येशूज्यूको दोस्रो आगमनसम्बन्धी असमझदारी
: के इन्साफको दिनमा येशूज्यूको दोस्रो आगमन हुने हो ?

30745 읽음

हिजोआज धेरै मानिसहरूले येशूज्यू दोस्रो पल्ट आउनुहुने दिन नै अन्तिम इन्साफको दिन हुनेछ भनेर सोच्ने गर्छन् । त्यो दिनमा संसार नष्ट हुनेछ र परमेश्वरका प्रजाहरू स्वर्ग प्रवेश गर्नेछन् भनेर तिनीहरू विश्वास गर्छन् । तर दोस्रो आगमनसम्बन्धी येशूज्यूको शिक्षाचाहिँ तिनीहरूको सोचाइभन्दा बिलकुल फरक छ ।

“म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” लूक १८:८

येशूज्यूले “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” भन्नुभयो । योद्वारा, उहाँ दोस्रो पल्ट पृथ्वीमा आउनुहुँदा विश्वास भेट्टाउनुहुनेछैन भन्ने कुरालाई जोड दिनुभयो । यदि विश्वास नभएको संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभयो भने कसले मुक्ति पाउन सक्छ होला र ? त्यसकारण येशूज्यूको दोस्रो आगमन हुँदा संसार तुरुन्त इन्साफ हुनेछ भन्ने सोचाइ गलत छ ।

अन्तिम इन्साफ हुँदाको स्वरूप र गर्नुहुने कार्य

येशूज्यूको दोस्रो आगमन र अन्तिम इन्साफसम्बन्धी बाइबलको अगमवाणीलाई हेर्दा यी दुईबीच स्पष्ट भिन्नता देखिन्छ । किनभने दोस्रो आगमनको स्वरूप अनि इन्साफको आगमनको स्वरूप र उद्देश्य बिलकुल फरक छ ।

हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन् । आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ । किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन् । यशै ६६:१५–१६

यशैया अगमवक्ताले परमप्रभु परमेश्वर अन्तिम दिनमा इन्साफका प्रभुको रूपमा आउनुहुँदा अग्निसाथ आउनुहुनेछ भनेर अगमवाणी गरे । अनि उहाँ आउनुको उद्देश्यचाहिँ सबै मानिसहरूको न्याय गर्नको निम्ति हो । नयाँ करार बाइबलमा पनि यस्तै अगमवाणी छ ।

… यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन् । … २ थेस १:७-१०

येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा कसरी आउनुहुन्छ भन्ने कुरा २ थेसलोनिकी अध्याय १मा बताइएको छ । जब उहाँ बल्दो आगोमा आउनुहुनेछ, तब परमेश्वरलाई नचिन्नेहरूलाई र सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुनेछ । यसरी बाइबलले, अन्तिम इन्साफका प्रभु हुनुभएका परमेश्वर बल्दो आगोमा प्रकट हुनुभएर संसारको न्याय गर्नुहुनेछ भनेर अगमवाणी गरेको छ ।

दोस्रो आगमनको स्वरूप र गर्नुहुने कार्य

त्यसोभए ख्रीष्ट दोस्रो पल्ट आउनुको उद्देश्य के हो र उहाँ कस्तो स्वरूपमा आउनुहुन्छ होला ?

“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् । उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” मत्ती २४:३०–३१

येशूज्यू दोस्रो पल्ट आउनुहुँदा उहाँ बल्दो आगोमा होइनकि बादलमा आउनुहुनेछ भनिएको छ । योचाहिँ अन्तिम इन्साफको भन्दा बिलकुल फरक स्वरूप हो । साथै उहाँले दोस्रो आगमनमा न्याय र दण्ड ल्याउनेछु भन्नुभएको छैन तर चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछु भन्नुभएको छ । यसरी दोस्रो आगमन र अन्तिम इन्साफको समयमा, ख्रीष्टको आगमनको स्वरूप र उहाँले गर्नुहुने कार्य पनि फरक छ ।

यसको अतिरिक्त दोस्रो आगमन र अन्तिम इन्साफचाहिँ एकै समयमा हुने कुरा होइन । दोस्रो आगमन पहिला हुनेछ र त्यसपछि अन्तिम इन्साफ हुनेछ भनेर बाइबलले बताएको छ ।

“त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन् । जब यी कुरा हुन थाल्छन् तब खडा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ ।” लूक २१:२७-२८

आफ्नो दोस्रो आगमनको विषयमा व्याख्या गर्नुहुँदै येशूज्यूले भन्नुभयो, “जब यी कुरा हुन थाल्छन् तब आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ ।” अर्थात् स्वर्ग जाने समय नजिक आएको हुनाले मुक्तिको निम्ति तयारी गर भन्ने वचन हो । तसर्थ दोस्रो आगमन नै परमेश्वरका प्रजाहरू स्वर्ग प्रवेश गर्ने अन्तिम इन्साफको दिन होइन । इन्साफको दिन नजिक हुँदा पहिला येशूज्यू दोस्रो पल्ट बादलमा आउनुहुन्छ । यसरी दोस्रो आगमन र अन्तिम इन्साफको आगमनको समय नै फरक छ ।

दोस्रो आगमनका ख्रीष्टले आफ्ना चुनिएकाहरूलाई सियोनमा भेला गर्नुहुने

दोस्रो आगमनका येशूज्यूले आफ्ना चुनिएकाहरूलाई भेला गर्नुहुने ठाँउको बारेमा समेत बाइबलमा अगमवाणी गरिएको छ । मीका अगमवक्ताले पछिल्ला दिनहरूमा परमेश्वरले आफ्ना प्रजाहरूलाई सियोनमा भेला गरेर सिकाउनुहुनेछ भनेर अगमवाणी गरेका छन् ।

पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । मीका ४:१-२

पछिल्ला दिनहरूमा परमेश्वरका प्रजाहरू भेला हुने ‘परमप्रभुको मन्दिरको पहाड’ भनेको परमेश्वरको मन्दिर राखिएको ठाउँ सियोन हो । बाइबलमा सियोनले, परमेश्वरका चाडहरू मनाइने मण्डलीलाई जनाउँदछ (यशै ३३:२०) । उक्त सियोनमा परमेश्वर स्वयम्‌ले आफ्नो मार्ग सिकाउनुहुनेछ पनि भनिएको छ । अर्थात् पछिल्ला दिनहरूमा देखा पर्नुहुने दोस्रो आगमनका येशूज्यू आफ्ना प्रजालाई सत्यताको वचनद्वारा मुक्ति पाउन योग्यको विश्वास रोपिदिनुहुनेछ भन्ने अगमवाणीको वचन हो ।

“मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” भन्नुभएका येशूज्यूको वचनजस्तै, येशूज्यू दोस्रो पल्ट नआउनुभएसम्म यो संसारमा मुक्ति पाउन योग्यको विश्वास लिएको मानिस कोही थिएन । कारण येशूज्यूको स्वर्गारोहणपछि, यो संसारमा शैतानले अधर्म छरेकोले सत्यता सबै हरायो ( मत्ती १३:२४-४३; दान ७:२५) । यसकारण विश्वास नभएको संसारमा ख्रीष्ट दोस्रो पल्ट आउनुभएर परमेश्वरका प्रजालाई सियोनमा भेला गर्नुभएर तिनीहरूलाई मुक्तिको सत्यतामा डोऱ्याउनुहुनेछ भनिएको छ । पछिल्ला दिनहरूमा देखा पर्नुभएका दोस्रो आगमनका येशूज्यूलाई सारा मानव-जातिले ग्रहण गरी सियोनमा उहाँको निर्देशनलाई पछ्याउनुपर्छ । तब बल्ल संसारको अन्त्यको दिनमा, परमेश्वर अन्तिम इन्साफका प्रभुको रूपमा बल्दो आगोमा आउनुहुँदा हामीहरू मुक्ति पाउन योग्यको विश्वास लिएका सन्तहरू हुन सक्नेछौं ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기