बाइबल कस्तो पुस्तक हो ? बाइबलको रचना, मौलिक भाषा र नाउँ

12569 읽음

मानव इतिहासमा सर्वाधिक बिक्री हुँदैआएको पुस्तक बाइबल हो । धर्मको पर्वाहविना धेरै मानिसहरूले विभिन्न उद्देश्यका साथ बाइबल पढ्ने गर्छन् । कसैले बाइबललाई इस्राएलको इतिहास र ख्रीष्टको जीवनी समाविष्ट एक ऐतिहासिक पुस्तक सोच्ने गर्छन् भने कसैले चाहिँ यसलाई नैतिक शिक्षा समाविष्ट पुस्तक सोच्ने गर्छन् । वास्तवमा बाइबलचाहिँ अगमवाणी गरिएको परमेश्वरको वचन समाविष्ट पुस्तक हो ।

बाइबलले मानव-जातिलाई मुक्ति दिनुहुने ख्रीष्टको विषयमा गवाही दिँदछ, र मानव-जातिको भूत र वर्तमानलाई प्रकाश पार्दै, भविष्यमा के हुनेछ भन्नेबारे अगमवाणी गर्दछ । साथै यसले आत्मिक संसार र मुक्तिसम्बन्धी ख्रीष्टको शिक्षालाई पनि दर्शाउँछ । सर्वप्रथम बाइबलको पुस्तक संरचना, मौलिक भाषा र नाउँको उत्पत्तिबारे छोटकरीमा अध्ययन गरौं ।

बाइबलका ६६ वटा पुस्तकहरू

बाइबलमा ६६ वटा पुस्तकहरू छन् । यसलाई येशूज्यू आउनुअघि(BC, Before Christ) लेखिएको पुरानो करार अनि येशूज्यू आउनुभएपछि(AD, Anno Domini) लेखिएको नयाँ करार गरेर दुई भागमा विभाजन गरिएको छ । पुरानो करार बाइबलमा ३९ वटा पुस्तकहरू छन् भने नयाँ करार बाइबलमा २७ वटा पुस्तकहरू छन् । अहिले हामीले प्रयोग गर्ने बाइबलचाहिँ लेखिएको वर्षअनुसार होइनकि उस्तै विशेषता लिएका पुस्तकहरूलाई एकसाथ जम्मा गरिएर वर्गीकरण गरिएको हो ।

१) पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू

व्यवस्थाको पुस्तक (मोशाको पञ्च ग्रन्थ) – ५ वटा
उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था
इतिहासको पुस्तक – १२ वटा
यहोशू, न्यायकर्ता, रूथ, १ शमूएल, २ शमूएल, १ राजा, २ राजा, १ इतिहास, २ इतिहास, एज्रा, नहेम्याह, एस्तर
पद्यको पुस्तक – ५ वटा
अय्यूब, भजनसंग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठगीत
अगमवाणीको पुस्तक – १७ वटा
यशैया, यर्मिया, विलाप, इजकिएल, दानिएल, होशे, योएल, आमोस, ओबदिया, योना, मीका, नहूम, हबकूक, सपन्याह, हाग्गै, जकरिया र मलाकी

२) नयाँ करार बाइबलका २७ वटा पुस्तकहरू

सुसमाचारको पुस्तक(येशूज्यूको कार्य) – ४ वटा
मत्ती, मर्कूस, लूका, यूहन्ना
इतिहासको पुस्तक – १ वटा
प्रेरित
पावलका पत्रहरू (प्रापकलाई पुस्तकको नाउँको रूपमा व्यक्त) – १४ वटा
रोमी, १ कोरिन्थी, २ कोरिन्थी, गलाती, एफिसी, फिलिप्पी, कलस्सी, १ थेसलोनिकी, २ थेसलोनिकी, १ तिमोथी, २ तिमोथी, तीतस, फिलेमोन, हिब्रू
साधारण पत्रहरू (प्रापकलाई पुस्तकको नाउँको रूपमा व्यक्त) – ७ वटा
याकूब, १ पत्रुस, २ पत्रुस, १ यूहन्ना, २ यूहन्ना, यहूदा
अगमवाणीको पुस्तक – १ वटा
प्रकाश

३) बाइबलका अध्याय र पदहरू

बाइबलको अध्याय र पद सुरुदेखि नै यस्तो थिएन । बाइबल लेखिएको समयमा अहिलेको जस्तो संख्यामा अध्याय र पद वर्गीकरण गरिएको थिएन । उहिलेको पुरानो करार बाइबल प्रतिलिपि गरिँदा केवल ‘अनुच्छेद’मा विभाजन गरेर लेख्ने गरिन्थ्यो । अहिले जसरी बाइबलको अध्याय वर्गीकरण चाहिँ ई.सं. १३०तिर गर्न थालिएको हो भन्ने गरिन्छ । अनि पदहरूचाहिँ अलि समय बितेपछि १६औँ शताब्दीको मध्यतिर फ्रान्सका प्रकाशक स्टिफानस(Robert Stephanus वा Robert Estienne)ले स्वीट्जरल्यान्डको जेनेभामा ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशन गर्दा पहिलो चोटि वर्गीकरण गरिएको थियो । हिजोआज हामीले प्रयोग गर्ने बाइबल सन् १५६०मा अङ्ग्रेजी भाषामा प्रकाशित जेनेभा बाइबलको अध्याय र पदमा आधारित छ ।

बाइबलको मौलिक भाषा र नाउँ

१) बाइबल सुरुमा कुन भाषामा लेखिएको थियो ?

पुरानो करारका अधिकांश पुस्तकहरू हिब्रू भाषामा लेखिएका थिए, र पछि लेखिएका पुस्तकको केही अंश मात्र बेबिलोन र फारस(पर्सिया)मा प्रयोग गरिएको आरमेइक भाषामा लेखिएका थियो (एज्रा ४:८-६:१८; ७:१२-२६; यर १०:११; दान २:४-७:२८) । किनभने बेबिलोनको कैदबाट छुटकारा पाएपछि यहूदीहरूले आरमेइक भाषा धेरै प्रयोग गर्दथे ।

नयाँ करार बाइबलचाहिँ सुरुदेखि नै ग्रीक भाषामा लेखिएको थियो । ग्रीक साम्राज्यको शासनकालमा ग्रीक भाषा विभिन्न देशहरूमा फैलिएको थियो, र नयाँ करार बाइबल लेखिएको समयमा पनि ग्रीक भाषा रोमी साम्राज्यको आधिकारिक भाषाको रूपमा प्रयोग भइरहेको थियो । प्रेरितहरूले नयाँ करार बाइबल लेख्दा ग्रीक भाषामा लेख्नुको कारणचाहिँ पूरै रोमी साम्राज्यमा सुसमाचार फैलाउनको निम्ति थियो । त्योचाहिँ यहूदीहरूले मात्र होइनकि अन्यजातिहरूले समेत मुक्ति पाउन सकून् भन्ने हेतूले हो ।

※ आरमेइक र हिब्रू भाषा एक-अर्कासँग सम्बन्धित छ । त्यसको विभक्ति फरक भए पनि अक्षरको बनोटचाहिँ उस्तै थियो (एउटै वर्णमालाको प्रयोग) ।

२) बाइबललाई कस्तो नाउँले बोलाइन्थ्यो ?

नयाँ करारमा ‘बाइबल(अङ्ग्रेजी NIV अनुवादमा चाहिँ Scripture)’ भन्ने शब्दलाई ग्रीक भाषामा ‘ग्राफे’ भनिन्छ (लूक २४:२७; यूह ५:३९; २ तिमो ३:१६), जसको अर्थ ‘लेखिएको कुरा’ हो । ‘ग्राफे’ शब्दले त्यस बेला यहूदीहरूले पढ्ने गरेको पुरानो करार बाइबललाई जनाउँछ । नयाँ करार बाइबलमा, पुरानो करार बाइबललाई ‘मोशा र सबै अगमवक्ताहरूको पुस्तक(लूक २४:२७),’ मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तक(लूक २४:४४), मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तक(प्रे २८:२३)’ भनेर अभिव्यक्त गरिएको छ ।

त्यसोभए धर्मशास्त्रलाई जनाउने अङ्ग्रेजी शब्द ‘Bible’को उत्पत्तिचाहिँ कहाँबाट भएको होला ? ‘पुस्तक’ भन्ने अर्थ बोकेको ग्रीक शब्दबाट । ग्रीक शब्द ‘बिब्लोस’चाहिँ खासमा पापिरुस वृक्षको भित्री भाग हो, तर पुस्तकलाई जनाउने शब्दको रूपमा पनि यसलाई प्रयोग गरिन्थ्यो । यही ‘बिब्लोस’ भन्ने शब्दबाट, उस्तै पुस्तक भन्ने अर्थमा ‘बिब्लिओन’ भन्ने शब्दको उत्पत्ति भयो । अनि ‘बिब्लिओन(पुस्तक)’को बहुवचन शब्द ‘बिब्लिआ(पुस्तकहरू)’बाट ल्याटिन शब्द ‘बिब्लिआ’ बनेको हो । अन्ततः यही ल्याटिन शब्द ‘बिब्लिआ’बाट अङ्ग्रेजी शब्द ‘बाइबल’ आएको हो ।

※ ग्रीक शब्द ‘बिब्लोस(मर्क १२:२६; लूक ३:४)’ अथवा ‘बिब्लिओन(गला ३:१०; प्रका ५:१)’चाहिँ नयाँ करार बाइबलमा पनि प्रयोग भएको छ, जसलाई अङ्ग्रेजी NIV बाइबलमा book अथवा scroll भनेर अनुवाद गरिएको छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기