उत्पत्ति अध्याय २ र अध्याय ३मा, परमेश्वरको सृष्टि-कार्य समाप्त भएपछि आदम र हव्वाको कहानी उल्लेख गरिएको छ । परमेश्वरले आफ्नै स्वरूपमा बनाउनुभएको आदम र हव्वालाई अदनको बगैँचामा राख्नुभयो (उत १:२६-२७; २:८) । उहाँले अदनको बगैँचाको बीचमा असल र खराबको ज्ञानको दिने रूख र जीवनको रूख लगाउनुभयो । परमेश्वरले आदम र हव्वालाई असल र खराबको ज्ञान दिने रूखको फल खान निषेध गर्नुभयो, र यदि तिनीहरूले त्यो खाए भने तिनीहरू निश्चय नै मर्नेछन् भनेर चेतावनी दिनुभयो (उत २:९, १६-१७) । तर आदम र हव्वाले सर्पको छलमा परेर त्यो निषेधित फल खाने पाप गरे, र परिणामस्वरूप तिनीहरू अदनको बगैँचाबाट धपाइए ।
आदम र हव्वाको कहानीचाहिँ मानव-जातिमा पाप र मृत्युको सुरुवात भएको घटनाको रूपमा परिचित छ । तर त्यसमा परमेश्वरको आश्चर्यजनक मुक्तिको रहस्य समावेश छ । तीमध्ये ‘परमेश्वरको स्वरूप’ र ‘जीवनको रूखको फल’मा ध्यान दिऔं ।
परमेश्वरको स्वरूपमा सृष्टि भएका आदम र हव्वा
आकाश र पृथ्वीको सृष्टिमा मुख्य आकर्षण नै परमेश्वरले मानिस बनाउनुभएको दृश्य हो । परमेश्वरले मानिस अर्थात् आदम र हव्वालाई सृष्टि गर्नुभन्दा ठीकअघि गहन वचन दिनुभयो ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं … ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत १:२६-२७
‘हाम्रै’ भन्ने शब्दचाहिँ प्रथम पुरुषवाचक सर्वनाम हो, जसले एक जनाभन्दा बढी मानिसलाई जनाउँछ । सामान्यतया परमेश्वरचाहिँ पिता परमेश्वर एक जना मात्र हुनुहुन्छ भन्ने बुझाइ छ । तर माथिको पदमा परमेश्वरले आफूलाई ‘मेरै’ नभएर ‘हाम्रै’ भन्ने बहुवचन शब्दमा अभिव्यक्त गर्नुभएको छ ।
हिब्रू भाषाको मूल ग्रन्थको बाइबलमा चाहिँ परमेश्वरलाई ‘एलोहिम’ भनेर अभिलेख गरिएको छ । एलोहिम भनेको परमेश्वर अथवा ईश्वरलाई जनाउने ‘एल’ अथवा ‘एलोआ’को बहुवचन रूप हो, जसको अर्थ परमेश्वरहरू हो । उत्पत्तिको पुस्तकका लेखकले परमेश्वरचाहिँ दुई जना वा सोभन्दा बढी हुनुहुन्छ, अनि परमेश्वरको स्वरूपमा बनिएका मानिस नै नर र नारी हुन् भनेर उल्लेख गरेका छन् । यो नै नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । ख्रीष्टियान धर्ममा नर स्वरूपका परमेश्वरलाई पिता परमेश्वर भनेर पुकार्ने गरिन्छ । त्यसोभए नारी स्वरूपकी परमेश्वरलाई के भनेर पुकार्नुपर्छ होला ? स्वभावतः माता परमेश्वर भनेर पुकार्नुपर्छ ।
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, जसको अर्थ जीवन हो (उत ३:२०) । कारण हव्वाचाहिँ ‘सबै जीवितहरूकी आमा’ हुनेछिन् भनिएको छ । आदमले भविष्यमा मानव-जातिलाई बचाउन आउनुहुने दोस्रो आगमनका ख्रीष्ट, पिता परमेश्वरलाई सङ्केत गरेजस्तै (रोम ५:१४; १ कोर १५:४५) हव्वाले चाहिँ मानव-जातिलाई अनन्त जीवन दिनुहुने माता परमेश्वरलाई सङ्केत गर्दछिन् ।
खाएमा अनन्त जीवन दिलाउने जीवनको रूखको फल
बाइबलमा, आदम र हव्वा परमेश्वरको वचनमा अनाज्ञाकारी भएकोले तिनीहरू अदनबाट निष्कासित भए भनेर अभिलेख गरिएको छ । योद्वारा, मानव-जातिले परमेश्वरविरुद्ध पाप गरेकाले तिनीहरू स्वर्गबाट धपाइए, र मर्नुबाहेक अर्को विकल्प रहेन भन्ने कुरा देख्न सकिन्छ (यशै १४:१२-१५; इज २८:१२-१७; रोम ६:२३) । मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिले अनन्त जीवन प्राप्त गर्न सक्ने तरिका पनि परमेश्वरले आदम र हव्वाको कहानीभित्र लुकाइदिनुभयो ।
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ । अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला ।” उत ३:२२
योचाहिँ आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखको फल खाने पाप गरेपछि परमेश्वरले दिनुभएको वचन हो । पाप गरिसकेका भए पनि यदि आदम र हव्वाले जीवनको रूखको फल खान पाएका भए तिनीहरू फेरि सधैँभरि जीवित रहनेथिए । तर परमेश्वरले आदम र हव्वालाई त्यसो गर्न दिनुभएन । तर उहाँले पापीहरू त्यहाँ जान नसक्ने गरी उहाँले जीवनको रूखतर्फ जाने बाटो बन्द गरिदिनुभयो (उत ३:२४) ।
खाएमा अनन्त जीवन पाउन सकिने यस्तो विशेषताचाहिँ अदनको बगैँचामा भएको जीवनको रूखको फलमा थियो । येशूज्यूले संसारको उत्पत्तिदेखि लुकाइराखिएका कुराहरू जाहेर गर्दछु भन्नुभयो, अनि खाने कुराद्वारै अनन्त जीवन पाउन सकिने सत्यता सिकाउनुभयो । जुनचाहिँ येशूज्यूको देह खाएर र रगत पिएर पाप-क्षमा र अनन्त जीवन दिलाउने नयाँ करार निस्तार-चाड हो (यूह ६:५४; मत्ती २६:१७-२०, २६-२८) । अदनको बगैँचामा भएको जीवनको रूखको फल नै येशूज्यूको देह र रगतद्वारा स्थापना गरिने नयाँ करार निस्तार-चाडको छाया थियो ।
परमेश्वरले आदम र हव्वाको कहानीभित्र, मानव-जातिको मृत्युको विषय मात्र होइनकि जीवनसम्बन्धी उत्तर पनि लुकाउनुभएको छ । पिता परमेश्वर र माता परमेश्वर, अनि अनन्त जीवन दिलाउने जीवनको फलको सत्यता निस्तार-चाड नै वर्तमान युगमा मानव-जातिले खोज्नैपर्ने मुक्तिको साँचो हो ।