
शबाथ-दिनचाहिँ परमेश्वरले “पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभएको पवित्र दिन हो । हिजोआज अधिकांश मण्डलीहरूले आइतबारको सेवा गर्ने गर्छन्, तर बाइबलमा उल्लेखित आराधनाको दिनचाहिँ सातौँ दिन शबाथ-दिन रहेको शनिबार हो । कसै-कसैले शबाथ-दिनलाई रद्द भइसकेको पुरानो करारको व्यवस्थाको रूपमा सोच्ने गर्छन् । तर येशूज्यू र प्रेरितहरूले शबाथ-दिन मान्नुभएको कुरा नयाँ करार बाइबलको ठाउँ-ठाउँमा लेखिएको पाइन्छ । अर्थात् यो युगमा पनि हामीले शबाथ-दिन मान्नुपर्छ भन्ने कुरा हो ।
परमेश्वरको प्रजा हो भने परमेश्वरलाई आराधना गर्ने दिन ठीकसँग जान्नुपर्छ र यसलाई पवित्र रूपले मान्नुपर्छ । सृष्टिकर्ताको शक्तिलाई सम्झना गर्ने दिन र पवित्र आशिष्को प्रतिज्ञा गरिएको शबाथ-दिनबारे बुझौं ।
शबाथ-दिनको उत्पत्ति
परमेश्वरले पहिलो दिनदेखि छैटौँ दिनसम्म आकाश, पृथ्वी र यावत् थोकहरू सृष्टि गर्नुभयो, अनि सातौँ दिनमा उहाँले विश्राम लिनुभयो ।
… सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो । अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, … उत २:१-३
आशिष् दिनुभएर पवित्र तुल्याउनुभएको सातौँ दिनलाई परमेश्वरले शबाथ-दिनको रूपमा तोक्नुभयो । अनि यो दिनलाई याद गरेर पवित्र रूपले मान्नू भनेर यसलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिदिनुभयो ।
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । … सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो । … परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।” प्रस २०:८-११
त्यसोभए परमेश्वरले विशेष रूपमा मान्नू भनी आज्ञा गर्नुभएको सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिन नमाने पनि हुन्छ होला त ? परमेश्वरको वचनमा एउटा मात्र थप्यो अथवा घटायो भने मुक्ति पाउन सक्दैन भनिएको छ । शबाथ-दिनचाहिँ बाइबलमा १०० पटकभन्दा बढी उल्लेखित परमेश्वरको महत्त्वपूर्ण आज्ञा हो ।
शबाथ-दिन कुन बार हो ?
परमेश्वरको आज्ञा रहेको सातौँ दिन, शबाथ-दिन कुन बारमा पर्छ भन्ने कुरा बाइबलमा जानकारी दिइएको छ ।
हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि … मर्क १६:९
येशूज्यू शबाथको भोलिपल्ट अर्थात् ‘हप्ताको पहिलो दिन’मा पुनरुत्थान हुनुभयो । त्यसैले अध्याय १६को सुरुमा ‘शबाथ-दिन बितेपछि’ भनेर लेखिएको छ । येशूज्यू पुनरुत्थान हुनुभएको दिनचाहिँ आइतबार हो । यो कुरालाई क्याथोलिक र प्रोटेस्टेन्ट मण्डली दुवैले मान्यता दिएका छन् । सरल नेपाली बाइबल(SNB)मा पनि येशूज्यू आइतबार पुनरुत्थान हुनुभयो भनेर स्पष्टसँग लेखिएको छ ।
येशू आइतबार बिहानै मरेकाबाट बिउँतनुभएपछि … मर्क १६:९ (SNB)
शबाथको भोलिपल्ट आइतबार हो भने शबाथ-दिनचाहिँ आइतबारको अघिल्लो दिन शनिबार हो । परमेश्वरले मान्नू भनेर आज्ञा गर्नुभएको शबाथ-दिन वास्तवमै शनिबार हो । लामो समयदेखि ख्रीष्टियान धर्म विद्यमान रहेको यूरोपको स्थानीय बाइबलमा हेर्दा पनि परमेश्वरले विश्राम गर्नुभएको सातौँ दिनलाई शनिबारको रूपमा अनुवाद गरिएको पाइन्छ । उदाहरणको लागि प्रस्थान २०:८मा “शनिबार पवित्र मान्नुपर्छ भनी याद राख्नू” भनेर लेखिएको छ । प्रायः ग्रीक, पोर्चुगिज, इटालेली, रुसी, युक्रेनी, स्लोभाक, बुल्गेरियाली, क्रोएसियाली जस्ता भाषाहरूमा यसरी अनुवाद भएको छ ।
संसारका अधिकांश मण्डलीहरूले मान्ने गरेको आइतबारको सेवाचाहिँ परमेश्वरले आज्ञा गर्नुभएको शबाथ-दिन नभएर शबाथपछिको पहिलो दिन अर्थात् शबाथको भोलिपल्टको दिन हो । हिजोआज आइतबारको सेवा गर्ने मण्डलीहरूले पनि यो कुरालाई स्वीकार्छन् ।
“अन्य उदाहरणहरूको कुरा गरिरहन आवश्यक छैन, के प्रत्येक ख्रीष्टियानहरू आइतबारलाई पवित्र मान्न र अनावश्यक कामबाट आफूलाई टाढा राख्न बाध्य छैनन् र ? के हाम्रा सम्पूर्ण पवित्र कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा व्यवस्थामा यो विधि पालन गर्नु होइन र ? तर तपाईंले बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म पढ्नुभयो भने आइतबारलाई पवित्र मान्नू भनेर स्वीकृति दिने पङ्क्ति एउटा पनि भेट्टाउनुहुनेछैन । धर्मशास्त्रले हामीलाई शनिबारलाई धार्मिक विधिको रूपमा मान्न जोड दिएको छ, जुन दिन हामी कहिल्यै पवित्र रूपले मान्दैनौं ।” जेम्स कार्डिनल गिब्बन्स, ‘हाम्रा पुर्खाहरूको विश्वास(The Faith of Our Fathers) पेज नं. ७२-७३
आइतबारको सेवालाई ‘विश्वासीहरूको सबैभन्दा मुख्य पवित्र कर्तव्य’ मान्ने क्याथोलिक मण्डलीहरूले समेत आइतबारको सेवाबारे कुनै बाइबलीय आधार नभएको कुरा स्वीकार गर्छन् । कारण तिनीहरूले भनेअनुसारै “बाइबलको शबाथ-दिनचाहिँ शनिबार हो, आइतबार होइन ।” बाइबलमा कतै पनि हप्ताको पहिलो दिन आइतबारको सेवा गरेमा आशिष् पाइन्छ भन्ने वचन छैन । परमेश्वरले प्रतिज्ञा गर्नुभएको पवित्र आशिष् प्राप्त गर्न चाहनेले सातौँ दिन शबाथ-दिन रहेको शनिबार आराधना गर्नुपर्छ ।
शबाथ-दिनको अर्थ र महत्त्व
परमेश्वरले मान्नू भन्नुभएको शबाथ-दिन परमेश्वरलाई विश्वास गर्ने सन्तहरूको निम्ति एकदम महत्त्वपूर्ण आज्ञा हो । परमेश्वरले शबाथ-दिनलाई परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह भन्नुभयो । अर्थात् शबाथ-दिन नमान्नेहरूले परमेश्वरको प्रजाको स्वीकृति पाउनेछैनन् भन्ने वचन हो ।
“… तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, … ‘त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ’ ।” प्रस ३१:१३-१४
शबाथ-दिनलाई अपवित्र गर्नेहरू आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछन् भन्ने कडा वचनअनुसारै पुरानो करारमा शबाथ-दिन उल्लङ्घन गर्नेहरूलाई ढुङ्गाले हानेर मारिन्थ्यो (गन्ती १५:३२-३६) । पुरानो करारको समयमा शबाथ-दिन नमान्नेहरू शारीरिक रूपमा मारिन्थे भने यस युगमा चाहिँ शबाथ नमानेमा हाम्रो आत्माले जीवन गुमाएर मुक्तिबाट टाढिन्छ ।
के शबाथ-दिन नयाँ करारको समयमा रद्द भएको हो ?
कसै-कसैले शबाथ-दिनचाहिँ केवल पुरानो करारको व्यवस्था हो, नयाँ करारको समयमा रद्द भइसक्यो भनेर जिद्दी गर्छन् । तर योचाहिँ नयाँ करारको समयमा मुक्तिदाताको रूपमा आउनुभएका येशूज्यूको शिक्षाविपरीतको जिद्दी हो । येशूज्यू स्वयम्ले शबाथ-दिन मानेर उदाहरण देखाइदिनुभयो ।
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो । लूक ४:१६
येशूज्यूले शबाथ-दिनलाई ‘आफ्नो आदतअनुसार’ मान्नुभयो । संयोगवश एक-दुई पटक मानेको कुरालाई आदत भन्न मिल्दैन । येशूज्यूले हरेक हप्ता शबाथ-दिन मान्नुभयो । अनि जब चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमन र युगको अन्त्यबारे सोधे, तब उहाँले युगको अन्त्यसम्मै शबाथ-दिन मान्नुपर्छ पनि भन्नुभयो ।
“तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर | किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।” मत्ती २४:२०-२१
जगत्को सुरुदेखि अहिलेसम्म नभएको र फेरि कहिल्यै नहुने महासङ्कष्ट भनिएकोले त्यो नै अन्तिम विपत्ति हो । येशूज्यूले अन्तिम महासङ्कष्टचाहिँ हिउँदमा वा शबाथमा नपरोस् भनी प्रार्थना गर भन्नुभयो | सन्तहरूले चिसो मौसममा दुःख नपाऊन्, अनि महासङ्कष्टले गर्दा शबाथको आराधना छुटाउनु नपरोस् भनी प्रार्थना गर्न भन्ने वचन दिनुभयो । यो नै अन्तिम महासङ्कष्ट हुने संसारको अन्त्यको दिनसम्मै हामीले शबाथ-दिन मान्नुपर्छ भन्ने अर्थ हो ।
येशूज्यूको यस्तो शिक्षालाई पछ्याउँदै प्रेरित पावल लगायत सुरुको मण्डलीका सन्तहरूले येशूज्यूको स्वर्गारोहणपछि पनि शबाथ-दिन पवित्र रूपले माने (प्रे १७:२-३; १८:४) ।
बाइबलअनुसार शबाथ-दिन मान्नुपर्ने कारण
परमेश्वरलाई विश्वास गर्नु र उहाँलाई आराधना गर्नुको उद्देश्य नै मुक्ति पाई स्वर्ग जानु हो । परमेश्वरको इच्छा पालन गर्नेहरू अर्थात् शबाथ-दिन मान्ने मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछन् भनेर बाइबलले शिक्षा दिएको छ ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं ? तपाईंको नाउँमा भूतहरू धपाएनौं । र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र ?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’ ।” मत्ती ७:२१-२३
परमेश्वरले पुरानो करारको समयदेखि नयाँ करारको समयसम्म सातौँ दिन शबाथ-दिन मान्नू भनेर बारम्बार भन्नुभएको छ । बाइबलमा नभएको आइतबारको सेवा होइनकि शनिबार पर्ने शबाथ-दिन मान्नु नै परमेश्वरको इच्छा हो भन्ने यथार्थता स्पष्ट छ । येशूज्यूले शबाथ-दिन मानेर उदाहरण देखाइदिनुभयो, अनि प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले पनि शबाथ-दिन माने । त्योजस्तै परमेश्वरलाई विश्वास गर्ने र मुक्ति पाई स्वर्ग जान चाहने जो कोहीले होस्, परमेश्वरको इच्छाअनुसार शबाथ-दिन पवित्र रूपले मान्नुपर्छ ।