परमेश्वरको सृष्टि कार्य :
अर्थ, वर्णन र अगमवाणीको पूर्णता

7781 읽음

आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । उत १:१

बाइबलको पहिलो पुस्तक उत्पत्तिको सुरुमै परमेश्वर(एलोहिम1)ले गर्नुभएको सृष्टि कार्यबारे लेखिएको छ । परमेश्वरले ६ दिनसम्म आकाशमण्डल, पृथ्वी र यावत् थोकहरू सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम लिनुभयो । आकाश र पृथ्वीको सृष्टिसँगै सुरु भएको बाइबलको इतिहासचाहिँ मृत्यु र पीडा नहुने नयाँ आकाश र नयाँ पृथ्वी अर्थात् स्वर्गको आगमनसँगै समाप्त हुन्छ (प्रका २१:१-४) ।

  1. हिब्रू भाषामा परमेश्वर(एल, एलोआ)को बहुवचन शब्द । उत्पत्तिको पहिलो पृष्ठदेखि सुरु गरेर पुरानो करार बाइबलमा करीब २,५०० पटक परमेश्वरलाई एलोहिम भनेर अभिलेख गरिएको छ ।

परमेश्वरले आफ्ना प्रजाहरूलाई स्वर्ग-राज्यतर्फ डोऱ्याउँदैहुनुहुन्छ । ६ दिनको सृष्टि कार्यचाहिँ परमेश्वरको मुक्तिको कार्यसम्बन्धी अगमवाणी हो । सृष्टिको प्रक्रिया र त्यसको अगमवाणीगत अर्थबारे बुझौं ।

सृष्टि कार्यको पहिलो दिन : उज्यालो, अँध्यारो

पहिलो दिनमा परमेश्वरले उज्यालो र अँध्यारो बनाउनुभयो, अनि त्यसलाई अलग-अलग गर्नुभएर उज्यालोलाई ‘दिन’ र अँध्यारोलाई ‘रात’ भन्नुभयो (उत १:३-५) । शाब्दिक रूपमा उज्यालोलाई भौतिक ज्योति भनेर अर्थ लगाउन सकिए पनि अगमवाणीगत रूपमा यसले जीवनको ज्योतिलाई अर्थात् जीवन हुनुभएका परमेश्वरलाई चिनाउने ज्योतिलाई जनाउँछ ।

आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, … सबै थोक उहाँद्वारा बनिए, … उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो । त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन । यूह १:१-५

जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस् । २ कोर ४:६

पहिलो दिनको अगमवाणीको समय आदमदेखि नोआसम्म हो । परमेश्वरले मानव-जातिका पुर्खा आदमको समयदेखि आफ्नो महिमाको ज्ञानको ज्योति चम्काउनुभयो । तर मानव-जातिले त्यो ज्योतिलाई महसुस गरेनन्, अनि नोआको समयमा संसार पापले भरियो । पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमेश्वरले अफसोस गर्नुभयो, र तिनीहरूलाई जलप्रलयद्वारा इन्साफ गर्नुभयो (उत ६:५-७) ।

सृष्टि कार्यको दोस्रो दिन : क्षेत्र, क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभएको

दोस्रो दिनमा परमेश्वरले पानीको बीचमा क्षेत्र बनाउनुभएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो र त्यस अन्तरिक्षलाई आकाश भन्नुभयो (उत १:६-८) । अन्तरिक्षले आकाश र वायुमण्डललाई जनाउँछ । पानीलाई आकाशमाथिको पानी(बादल) र आकाशमुनिको पानीमा अलग गरियो ।

ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, … मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू हुन् ।” प्रका १७:१५

बाइबलमा पानीले मानव-जातिलाई सङ्केत गर्दछ । क्षेत्रमाथिको पानीले मुक्ति पाउने पवित्र जनहरूलाई जनाउँछ र क्षेत्रमुनिको पानीले चाहिँ मुक्ति नपाउने मानिसहरूलाई जनाउँछ ।

दोस्रो दिनको अगमवाणीको समय नोआदेखि अब्राहामसम्म हो । जलप्रलयपछि नोआका सन्ततिहरूले परमेश्वरको इच्छाविपरीत आफ्नो नाम उच्च पार्न र पृथ्वीभरि जताततै नछरिन बाबेलको धरहरा बनाए । परमेश्वरले तिनीहरूको योजनालाई विफल तुल्याइदिनुभएर तिनीहरूको भाषा खलबल पारिदिनुभई सबैलाई पृथ्वीभरि तितरबितर पारिदिनुभयो (उत ११:१-९) ।

सृष्टि कार्यको तेस्रो दिन : समुद्र, भूमि, वृक्षहरू

तेस्रो दिनमा उहाँले आकाशमुनि भएको पानीलाई एक ठाउँमा जम्मा गर्नुभएर समुद्र बनाउनुभयो र ओबानो भूमि देखिने गराउनुभयो । त्यसपछि उहाँले ओबानो भूमिलाई पृथ्वी, र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो (उत १:९-१०) । भूमिमा वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसिमको फल फल्ने वृक्षहरू उम्रने गराउनुभयो (उत १:११-१३) ।

तेस्रो दिनमा सृष्टि गरिएको समुद्रको पानीले मानव-जातिलाई जनाउँछ (प्रका १७:१५) । बिरुवा र रूखहरूले पनि मानिसहरूलाई जनाउँछ (यशै ४०:७; लूक २३:३१) । अनि पानी एक ठाउँमा जम्मा भएर समुद्र बन्ने कुराले मानिसहरू विभिन्न ठाउँहरूमा जम्मा भएर जाति र देशहरू बन्ने कुरालाई जनाउँछ ।

तेस्रो दिनको अगमवाणीको समय अब्राहामदेखि मोशासम्म हो । विश्वासका पुर्खा अब्राहामले विश्वासको जीवन जिउने क्रममा, धेरै देशहरू र जातिहरू खडा भएका थिए । यसरी तेस्रो दिनको अगमवाणी पूरा भयो ।

सृष्टि कार्यको चौथो दिन : सूर्य, चन्द्रमा, तारा

चौथो दिनमा परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो– दिनमाथि प्रभुत्व गर्न सूर्य, रातमाथि प्रभुत्व गर्न चन्द्रमा, अनि पृथ्वीमा प्रकाश दिनलाई ताराहरू बनाउनुभयो । उहाँले ऋतुहरू, दिनहरू र वर्षहरू पनि छुट्‌ट्याउनुभयो (उत १:१४-१९) ।

चौथो दिनको अगमवाणीको समय मोशादेखि येशूज्यूसम्म हो, जुन समयमा पुरानो करार र नयाँ करारलाई संहिताबद्ध गरियो । चौथो दिनमा सृष्टि गरिएको दुई विशाल ज्योतिमध्ये सूर्यले नयाँ करारलाई, अनि चन्द्रमाले पुरानो करारलाई जनाउँछ । चन्द्रमाले आफ्नै ज्योति नदिईकन सूर्यको ज्योतिलाई प्रतिबिम्बित गर्छ । त्योजस्तै, पुरानो करारको व्यवस्थाले नयाँ करारको समयमा पूरा हुने नयाँ करारको सत्यताको ज्योतिलाई प्रतिबिम्बित गर्छ । अन्ततः यसले परमेश्वरका प्रजालाई नयाँ करारको समयमा देखा पर्नुहुने ख्रीष्टकहाँ डोऱ्याउने भूमिका निर्वाह गर्छ (गला ३:२४) ।

सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, प्रका १२:१

किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ । गला ३:२७

सूर्य पहिरेकी एउटी स्त्रीको पाउमुनि चन्द्रमा थियो भन्नाले पुरानो करार समाप्त भएर नयाँ करार सुरु भयो भन्ने अर्थ हो । चन्द्रमाको प्रकाशमुनि रहेको पुरानो करारको समयचाहिँ नयाँ करारमा सूर्यको ज्योति अर्थात् ख्रीष्टको ज्योति चम्किनलाई प्रतीक्षा गर्ने समय हो ।

चौथो दिनको सृष्टि कार्यमा ऋतुहरू, दिनहरू र वर्षहरू छुट्‌ट्याइयो । यो नै परमेश्वरको व्यवस्था र नियम, चाडहरूशबाथ-दिन स्थापना हुने विषयको अगमवाणी हो ।

सृष्टि कार्यको पाँचौँ दिन : माछा, पक्षी

पाँचौँ दिनमा परमेश्वरले समुद्री जीवहरू र आकाशका पक्षीहरू बनाउनुभई संख्यामा वृद्धि हुने गराउनुभयो (उत १:२०-२३) । मानव-जातिमाथि शासन गर्ने अस्थायी शासक शैतान हो (प्रका १२:९) । येशूज्यूको दृष्टान्तअनुसार आकाशको पक्षीले पनि दियाबलसलाई जनाउँछ । दियाबलसले परमेश्वरको वचन अर्थात् सुसमाचारलाई नष्ट गर्छ (मत्ती १३:३-४; लूक ८:११-१२; १ पत्र १:२३) ।

पाँचौँ दिनको अगमवाणीको समयचाहिँ येशूज्यूको क्रूसको घटनापछि सतावटको युग पार भएर १,२६० वर्षको धार्मिक अन्धकारको युग हुँदै सन् १७९८मा पोप पिउस छैटौँलाई फ्रान्सका क्रान्तिकारी सेनाले पक्राउ गरेको समयसम्म हो । त्यो युगमा शैतानले अधिकार पायो र परमेश्वरको जीवनको सत्यता लोप भयो । त्यसपछि ख्रीष्टियान धर्ममा अन्यजातिको रीतिरिवाज र प्रतीकहरू भित्रिए ।

“उसले सर्वोच्चको विरुद्धमा बोल्नेछ र उहाँका पवित्र जनहरूलाई अत्याचार गर्नेछ र ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ । पवित्र जनहरू साढे तीन वर्षसम्म उसको हातमा सुम्पिइनेछन् ।” दान ७:२५

शैतानले परमेश्वरका ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ भन्ने अगमवाणीअनुसार प्रेरितहरूको युगपछि सत्यता एक-एक गर्दै परिवर्तन हुन थाल्यो । ई.सं. ३२१मा शबाथ-दिन आइतबारको सेवामा परिवर्तन भयो, ई.सं. ३२५मा निस्तार-चाड हटाइयो । पछि गएर सूर्य देवताको जन्मदिन रहेको क्रिसमस र क्रूसको प्रतिमा पनि मण्डलीमा भित्र्याइयो । धार्मिक अन्धकारको युगमा सन्तहरू उजाड-स्थानमा भागे, र उनीहरूले मरुभूमिमा, डाँडाहरूमा, गुफाहरूमा भौंतारिँदै अत्यन्त बैरागी जीवन बिताए ।

सृष्टि कार्यको छैटौँ दिन : जीवजन्तु, मानिस

छैटौँ दिनमा परमेश्वरले हरेक जातका पशुहरू बनाउनुभयो, र अन्त्यमा आदम र हव्वालाई बनाउनुभयो (उत १:२४-३१) । त्यो समयमा परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभएर नर र नारी सृष्टि गर्नुभयो । परमेश्वरले पिता परमेश्वरको प्रतिरूपमा नर, अनि माता परमेश्वरको प्रतिरूपमा नारी सृष्टि गर्नुभयो ।

आदमचाहिँ आउनुहुनेका प्रतिरूप थिए (रोम ५:१४) भने आदमकी पत्नी हव्वालाई चाहिँ सबै जीवितहरूकी आमा भनिएको छ (उत ३:२०) । ६ दिनको सृष्टि कार्यको अन्तिम दिनमा देखा परेका आदम र हव्वाले, मुक्तिको कार्यको अन्तिम समयमा देखा पर्नुहुने पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वरलाई जनाउँदछ । १ कोरिन्थीमा ‘अन्तिम आदम’चाहिँ ‘जीवन दिने आत्मा’ अर्थात् मानव-जातिलाई अनन्त जीवन दिनुहुने मुक्तिदाता हुनुहुन्छ भनेर लेखिएको छ (१ कोर १५:४४-४९) । प्रेरित यूहन्नाले प्रकाशमा देखेका अन्तिम आदम र हव्वा नै पवित्र आत्मा र दुलही हुनुहुन्छ भनेर लेखे ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । प्रका २२:१७

इच्छा गर्नेलाई जीवनको पानी सित्तैँमा दिनुहुने पवित्र आत्मा र दुलहीले चाहिँ, सम्पूर्ण मानव-जातिलाई अनन्त जीवन दिनुहुने पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वरलाई जनाउँदछ ।

बाइबलमा जीवजन्तुले अन्यजातिलाई सङ्केत गर्छ (प्रे १०:१-१६, २४-२९) । आदम र हव्वाले सम्पूर्ण जीवजन्तुहरूमाथि अधिकार गरेको कुराचाहिँ अन्तिम आदम र हव्वा हुनुभएका पवित्र आत्मा र दुलहीले शरीरमा आउनुभएर सारा मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने विषयको अगमवाणी हो ।

सृष्टि कार्यको सातौँ दिन : विश्राम

परमेश्वरले, सृष्टिको कार्य समाप्त गर्नुभएपछि सातौँ दिनमा विश्राम लिनुभयो, र त्यो दिनलाई आशिष् दिनुभई पवित्र तुल्याउनुभयो (उत २:१-३) । सातौँ दिन, शबाथ-दिनचाहिँ सृष्टिकर्ता परमेश्वरको शक्तिलाई सम्झना गर्ने दिन हो, र यसलाई हामीले अनिवार्य मान्नुपर्ने व्यवस्थाको रूपमा स्थापना गरिदिनुभयो (प्रस २०:८-११; लूक ४:१६) ।

सातौँ दिनमा चाहिँ “साँझ पऱ्यो र बिहान भयो– सातौँ दिन” भन्ने वचन छैन । किनकि यसले अनन्त विश्रामलाई जनाउँछ (हिब्रू ४:१-११) । परमेश्वरले इस्राएलीहरूलाई पार्थिव कनानमा विश्राम दिनुभयो (यहो २१:४४) । त्योजस्तै आत्मिक इस्राएलीहरूचाहिँ अनन्त विश्रामको रूपमा स्वर्गीय कनानमा प्रवेश गर्नेछन् ।

यसरी परमेश्वरले सृष्टिको कार्यभित्र, आफ्ना प्रजालाई उद्धार गर्ने महान् इच्छा राख्नुभएर अहिले पनि त्यो कार्यलाई अगि बढाउँदैहुनुहुन्छ । भजनसंग्रहका लेखकले, प्रेमद्वारा यावत् थोक सृष्टि गर्नुभएका परमेश्वरको प्रशंसा गरे, र उहाँको महिमा र वचन संसारको पल्लो छेउसम्म पुग्नेछ भनी स्तुति गाए (भज ३३:६-७; १९:१-४) । त्यो भजनजस्तै, वर्तमान युगमा सृष्टिकर्ता एलोहिम परमेश्वरको महिमाको ज्ञानको ज्योति सारा संसारमा चम्किरहेको छ । यो समय भनेको जीवनको पानी दिनुहुने अन्तिम आदम र हव्वा अर्थात् पवित्र आत्मा र दुलहीलाई मानव-जातिले चिनेर ग्रहण गर्नुपर्ने समय हो ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기