बाइबल किन परमेश्वरको वचन हो ?
बाइबलको लेखक र लेखाधिकार

8878 읽음

बाइबलचाहिँ परमेश्वरको वचन समाविष्ट पुस्तक हो । बाइबलको ६६ वटा पुस्तकचाहिँ ई.पू. १५०० देखि ई.सं. ९६सम्म करीब १,६०० वर्ष लगाएर, त्यो पनि फरक युग र फरक वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको हो । तीमध्ये दाऊदजस्ता राजा पनि थिए, आमोसजस्ता गोठाला पनि थिए, अनि पत्रुसजस्ता मछुवा पनि थिए । तापनि बाइबलमा उत्पत्तिदेखि प्रकाशसम्म सबै पुस्तकका वचनहरूमा एकरूपता छ । यो कुराले, धेरै अगमवक्ताहरूद्वारा लेखिएको भए पनि बाइबलको साँचो लेखकचाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने यथार्थता जानकारी दिएको छ ।

बाइबल किन परमेश्वरको वचन हो ?

यदि बाइबल परमेश्वरको वचन नभएर मानिसको बुद्धिद्वारा लिखित पुस्तक भएको भए के हुनेथियो होला ? करीब १,६०० वर्षको अन्तरालमा फरक युग र फरक वातावरणमा जिएका दर्जनौँ अगमवक्ताहरूले कुनै अन्तर्विरोधविना एकरूपतामा बाइबल लेख्न असम्भव हुनेथियो । बाइबलका लेखकचाहिँ मानिस नभएर परमेश्वर हुनुभएकोले उत्पत्तिदेखि प्रकाशसम्मका वचनहरू एक-अर्कासँग सम्बन्धित छन् ।

सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । २ पत्र १:२०-२१

बाइबलचाहिँ पवित्र आत्माबाट प्रेरणा पाएका मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् । उदाहरणको लागि, कुनै धनी मानिसले आफ्नो इच्छा-पत्र वकीललाई सट्टामा लेखिदिन अनुरोध गरे भनेर मानिलिऔं । धनी मानिसले आफ्नो इच्छा-पत्रका विषयवस्तु वकीललाई जस्ताको तस्तै लेख्न लगाएका भए पनि त्यसको साँचो लेखकचाहिँ ती धनी मानिस नै हुन् । किनभने त्यो इच्छा-पत्रमा वकीलको होइनकि ती धनी मानिसको सोचाइ र इच्छाहरू लेखिएका छन् ।

बाइबल पनि उस्तै नै हो । मानिसद्वारा लेखाइएको भए पनि बाइबलमा परमेश्वरका इच्छा र वचनहरू जस्ताको तस्तै लेखिएका छन् । फेरि भन्ने हो भने बाइबलको साँचो लेखकचाहिँ परमेश्वर हुनुहुन्छ । त्यसोभए बाइबल परमेश्वरको वचन हो भनेर हामीले कसरी विश्वास गर्ने होला ? बाइबलको अगमवाणी र त्यसको पूर्णताले यो कुरालाई प्रमाणित गर्दछ ।

तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो । तिमीहरू त्यसदेखि नडराउनू । व्य १८:२१–२२

परमेश्वरको वचन हो भने त्यो निश्चय नै पूरा हुन्छ भन्ने अर्थ हो । मानिसले भोलिको धाक लगाउन सक्दैन (हितो २७:१; लूक १२:२०) । तर बाइबलमा, परमेश्वर शरीरमा आउनुहुने विषय अनि संसारका विभिन्न देशहरूको उदय र पतनको बारेमा हजारौँ वर्षअघि नै अगमवाणी गरिएको थियो, र ती अगमवाणीहरू सबै जस्ताको तस्तै पूरा भए । योचाहिँ, हुन आउने कुरा पहिल्यै अगमवाणी गर्नुभएर त्यसलाई जस्ताको तस्तै पूरा गर्नुहुने परमेश्वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ भन्ने कुराको गवाही हो ।

बाइबलको लेखाधिकार

बाइबल, परमेश्वरको वचन लेखिएको पुस्तक भएकोले यसमा उहाँको सर्वाधिकार रहेको छ । बाइबलमा लेखिएको परमेश्वरको वचनले मानव-जातिको मुक्ति र इन्साफलाई निर्धारण गर्दछ । यसकारण हामीले परमेश्वरको वचनमा थपघट गर्नुहुँदैन भनेर बाइबलले चेताउनी दिएको छ ।

यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएको जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ । प्रका २२:१८-१९

यस्तो चेताउनीमार्फत जान्न सकिन्छ, कि बाइबलचाहिँ सीधै मुक्तिसँग सम्बन्धित भएकोले परमेश्वरले मानव-जातिमाझ बाइबललाई जस्ताको तस्तै पुऱ्याउन चाहनुभएको हो । साथै कोही पनि नष्ट नहोऊन् तर सबै जना मुक्तिको मार्गमा आऊन् भन्ने परमेश्वर चाहनुहुन्छ (२ पत्र ३:९) । परमेश्वरले बाइबललाई विकृत र परिवर्तन हुन दिनुहुन्न । नत्रता कसैले पनि मुक्ति पाउन सक्नेछैन । यसकारण हाम्रो मुक्तिको खातिर सर्वशक्तिमान् परमेश्वरले बाइबललाई विकृत अथवा परिवर्तन हुन नदिनुभई स्वयम्‌ले यसलाई हिफाजत गर्नुभएको हो भन्ने यथार्थतालाई निश्चित गर्न सकिन्छ । फेरि भन्ने हो भने जीवित परमेश्वरले बाइबलको अधिकार र मूल्य-महत्त्वको ग्यारेन्टी गर्नुहुन्छ ।

परमेश्वरको संरक्षित वचन, पुरानो करार बाइबल

वर्तमानमा जस्तो छाप्ने प्रविधि नभएको युगमा मानिसहरूले एक-एक अक्षर लेख्दै पुस्तक बनाउने गर्थे । समयको बहावसँगै मूल ग्रन्थ थोत्रो भयो भने त्यस मूल ग्रन्थलाई हेर्दै फेरि लेखेर सारिन्थ्यो, जसलाई हस्तलेख अथवा पाण्डुलिपि भन्ने गरिन्छ । बाइबल पनि यस्तै किसिमले लेखिएर हस्तान्तरण हुँदैआएको हो ।

इस्राएलमा बाइबललाई प्रतिलिपि गर्ने र निरीक्षण गर्ने मानिसहरू थिए, जसलाई शास्त्री भनिन्थ्यो । शास्त्रीहरूले बाइबल प्रतिलिपि गर्दा त्यसको एउटा अक्षरसमेत नछुटोस् भनेर एक जनाले अक्षरको संख्या बराबर छ कि छैन भनेर गन्थे भने अर्का शास्त्रीले चाहिँ त्यसलाई फेरि निरीक्षण गर्थे । यसरी तिनीहरूले मूल ग्रन्थलाई जस्ताको तस्तै हिफाजत गर्न भरमग्दूर कोसिस गरेका थिए ।

कतिपय मानिसहरूले बाइबल लामो समयसम्म मानिसहरूको हातद्वारा प्रतिलिपि गरिँदैआएकोले उक्त प्रक्रियामा त्यसका विषयवस्तु परिवर्तन भएको हुन सक्छ भन्ने गर्छन् । तर भिन्नाभिन्नै समयमा लेखिएका अन्य प्रतिलिपिहरूसँग तुलना गरिहेर्दा पनि बाइबलको प्रतिलिपि त्रुटिरहित छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

यहूदीहरूको हिब्रू भाषाको पुरानो करार बाइबलचाहिँ मासोरेटिक विज्ञ भनेर परिचित शास्त्रीहरूद्वारा हिफाजत गरियो । अनि मासोरेटिक प्रतिलिपिमध्ये सबैभन्दा पुरानो प्रतिलिपिचाहिँ ई.सं. ९००तिर लेखिएको थियो । तर सन् १९४७मा मृत सागर नजिकै कुम्रान गुफामा ई.पू. १००तिर लेखिएको चर्मपत्रको मुट्ठो बाइबल भेट्टियो । यसलाई मृत सागर प्रतिलिपि अथवा कुम्रान प्रतिलिपि भनिन्छ । तसर्थ विज्ञहरूले करीब १,००० वर्षको अन्तरालमा बाइबलका दुई वटा प्रतिलिपिहरूलाई तुलना गरिहेर्दा प्रायः सबै विषयवस्तु दुरुस्त मिलेको पाए ।

हाल अस्तित्वमा रहेको सबैभन्दा पुरानो हिब्रू भाषाको पुरानो करार बाइबल ई.पू. ९००तिरको पाण्डुलिपि हो । योचाहिँ हिब्रू पुरानो करार बाइबलको मासोरेटिक प्रतिलिपिको आधारमा बनाएको थियो । … मूल ग्रन्थबाट प्रतिलिपि गरिएको अहिलेको बाइबलचाहिँ सुरुको मूल ग्रन्थसँग उस्तै छ भनेर हिब्रू विद्वान्‌हरू बताउँछन् । सन् १९४७ … अरबका बेदुइनले आफ्नो हराएको ब्राखा खोज्दैगर्दा … गुफामा चर्मपत्रको मुट्टो राखिएको फुटेका गाग्राहरू धेरै भेट्टाए । बेदुइनहरूले ती चर्मपत्रको मुट्ठोलाई निकालेर यरूशलेममा भएको सेन्ट मेरिज सिरियन अर्थोडक्स सम्मेलनमा ल्याए । उनीहरूले त्यसलाई अमेरिकाको पूर्वीय अनुसन्धान समाजमा पठाए ।

यो चर्मपत्रको मुट्ठोमध्ये एउटाचाहिँ २,००० वर्षअघि लेखिएको यशैयाको पुस्तक रहेको पुष्टि भयो । योचाहिँ अहिलेसम्म फैलिएको हिब्रू भाषाको पुरानो करारभन्दा १,००० वर्ष अगाडिको हो । यो कति आश्चर्यको खोज हो !

यो चर्मपत्र … प्राचीन हिब्रू भाषामा लेखिएको थियो, जुन ई.पू. दोस्रो शताब्दीतिरको हो भन्ने कुरा पुष्टि भयो । … योचाहिँ हाम्रो बाइबलमा भएको यशैयाको पुस्तकसँग दुरुस्त मिल्छ । परमेश्वको आश्चर्यजनक प्रबन्धद्वारा सुरक्षित राखिएको २,००० वर्षअघिको आवाजले हाम्रो बाइबलको सर्वाधिकारलाई पुष्टि गरिदिन्छ । विलियम फक्स्वेल अल्ब्राइटले यसलाई “वर्तमानको सबैभन्दा महान् मूल ग्रन्थ भेट्टियो” भनेका थिए । हेनरी ह्याम्प्टन ह्याली, द लेटेस्ट बाइबल ह्यान्डबुक, ख्रीष्टियान साहित्य सन् २००६, पेज नं. ३३६-३३७

योचाहिँ बाइबल प्रतिलिपि गर्ने कार्य एकदमै ध्यानपूर्वक गरिन्थ्यो भन्ने कुराको साथै बाइबल लामो समयसम्म प्रतिलिपि हुँदैआए पनि त्यसको विषयवस्तुमा कुनै परिवर्तन नभएको यथार्थतालाई देखाउने राम्रो उदाहरण हो भन्न सकिन्छ ।

अनि ई.सं. पहिलो शताब्दीतिर यहूदी इतिहासकार ‘योसेफस’ले बाइबलप्रति यहूदीहरूको भयको विषयमा निम्नानुसार लेखेका छन् ।

“आपियोन विरुद्ध” पुस्तक १ … जेहोस् यहूदीहरूले यी पुस्तकहरूप्रति लिएको मनस्थिति तिनीहरूको व्यवहारद्वारा जान्न सकिन्छ । लामो समय बिते तापनि तिनीहरूमध्ये कसैले पनि यस पुस्तकमा केही थप्ने अथवा परिमार्जन गर्ने काम गरेनन् । तिनीहरूले यसलाई थोरै पनि परिवर्तन गर्न खोजेनन् ।

यहूदीहरूले जन्मैदेखि यी पुस्तकहरूलाई ईश्वरीय सिद्धान्तहरू समाहित पुस्तक मान्दथे, र यसका सिद्धान्तहरूलाई पालन गर्न सधैँ तल्लीन रहन्थे । साथै आवश्यक परेको खण्डमा यसको निम्ति तिनीहरू आफ्नो प्राण अर्पण गर्नसमेत तयार हुन्थे । व्यवस्था अथवा व्यवस्था समाहित लेखहरूबारे एक शब्द पनि ईश्वरनिन्दा नगरेकै कारण धेरै यहूदी कैदीहरूलाई रङ्गशालामा अनेक किसिमको यातना दिइएर मारियो । योसेफस, योसेफस खण्ड ४, जीवनको वचन, सन् २०१७, पेज नं. ८५

योसेफसको यस्तो प्रमाणले, बाइबलको विषयवस्तु कहिल्यै परिवर्तन गरिएको छैन र यसको मूल ग्रन्थ जस्ताको तस्तै संरक्षित छ भन्ने कुरा बताउँछ ।

येशूज्यू र प्रेरितहरूको शिक्षा समाविष्ट नयाँ करार बाइबल

नयाँ करार बाइबल ई.सं. पहिलो शताब्दीतिर अर्थात् प्रेरितहरूको युगमा लेखियो । येशूज्यूको जीवन र पुनरुत्थानलाई प्रत्यक्ष देखेका चेलाहरू एक-एक गर्दै संसारबाट बिदा भए । अनि येशूज्यूका कामहरूको अभिलेखहरू सुरक्षित गर्न आवश्यक भएकोले सुसमाचारका पुस्तकहरू लेखिए (लूक १:१-२) ।

प्रेरित पावल लगायतका मण्डलीका अगुवाहरू हरेक क्षेत्रमा स्थापित मण्डलीहरूमा घरिघरि भेटघाट गर्न भ्याउँदैनथे । सन्तहरूको विश्वास ठीकसँग स्थापित गराउन तिनीहरूले मण्डलीहरूलाई पत्र पठाउँथे । सन्तहरूले यी पत्रहरूलाई प्रतिलिपि गरेर अन्य मण्डलीहरूमा बाँडिदिन्थे (२ पत्र ३:१५-१६; कल ४:१६; १ थेस ५:२७; २ थेस २:१५) । यी पत्रहरूलाई पछि एकमुष्ठ बाँधियो, जुन वर्तमानमा आएर नयाँ करार बाइबल बन्यो ।

नयाँ करारचाहिँ येशूज्यू र प्रेरितहरू(मत्ती, यूहन्ना, पत्रुस र पावल) र सुसमाचारको लागि काम गर्ने प्रेरितहरू(मर्कूस, लूका, याकूब र यहूदा)ले लेखेका थिए, र यो धेरै मण्डलीहरूमा लामो समयदेखि व्यापक रूपमा पढ्ने गरिन्थ्यो । मण्डलीले येशूज्यू लगायत प्रेरितहरूको शिक्षालाई जस्ताको तस्तै पछ्याउनको लागि यस्तो विशेषता लिएका पुस्तकहरूलाई बाइबलको रूपमा मान्यता दिएको हो ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기