![](https://ahnsahnghong.com/wp-content/uploads/2021/09/7-feasts-in-the-bible.jpg)
- परमेश्वरको चाडको महत्त्व
- ३ चरणका ७ वटा चाडहरू(७ वटा प्रमुख चाडहरू)को वर्गीकरण र नाउँ
- पुरानो करारका चाडहरूचाहिँ नयाँ करारको समयमा येशूज्यूको कार्यसम्बन्धी अगमवाणी
- ७ वटा चाडहरूको उत्पत्ति र अगमवाणीको पूर्णता
- १) निस्तार-चाड
- २) अखमिरी रोटीको चाड
- ३) अगौटे फलको चाड (पुनरुत्थानको दिन)
- ४) साताहरूको चाड (पेन्तिकोसको दिन)
- ५) तुरहीको चाड
- ६) प्रायश्चितको दिन
- ७) छाप्रो-वासको चाड
बाइबलमा परमेश्वरले आफ्ना प्रजालाई मान्नू भनेर आज्ञा गर्नुभएका ७ वटा प्रमुख चाडहरू छन् । साँचो परमेश्वरलाई भेटेर अनन्त जीवन पाउन चाहने सन्तहरूले यी चाडहरू सही तरिकाले जानेर मान्नैपर्छ । ७ वटा चाडहरूको अर्थ, अनि ती प्रत्येकको अगमवाणीगत अर्थबारे बुझौं ।
परमेश्वरको चाडको महत्त्व
हामीले परमेश्वरका चाडहरू ठीकसँग जानेर मान्नुपर्ने कारणचाहिँ पाप-क्षमा र अनन्त जीवन पाउनको निम्ति हो । पुरानो करारको समयमा, परमेश्वर ‘सियोन’मा सदाकाल वास गर्नुभएर अनन्त जीवनको आशिष् दिनुहुनेछ भनेर अगमवाणी गरिएको थियो (भज १३२:१३-१४; १३३:३) । यहाँ भनिएको सियोनले इस्राएलका दोस्रो राजा दाऊदले निर्माण गरेको सियोनलाई जनाएको होइनकि आत्मिक राजा दाऊद हुनुभएका येशूज्यूले स्थापना गर्नुहुने आत्मिक सियोनलाई जनाएको हो । आत्मिक सियोन भनेको कस्तो ठाउँ होला ?
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, … त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । … त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । यशै ३३:२०-२४
बाइबलका अगमवाणीहरूमा सियोनलाई प्रायः परमेश्वरका चाडहरू मनाइने ठाउँको रूपमा उल्लेख गरिएको छ । त्यहाँ परमेश्वर आफ्ना प्रजाको साथमा रहनुभएर उनीहरूलाई पाप-क्षमाको आशिष् दिनुहुन्छ । पापको ज्याला मृत्यु हो (रोम ६:२३) भनिएकोले पाप-क्षमा पाएमा मृत्यु हटिजान्छ र अनन्त जीवन पाउन सकिन्छ । यसकारण सियोन परमेश्वर स्वयम्ले स्थापना गर्नुहुनेछ (भज ८७:५; १०२:१६) । अगमवाणी गरिएजस्तै, येशूज्यूले नयाँ करारको शबाथ-दिन, निस्तार-चाड, र छाप्रो-वासको चाडजस्ता चाडहरू स्थापना गर्नुभएर सियोन निर्माण गर्नुभई पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो (लूक ४:१६; मत्ती २६:१७-२८; यूह ७:२, १४) । त्यसकारण मुक्ति पाउन चाहने जो कोहीले पनि परमेश्वरका चाडहरू मनाइने मण्डली, सियोन खोजेर त्यहाँ जानैपर्छ । त्यसको निम्ति सर्वप्रथम हामीले परमेश्वरको चाडबारे ठीकसँग बुझ्नुपर्छ ।
३ चरणका ७ वटा चाडहरू(७ वटा प्रमुख चाडहरू)को वर्गीकरण र नाउँ
परमेश्वरले हामीलाई मान्न आज्ञा गर्नुभएका चाडहरू के-के हुन् ? परमेश्वरका प्रजाले वर्षेनी ३ चरणमा मान्नुपर्ने चाडहरू छन् भनेर बाइबलले बताएको छ ।
जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्ने देखा परून् : अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो–वासको चाडमा । परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस् । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढाओस् । व्य १६:१६–१७
यसरी परमेश्वरका चाडहरूमा वर्षेनी ३ चरणका चाड अर्थात् अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाड समावेश छन् (२ इति ८:१३) । तीमध्ये, साताहरूको चाडलाई कटनीको चाड पनि भनिन्छ र छाप्रो-वासको चाडलाई अन्न भित्र्याउने चाड पनि भनिन्छ (प्रस २३:१४-१७; ३४:१८-२३) ।
अनि ३ चरणका चाडहरू भनिए तापनि खासमा चाडहरू ३ वटा मात्र होइनन् । यसलाई विस्तृत रूपमा वर्गीकरण गर्ने हो भने ७ वटा चाडहरू हुन् (लेवी अध्याय २३) । ३ चरणका ७ वटा चाडलाई मुख्यतः ३ समूहमा विभाजन गर्दा तीचाहिँ प्रतिनिधि नाउँहरू हुन् । त्यसैले यसलाई ‘३ चरणका ७ वटा चाड’ भनिएको हो । ३ चरणका ७ वटा चाडहरूको नाउँ यसप्रकार छ ।
- पहिलो चरण : निस्तार-चाड र अखमिरी रोटीको चाड
- दोस्रो चरण : अगौटे फलको चाड र साताहरूको चाड
- तेस्रो चरण : तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड
पुरानो करारका चाडहरूचाहिँ नयाँ करारको समयमा येशूज्यूको कार्यसम्बन्धी अगमवाणी
परमेश्वरले प्रस्थानको समयदेखि पवित्र वासस्थानको निर्माणसम्मको मोशाको कार्यअन्तर्गत चाडहरू तोकिदिनुभयो । योचाहिँ विगतको इतिहास मात्र होइन तर भविष्यमा येशूज्यूले गर्नुहुने कार्यबारे अगमवाणी थियो ।
“तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खडा गर्नेछु । म मेरो वचन तिनको मुखमा हालिदिनेछु, … ” व्य १८:१८-१९
मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खडा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ । … “शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरू(येशूज्यू देखा पर्नुभएको समय)को घोषणा गरेका छन् ।” प्रे ३:२२-२४
येशूज्यू मोशाजस्तै अगमवक्ताको रूपमा आउनुभयो । अर्थात् पुरानो करारको समयमा मोशाले गरेको कार्य नयाँ करारको समयमा येशूज्यूले पूरा गर्नुहुने कार्यको छाया हो । यसकारण प्रत्येक चाडमा गरिएको मोशाको कार्यचाहिँ येशूज्यूले गर्नुहुने मुक्तिको कार्यसम्बन्धी अगमवाणी हो ।
७ वटा चाडहरूको उत्पत्ति र अगमवाणीको पूर्णता
पुरानो करारको समयमा मोशाको कार्यबमोजिम तोकिएका ७ वटा चाडहरूको उत्पत्ति र अगमवाणीको पूर्णता निम्नानुसार छ ।
१) निस्तार-चाड
- मिति : पवित्र पात्रोअनुसार पहिलो(निसान) महिनाको १४औँ दिनको साँझ
- उत्पत्ति : इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा (प्रस १२:१-१४) ।
- प्रतिज्ञा : पाप-क्षमा, अनन्त जीवन, विपत्ति पार, अन्य देवताहरूको इन्साफ, र परमेश्वर छाप
- अगमवाणीको पूर्णता : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूको इतिहासचाहिँ पापमय संसारमा मानव-जाति आत्मिक दासत्वमा परेको कुरालाई देखाउने छाया हो (यूह ८:३२-३४) । मोशाको नेतृत्वमा इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मिश्रबाट छुटकारा पाएका थिए । योचाहिँ परमेश्वरका प्रजाले येशू ख्रीष्टको नेतृत्वमा निस्तार-चाड मानेर यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुरालाई देखाउने अगमवाणी हो । निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले (१ कोर ५:७), यो दिनमा आफ्नो देह र रगतलाई जनाउने रोटी र दाखमद्यद्वारा हामीलाई पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुहुँदै नयाँ करार स्थापना गर्नुभयो (मत्ती २६:१७-२८; लूक २२:७-२०) ।
२) अखमिरी रोटीको चाड
- मिति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १५औँ दिन
- उत्पत्ति : पवित्र पात्रोअनुसार पहिलो महिनाको १५औँ दिनमा रामसेसबाट प्रस्थान गरेपछि, मिश्री सेनाले खेदेका बेला, लाल समुद्र पार नगरुञ्जेल इस्राएलीहरूले भोगेका कष्ट
- प्रतिज्ञा : कष्टद्वारा पूर्ण बनाउने । स्वर्गीय राज्यचाहिँ ख्रीष्टको खातिर कष्ट भोग्नेहरूको लागि हो (मत्ती ५:१०) ।
- अगमवाणीको पूर्णता : पुरानो करारको समयमा इस्राएलीहरूले निस्तार-चाडको भोलिपल्टदेखि लाल समुद्र नतरुञ्जेल भोगेका कष्टलाई सम्झना गर्न खमिर नहालेको रोटी सात दिनसम्म खाएर अखमिरी रोटीको चाड माने (व्य १६:३; लेवी २३:५-६) । निस्तार-चाडको भोलिपल्ट येशूज्यू बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मानव-जातिको पाप सट्टामा बोकिदिन क्रूसको कष्ट भोग्नुभई अगमवाणी पूरा गर्नुभयो । नयाँ करारको समयमा, हामी यो दिनमा उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी हुन्छौं (मर्क २:२०) ।
३) अगौटे फलको चाड (पुनरुत्थानको दिन)
- मिति : अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार)
- उत्पत्ति : इस्राएलीहरू लाल समुद्र तरेर ओबानो भूमिमा टेके, अनि तिनीहरूलाई खेदेका मिश्री सेनाचाहिँ पूर्ण विनाश भए ।
- प्रतिज्ञा : पुनरुत्थान
- अगमवाणीको पूर्णता : मोशा मानिसहरूसँग लाल समुद्रभित्र पसेका कुराले येशूज्यू चिहानमा पस्नुहुने कुरालाई जनाउँछ, अनि लाल समुद्र तरेर निस्केका कुराले येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) पहिलो पाकेको फलको एक बिटा बलिको रूपमा परमेश्वरलाई चढाइएजस्तै येशूज्यू पनि सुतिजानेहरूमध्येमा प्रथम फल हुनुभई आइतबारकै दिनमा पुनरुत्थान हुनुभयो (१ कोर १५:२०) ।
४) साताहरूको चाड (पेन्तिकोसको दिन)
- मिति : अगौटे फलको चाडदेखिको ५०औँ दिन
- उत्पत्ति : मोशा पहिलो पल्ट दश आज्ञा लिन पर्वतमा उक्लेको दिन
- प्रतिज्ञा : पहिलो झरी पवित्र आत्मा
- अगमवाणीको पूर्णता : येशूज्यू पुनरुत्थान हुनुभएको दिनदेखिको ५०औँ दिन पुगेको पेन्तिकोसको दिनमा, परमेश्वरले सन्तहरूमाथि पवित्र आत्मा झारिदिनुभएकोले सुरुको मण्डली निकै समृद्ध भयो (प्रे २:१-४) ।
५) तुरहीको चाड
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिन
- उत्पत्ति : मोशा पहिलो पल्ट दश आज्ञा लिन सीनै पर्वतमा उक्लेर ४० दिन त्यहाँ रहँदा, यता इस्राएलीहरूले सुनको बाछाको मूर्ति बनाएर पुज्ने पाप गरे । यो देखेर मोशाले दश आज्ञाको शिलापाटी फ्याँकेर फुटाइदिए, र मानिसहरूमध्ये ३,००० जति पुरुष विपत्तिमा परेर मरे (प्रस ३२:१-२८) । त्यसपछि मानिसहरूले आफ्नो पापप्रति पश्चात्ताप गरी सबै गहनाहरू फुकाले, र मोशाले मानिसहरूका निम्ति बिन्ती गरे । तिनले पवित्र पात्रोअनुसार सातौँ महिनाको १०औँ दिनमा दोस्रो पल्ट दश आज्ञाका शिला-पाटी परमेश्वरबाट प्राप्त गरे (प्रस ३४:४-३५) । अर्थात् परमेश्वरले तिनीहरूको पाप क्षमा गरिदिनुभयो भन्ने अर्थ हो । मोशाले दोस्रो पल्ट दश आज्ञा प्राप्त गरेको दिनलाई परमेश्वरले प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो । त्यस दिनभन्दा दश दिनअघिसम्म मानिसहरूले पश्चात्तापको तुरही फुकेर प्रायश्चितको दिनको तयारी गरून् भनेर परमेश्वरले तुरहीको चाड तोकिदिनुभयो ।
- अगमवाणीको पूर्णता : मोशाले सीनै पर्वतबाट ओर्लन बियाँलो गर्दा इस्राएलीहरू भ्रष्ट भएर सुनको बाछा पुजेको इतिहासचाहिँ नयाँ करारको समयमा येशूज्यूको स्वर्गारोहणपछि मण्डली भ्रष्ट भएर सूर्य देवताको दिन मनाउनेछ भन्ने कुराको अगमवाणी हो । प्रायश्चितको दिनको घोषणा गर्न तुरही फुकिएजस्तै विलियम मिल्लरले पनि मानिसहरूलाई पश्चात्ताप गर्न आह्वान गर्दै १० वर्षसम्म येशू ख्रीष्टको दोस्रो आगमन अभियान चलाए ।
६) प्रायश्चितको दिन
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको १०औँ दिन
- उत्पत्ति : मोशा दोस्रो पल्ट दश आज्ञाको शिला-पाटी लिएर पर्वतबाट ओर्लेको दिन । इस्राएलीहरूले सुनको बाछा पुजेको पाप क्षमा पाए भन्ने अर्थ ।
- प्रतिज्ञा : पाप-क्षमा
- अगमवाणीको पूर्णता : इस्राएलीहरूले पश्चात्ताप गरेपछि प्रायश्चितको दिनमा दश आज्ञा फेरि पाएजस्तै, सन् १८४४ अक्टोबर २२ तारिख(पवित्र पात्रोअनुसार सातौँ महिनाको १०औँ दिन) रहेको प्रायश्चितको दिनदेखि सत्यता आंशिक रूपमा पुनर्स्थापन हुन थाल्यो । पुरानो करारको प्रायश्चितको दिनमा, प्रधान पूजाहारीले छाडा छोडिने बोकामा आफ्नो हात राखेर त्यसको टाउकोमाथि इस्राएलीहरूको सम्पूर्ण पाप राखेर उजाड-स्थानमा छाडिदिन्थे । यो अगमवाणीमा छाडा छोडिने बोकाले, सबै मानिसहरूको पाप बोकेर अतल कुण्डमा कैदी भई नरकको आगोमा फ्याँकिने शैतानलाई जनाउँछ ।
७) छाप्रो-वासको चाड
- मिति : पवित्र पात्रोअनुसार सातौँ महिनाको १५-२२औँ दिन
- उत्पत्ति : दोस्रो पल्ट दश आज्ञा लिई सीनै पर्वतबाट ओर्लेका मोशाले पवित्र वासस्थान बनाउने परमेश्वरको इच्छा इस्राएलीहरूलाई सुनाइदिए । मानिसहरूले पवित्रस्थानको निम्ति चाहिँदोभन्दा ज्यादा सामानहरू ल्याए (प्रस ३६:३-५) ।
- प्रतिज्ञा : परमेश्वरका प्रजालाई भेला गर्ने प्रचार कार्य, र अन्तिम झरी पवित्र आत्मा (यूह ७:३७; जक १४:१६-१८) ।
- अगमवाणीको पूर्णता : छाप्रो-वासको चाडमा रूखका हाँगाहरूले छाप्रो बनाएर त्यहाँ बस्ने चलन थियो । पवित्रस्थान निर्माणका सामग्रीहरू र हाँगाहरूले मुक्ति पाउने सन्तहरूलाई जनाउने भएकोले (प्रका ३:१२; एफि २:२०-२२; यशै ६०:२१; ६१:३), छाप्रो-वासको चाडको अगमवाणीचाहिँ मुक्ति पाउने सन्तहरूलाई भेला गर्ने सुसमाचार कार्यद्वारा पूरा हुन्छ ।