परमेश्वरले अब्राहामसित करार बाँध्नुभएको

6359 읽음

परमेश्वरबाट बोलावट पाएपछि अब्राहामले आफ्नो गृहनगर छोडे, र आफू कतातिर गइरहेको छु भन्ने कुरा थाहा नभए पनि तिनले आज्ञाकारी विश्वासद्वारा, तिनलाई जान भनिएको ठाउँतिर जानलाई निस्के (हिब्रू ११:८-१०) । परमेश्वरले अब्राहामको विश्वासलाई धर्मी ठान्नुभई तिनलाई आशिष् दिनुभयो । परमेश्वरको वचनमा पूर्ण आज्ञाकारी भएका अब्राहामसित परमेश्वरले करार बाँध्नुभई त्यो करार पूरा गर्नुभयो । ‘विश्वासका पिता’को उपाधि पाएका अब्राहामको विश्वास, अनि परमेश्वरले तिनीसँग बाँध्नुभएको करारबारे बुझौं ।

कनानतिर लाग्दा

ई.पू. २०००तिर अब्राहाम प्राचीन मेसोपोटामियाको ऊर सहरका मानिस थिए । नोआको जेठो छोरा शेमका सन्तान अब्राहामचाहिँ बाइबलमा हिब्रू भनेर कहलिएका पहिलो व्यक्ति हुनुका साथै तिनी इस्राएलका पुर्खा1 पनि हुन् (उत ११:१०-२६; १४:१३; १५:१३-१४) । अब्राहामको गृहनगर रहेको कल्दीहरू2को ऊरलाई, हालको दक्षिण-पूर्वी इराकको युफ्रेटिस नदीको छेउमा अवस्थित सहरको रूपमा चिनिन्छ ।

  1. वास्तवमा यहूदीहरू शेमका सन्तान हुन् ।
  2. पछि त्यो बेबिलोनिया भयो ।

अन्य देवताहरूको सेवा गरेका आफ्ना बुबा तेरहभन्दा ठीक विपरीत अब्राहामले चाहिँ केवल परमेश्वरलाई सेवा गरे (यहो २४:२; उत १२:४, ७-८) । परमेश्वरले अब्राहामलाई “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा” भन्नुभयो । अब्राहामले पिता तेरह, पत्नी सारा र भतिजा लोतसँगै आफ्नो गृहनगर छोडे (प्रे ७:२-३) । त्यस बेला आफ्नो आदिवासी समाज छोडेर कुनै अपरिचित ठाउँमा जानु भनेको ज्यान नै दाउमा पर्न सक्ने अति ठूलो जोखिमको कुरा थियो । तापनि परमेश्वरको बोलावटप्रति अब्राहामले आनाकानी गरेनन् । तिनको सपरिवार ऊर छोडेर हारानतिर बसोबास गर्न थाले (उत ११:३१) । बाइबलविद्हरूले अब्राहाम उत्तर-पश्चिमी यूफ्रेटिस नदीको छेउतिर सरेका र दक्षिण-पूर्वी टर्कीको सान्लिउर्फा प्रदेशको हारान सहरमा आएका हुनुपर्छ भनेर अनुमान गरेका छन् । टर्की र सिरियाको सीमारेखामा अवस्थित हारानचाहिँ ऊरदेखि करीब ९७० किलोमिटर टाढा छ ।

हारानमा बस्दैआएका अब्राहामको परिवारचाहिँ तेरहको मृत्युपछि कनानतिर सरे । त्यतिखेर अब्राहाम ७५ वर्षका थिए । कनान प्रवेश गरेपछि अब्राहामले बेथेलमा परमेश्वरको निम्ति एउटा वेदी बनाए । पछि कनानमा ठूलो खडेरी पर्दा अब्राहाम केहीबेर मिश्रदेशमा गए, र तिनी तुरुन्तै बेथेल फर्किए ।

अब्राहामले मल्कीसेदेकबाट आशिष् पाएका

जायजेथा धेरै वृद्धि भएपछि अब्राहाम र तिनका भतिजा लोतले छुट्टिएर बस्ने निर्णय गरे । कारण कनानी र परिज्जीहरू पनि बेथेलमा बसोबास गरेकाले, धेरै परिवारजनहरू सँगै बस्नलाई त्यो ठाउँ साह्रै साँघुरो भयो । अब्राहामले लोतलाई, तिनले चाहेको जमिन पहिला रोज्न दिए, अनि लोतले उर्वरा र पानीले भरिपूर्ण भएको यर्दनका क्षेत्रहरू रोजे । अब्राहामचाहिँ कनानमा बसोबास गर्न थाले, र लोतचाहिँ यर्दनको एक सहरबाट अर्को सहर र सदोममा गएर बस्न थाले ।

त्यस बेला सदोम र गमोराका राजाहरू लगायत मृत सागर वरपरका ५ जना राजाहरू एलामका राजा कदोर्लाओमेरको अधीनमा थिए तर तिनीहरूले विद्रोह गरे । तब कदोर्लाओमेर र शिनार, एल्लासार र गोयीमका राजाहरू तिनीसँग मिलेर तिनीहरूका विरुद्धमा निस्के । कदोर्लाओमेर र एलामका सेनाले युद्ध जिते र तिनीहरूले सदोम र गमोराका मानिसहरूको श्रीसम्पत्ति जफत गरे । तिनीहरूले सदोममा बसेका लोतको पनि सम्पत्ति लुटे । मम्रेमा बसोबास गरिरहेका अब्राहामले, जब आफ्नो भतिजालाई कैद गरेर लगिएको खबर सुने तब तिनले आफ्नो घरका तालीम प्राप्त ३१८ जना दासहरू र तिनका मित्र आनेर, एश्कोल र मम्रेलाई साथमा लिएर तिनीहरूलाई दानसम्मै खेदे । त्यसपछि तिनले लोतलाई बचाएर तिनका लुटिएका मालसामानहरू र मानिसहरूलाई समेत सबै फिर्ता ल्याए ।

अब्राहामले शत्रुहरूलाई परास्त गरेर फर्कंदा शालेमका राजा मल्कीसेदेक र सदोमका राजा तिनलाई भेट गर्न आए । परमेश्वरका पूजाहारी मल्कीसेदेकले रोटी र दाखमद्यद्वारा अब्राहामलाई आशीर्वाद दिए । मल्कीसेदेकबाट आशीर्वाद पाएपछि अब्राहामले आफूले जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए (उत १४:२०) । मल्कीसेदेकबाट आशीर्वाद पाएर फर्केपछि, एक दिन अब्राहामले दर्शनमा परमेश्वरलाई देखे (उत १५:१) । त्यस बेलासम्म सन्तानविहीन भएका अब्राहामले आफ्नो घरमा हुर्केको दमस्कसको एलीएजरलाई आफ्नो उत्तराधिकारी बनाउने कुरा बताए । तर परमेश्वरले एलीएजरचाहिँ अब्राहामको उत्तराधिकारी हुनेछैन भन्नुहुँदै “जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधकारी हुनेछ” भन्नुभयो । साथै परमेश्वरले अब्राहामलाई तिनका सन्तानहरू आकाशका ताराहरूजत्तिकै वृद्धि हुने कुरा बताउनुभयो । अब्राहामले परमेश्वरको वचनमा भरोसा गरे, र परमेश्वरले तिनको विश्वासलाई धर्मी ठान्नुभयो ।

परमेश्वरले अब्राहामसँग करार बाँध्नुभएको

अब्राहामले हारान छोडेर कनान बस्न थालेको १० वर्ष भएको थियो । त्यो समयसम्म पनि अब्राहाम र तिनकी पत्नी साराको कुनै सन्तान भएको थिएन । अब्राहामले साराको कुरा माने र तिनकी कमारी हागारबाट एक जना छोरा जन्माएर त्यसको नाउँ इश्माएल राखे । त्यस बेला अब्राहाम ८६ वर्ष पुगेका थिए ।

जब अब्राहाम ९९ वर्ष पुगे तब परमेश्वर तिनीकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो र तेरो बीचमा म मेरो करार पक्का गर्नेछु, म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु ।” अनि परमेश्वरले तिनको नाउँ अब्राम(उच्च पिता)बाट अब्राहाम(धेरै जातिहरूका पिता)मा परिवर्तन गरिदिनुभयो । परमेश्वरले अब्राहामलाई “तँबाट राजाहरू उत्पन्न हुनेछन् र म तेरो र तिनका सन्तानका परमेश्वर हुनेछु” भन्नुभयो । उहाँले तिनीहरूलाई कनान देश दिने प्रतिज्ञा पनि गर्नुभयो । अनि परमेश्वरले अब्राहामलाई “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ– तँ र तँपछिका तेरा सन्तानहरूले तिनका पुस्तौँसम्म । अनि खतनाचाहिँ मेरो र तिनीहरूका बीचमा भएको करारको चिन्ह हुनेछ” भन्नुभयो (उत १७:८-११) । परमेश्वरले अब्राहामकी पत्नी साराईलाई पनि अबदेखि सारा भनेर बोलाउन भन्नुभयो, जसको अर्थ हो, राजकुमारी र महान् स्त्री । उहाँले “निश्चय नै त्यसबाट म तँलाई एक जना छोरो दिनेछु । म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिहरूकी आमा हुनेछे । जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन्” पनि भन्नुभयो ।

परमेश्वरको वचन सुनेर अब्राहामले घोप्टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्तान होला ? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र ?” अब्राहामले इश्माएल नै तपाईंको आशिष्‌मा बाँचिरहे त हुन्छ भन्दै त्यसैलाई आफ्नो उत्तराधिकारी बनाउन चाहेको देखिन्छ । तर परमेश्वरले, साराले नै १ वर्षपछि छोरा जन्माउनेछे र त्यस छोराको नाउँ इसहाक(हाँसोको सन्तान) राख्नू भन्नुभयो । परमेश्वरले साराबाट जन्मिएको छोरा इसहाकसित अनन्त करार स्थापित गर्नेछु भन्नुभयो ।

परमेश्वरले अब्राहामलाई “तेरा सन्तानहरू आकाशका ताराहरूजस्तै धेरै हुनेछन्” भन्नुहुँदै त्यो प्रतिज्ञाको वचन पूरा गर्नुभयो । अब्राहाम १०० वर्षका हुँदा परमेश्वरले तिनलाई साराद्वारा इसहाक जन्मने गराउनुभयो । इसहाकले याकूबलाई जन्माए, जसलाई इस्राएल पनि भनिन्छ, अनि याकूबका १२ जना छोराहरू इस्राएलका बाह्र कुलका पुर्खा भए, जसलाई परमेश्वरबाट चुनिएका जाति भनिन्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기