहुने भएकोले नै धेरै मानिसहरू उहाँको शारीरिक पक्षहरूलाई हेरेर लोट्छन् र पासोमा पर्छन् । मुक्तिको निम्ति अत्यावश्यक हुनुभएका ख्रीष्ट तिनीहरूका निम्ति ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान हुनुहुन्छ । यशैया अध्याय ८मा गरिएको अगमवाणी शरीरमा आउनुभएका येशूज्यूद्वारा पूरा भयो भनेर प्रेरित पत्रुसले गवाही दिएका छन् ।
उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ । मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ । … यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्तिचाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो ।” १ पत्र २:४-८
येशूज्यूचाहिँ मानिसहरूले उहाँलाई विश्वास गर्न नसक्ने गरेर शरीरमा आउनुभएकोले उहाँ ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान बन्नुभयो । येशूज्यूको शारीरिक पक्ष र वातावरणलाई मात्र हेर्नेहरू सबै लोटे । त्यसैले पत्रुसले लोट्नुचाहिँ तिनीहरूको नियति हो भनेका छन् । ख्रीष्टको शारीरिक पक्षलाई मात्र हेर्नेहरूलाई परमेश्वरले, ख्रीष्टलाई चिन्न नसक्ने बनाइदिनुभयो ।
शारीरिक पक्षबाट होइन तर बाइबलका अगमवाणीहरूबाट हेर्दा येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिइएको छ (यूह ५:३९) । तापनि त्यो समयका यहूदीहरूले येशूज्यूले पूरा गर्नुभएको बाइबलका अगमवाणीहरूमा ध्यान दिएनन्, तर तिनीहरूले येशूज्यूको शारीरिक पक्षलाई हेरे, जुनचाहिँ तिनीहरूले अपेक्षा गरेभन्दा पूर्णतः भिन्न थियो । त्यसैले तिनीहरू लोट्न पुगे । वर्तमान समयमा हामीले शरीरमा आउनुभएका ख्रीष्टलाई शारीरिक पक्षद्वारा होइनकि बाइबलको अगमवाणीद्वारा चिन्नुपर्छ ।