ख्रीष्टियानहरूमाथि रोमीहरूको सतावट :
(१० चरम सतावट) कारण र विवरण

12301 읽음

ख्रीष्टियानहरूमाथि रोमीहरूको सतावट ई.सं. ६४मा सम्राट नेरोको पालादेखि सुरु भएर ई.सं. ३१३मा कन्स्टेन्टाइनद्वारा ख्रीष्टियानहरूलाई मान्यता दिइएको समयसम्म करीब २५० वर्ष जारी रह्यो । केवल परमेश्वरलाई मात्र विश्वास गर्ने, अनि मूर्ति र सम्राटलाई नपुज्ने ख्रीष्टियानहरूलाई रोमीहरूले आँखाको कसिङ्गरझैँ इन्कार गरे । सम्राटहरूले देवताको सुरक्षामुनि साम्राज्यलाई एकीकरण गर्ने र समृद्ध बनाउने बहानामा ख्रीष्टियानहरूलाई अवैध ठान्दै दमन गर्न थाले ।

ख्रीष्टियानहरूमाथि रोमीहरूको सतावटको कारण

प्रेरितहरूको युगको प्रारम्भतिर येशूज्यूलाई ख्रीष्टको रूपमा नस्वीकार्ने यहूदीहरूले ख्रीष्टियानहरूलाई सताए । पछि ख्रीष्टियान धर्म यरूशलेमलाई पार गर्दै एसिया माइनर र रोममा फैलिएकोले ख्रीष्टियानहरू रोमी साम्राज्यद्वारा पनि सताइए । त्यो समयमा रोमी साम्राज्यले देशको स्थिरताको निम्ति आफ्ना अधीनस्थ राज्य अर्थात् निर्वासित जनताहरूको धर्म र राजनीतिप्रति मध्यम सहिष्णुता नीति लागू गरे । तर ख्रीष्टियान धर्मचाहिँ अपवाद थियो । कारण ख्रीष्टियानहरूले देशको स्थिरतालाई भङ्ग गर्नेछन् भनी तिनीहरूले सोचेका थिए ।

ख्रीष्टियानहरूले आफ्ना परमेश्वरलाई मात्र पुजे, र तिनीहरू त्यस बेलाको सामाजिक रीतिरिवाज र धार्मिक समारोहमा सहभागी भएनन् । तिनीहरू मन्दिर वा सिनेमा हल जस्ता ठाउँहरूमा अन्यजातिसँग घुलमिल पनि भएनन् । यसैलाई देशको एकता र स्थिरतामा आँच पुऱ्याउने कार्यको रूपमा लिइयो । विशेष गरी ख्रीष्टियानहरूले रोमी देवतालाई पुज्न इन्कार गरेका कार्यलाई, देवताले साम्राज्यमाथि ल्याइदिएको शान्ति र समृद्धिलाई हानि पुऱ्याउने बाधक ठानियो ।

तीमाथि ख्रीष्टियानहरूले परमेश्वरबाहेक अरू कसैलाई नपुज्ने भएकाले तिनीहरूले सम्राटलाई पुज्न पनि इन्कार गरे । रोमीहरूका लागि, सम्राटलाई पुज्नु भनेको साम्राज्यलाई एकताबद्ध गराउने, र साम्राज्यप्रति बफादारिताको मापदण्डको सबैभन्दा शक्तिशाली माध्यम थियो । रोमी सरकारले ख्रीष्टियानहरूको मनोवृत्तिलाई सम्राट र साम्राज्यविरुद्धको विश्वाघात र राजद्रोहको रूपमा लिए । यसकारण ख्रीष्टियानहरूलाई अवैध धर्मको संज्ञा दिइएर सताइयो ।

ख्रीष्टियानहरूमाथि रोमीहरूको १० चरम सतावट

ख्रीष्टियानहरूमाथि रोमीहरूको सतावटचाहिँ शासक र त्यस बेलाको अवस्थाको आधारमा विभिन्न कारण र तरिकामा जारी भयो, र सम्राटहरूद्वारा नेतृत्व गरिएको १० चरम सतावटहरू प्रतिनिधि हुन् । नेरोले ई.सं. ६४मा भएको रोमको भीषण आगलागीको निम्ति ख्रीष्टियानहरूलाई दोष लगाए, र तिनीहरूलाई भयानक रूपले सताए । ई.सं. ६८मा तिनको मृत्यु नहोउञ्जल यो चलिरह्यो । तिनले ख्रीष्टियानहरूलाई जङ्गली जनावरद्वारा टुक्रा-टुक्रा पारिनलाई एम्फिथिएटरमा फालिदिने, अथवा रातलाई उज्यालो पार्न तिनीहरूलाई परालले बाँधेर ‘मानव मैनबत्ती’को रूपमा जलाउने काम गरे । त्यो समयमा सतावटचाहिँ रोमी साम्राज्यभरि नभएर रोम सहरमा मात्र सीमित थियो ।

नेरोपछि ख्रीष्टियानहरूलाई सताएका अर्का सम्राट नै डोमिसियन थिए । डोमिसियनले आफैलाई जीवित देवता घोषणा गर्दै मानिसहरूलाई तिनलाई पुज्न बाध्य बनाए । ख्रीष्टियानहरूले यो कुरा पालन नगर्दा तिनले ‘ख्रीष्टियानहरूले सम्राटलाई नपुजेकाले सबै देवताहरू रिसाए’ भन्ने दोष लगाउँदै तिनीहरूलाई सताए । तिनले ख्रीष्टियानहरूको सम्पत्ति जफत गरे, र तिनीहरूलाई जङ्गली जनावरहरूसँग भिडाए । यही समयमा प्रेरित यूहन्नालाई पत्मोस टापूमा निर्वासित गराइयो, र त्यहाँ तिनले प्रकाश पाएर प्रकाशको पुस्तक लेखे । ख्रीष्टियानहरू विश्वासको स्वतन्त्रताको निम्ति रोमबाट भाग्न र भूमिगत हुन थाले । त्यस बेलादेखि सतावटबाट बच्न भूमिगत चिहान(क्याटाकम्ब)मा आराधना गर्न थालियो ।

रोमी साम्राज्यभरि ख्रीष्टियानहरूलाई सबैभन्दा निर्ममतापूर्वक सताएका राजाचाहिँ डायोक्लेसियन थिए । डायोक्लेसियनले ई.सं. ३०३मा उर्दी जारी गरेर, सम्राटको सालिकलाई नढोग्ने ख्रीष्टियानहरूलाई विद्रोही संज्ञा दिँदै तिनीहरूको सम्पत्ति जफत गरे । तिनले ख्रीष्टियानहरूको भेला/सभालाई निषेध गरे, र सबै मण्डलीका भवनहरू भत्काइदिए र ख्रीष्टियान पुस्तक र बाइबल जलाउन आदेश दिए । यदि तिनीहरूले अन्यजातिको देवतालाई बलिदान चढाउने आज्ञा मानेनन् भने उनले तिनीहरूलाई क्रूरतापूर्वक यातना दिएर मारिदिन्थे । यस अवधिमा ख्रीष्टियानहरूलाई सरकार र सेनाबाट निष्कासन गरियो, र तिनीहरूको सामाजिक अधिकार सबै खोसियो । सबै पूजाहारीहरूलाई निर्वासित गराउने अथवा मारिने गरियो ।

१. नेरोको सतावट (ई.सं. ६४)

  • रोमको भीषण आगलागी हुँदा ख्रीष्टियानहरूलाई त्यसको दोष लगाएर सताइयो ।
  • ख्रीष्टियानहरूलाई जङ्गली जनावरको आहारा बनाइयो र कतिलाई भोजस्थल उज्यालो पार्ने राँकोको रूपमा जलाएर मारियो ।
  • यस्ता सतावटहरू प्रायः रोमको सहरभित्र घटेको थियो ।

२. डोमिसियनको सतावट (ई.सं. ९०-९६)

  • ख्रीष्टियानहरूले गर्दा सबै देवताहरू रिसाए भन्ने आरोप लगाइएर दमन गरियो ।
  • गैर-रोमी धर्ममाथि आक्रमण गरियो, र तिनीहरूप्रति दया दर्शाउनेहरूलाई देशद्रोहीको संज्ञा दिइएर सताइयो ।
  • प्रेरित यूहन्नालाई पत्मोस टापूमा निर्वासित गराइयो ।
  • ख्रीष्टियानहरूले सतावटबाट उम्कन भूमिगत चिहान क्याटाकम्बमा आराधना गरे ।

३. ट्राजनको सतावट (ई.सं. ९८-११७)

  • सम्राटलाई पुज्न इन्कार गर्ने ख्रीष्टियानहरूलाई अपराधीको रूपमा सताइयो ।
  • एन्टिओख मण्डलीका बिशप इग्नाटियस शहीद भए ।

४. हाड्रिएनको सतावट (ई.सं. ११७-१३८)

  • सम्राटहरूको सालिक र अन्य सालिकहरू खडा गरेर त्यसलाई पुज्न बाध्य गराइयो । इन्कार गर्ने ख्रीष्टियानहरूलाई मारियो ।
  • ख्रीष्टियानहरूलाई बचाउन खोज्नेहरूलाई समेत दण्ड दिइयो ।

५. मार्कस अरेलियसको सतावट (ई.सं. १६१-१८०)

  • महामारी, अनिकाल र खडेरीजस्ता सबै प्राकृतिक प्रकोपहरू आउनुमा ख्रीष्टियानहरूलाई दोष लगाएर मारियो ।
  • ख्रीष्टियानहरूको लाश, भोकाएका कुकुरहरूलाई आहाराको रूपमा दिइयो ।

६. सेप्टिमियस सेभेरसको सतावट (ई.सं. २०२-२११)

  • ख्रीष्टियानहरूलाई सूर्य देवताको पूजा गर्न बाध्य गराइयो । ख्रीष्टियान धर्ममा परिवर्तन हुन प्रतिबन्ध लगाइयो ।
  • ख्रीष्टियान धर्ममा परिवर्तन हुनेलाई मृत्युदण्ड दिने उर्दी घोषणा गरियो ।

७. म्याक्सिमिनसको सतावट (ई.सं. २३५-२३६)

  • हत्या गरिएका पूर्व सम्राटलाई समर्थन गरेकोमा ख्रीष्टियानहरूलाई सताइयो ।
  • ख्रीष्टियान पादरीलाई मारियो ।

८. डेसियसको सतावट (ई.सं. २४९-२५१)

  • रोमी साम्राज्यभरि नै सतावट दिनू भन्ने आदेश जारी गरियो ।
  • सबै नागरिकहरूलाई रोमी देवतालाई पुज्न आज्ञा दिइयो, र यो उर्दी उल्लङ्घन गर्नेहरूलाई मारियो ।
  • ख्रीष्टियान धर्मलाई हटाउन ख्रीष्टियानहरूलाई धर्मत्याग गर्न लगाइयो ।
  • यो अवधिमा धेरै ख्रीष्टियानहरू शहीद भए र धेरैले धर्म त्याग पनि गरे ।

९. भ्यालेरियनको सतावट (ई.सं. २५९-२६०)

  • ख्रीष्टियानहरूको भेलालाई प्रतिबन्ध लगाइयो, र तिनीहरूको जग्गा र सम्पत्ति जफत गरियो ।
  • पादरीहरूलाई मारियो, कतिलाई निर्वासित गरियो ।

१०. डायोक्लेसियनको सतावट (सन् ३०३-३११)

  • ख्रीष्टियानहरूलाई सबै अधिकारबाट वञ्चित गराएको सबैभन्दा क्रूर सतावट थियो ।
  • ख्रीष्टियान धर्मविरुद्ध ४ वटा आदेश घोषणा गरियो ।
  • ख्रीष्टियान सेनालाई आफ्नो विश्वास परित्याग गर्न बाध्य बनाइयो, र नमान्नेहरूलाई मारियो ।
  • मण्डलीका भवनहरू नष्ट गरियो, बाइबल जलाइयो, आराधना गर्न प्रतिबन्ध लगाइयो र सरकारी कार्यालयबाट ख्रीष्टियानहरूलाई निष्कासन गरियो ।
  • प्रणालीबद्ध सतावटको आदेश ई.सं. ३११मा फिर्ता त लिइयो तर ख्रीष्टियानहरूलाई दिइने सतावटचाहिँ ई.सं. ३१३मा मिलानो आदेश जारी नभएसम्म रोकिएन ।

रोमी सम्राटहरूले लामो समयसम्म ख्रीष्टियानहरूलाई सताउनु सताए, तापनि तिनीहरूको विश्वासलाई भने तोड्न सकेनन् । ख्रीष्टियानहरूलाई आगोमा फालिदिने, एम्फिथिएटरमा जङ्गली जनावरको आहारा बनाउने, र चरम यातना दिने गरे पनि ख्रीष्टियानहरूले कुनै हिचकिचाहटविना सुसमाचार प्रचार गरे । तिनीहरूको विश्वासचाहिँ जति काट्यो उति नै मीठो बास्ना छर्ने मूर्रजस्तै थियो । चरम सतावटको बाबजुद ख्रीष्टियानहरूको संख्या बढ्दैगयो, र सुसमाचार सारा रोमी साम्राज्यभरि र भूमध्य सागरको तटभरि अझ तीव्र रूपमा फैलियो ।

FacebookTwitterEmailLineMessage
सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기