ahnsahnghong.com is provided in English. Would you like to change to English?

बाइबलमा जीवनको रूखको साँचो अर्थ:
अनन्त जीवन र ख्रीष्ट

8104 읽음

मानिसले लामो समय बाँच्ने सपना बोके तापनि एक दिन गएर मर्नुपर्ने हुन्छ । सृष्टिको मालिक भनिने हामी मानव-जाति किन मृत्युको पीडाबाट उम्कन नसक्ने दयनीय अस्तित्व हुनुपरेको होला ? बाइबलको लेखोटलाई हेर्ने हो भने मानव-जातिमा मृत्युको इतिहास अदनको बगैँचाबाट सुरु भएको देख्न सकिन्छ । तर अदनको बगैँचामा मृत्युको इतिहास मात्र चाहिँ थिएन । “जहाँ समस्या त्यहाँ समाधानको उपाय” भन्ने भनाइजस्तै, अनन्त जीवनको रहस्य पनि अदनको बगैँचामा नै छ । त्यो नै, असल र खराबको ज्ञान दिने रूखको फलले गर्दा ढाकिएको जीवनको रूखको फल अर्थात् ‘जीवनको फल’ हो ।

उमेर, राष्ट्रियता र ओहदाको बाबजुद मानिसहरूले चाह गर्ने अनन्त जीवनचाहिँ परमेश्वरले मात्र दिन सक्नुहुन्छ (१ तिमो ६:१५-१६) । अदनमा भएको जीवनको फलको रहस्य जाहेर गरिदिन र मानव-जातिलाई मृत्युको साङ्लोबाट मुक्त गराउन आन साङ होङज्यू यो पृथ्वीमा आउनुभयो ।

संसारको सृष्टिदेखि लुकेको रहस्य, जीवनको फल

येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन । अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु ।” मत्ती १३:३४-३५

येशूज्यूले दृष्टान्तमा बोल्नुभएर, उत्पत्तिदेखि लुकाइराखेका कुराहरू जाहेर गर्दछु भन्नुभयो । बाइबलको ६६ वटा पुस्तकहरूमध्ये उत्पत्तिको इतिहास लेखिएको पुस्तक नै उत्पत्तिको पुस्तक हो । उत्पत्तिको पुस्तकमा लुकाइराखिएका धेरै रहस्यहरूमध्ये जीवनको फलको बारेमा अध्ययन गरौं ।

अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्, तँ निश्चय नै मर्नेछस् ।” उत २:१६-१७

परमेश्वरले अदनको बगैँचामा आदम र हव्वालाई राख्नुभएर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखान आज्ञा गर्नुभयो । तर सर्पको छलमा परेर आदम र हव्वाले परमेश्वरबाट निषेधित असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गर्न पुगे, र परिणामस्वरूप मानव-जातिमा मृत्यु सुरु भयो । तरै पनि, मर्नुपर्ने भएका मानव-जातिका लागि सधैँभरि बाँच्न सकिने बाटो पनि परमेश्वरले अदनको बगैँचामा राखिदिनुभएको थियो ।

तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ । अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला ।” … उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो । उत ३:२२-२४

असल र खराबको ज्ञान दिने रूखको फल खाएर मर्नुपर्ने भएका आदम र हव्वाले जीवनको फल खान पाएका भए तिनीहरू सधैँभरि जीवित रहन सक्थे । यसकारण, पापीहरूले जीवनको फल खान नसकून् भनेर परमेश्वरले करूबहरू र ज्वालामय तरवारद्वारा जीवनको रूखतर्फ जाने बाटो पहरा गर्न लगाउनुभयो । परमेश्वरको अनुमतिविना कसैले पनि जीवनको फल खान नसक्ने अवस्था भयो ।

जीवनको फलको वास्तविकता निस्तार-चाड

अदनको इतिहासचाहिँ यो पृथ्वीमा जन्मनुअघि पहिला स्वर्गदूतको रूपमा रहेका मानव-जातिले कसरी स्वर्गमा पाप गर्न पुगी यो पृथ्वीमा धपाइए भन्ने कुरालाई देखाउने नमूना हो (हिब्रू ८:५; इज २८:११-१६; प्रका १२:९) । असल र खराबको ज्ञान दिने रूखको फल खाएर मर्नुपर्ने भएका पापी नै भए पनि यदि तिनीहरूले अदनको बगैँचामा भएको जीवनको फल खान मात्र पाए भने तिनीहरू सधैँभरि जीवित रहन सक्नेथिए । योचाहिँ स्वर्गमा पाप गरेर मर्नुपर्ने भएको आत्मा नै भए पनि यदि उसले जीवनको फल खान मात्र पायो भने ऊ सधैँभरि जीवित रहन सक्छ भन्ने अर्थ हो । त्यसोभए यो जीवनको फल खान सकिने तरिका के होला ? संसारको उत्पत्तिदेखि लुकाइराखिएको जीवनको फलको रहस्य जाहेर गर्नुभएका येशूज्यूको शिक्षा हेरौं ।

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, …” यूह ६:५३-५४

येशूज्यूले, उहाँको देह नखाने र रगत नपिउनेसित जीवन हुँदैन तर उहाँको देह खाने र रगत पिउनेसित चाहिँ अनन्त जीवन हुन्छ भन्नुभयो । अर्थात् अनन्त जीवन दिलाउने जीवनको फलको वास्तविकता नै येशूज्यूको देह र रगत हो । येशूज्यूले उहाँको देह र रगत कसरी खान र पिउन सकिन्छ भन्नेबारे पनि जानकारी दिनुभयो ।

अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?” … तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । मत्ती २६:१७-१९

तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:२६-२८

येशूज्यूले आफ्ना चेलाहरूलाई निस्तार-चाडको तयारी गर्न लगाउनुभई सँगै मान्नुभयो । येशूज्यूले निस्तार-चाडको रोटीलाई ‘मेरो शरीर’ र दाखमद्यलाई ‘मेरो रगत’ भन्नुभयो । यसकारण जीवनको फल रहेको येशूज्यूको देह र रगत खाने र पिउने धर्मविधि नै निस्तार-चाड हो । फेरि भन्नुपर्दा मानव-जातिले मृत्युको पीडाबाट छुटकारा पाएर अनन्त जीवन पाउने तरिका नै निस्तार-चाड हो । तसर्थ अनन्त जीवन पाउनलाई हामीले अनिवार्य रूपमा नयाँ करारको निस्तार-चाड मान्नुपर्छ ।

जीवनको फल लिएर आउनुहुने ख्रीष्ट

अदनमा करूबहरू र ज्वालामय तरवारद्वारा जीवनको फलतर्फको बाटो बन्द गर्नुभएका व्यक्ति परमेश्वर हुनुहुन्थ्यो । त्यसैले हामीलाई जीवनको फल फेरि खाने अनुमति दिन सक्नुहुने व्यक्ति पनि परमेश्वर मात्र हुनुहुन्छ ।

“म त तिनी(सन्त)हरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।” यूह १०:१०

मूलभूत रूपमा परमेश्वर हुनुभएका येशूज्यूले भेडा अर्थात् सन्तहरूलाई जीवन दिन आएँ भन्नुभयो । उहाँले कुनै अगमवक्ता वा स्वर्गका स्वर्गदूतहरूलाई पठाउन पनि सक्नुहुन्थ्यो । तर किन तिनीहरूलाई नपठाई परमेश्वर स्वयम् यो पृथ्वीमा आउनुभएको होला ? किनकि जीवनको रूखतर्फको बाटो खोल्न सक्नुहुने व्यक्ति केवल परमेश्वर मात्र हुनुहुन्छ ।

परमेश्वर स्वयम्‌ले लिएर आउनुभएको जीवनको फलको सत्यता नै नयाँ करार निस्तार-चाड हो । तर परमेश्वरलाई विरोध गर्नेहरूले ई.सं. ३२५मा निकेया सम्मेलनद्वारा निस्तार-चाडको सत्यतालाई रद्द गरे । जीवनको फलको सत्यता निस्तार-चाड नै छैन भने कसैले पनि मुक्तिको आशा गर्न सक्दैन । त्यसैले अन्तिम युगमा आफ्ना प्रजाहरूलाई उद्धार गर्न ख्रीष्ट दोस्रो पल्ट यो पृथ्वीमा आउनुहुनेछ भनिएको छ । बन्द भएको जीवनको रूखतर्फको बाटो खोलिदिनुहुने व्यक्ति केवल परमेश्वर हुनुभएकोले पहिलो आगमनमा जस्तै परमेश्वर स्वयम् दोस्रो पल्ट देखा पर्नुहुनेछ ।

त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलार्इ एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । हिब्रू ९:२८

परमेश्वर दोस्रो पल्ट आउनुको उद्देश्यचाहिँ उद्धारको निम्ति हो । मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिलाई उद्धार गर्नको निम्ति अदनमा भएको जीवनको फलको आवश्यकता पर्दछ । अनि त्यो जीवनको फल खाने तरिका नै निस्तार-चाड हो । तसर्थ दोस्रो आगमनका ख्रीष्टले अनिवार्य रूपमा निस्तार-चाड लिएर आउनुपर्छ । फेरि भन्नुपर्दा, नयाँ करारको निस्तार-चाड पुनर्स्थापन गर्नुभएर हामीलाई उद्धार गर्नुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।

वर्तमान समयमा निस्तार-चाडको अमूल्य सत्यता लिएर आउनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । निस्तार-चाड हटाइएपछि करीब १,६०० वर्षसम्म थुप्रै बाइबलविद्‌हरू र धार्मिक नेताहरू त थिए । तर कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापना गर्न सकेनन् । कारण तिनीहरू परमेश्वर होइनन् । तर आन साङ होङज्यूले नयाँ करार निस्तार-चाड पुनः खोजिदिनुभई हामीलाई यो मान्न लगाउनुभयो । संसारको उत्पत्तिदेखि लुकाइराखिएको रहस्य, जीवनको फलको वास्तविकता पुनः जाहेर गरिदिनुभई मानव-जातिलाई अनन्त जीवन दिनुभएका आन साङ होङज्यू नै बाइबलको अगमवाणीअनुसार दोस्रो पल्ट आउनुभएका ख्रीष्ट र परमेश्वर हुनुहुन्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기