ahnsahnghong.com is provided in English. Would you like to change to English?

बाइबलमा भनिएको घुम्टोको नियम

7165 읽음

कुनै देशका राजा अथवा राष्ट्रपतिलाई भेट्न जाँदा आगन्तुकले पालना गर्नुपर्ने केही शिष्टाचार हुन्छ । त्यसै गरी सारा ब्रह्माण्डका राजा हुनुभएका परमपवित्र परमेश्वरलाई प्रार्थना वा आराधना गर्दा हामीले पालना गर्नुपर्ने केही नियम र व्यवस्थाहरू छन् । वर्तमानका मण्डलीहरूले आराधनाको धर्मविधिमा आफ्नै मापदण्ड तोकेका छन् । तीमध्ये आज घुम्टोको नियमबारे बुझौं । क्याथोलिक मण्डलीमा, आराधना समयमा स्त्रीहरूले त शिरमा घुम्टो लगाउँछन् नै, तर त्यहाँका पोप, कार्डिनल, पूजाहारीहरूले समेत टोपी लगाएर प्रार्थना गर्छन् । प्रोटेस्टेन्ट मण्डलीमा चाहिँ पुरुष/स्त्री सबैले शिर खुला राखेर आराधना गर्छन् । बाइबलमा घुम्टोको नियमबारे कस्तो शिक्षा दिइएको छ होला ?

घुम्टोको नियमसम्बन्धी बाइबलको शिक्षा

बाइबलमा पुरूष र स्त्री सन्तलाई घुम्टोको नियमबारे फरक-फरक शिक्षा दिइएको छ । आराधना वा प्रार्थना गर्दा पुरूषले आफ्नो शिर ढाक्नुहुँदैन भनिएको छ ।

… कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ । १ कोर ११:३–४

हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ । यसकारण प्रार्थना गर्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ । अर्थात् प्रार्थना गर्दा आफ्नो शिर ढाक्ने मानिसले ख्रीष्टको अपमान गर्दछ भन्ने कुरा हो । ख्रीष्टको महिमा गर्नु सजिलो कुरा होइन । तर त्यसो भन्दैमा हामीले उहाँको अपमान पनि गर्नुहुँदैन । यसको ठीक विपरीत स्त्रीहरूले चाहिँ प्रार्थना वा आराधना गर्दा अनिवार्य रूपमा शिर ढाक्नुपर्छ ।

तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो । किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु तिनले केश काटोस् । तर केश काट्‌नु कि खौरनु स्त्रीको निम्ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्टो हालोस् । १ कोर ११:५-६

स्त्रीले आफ्नो शिर खुला राखेर प्रार्थना गर्नु भनेको आफ्नो शिरको अपमान गर्नु हो भनिएको छ । अर्थात् प्रार्थना गर्दा स्त्रीले आफ्नो शिरलाई घुम्टोले ढाक्नुपर्छ । यदि कुनै स्त्रीले शिर ढाक्दिन भनेता बरु तिनले केश काटोस् भनिएको चाहिँ स्त्रीले केश काटिन् भने शिर ढाक्नुपर्दैन भन्ने त्यस्तो अर्थ होइन । शिर नढाकी प्रार्थना गर्नु भनेको स्त्रीको लागि केश काट्नुजत्तिकै शर्मको कुरा हो भन्ने कुरालाई जोड दिने हो । यसकारण स्त्रीले प्रार्थना गर्दा अनिवार्य रूपमा शिरमा घुम्टो हाल्नुपर्छ ।

घुम्टोको नियमको आधार

प्रार्थना वा आराधना गर्दा पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ शिरमा घुम्टो हाल्नुपर्छ भन्ने शिक्षा बाइबलमा छ । प्रेरित पावलले घुम्टोको नियमबारे सिकाउनुअघि, योचाहिँ तिनले येशूज्यूबाट अनुसरण गरेको शिक्षा रहेको कुरा बताए ।

मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु । १ कोर ११:१

घुम्टोको नियम मानिसले तोकेको नियम होइनकि ख्रीष्टको अनुसरणबाट आएको, अर्थात् परमेश्वरद्वारा तोकिएको नियम हो । मानव-जातिलाई सृष्टि गर्नुभएका परमेश्वरको प्रबन्ध, अनि उहाँले दिनुभएको प्रकृतिले समेत घुम्टोको नियमलाई समर्थन गर्छ भनेर प्रेरित पावलले थप गवाही दिए ।

किनकि पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्रीचाहिँ पुरुषको गौरव हो । किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो । स्त्रीको निम्ति पुरुष सृष्टि भएको होइन, तर स्त्री पुरुषको निम्ति हो । यसैकारण र स्वर्गदूतहरूका खातिर पनि स्त्रीले आफ्नो शिर घुम्टोले ढाकेको हुनुपर्छ । १ कोर ११:७-१०

परमेश्वरले पहिला आदमलाई बनाउनुभयो र त्यसपछि आदमको सहयोगीको रूपमा हव्वालाई बनाउनुभयो । सृष्टिको यस्तो सिद्धान्तबाट पनि, पुरुषले चाहिँ आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीले आफ्नो शिर ढाक्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् । स्वर्गबाट स्वर्गदूतहरूले पनि हेरिरहेकाले तिनीहरूका खातिर पनि स्त्रीहरूले आफ्नो शिरमा घुम्टो हाल्नुपर्छ ।

पुरुषले लामो केश पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको निम्ति गौरव हो । किनकि स्त्रीको केश तिनलाई ढाक्नलाई दिइएको हो । १ कोर ११:१४-१५

पुरुषले लामो केश पाल्नु भनेको उसको निम्ति त्यो शर्मको कुरा हो, तर स्त्रीको चाहिँ केश लामो छ भने उसको निम्ति त्यो गौरवको कुरा हो भनी प्रकृतिले नै सिकाएको छ । अर्थात् पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ शिर ढाक्नुपर्छ भनेर वचन हो ।

प्रेरितहरूको युगमा घुम्टोको नियम

यस विषयमा कसैले वादविवाद गर्छ भने पनि घुम्टोको नियमलाई अवज्ञा गर्ने त्यस्तो रीति कुनै पनि परमेश्वरको मण्डलीहरूमा छैन भनेर प्रेरित पावलले जोड दिए ।

तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र ? … तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्वरका मण्डलीहरूको नै छ । १ कोर ११:१३-१६

फेरि भन्नुपर्दा घुम्टोको नियमचाहिँ सम्पूर्ण परमेश्वरको मण्डलीहरूको एकीकृत नियम हो । प्रेरितहरूको युगमा, प्रार्थना वा आराधना गर्दा स्त्रीहरूले आफ्नो शिरमा घुम्टो हाल्ने गर्थे । अन्य अनुवादहरूमा हेर्ने हो भने अझ प्रष्ट व्याख्या छ ।

आफै विचार गर, के स्त्रीलाई टाउको नछोपी परमेश्वरलाई प्रार्थना गर्न सुहाउँछ ? … यसको बारेमा कोही तर्क गर्न चाहन्छ भने म भन्दछु, योबाहेक हाम्रो अरू कुनै चलन छैन र परमेश्वरको मण्डलीको अरू कुनै रीतिथिति छैन । १ कोर ११:१३-१६ (सरल नेपाली बाइबल)

तिमीहरू आफै विचार गर, शिरलाई केहीले पनि नछोपी आराधनामा परमेश्वरमा प्रार्थना गर्न स्त्रीको निम्ति उचित हुन्छ र ? … तर कसैले यसको बारेमा तर्क गर्न चाहन्छ भने म भन्दछु, योबाहेक आराधनामा हाम्रो अरू कुनै चलन छैन र परमेश्वरको मण्डलीको अरू कुनै रीतिथिति छैन । १ कोर ११:१३-१६ (GNT)

परमेश्वरको वचनमा घटबढ नगर

बाइबलका केही अनुवादहरूमा, उप-शीर्षक बनाउन मुख्य विषयवस्तुबाट केही अंश झिक्ने गर्छन् । १ कोरिन्थी अध्याय ११का केही उप-शीर्षकहरू यस प्रकार छन्ः Covering the Head in Worship (आराधना गर्दा शिर ढाक्ने, GNT), Head Coverings (शिर ढाक्ने, ESV) र Advice about Head Coverings (शिर ढाक्नेबारे सुझाव, ISV) । यस अध्यायले घुम्टोको नियमबारे वर्णन गर्दछ, जसमा प्रार्थना वा आराधना गर्दा स्त्रीले आफ्नो शिर ढाक्नुपर्छ भनेर उल्लेख गरिएको छ ।

यसकारण सत्य परमेश्वरको मण्डलीमा प्रार्थना वा आराधना गर्दा बाइबलको शिक्षाअनुसार पुरुषले आफ्नो शिर केहीले ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ आफ्नो शिर ढाक्नुपर्छ । तापनि हिजोआज अधिकांश मण्डलीहरूले बाइबलको यस्तो शिक्षालाई पालना गर्दैनन् । क्याथोलिक मण्डलीमा स्त्रीहरूले शिर ढाकेर प्रार्थना गर्छन् भने पुरुष पादरीहरूले चाहिँ आराधनामा आफ्नो पदअनुसार माइटर टोपी लगाउँछन् । यता प्रोटेस्टेन्ट मण्डलीमा चाहिँ प्रार्थना गर्दा स्त्रीले आफ्नो शिरमा घुम्टो हाल्दैनन् । यी मण्डलीहरूले बाइबलको शिक्षालाई पूर्ण रूपमा पालना गरिरहेका छैनन् । परमेश्वरले उहाँको वचनमा कदापि घटबढ नगर्नू भनेर कडा चेताउनी दिनुभएको छ ।

“मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नू ।” व्य ४:२

यदि हामीले नक्सामा नभएको बाटो थप्ने अथवा भएको बाटोलाई हटाउने गऱ्यौं भने के हामी आफ्नो गन्तव्यमा पुग्न सक्छौं होला ? त्योजस्तै हाम्रो मुक्तिको निम्ति दिनुभएको परमेश्वरको वचनमा यदि हामीले घटबढ गऱ्यौं भने हामीहरू हाम्रो गन्तव्य, स्वर्गसम्म पुग्न सक्दैनौं । बाइबलमा, घुम्टोको नियम पालन नगर्नु भनेको परमेश्वरको अपमान गर्नुसरह हो भन्ने शिक्षा छ । आराधनामा परमेश्वरको नाउँचाहिँ पुकार्ने तर बाइबलको शिक्षालाई चाहिँ अवज्ञा गर्ने मानिसहरू पनि छन् । योद्वारा तिनीहरूले आत्मा र सत्यतामा परमेश्वरलाई महिमा दिनुको सट्टा आफ्नो कार्यद्वारा परमेश्वरलाई इन्कार गर्दै उहाँको अपमान गर्छन् । आफ्नो सोचाइ र आदतलाई अगि सार्दै परमेश्वरको व्यवस्थालाई इन्कार गर्ने र अधर्म काम गर्नेहरूले जतिसुकै परमेश्वरलाई प्रशंसा गरे पनि तिनीहरू कदापि स्वर्ग जान सक्दैनन् (मत्ती ७:२१-२३) । यसकारण बाइबलको शिक्षाअनुसार, प्रार्थना वा आराधना गर्दा पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन तर स्त्रीले चाहिँ आफ्नो शिरमा घुम्टो हाल्नुपर्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기