रूपरेखा
अदनको बगैँचामा आदम र हव्वाले ‘असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू’ भन्ने परमेश्वरको वचनलाई उल्लङ्घन गरेकाले मानव-जातिमा मृत्युको इतिहास सुरु भएको हो भनेर बाइबलले गवाही दिएको छ । यस पुस्तकमा आन साङ होङज्यूले, अदनको इतिहास र मुक्तिको प्रबन्धको साँचो अर्थ के हो भन्नेबारे थाहा दिनुभएको छ । साथै उहाँले मानव-जाति स्वर्गमा पाप गरेका स्वर्गदूतहरू हुन् भन्ने कुरा पनि जानकारी दिनुभएको छ । ख्रीष्टले मानव-जातिलाई स्वर्ग फर्काउनको लागि सुनाउनुभएको सुसमाचार नै नयाँ करार हो र त्यसको केन्द्रबिन्दु नै निस्तार-चाड हो भन्ने यथार्थता पनि यस पुस्तकद्वारा जान्न सकिन्छ ।
भूमिका
यस पुस्तकको उद्देश्य परमेश्वरले आदम र हव्वालाई किन सृष्टि गर्नुभयो, सृष्टि गर्नुभएको आदम र हव्वालाई किन पाप गर्न लगाउनुभयो र मुक्तिको प्रबन्ध किन खडा गर्नुभयो अनि पुरानो करारमा शरण-नगरको व्यवस्था किन दिनुभयो, त्यो शरण-नगरको अगमवाणी नयाँ करारमा आएर कसरी पूरा भयो, अनि नयाँ करारमा सुसमाचार भनेको के हो र कसो गर्नु सुसमाचार आज्ञाकारी हुनु हो, अनि मल्कीसेदेकको दर्जा भनेको के हो, र स्वर्गीय राज्यमा के लिएर गएमा सफलतापूर्वक प्रवेश गर्न सकिन्छ ? जस्ता सम्पूर्ण प्रश्नहरू स्पष्ट रूपमा जानकारी गराउनु नै यो पुस्तकको उद्देश्य हो । किनकि संसारमा झूटा सिद्धान्तहरू एकदमै धेरै छन् अनि बाइबलमा झूटमा फस्नेहरू पनि नष्ट हुन्छन् भनिएको छ ।
मुक्तिचाहिँ विश्वासमा छ भनिएको छ, तर झूटा विश्वास पनि छ भनिएकोले मुक्ति पाउने विश्वासचाहिँ कस्तो विश्वास होला ? विश्वास गर्ने हो भने साँचो सत्यतामा, सही विश्वास लिएर अनन्त जीवनमा प्रवेश गर्नुपर्दछ ।
विषयसूची
- अध्याय १ अदनको बगैँचामा किन असल र खराबको ज्ञान दिने रूखको फल राख्नुभएको होला ?
- अध्याय २ व्यवस्था स्थापना भएको पाप वृद्धि गराउनको निम्ति हो
- अध्याय ३ शबाथ-दिन र शबाथ हजार वर्ष
- अध्याय ४ पूर्ण र अपूर्ण
- अध्याय ५ स्वर्गबाट धपाइएका
- अध्याय ६ पृथ्वीको मानिस र स्वर्गको मानिस
- अध्याय ७ स्वर्गदूतको संसारमा किन पाप गर्न दिनुभएको होला ?
- अध्याय ८ शरण-नगर किन स्थापना गर्नुभएको होला ?
- अध्याय ९ नयाँ करारको सुसमाचार भनेको के हो ?
- अध्याय १० सुसमाचारको सेवक नै नयाँ करारको सेवक हो
- अध्याय ११ पुरानो करार नयाँ करारमा परिवर्तन भएको
- अध्याय १२ हारूनको दर्जा र मल्कीसेदेकको दर्जा
- अध्याय १३ निस्तार-चाडको पवित्र भोज
- अध्याय १४ निस्तार-चाडको रहस्य
- अध्याय १५ छाप्रो-वासको चाडको बारेमा
अध्याय १ अदनको बगैँचामा किन असल र खराबको ज्ञान दिने रूखको फल राख्नुभएको होला ?
परमेश्वरले अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूखको फल राख्नुहुँदा आदम र हव्वाले खानेछन् भन्ने कुरा परमेश्वरलाई थाहा थियो कि थिएन होला ?
आदिदेखि अन्तसम्मको घोषणा गर्नुहुने सर्वज्ञ र सर्वशक्तिमान् परमेश्वरलाई थाहा थिएन भन्नचाहिँ सकिँदैन (यशै ४६:१०) । यदि परमेश्वरलाई थाहा थियो भने, निश्चय नै उहाँले आदम र हव्वालाई पाप गर्न दिने गरेर योजना बनाउनुभएको हुनुपर्छ । किनभने उनीहरूलाई छलमा पार्ने सर्प पनि परमेश्वरले नै बनाउनुभएको थियो । लेखिएको छ,
उत ३:१-५ 『परमप्रभु परमेश्वरले बनाउनुभएका वन-पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो । …』
यो मात्रै होइन, मिश्रका राजा फारो मुनि इस्राएलीहरूले कठोर कष्ट भोगेका थिए, तर त्यो कष्ट भोगाउनुहुने पनि परमेश्वर नै हुनुहुन्थ्यो भनिएको छ । लेखिएको छ,
प्रस ९:१५-१६; रोम ९:१७-१८ 『… तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस् ।』
त्यसैले परमेश्वरले असल र खराबको ज्ञान दिने रूखको फल राख्नुभएको चाहिँ आदम र हव्वालाई खाने गराएर पाप गर्ने गराउनुभई पाप बढेको ठाउँमा अनुग्रह झन् बढी मात्रामा बढाउनुभएको हो । आदम र हव्वाको निम्ति असल र खराबको ज्ञान दिने रूखको फल नै आज्ञा थियो । आज्ञा नभएको ठाँउमा पापको लेखा पनि हुँदैन (रोम ५:१३) ।
अध्याय २ व्यवस्था स्थापना भएको अपराध वृद्धि गराउनको निम्ति हो
त्यसोभए किन असल र खराबको ज्ञान दिने रूखको फल राख्नुभई, आदम र हव्वालाई खाने गराउनुभएर पाप गर्ने गराउनुभएको होला ? त्योचाहिँ उनीहरूलाई पापबाट छुटकारा गराएर अनन्त महिमामा प्रवेश गराउनको निम्ति हो । अदनको बगैँचामा अनन्त जीवन तोकिएको नभई शर्तमा थियो । तर पापीहरूले येशूज्यूको रगतद्वारा छुटकारा पाउँदाचाहिँ अनन्त जीवन शर्तमा नभई निश्चित गरिन्छ । यस्तो लेखिएको छ,
प्रका २१:४ 『उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । …』
अदनको बगैँचामा होस् या त सीनै पर्वतमा, स्थापना गरिएको व्यवस्थाले अन्त्यमा मृत्युमा पुऱ्यायो । अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूखको फल नै व्यवस्था थियो र सीनै पर्वतमा चाहिँ दश आज्ञा नै व्यवस्था थियो । तर परमेश्वरले व्यवस्था स्थापना गर्नुभएको चाहिँ पाप गराउनको निम्ति हो भनी लेखिएको छ ।
रोम ५:२०-२१ 『व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ्यो अनुग्रह झन् बढी मात्रामा बढ्यो, यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गऱ्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस् ।』
अर्को शब्दमा भन्ने हो भने येशूज्यूको रगतद्वारा मृत्युबाट छुटकारा पाएमा मात्र अनन्त जीवन पूर्ण रूपले निश्चित हुन्छ भन्ने अर्थ हो । महत्वपूर्णचाहिँ, येशूज्यूको रगत हो । येशूज्यूको रगत नभएको ठाँउमा चाहिँ सिद्धता प्राप्त हुँदैन भन्ने अर्थ हो । आज्ञाको बारेमा प्रेरित पावलले लेखेका छन्,
रोम ७:१०-११ 『जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो । किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो, र त्यसैद्वारा मलाई माऱ्यो ।』
शैतानले अदनको बगैँचादेखि नै मौका छोपेर बहकाउने कार्य गरिरहेको छ । आदमको अनुपस्थितिको फाइदा उठाउँदै शैतानले हव्वालाई बहकाएर असल र खराबको ज्ञान दिने रूखको फल खान लगायो, अनि हव्वाले आदमलाई पनि दिइन् र खाएपछि दुवै जना मर्नुपर्ने भयो (उत ३:१-५) ।
त्यसैले, अदनको बगैँचाको सृष्टि पनि पूर्ण होइन र सीनै पर्वतको व्यवस्था पनि पूर्ण होइन भन्ने कुरा थाहा हुन्छ । परमेश्वरले अझैसम्म पनि पूर्णहरू बनाउन सृष्टिको कार्य गर्दैहुनुहुन्छ । लेखिएको छ,
यूह ५:१७ 『तब येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले अहिलेसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु ।”』
यो वचनचाहिँ शबाथ-दिनमा पनि मानिसलाई पूर्ण सृष्टि गर्नुहुने येशूज्यूलाई दोष लगाएकोले गर्दा भन्नुभएको वचन हो ।
त्यसो हो भने पूर्णलाई सृष्टि गर्ने कार्यचाहिँ कहिले सकिएला ? उत्पत्ति अध्याय १ अध्ययन गर्ने हो भने, ६ दिनमा सृष्टिको कार्य समाप्त गर्नुभई सातौँ दिनमा विश्राम गर्नुभयो भनिएको वचनलाई प्रेरित पावलले यस प्रकारले लेखेका छन् ।
अध्याय ३ शबाथ-दिन र शबाथ हजार वर्ष
हिब्रू ४:३-६ 『… यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए । किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्नुभएको छ, “परमेश्वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो ।” र फेरि यसै खण्डमा उहाँले भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन् ।” कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ …』
“परमेश्वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो” र फेरि यसै खण्डमा उहाँले भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन् । कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ …” भनिएको ‘त्यो विश्राम’लाई प्रेरित पावलले मानव-इतिहासको ६००० वर्षपछि आउने अनन्त विश्राम हो भनेर अर्थ लगाएका छन् ।
६ दिन पछि आउने शबाथ-दिन र ६ वर्ष पछि आउने शबाथ वर्षलाई अध्ययन गर्ने हो भने यी सबै भविष्यमा हुने कुराको अगमवाणी हो भन्ने यथार्थता थाहा पाउन सकिन्छ । बाइबलको अगमवाणीमा १ दिनलाई १ वर्षको रूपमा पूरा गराउनुभएजस्तै (गन्ती १४:३४, इज ४:६), एक दिनलाई हजार वर्षको रूपमा पनि दृष्टान्त गर्नुभएको छ ।
२ पत्र ३:८ 『तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ ।』
७ दिनमा आउने शबाथ-दिन होस् अथवा ७ वर्षमा आउने शबाथ वर्षद्वारा अगमवाणीअनुसार मानव-इतिहासको ६००० वर्ष बितेपछि पृथ्वीको शबाथ हजार वर्ष आउँछ भन्ने कुरा थाहा पाउन सकिन्छ । प्रकाशको पुस्तकमा लेखिएको छ कि, शैतान एक हजार वर्षको लागि अतल कुण्डमा बन्द गरिनेछ अनि सन्तहरूले चाहिँ एक हजार वर्षसम्म राज्य(विश्राम) गर्नेछन् (प्रका २०:१-६) । त्यसैले परमेश्वरले ६ दिनसम्म सृष्टि गर्नुभई विश्राम गर्नुभयो भन्ने वचनले चाहिँ ६ हजार वर्षमा पूर्ण सृष्टि समाप्त गर्नुभई अनन्त विश्राममा प्रवेश गर्नुहुने र मुक्ति पाएका सन्तहरू पनि परमेश्वरसँगै अनन्त विश्राममा प्रवेश गर्ने कुरालाई देखाउँदछ ।
『फेरि यसै खण्डमा उहाँले भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन् ।” कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ ।』 भनिएको त्यो विश्राममा प्रवेश गर्ने कुरालाई प्रेरित यूहन्नाले चाहिँ एक हजार वर्षसम्म राज्य गर्नेछन् भनेर वर्णन गरेका छन् । त्यसैले आदम र हव्वा पूर्ण थिएनन्, तर सृष्टि हुने पूर्णहरूको नमूना मात्र थिए । किनभने आदम र हव्वाले पाप गर्न पनि सक्थे र मर्न पनि सक्थे । प्रेरित पावलले पूर्ण र अपूर्णको बारेमा यसरी लेखेका छन्,
१ कोर १५:४४-५३ 『प्राकृतिक शरीरमा त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ । प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ । यसकारण यस्तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो ।” अन्तिम आदम जीवन दिने आत्मा भयो । पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो । पहिलो मानिस (आदम) माटोले बनिएको, पृथ्वीबाट हो । दोस्रो मानिस(येशू) स्वर्गको हो । माटोले बनिएको मानिसजस्तो थियो, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, र स्वर्गीय मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् । जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं । …』
फेरि भन्ने हो भने, आदम आत्मिक अर्थात् पूर्ण अस्तित्व नभएर शारीरिक अर्थात् जमिनको माटोबाट बनाइएका अपूर्ण अस्तित्व भएकाले, माटोका अपूर्ण अस्तित्वहरू स्वर्गका आत्मिक पूर्ण अस्तित्वमा परिवर्तन हुनुपर्छ भन्ने वचन हो ।