रूपरेखा
प्रायः मानिसहरू मृत्युपछिको संसारप्रति चासो देखाउँछन् तर आफू यो पृथ्वीमा आउनुअघि कहाँ थिएँ होला भन्नेबारे त्यति सोच्दैनन् । आन साङ होङज्यूले यो पुस्तकमा यसबारे विस्तृत रूपमा वर्णन गर्नुभएको छ । यो पृथ्वीमा निरर्थक र छोटो जीवन बिताइरहेका मानव-जातिचाहिँ वास्तवमा स्वर्गमा महिमामा जिएका स्वर्गदूतहरू थिए, तर जघन्य पापले गर्दा यो पृथ्वीमा फ्याँकिएका हुन् भन्ने कुरा आन साङ होङज्यूले बाइबलका अभिलेखहरूद्वारा थाहा दिनुभयो । उहाँले शरीर मरेपछि पनि आत्मा अस्तित्वमा रहने कुराको गवाही दिनुभयो, अनि परमेश्वरका प्रजाले भविष्यमा प्राप्त गर्ने पुनरुत्थान र स्वर्गको महिमाबारे थाहा दिनुभएर आत्मिक आशा प्रदान गर्नुभयो ।
भूमिका
यो पुस्तकमा, स्वर्गदूतको संसारभित्र पाप गरेर यस पापमय संसारमा मानिसको रूपमा जन्मिएका बहुसंख्यक स्वर्गदूतहरू पापको दण्डबाट उम्केर फेरि स्वर्गदूतको संसारतर्फ फर्कने खुशीको खबर समाहित छ । यो संसारमा जन्मिएका सबै मानिसहरू स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू हुन् । मानिसको आत्मा, विश्वव्यापी रूपमा धेरै तर्क गरिने र ख्रीष्टियानबाहेकका अन्य धर्मविद्हरूले विवाद गरिरहेको आध्यात्मिक विषय हो । तापनि तिनीहरू एउटै निष्कर्षमा पुग्न नसकी आफ्नै प्रकारले विवाद गर्ने र शिक्षा दिने गरिरहेका छन् । त्यसैले जहाँ गएर सोधे पनि विवादरहित, स्पष्ट र विश्वासयोग्य उत्तर वा प्रवचन सुन्नै पाइँदैन । किनभने वर्तमान समयका बाइबलविद्हरूले समेत आत्माको विषयको आधारभूत सिद्धान्तलाई बुझ्न सकेका छैनन् ।
परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गीय सेना, स्वर्गदूतहरू, परमेश्वरका छोराहरू र मानिसका आत्माहरू कसरी बनाइए भन्ने प्रश्नको उत्तर राम्ररी जानेमा पहिलाको संसार, यो संसार र पछिको संसारको बारेमा स्पष्टसँग थाहा हुनेछ ।
यो पुस्तकचाहिँ स्वर्गदूतहरू कसरी बनाइए, र मानिसका आत्माहरू कसरी बनाइए भन्ने विषयमा अनुसन्धान गर्न सकिने गरेर लेखिएकोले यसबाट स्वर्गदूतको संसार, मानव संसार र पछि जाने संसारको बारेमा थाहा पाउनुको साथै मानिसको आत्मा कहाँबाट आएको हो र कहाँ जान्छ भन्ने कुरा थाहा हुनेछ । जसले होस्, मानिसको आत्मा कहाँबाट आएको हो र कहाँ जान्छ भन्ने कुराप्रति अनभिज्ञ भई गरेको प्रवचन, प्रवचक आफैमा समेत दृढ विश्वास नभई गरेको प्रवचन हो । आफू कहाँबाट आएको हो भन्ने थाहा नपाई कसरी जाने ठाउँ जान्दछु भन्न सकिन्छ र ? तर यो पुस्तकमा समाविष्ट आत्माको विषय अध्ययन गर्नुभयो भने हामीहरू पाप गरेर यो संसारमा आउनुअघि स्वर्गमा रहेका परमेश्वरका छोराहरू थियौं र स्वर्गीय सेना, स्वर्गदूतहरू हाम्रा घनिष्ठ मित्रहरू थिए भन्ने यथार्थता थाहा पाउनुहुनेछ । अनि पाप नगरेका स्वर्गदूतहरू र परमेश्वरका छोराहरूचाहिँ पापमा फसेका हामीहरू पश्चात्ताप गरेर फर्किआऊन् भनी पर्खिरहेका छन् भन्ने यथार्थताप्रति विश्वास लाग्नेछ ।
अहिले हामीले पापको घुम्टो ओढिरहेकाले थाहा नपाएको र देख्न नसकेको भए पनि आत्माको विषय मात्रै प्रष्टसँग बुझ्यौं भने स्पष्ट थाहा पाएर खुशी र आशामा फेरि भेट्ने त्यो दिनलाई उत्कण्ठित भएर पर्खनेछौं । यो पुस्तकमा, आत्माको विषयलाई इन्कार गर्न नसकिने यथार्थता बाइबलभित्रबाट खोजेर स्पष्ट रूपमा गवाही दिइएको छ । गम्भीरतापूर्वक अध्ययन गर्नुहुन अनुरोध गर्दछु ।
विषयसूची
- अध्याय १ मरणशील मानिसहरूको निम्ति अनन्त जीवनको बाटो
- अध्याय २ संसारको उत्पत्तिभन्दा अघिबाटै ख्रीष्टभित्र चुन्नुभएको
- अध्याय ३ स्वर्गदूतहरूको संसारको जीवनपद्धति र क्रियाकलाप
- अध्याय ४ स्वर्गदूतको विषयमा
- अध्याय ५ हराएकालाई खोज्न र बचाउन आएको हुँ
- अध्याय ६ व्यवस्था स्थापना गरिएको चाहिँ पाप वृद्धि गराउनको निम्ति हो
- अध्याय ७ आत्माको विषयमा अध्ययन गर्दा
- अध्याय ८ आत्मा छैन भन्ने मानिसहरूको जिद्दी
- अध्याय ९ जुन आत्माले पाप गर्छ, त्यही मर्छ
- अध्याय १० मानिसको आत्मा कहाँबाट आएको हो ?
- अध्याय ११ येशूज्यूको आत्मा र हाम्रो आत्मा
- अध्याय १२ भ्रष्ट भएका परमेश्वरका छोराहरू र शरण-नगर
- अध्याय १३ पहिलो आदम र अन्तिम आदम
- अध्याय १४ मानिस किन मर्छ ?
- अध्याय १५ भविष्यमा हामी फर्कने देश कहाँ होला ?
- अध्याय १६ हाम्रो देश स्वर्गदूतको संसार हो
- अध्याय १७ मानिसले किन पहिलाको संसारलाई सम्झन सक्दैन ?
- अध्याय १८ परमेश्वरको जीवित सासद्वारा आत्मा बनिएको
- अध्याय १९ हाम्रो शरीर आत्माको झ्यालखान
- अध्याय २० मानिस मरे पनि आत्माचाहिँ बाँचिरहन्छ
- अध्याय २१ मरेकाहरूलाई पनि सुसमाचार प्रचार
- अध्याय २२ कस्तो शरीरमा पुनरुत्थान हुन्छौं होला ?
अध्याय १ मरणशील मानिसहरूको निम्ति अनन्त जीवनको बाटो
मानिस संसारमा जन्मन्छ, तर मृत्युबाट उम्कन सक्दैन । संसारमा जन्मन्छ अनि मर्छ, जन्मन्छ अनि मर्छ । त्यसोभए उत्पत्तिदेखि अहिलेसम्म कति मानिसहरू जन्मिए, र कति मानिसहरू मरे होलान् त ? मानिसलाई सम्पूर्ण सृष्टिको मालिक भने तापनि अन्त्यमा गएर सृष्टिको मालिक होइन, मृत्युको दास हो नभनिरहन सकिन्न । सृष्टिको मालिक किन मृत्युको दास हुन पुग्यो त ?
मानिस १० वर्ष बाँचोस् अथवा १०० वर्ष, अन्त्यमा गएर मृत्युले उसमाथि राज्य गर्ने भएकोले निरर्थक मानवीय जीवन भन्नुपर्ने हुन्छ । यो निरर्थक मानव जीवनको बाटो, अनन्तसम्म बाँच्न नसक्ने परदेशी संसार, साँच्चै मानिसले जीवनको अन्त हुने त्यो क्षणसम्म मृत्युसँग डराउँदै शैतानको दास भएर अन्त्यमा उम्कन नसक्ने मृत्युद्वारा अन्त्य भोग्दछ । कति दयालाग्दो छ मानवीय जीवन !
भजनसंग्रहका लेखकले व्यर्थको मानवीय जीवनको विषयमा यस प्रकारले लेखेका छन् :
भज ९०:९-१० 『हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्दछन्, सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँदछौं । हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला । तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँडै बित्छ, र हामी उडिजान्छौं ।』
हाम्रो आयु सत्तरी अथवा असी वर्ष हो भने तापनि बितेर जाँदा यो एक रातको सपना र बिहान उम्रिएको घाँसजस्तै भएकोले व्यर्थको समय हो नभनिरहन सकिन्न । यशैया अगमवक्ताले यसरी लेखेका छन् :
यशै ४०:६-७ 『… “सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्ता । घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ । निश्चय नै मानिसहरू घाँस नै हुन् ।”』
त्यसोभए हामीहरू यो दु:खदायी व्यर्थको संसारमा किन जन्मियौं, र यो व्यर्थको संसार कसले बनाएको होला ? प्रेरित पावलले लेखेका छन् :
रोम ५:१२ 『एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।』
माथिको वचनलाई गहिरो तरिकाले सोच्ने हो भने आदम एक जना मानिसद्वारा खरबौँ मानिसहरू मर्नुपर्ने भएको कुरा साँच्चै गम्भीरतापूर्वक सोच्नुपर्ने विषय हो । सर्वज्ञ सर्वशक्तिमान् परमेश्वरले किन आदम र हव्वालाई पाप गर्न लगाउनुभएको होला ? यस्तो प्रश्नको विषयमा कसै-कसैले यसो भन्ने गर्दछन्, “परमेश्वरले आदम र हव्वालाई पाप नगर्ने पनि बनाउन सक्नुहुन्थ्यो, तर त्यसो गर्नुभएमा पूर्ण स्वतन्त्रता नदिइएको हुने कारणले रोज्ने स्वतन्त्रता दिनुभएर पाप गर्न पुगे ।” के यो सही उत्तर हुन सक्ला र ?
यदि यो सही उत्तर हो भने निम्न प्रश्नको उत्तरचाहिँ कसरी दिन्छन् होला ? जस्तो लेखिएको छ :
का २१:४ 『उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, … ।』
यहाँचाहिँ किन रोज्ने पूर्ण स्वतन्त्रता नदिनुभएर मृत्यु नहुने गराउनुभएको होला ? यदि हामीलाई स्वर्गमा पूर्ण स्वतन्त्रता दिइएको हो भने मृत्यु अथवा जीवन रोज्न पाउने स्वतन्त्रता पनि हुनुपरेन र ? यहाँ पनि सही उत्तर हुनुपरेन र ?
यस्ता विषयहरूलाई सावधानीपूर्वक अनुसन्धान गर्ने हो भने आदम र हव्वालाई अनन्त जीवन निश्चित गरिएको थिएन । परमेश्वरले केवल “फल्दै-फुल्दै, वृद्धि हुँदैजाओ” (उत १:२७-२८) भन्नुभएको थियो, अनि अनन्त जीवनचाहिँ शर्तमा मात्रै दिनुभएको थियो । जस्तो लेखिएको छ :
उत २:१६-१७ 『अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्, तँ निश्चय नै मर्नेछस् ।”』
असल र खराबको ज्ञान दिने रूखको फल खाएमा मर्ने र नखाएमा बाँच्ने शर्त थियो । तर येशूज्यूद्वारा उद्धार पाउनेहरूलाई चाहिँ अनन्त जीवन निश्चित गरिएको छ । यस्तो लेखिएको छ :
प्रका २१:४ 『उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । किनकि पहिलेका कुराहरू बितिसकेका छन् ।』
अध्याय २ संसारको उत्पत्तिभन्दा अघिबाटै ख्रीष्टभित्र चुन्नुभएको
अनि फेरि एउटा प्रश्न, परमेश्वरले अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूख लगाउनुहुँदा आदमले असल र खराबको ज्ञान दिने रूखको फल टिपेर खानेछ, भन्ने कुरा परमेश्वरलाई थाहा थियो कि थिएन होला ?
आदिदेखि अन्तसम्मको जानकारी दिनुहुने सर्वज्ञ सर्वशक्तिमान् परमेश्वरलाई थाहा थिएन भन्न मिल्दैन (यशै ४६:१०) । यदि थाहा थियो भन्ने हो भने परमेश्वरले आदम र हव्वाद्वारा पाप गराउने योजना बनाउनुभएको ठहर्छ । अनि हव्वालाई छल्ने सर्प पनि परमेश्वरले नै बनाउनुभएको हुनाले (उत ३:१-५), त्यही सर्पद्वारा छलमा पार्न लगाउनुभई असल र खराबको ज्ञान दिने रूखको फल टिपेर खाने गराउनु पनि परमेश्वरको प्रबन्ध हो भन्न सकिन्छ ।
वास्तवमा यो सबै सृष्टिअघिबाटै ख्रीष्टभित्र पूर्वनिर्धारित थियो (एफि १:३-९) । आदमले पाप गरेपछि मात्रै परमेश्वरले मुक्तिको प्रबन्ध स्थापना गर्नुभएको हो भनेर कसै-कसैले सोच्ने गर्छन् । तर वास्तवमा परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभन्दा पहिल्यै मुक्तिको प्रबन्ध स्थापना गर्नुभएको हो । यस्तो लेखिएको छ :
एफि १:४-९ 『उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो । उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, … उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौं, …』
उद्धार पाउने उत्तराधिकारीहरूलाई संसारको उत्पत्तिभन्दा अघिबाटै ख्रीष्टभित्र चुन्नुभयो भनिएकोले आदम मर्नुपर्ने कुरा पूर्वनिर्धारित थियो भन्ने निश्चित हुन्छ ।
हामीले पापको उत्पत्तिको विषयमा अध्ययन गर्दा, आदम र हव्वाको विषयमा आंशिक रूपमा अर्थ लगाउने होइनकि आदमको इतिहास उल्लेखित उत्पत्तिको पुस्तकको अध्याय २ र ३ सँगै यशैया १४:१२-१४ र इजकिएल २८:११-१७लाई पनि जोडेर अध्ययन गऱ्यौं भने भ्रष्ट भएका स्वर्गदूतहरू र मानिसहरूबीचको सम्बन्ध स्पष्ट रूपमा जान्न सक्नेछौं ।
आदमले गरेको पाप, शरीर धारण गरेका मानिसहरूले बुझ्न सक्ने गरेर सजिलो तरिकाले वर्णन गरिएको छ । अनि यशैया र इजकिएलको पुस्तकले चाहिँ कसरी स्वर्गदूतहरूले भ्रष्ट भएर पाप गरे भन्नेबारे शिक्षा दिएको छ । वास्तवमा तिनीहरूको पाप र आदमको पाप एउटै हो । यशैयाको पुस्तकमा पहिलो पापीले परमेश्वरको विरोध गर्न गरेको अभिप्राय र त्यसको मनस्थितिको विषयमा वर्णन गरिएको छ भने इजकिएलको पुस्तकमा चाहिँ पहिलो पापीको मूल स्वभाव र दर्जाको विषयमा वर्णन गरिएको छ ।
इजकिएलको पुस्तक हेर्दा, टुरोसको राजाले स्वर्गमा पाप गरेको यथार्थता थाहा हुन्छ । ऊ अभिभावक करूब हुनलाई अभिषेक गरिएको थियो, परमेश्वरको पवित्र पर्वतमा अग्निमय पत्थरहरूका बीचमा ऊ हिँड्थ्यो, तर ऊ गौरवले प्रशस्त भरिएर घमण्डले फुलियो र भ्रष्ट भएर उसले पाप गऱ्यो, त्यसैले ऊ धपाइयो । यस्तो लेखिएको छ :
इज २८:११-१७ 『परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, टुरोसका राजाको विषयमा विलाप गर्, र त्यसलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “ ‘तँ त सिद्धताको एक नमूना थिइस्, र बुद्धिले पूर्ण सर्वाङ्गसुन्दर । परमेश्वरको बगैँचा अदनमा तँ थिइस् । हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस्– मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस् । तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए । अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ । परमेश्वरको पवित्र पर्वतमा तँ थिइस् । अग्निमय पत्थरहरूका बीचमा तँ हिँड्थिस् । … तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैंले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस् । यसैले मैले तँलाई जमिनमा फालिदिएँ । राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिएँ’ ।”』
अनि यशैयाको पुस्तकमा बेबिलोनका राजाले स्वर्गमा गरेका कार्यहरू लेखिएको छ । उसको विषयमा यसरी लेखिएको छ: ऊ बिहानको तारा, प्रभातको पुत्र भन्ने महिमित पदमा भएकोले उसको हृदय घमण्डले फुलियो र उसले आफ्नो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा उच्च पार्न, र आफूलाई सर्वोच्च परमेश्वरजत्तिकै बनाउन खोज्दा अन्त्यमा ऊ यो पापको संसारमा धपाइयो ।
यशै १४:४-१५ 『तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: … ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस् ! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस् । तैंले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु । परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु । पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासद्को पर्वतमा म विराजमान हुनेछु । म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु ।” तर तँ चिहानसम्म, खाडलको तल्लो गहिराइसम्मै होच्याइस् ।』
यी दुवै पदहरूलाई सँगै अध्ययन गर्ने हो भने पापको उत्पत्तिबारे आधारभूत ज्ञान हासिल गर्न सकिन्छ । यी पदहरूद्वारा हामीले अनुसन्धान गर्नुपर्ने कुरा के हो भने यी दुई मानिसहरूको उदाहरणले सम्पूर्ण मानव-जातिको प्रतिनिधित्व गर्नुको साथै असंख्य स्वर्गदूतहरूले पाप गरेको यथार्थतालाई पनि बोध गराउँछ । यस्तो लेखिएको छ :
प्रका १२:९ 『त्यो ठूलो अजिङ्गर तल फालियो– त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो । त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए ।』
स्वर्गमा परमेश्वरको विद्रोह गरेर असंख्य स्वर्गदूतहरूसँगै धपाइएपछि पनि शैतान पृथ्वीको प्रतिनिधित्व गरेर स्वर्गमा पहिला जन्मेकाहरूका सभामा सहभागी हुने गर्थ्यो (अयू् १:६-७; २:१-२; हिब्रू १२:२३ तुलना) । तर येशूज्यूले क्रूसद्वारा विजय गर्नुहुनेबित्तिकै स्वर्गमा पहिला जन्मेकाहरूको सभाबाट त्यो पूर्ण रूपले लखेटियो (लूक १०:१८; प्रका १२:९ तुलना) ।
अध्याय ३ स्वर्गदूतको संसारको जीवनपद्धति र क्रियाकलाप
स्वर्गदूतको संसारमा स्वर्गदूतहरूले सारा ब्रह्माण्डलाई गतिको कुनै सीमाविना एक घण्टाभरिमै हेर्न सक्छन् । दानिएलको पुस्तकमा हेर्ने हो भने दानिएलले साँझ ३ बजेको प्रार्थना गर्दा, परमेश्वरको आदेश पाएर गब्रिएल स्वर्गदूत तुरुन्तै देखा परी परमेश्वरको आदेश सुनाइदिएका थिए ।
खगोलशास्त्रीहरूको भनाइअनुसार यो पृथ्वी रहेको आकाशगङ्गाको व्यास एक लाख प्रकाश वर्ष छ । यो आकाशगङ्गाभित्र सूर्यजस्ता ताराहरू करीब २ खरब छन्, र विशाल ब्रह्माण्डभित्र चाहिँ आकाशगङ्गा मात्रै पनि २ खरब छन् । यी २ खरब आकाशगङ्गाहरू चल्ने विशाल ब्रह्माण्डको केन्द्रचाहिँ हिब्रू १२:२२-२३को वचनमा भनिएको ‘जीवित परमेश्वरको सहर स्वर्गीय यरूशलेम’ हो र त्यो यरूशलेम सहरभित्र परमेश्वरको सिंहासन रहेको केन्द्रीय दरबार छ भनी जान्न सकिन्छ । कैयौँ अरब प्रकाश वर्ष टाढा अवस्थित विशाल ब्रह्माण्डको केन्द्रीय दरबारमा रहेको परमेश्वरको सिंहासनबाट पृथ्वीमा बस्ने दानिएलको प्रार्थना सुन्नुभएर आदेश गर्नुहुँदा, त्यो आदेश लिएर आएका गब्रिएल स्वर्गदूत दानिएलको प्रार्थना नसिद्धिँदै दानिएलकहाँ आइपुगेका थिए (दान ९:२०-२४) ।
अनि स्वर्गदूतको संसारमा हजारौँ डिग्री तातो आगोको ज्वालाले पनि स्वर्गका स्वर्गदूत वा स्वर्गका धर्मीजनहरूलाई हानि गर्न सक्दैन । यो कुरा दानिएलका तीन साथीहरू शद्रक, मेशक र अबेद्नगो साधारणभन्दा सात गुणा बढी तातो बनाइएको आगोको भट्टीमा फ्याँकिए तापनि कुनै हानि नभएको अवस्थाद्वारा जान्न सकिन्छ (दान ३:१९-२७) । अनि स्वर्गदूतको संसारमा परमेश्वरले बाहेक कसैले पनि स्वर्गदूत वा धर्मीजनहरूको आत्मालाई मार्न, साङ्लाहरूले बाँध्न र कडा पहरा दिइने झ्यालखानमा हाल्न सक्दैन । प्रेरित पत्रुस, सिपाहीका चार टोलीले कडा पहरा दिइरहेका गहिरो झ्यालखानभित्र थुनिएको समयमा पनि स्वर्गदूतहरूचाहिँ स्वतन्त्र रूपमा प्रवेश गर्न सकेका थिए । त्यति मात्र होइन, पत्रुसका हातबाट साङ्लाहरू फुस्किए, झ्यालखानको ढोका पनि आफै उघ्रियो, अनि उनी सुरक्षितसाथ बाहिर निस्कन सकेका थिए (प्रे १२:१-१०) ।
अनि स्वर्गदूतहरूको संसारको जीवनपद्धतिचाहिँ नाङ्गो आँखाले देख्न नसकिने भोजन र पेय पदार्थ खाँदै, पिउँदै जिउने ठाउँ हो । प्रेरित यूहन्नाले यसरी लेखेका छन् :
प्रका २२:१-२ 『तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए । त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की त्यस सहरका सडकको बीचबाट बगिरहेको थियो । त्यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महीना बाह्रै किसिमका फलहरू दिइरहन्थ्यो । त्यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्ति थिए ।』
माथि उल्लेखित जीवनको फल र जीवनको पानीचाहिँ भौतिक चीज होइन, तर परमेश्वरको वचनले बनेको रहस्यमय भोजन हो । त्यो नदी परमेश्वर र थुमाको सिंहासनबाट बग्छ र नदीका दुवै किनारमा जीवनको रूख छ, जुनचाहिँ परमेश्वरको वचनले बनेको रहस्यमय जीवनको भोजन हो । त्यसैले स्वर्गदूतको संसारको त्यो महिमालाई मानिसको बुद्धिले वा चतुर हुँ भन्नेहरूको दिमागले दश हजारमा एउटै पनि बताउन सक्दैन ।