बाइबलमा आत्माबारे कस्तो परिभाषा छ ?
आत्माको अस्तित्व छ

9381 읽음

मानव आत्माचाहिँ विश्वभरि नै छलफलको विषय बनेको एक आध्यात्मिक विषय हो । ख्रीष्टियान धर्म लगायत अन्य धर्महरूले आत्माको विषयमा अध्ययन गर्दै आफ्नै तरिकाले अर्थ लगाउने गर्छन् । तर यसबारे कुनै ठोस, विश्वसनीय र तर्कसङ्गत प्रवचन भने सुन्न पाइँदैन ।

आत्मासम्बन्धी उत्तर बाइबलमा भेट्टाउन सकिन्छ । किनभने बाइबलचाहिँ मानिसको आत्मालाई सृष्टि गर्नुभएका परमेश्वरको अभिलेख हो । त्यसोभए बाइबलले आत्माबारे कस्तो शिक्षा दिएको छ होला ? ख्रीष्ट यो पृथ्वीमा आउनुअघि लेखिएको पुरानो करार बाइबलले आत्माको विषयको सत्यतालाई रातको चन्द्रमाको मधुरो प्रकाशझैँ दर्शाएको छ । अर्कोतर्फ, नयाँ करार बाइबलले चाहिँ यस विषयलाई दिनमा सूर्यको प्रकाशझैँ स्पष्टसँग दर्शाएको छ ।

के आत्मा शरीरको जीवन वा शक्ति हो ?

केही मानिसहरूले पुरानो करारको वचनमा मात्र केन्द्रित रहेर आत्माको विषयलाई गलत तरिकाले बुझ्ने गर्छन् । आत्माचाहिँ शरीरको जीवन वा शक्ति भएकोले मानिसको मृत्युसँगै आत्मा पनि नाश हुन्छ भनेर तिनीहरूले जिद्दी गर्छन् । तर बाइबलको शिक्षा भने फरक छ ।

तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए । उत २:७

मानिस भूमिको माटो र जीवनको सास अर्थात् शरीर र आत्माद्वारा बनेको छ । महत्त्वपूर्ण कुराचाहिँ शरीर बनाइँदा आत्मा पनि स्वतः सँगै बनिएको होइन, तर आत्माचाहिँ परमेश्वरले त्यो शरीरमा सास फुकिदिनुभएको फरक अस्तित्व हो । त्यसैले मानिस मरेपछि शरीर जमिनमा फर्कन्छ र आत्मा परमेश्वरकहाँ फर्कन्छ (NIV, उप १२:७) । यी दुई अस्तित्व फरक-फरक ठाउँबाट आएकोले जाने ठाउँ पनि फरक भएको हो ।

यदि आत्मा केवल शरीरको जीवन वा शक्ति मात्र हुँदो हो त शरीरको जीवन दिने शारीरिक बुबा-आमाले आत्मा पनि सँगै दिनुभएको हो भन्ने अर्थ हुन जान्थ्यो । तर बाइबलले ‘शारीरिक बुबा’ र ‘आत्माका पिता’ फरक-फरक हुनुहुन्छ भनेर स्पष्ट रूपमा गवाही दिएको छ ।

यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ? हिब्रू १२:९

हाम्रा आत्माका पिताले चाहिँ परमेश्वरलाई जनाउँछ । परमेश्वरले आत्मालाई शारीरिक बुबासँग सरोकार नराखी सृष्टि गर्नुभएको हो । तसर्थ बाइबलले गवाही दिएको आत्माचाहिँ शरीर जन्मँदा बनिएको शरीरको जीवन वा शक्ति होइन । योचाहिँ मानिसको मृत्युपछि पनि निश्चय नै जीवित रहने फरक अस्तित्व हो ।

शरीर मरे पनि आत्माचाहिँ अस्तित्वमा रहिरहन्छ

मानिसले शरीरलाई मार्न सके पनि आत्मालाई चाहिँ मार्न सक्दैन भनेर येशूज्यूले शिक्षा दिनुभयो ।

“तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ ।” मत्ती १०:२८

येशूज्यूबाट शिक्षा पाएका प्रेरित यूहन्ना र पत्रुसले पनि, शरीरको मृत्युपछि पनि आत्माचाहिँ जीवितै रहन्छ भनेर लेखेका छन् ।

… तब वेदीमुन्तिर मैले तिनीहरूका आत्माहरू देखें, जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए । अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान् पवित्र र सत्य प्रभु, …” प्रका ६:९-११

यसै आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई पनि प्रचार गर्नुभयो । ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो । … यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, … १ पत्र ३:१९-२०; ४:६

प्रेरित यूहन्नाले, शहीद भएका सन्तहरूको आत्माले परमेश्वरसँग कुराकानी गरिरहेको प्रकाश देखे । अनि प्रेरित पत्रुसले चाहिँ नोआको समयमा जलप्रलयद्वारा मारिएका मानिसहरूको आत्मालाई येशूज्यूले सुसमाचार सुनाउनुभएको कुरा लेखेका छन् । कसै-कसैले मृतकहरूको आत्मा अचेत अवस्थामा हुन्छ भनेर कल्पना गर्छन्, तर त्यो सत्य होइन । येशूज्यूले मृतकहरूको आत्मालाई सुसमाचार सुनाउनुभएको कुरा बाइबलमा अभिलेख गरिएको छ । यो कुराले मानिसको मृत्युपछि अस्तित्वमा रहने आत्मा अचेत अवस्थामा हुँदैन तर त्यो आत्माले सुसमाचार बुझेर ग्रहण गर्न पनि सक्छ भन्ने कुरालाई स्पष्टसित दर्शाएको छ ।

आत्माचाहिँ जीवनको मूल तत्त्व

शरीरको मृत्यु हुनु भनेको शरीरबाट आत्मा अलग हुनु हो भनेर बाइबलमा भनिएको छ (उप १२:१-७) । शरीरबाट आत्मा अलग हुँदा शरीर मर्छ तर ठीक विपरीत यदि त्यो आत्मा फेरि शरीरमा फर्कियो भने शरीर जीवित हुन्छ । त्यसैले जीवनको मूल तत्त्वचाहिँ शरीर नभएर आत्मा हो ।

… सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्यो, र भन्यो, “तपाईंकी छोरी मरी । … तर उहाँ(येशू(ले भन्नुभयो, “नरोओ, त्यो मरेकी छैन, तर सुतेकी छे ।” … उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनुभयो, “नानी, उठ ।” अनि त्यसको प्राण(NIV, आत्मा) फर्केर आयो, र त्यो तुरुन्तै उठी, र उहाँले त्यसलाई केही खान दिनू भन्ने आज्ञा गर्नुभयो । लूक ८:४९-५५

यसरी मानिसको आत्मा शरीरभित्र पनि रहन सक्छ र शरीर बाहिर पनि रहन सक्छ । अर्को शब्दमा भन्नुपर्दा, आत्मा शरीरबाट स्वतन्त्र रूपमा अस्तित्वमा रहन सक्छ । प्रेरित पावलले पनि आत्माचाहिँ शरीरविना अस्तित्वमा रहन सक्छ भनेर दुई पटकसम्म उल्लेख गरेका छन् (२ कोर १२:२-३) । अनि तिनले सन्तहरूको मृत्युलाई ‘शरीरबाट अलग भएर ख्रीष्टकहाँ जाने कुरा’ हो भनेका छन् ।

किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो । यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ । तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ । म त दोधारमा परेको छु । बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ । फिलि १:२१-२४

हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं । २ कोर ५:८

प्रेरित पावलले ‘मर्नु’ र ‘शरीरमा जिउनु’मध्ये मर्नु कुरा अर्थात् शरीरबाट अलग भएर ख्रीष्टको साथमा रहनु धेरै नै असल छ भनेका छन् । किनभने आफ्नो आत्मा शरीरबाट अलग हुनासाथ आफू स्वर्गमा ख्रीष्टको साथमा हुने कुरामा तिनी विश्वस्त थिए ।

आत्माचाहिँ शरीरबाट अलग भएर पनि अस्तित्वमा रहन सक्छ, र आत्माले छोडेको शरीरचाहिँ केवल मृत्यु हो भन्ने यथार्थताले जीवनको मूल तत्त्व नै आत्मा हो, शरीर होइन भन्ने कुरालाई बुझाउँछ । यसकारण प्रेरितहरूले मानिसको शरीरलाई एकैछिनको लागि आत्मा वास गर्ने पालसँग तुलना गर्दै (२ पत्र १:१३-१४; २ कोर ५:१-४) पृथ्वीको क्षणिक जीवनलाई नभएर स्वर्गको अनन्त जीवनलाई हेर्दै सुसमाचारको बाटोमा हिँडे ।

नयाँ करारको समयमा ख्रीष्ट स्वयम् यो पृथ्वीमा आउनुभएर आत्माको विषयमा स्पष्टसँग जानकारी दिनुभयो । अनि यस अन्तिम युगमा पनि दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू आउनुभएर, व्यर्थको जीवन जिइरहेका मानिसहरूलाई उहाँले बाइबलद्वारा आत्माको अस्तित्व र आत्मिक संसारबारे थाहा दिनुभयो । जसले उहाँको शिक्षामा कान लगाउँछ, ऊ आत्माको गृहनगर स्वर्ग जान सक्नेछ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기