अधिकांश ख्रीष्टियानहरूले परमेश्वरलाई यहोवा अथवा येशूज्यू अर्थात् नर स्वरूपमा हुनुभएका पिता परमेश्वरको रूपमा मात्र बुझेका छन् । तर बाइबलको सुरुवात रहेको उत्पत्ति अध्याय १देखि नै परमेश्वरलाई बहुवचनमा ‘एलोहिम’ भनेर अभिव्यक्त गरिएको देख्न सकिन्छ । अर्थात् परमेश्वरचाहिँ पिता एक जना मात्र होइनकि एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने कुरा हो ।
परमेश्वरलाई सही तरिकाले चिन्नु अत्यन्त महत्त्वपूर्ण छ । किनकि परमेश्वरलाई चिन्नु नै सबैभन्दा महान् बुद्धि र समझ हो, जसमा मुक्ति निर्भर छ (हितो ९:१०; यूह १७:३) । त्यसैले विश्वासीहरूले परमेश्वरलाई चिन्नको निम्ति प्रयत्न गर्नुपर्छ भनेर बाइबलमा भनिएको छ (होशे ६:३) । अब मुक्ति पाउनको निम्ति हामीले अनिवार्य चिन्नुपर्ने एलोहिम परमेश्वरचाहिँ को-को हुनुहुन्छ भन्ने कुरा बाइबलद्वारा बुझौं ।
एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर
पवित्र आत्माबाट प्रेरणा पाएका अगमवक्ताहरूद्वारा लिखित पुरानो करार बाइबलमा परमेश्वरलाई एकवचनमा नभएर बहुवचनमा अभिव्यक्त गरिएको छ । हिब्रू मूल ग्रन्थमा प्रायः परमेश्वर भन्ने शब्दलाई एलोहिम भनेर लेखिएको छ, जुनचाहिँ ‘परमेश्वर, ईश्वर’ भन्ने अर्थ बोक्ने ‘एल्’ वा ‘एलोआ’ शब्दको बहुवचन रूप हो । सजिलो गरी भन्नुपर्दा, एलोहिम भनेको परमेश्वरहरू हो । एलोहिम शब्द पुरानो करार बाइबलमा करीब २,५०० पटक प्रयोग भएको छ । त्यसैले परमेश्वरचाहिँ पिता एक जना मात्र हुनुहुन्छ भन्नु भनेको आम सोचाइबाट हेर्दा पनि ठूलो गल्ती हो ।
बाइबलचाहिँ मुक्तिदाता परमेश्वरको विषयमा गवाही दिने पुस्तक हो (यूह ५:३९) । बाइबलमा परमेश्वरलाई बहुवचनमा व्यक्त गरिनुले परमेश्वर एक जना मात्र होइन, तर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने अर्थ बुझाउँछ ।
अनि परमेश्वर(एलोहिम)ले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । …” उत १:२६
उत्पत्तिको पुस्तकमा, आदिमा आकाश र पृथ्वी सृष्टि गर्नुभएका परमेश्वरलाई एलोहिमको रूपमा व्यक्त गरिएको छ, र उहाँ एलोहिमले “मानिसलाई बनाऔं” भन्नुभयो । यदि हामी परमेश्वरचाहिँ पिता एक जना मात्र हुनुहुन्छ भनेर सोच्छौं भने यो पदलाई बुझ्न गाह्रो हुन्छ । किनकि परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउनेछु” भन्नुपर्ने हुन्थ्यो । त्यसैले “बाइबलको अर्थ लगाउने मानिसहरूको निम्ति यो वाक्यांश, लामो समयदेखि एउटा रहस्य बन्दैआएको छ” (बाइबलभित्रका रहस्यहरू, Mysteries of the Bible, Reader’s Digest Association Inc., पेज नं. २१)
परमेश्वरचाहिँ पिता मात्र हुनुहुन्छ भन्ने अडिग सोचाइलाई फालेर बाइबलको लेखोटलाई जस्ताको तस्तै हेर्ने हो भने हामीले यो रहस्यको उत्तर सजिलै पाउन सक्छौं ।
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत १:२७
आफूलाई ‘हाम्रै’ भनेर अभिव्यक्त गर्नुभएका परमेश्वरले आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा मानिसलाई बनाउनुभयो, र नर र नारी सृष्टि भए । यो नै परमेश्वर नर स्वरूपमा र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने अर्थ हो । मानव-जातिले नर स्वरूपका परमेश्वरलाई लामो समयदेखि ‘पिता’ भनेर पुकार्दैआएका छन् । त्यसोभए नारी स्वरूपकी परमेश्वरलाई चाहिँ के भनेर पुकार्नुपर्छ होला ? निश्चय नै माता भनेर पुकार्नुपर्छ । यावत् थोक सृष्टि गर्नुभएका एलोहिम परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर अर्थात् दुई जना हुनुहुन्छ ।
संसारको सृष्टिदेखि नै सँगै कार्य गर्नुभएका एलोहिम परमेश्वर
बाइबलका ठाउँ-ठाउँमा परमेश्वरले ‘हामी’ भन्नुभएर सँगै कार्य गर्नुभएको दृश्य देख्न सकिन्छ । एलोहिम परमेश्वर हुनुभएका पिता परमेश्वर र माता परमेश्वरले सृष्टिदेखि नै मुक्तिको कार्य सँगै गर्दैआउनुभएको छ ।
अनि परमप्रभुले भन्नुभयो, “यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन । आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून् ।” तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोडिदिए । यसकारण त्यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहीँ नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनुभएको थियो । त्यहीँबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो । उत ११:६-९
नोआका सन्ततिहरूले बाबेलको धरहरा बनाउँदैगर्दा परमेश्वरले “तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं” भन्नुभयो । अनि पद ९मा परमप्रभु अर्थात् यहोवा परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो भनिएको छ । यसकारण प्रतिनिधिको रूपमा पिता परमेश्वर लेखिएको भए पनि, बाबेलको धरहरा बनाउने कार्यलाई पिता परमेश्वर र माता परमेश्वरले सँगै रोक्नुभयो भन्ने अर्थ हो ।
साथै अगमवक्ता नियुक्त गरेर पठाउने कार्य पनि पिता परमेश्वर र माता परमेश्वरले सँगै गर्नुभएको थियो ।
तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने ?” अनि मैले भनें, “म हाजिर छु । मलाई पठाउनुहोस् !” यशै ६:८
यहाँ ‘परमप्रभुको आवाज’ नै परमेश्वरको आवाज हो । तर परमेश्वरले “मेरो निम्ति को जाने ?” भन्नुको सट्टा “हाम्रा निम्ति को जाने ?” भन्नुभयो । यावत् थोक सृष्टि गर्नुहुँदा पनि, अनि बाबेलको धरहरा बनाउने कार्य रोक्नुहुँदा पनि र अगमवक्ता पठाउनुहुँदा पनि एलोहिम परमेश्वरले सधैँ सँगै कार्य गर्नुभयो ।
पिता परमेश्वरचाहिँ एलोहिम परमेश्वरको प्रतिनिधि
परमेश्वरको स्वरूपमा र प्रतिरूपमा सृष्टि गरिएका आदम र हव्वालाई हेरेमा एलोहिम परमेश्वरको विषयमा सही तरिकाले बुझ्न सकिन्छ । किनभने आदम र हव्वाचाहिँ ‘मूल रूप हुनुभएका’ परमेश्वरका ‘प्रतिलिपि’ हुन् भनिएको छ । हुन त आदम र हव्वा फरक दुई व्यक्ति हुन्, तर बाइबलमा तिनीहरूलाई एक व्यक्तिको रूपमा व्यक्त गरिएको छ ।
एक जना मानिसद्वारा संसारमा पाप आयो, … आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गऱ्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन् । … किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे … रोम ५:१२-१५
यहाँ ‘एक जना मानिसको अपराध’ले आदमको अपराधलाई जनाउँछ । उत्पत्तिको पुस्तकमा हेर्दा वास्तवमा पहिला पाप गर्नेचाहिँ आदम थिएनन् तर हव्वा थिइन् (उत ३:६) । त्यसैले ‘हव्वा’ एक जनाको अपराध भनिनुपर्ने अथवा आदम र हव्वा ‘दुई जना’को अपराध भनिनुपर्ने थियो । तर बाइबलमा प्रतिनिधिको रूपमा आदमको नाम मात्र उल्लेख गरिएको छ । यो नै आदम र हव्वालाई एकै व्यक्ति मानियो भन्ने अर्थ हो (उत २:२२-२४) ।
आदम र हव्वाको ‘मूल रूप’ हुनुभएका एलोहिम परमेश्वरको सन्दर्भमा पनि उस्तै हो । परमेश्वर पनि पिता परमेश्वर र माता परमेश्वर दुई जना हुनुभए तापनि उहाँहरूलाई समग्रमा एक जना परमेश्वर भन्न सकिन्छ । अनि बाइबलमा, आदम र हव्वा दुई जनाले गरेको कार्यलाई आदम एक जनाले गरेको भनिएजस्तै, पिता र माता परमेश्वरले सँगै गर्नुभएको कार्यलाई पनि समग्रमा पिता परमेश्वर एकलैले गर्नुभएको कार्य भन्न सकिन्छ ।
एलोहिम परमेश्वरलाई नचिन्नुको कारण
परमेश्वरलाई विश्वास गर्छौं भन्ने मानिसहरू संसारमा धेरै छन् तर एलोहिम परमेश्वर अर्थात् पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने मानिसहरू भने भेट्टाउन गाह्रो छ । त्योचाहिँ तिनीहरू नयाँ करारको सत्यताभित्र नभएकाले गर्दा हो । बाइबलमा नयाँ करार पालन गर्नेहरूले मात्र परमेश्वरलाई पूर्ण रूपमा चिन्नेछन् भनेर अगमवाणी गरिएको छ ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । … ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।” यर ३१:३१-३३
परमेश्वरले “म नयाँ करारको व्यवस्था हृदयमा खोप्ने र पालन गर्नेहरूका परमेश्वर हुनेछु, र तिनीहरू नै एलोहिम परमेश्वरका प्रजा हुनेछन्” भनेर अगमवाणी गर्नुभएको छ । साथै तिनीहरूले परमेश्वरलाई पूर्ण रूपमा चिन्नेछन् पनि भन्नुभएको छ ।
“‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन । किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ । “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ ।” यर ३१:३४
नयाँ करारको व्यवस्था हृदयमा भएका र ती पालन गर्नेहरूलाई अब उसो कसैले ‘परमेश्वरलाई चिन’ भन्नेछैनन् । किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले परमेश्वरलाई चिन्नेछन् । अर्थात् नयाँ करारको सत्यताभित्र रहनेहरूले एलोहिम परमेश्वरलाई पूर्ण रूपमा चिन्नेछन् र विश्वास गर्नेछन् भन्ने वचन हो । परमेश्वरले तिनीहरूलाई पाप-क्षमाको आशिष् दिनुहुनेछ भनिएको छ ।
पिताको युगका मुक्तिदाता अथवा पुत्रको युगका मुक्तिदाताको नाउँलाई गवाही दिने बाइबलीय पदहरूमा माता परमेश्वरको अस्तित्व प्रकट गरिएको छैन । माता परमेश्वरको अस्तित्व लामो समयसम्म लुक्दैआएको छ । तर परमेश्वरको निर्धारित समय भएकोले एलोहिम परमेश्वरको अस्तित्व प्रकट भएको छ । दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले नयाँ करारको सत्यताको ज्योति चम्काइदिनुभएर वर्तमान युगमा परमेश्वरका प्रजाहरूले चिन्नैपर्ने पिता परमेश्वर र माता परमेश्वरको विषयमा स्पष्ट जानकारी दिनुभयो ।