किन मानिसहरूले येशूज्यूलाई ग्रहण गर्न नसकेका होलान् ?

5823 읽음

२,००० वर्षअघिका यहूदीहरूले येशूज्यूको शारीरिक जीवन र वातावरणमा मात्र ध्यान दिएकाले तिनीहरूले उहाँलाई ग्रहण गर्न सकेनन् । यदि हामीले येशूज्यूको शारीरिक जीवन र वातावरणलाई मात्र हेऱ्यौं भने हामीले कदापि ख्रीष्टलाई सही तरिकाले ग्रहण गर्न सक्नेछैनौं ।

येशू ख्रीष्टको जीवन

येशूज्यूको समयमा यहूदीहरू, अनि विशेष गरी संसारबाट मान्यता पाएका अगुवा फरिसीहरूले हात नधोई भोजन खाँदैनथे (मर्क ७:३) । त्यो समयमा हात नधोई भोजन खानु भनेको चम्चा प्रयोग नगरी हातैले भोजन खाएसरह मानिन्थ्यो । मानिसको स्वरूपमा आउनुभएका येशूज्यूले कुनै बेला हात नधोईकन भोजन खानुभएको थियो ।

येशू बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो गरे । उहाँ घरभित्र पसेर खान बस्नुभयो । तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्क परे । लूक ११:३७-३८

येशूज्यूले हात धुनुहुन्छ होला भनेर फरिसीहरूले सोचेका थिए । तर येशूज्यूले हात नधोई भोजन खानुभयो । त्यो देखेर फरिसीहरू छक्क परे । ‘यदि उहाँ परमेश्वरले पठाउनुभएको अगमवक्ता हो भने अरूहरूभन्दा अझ सफा हुनुपर्ने तर किन उहाँले हात पनि नधोई भोजन खानुभएको होला ?’ यस्तो सोचाइले गर्दा फरिसीहरूले अन्ततः येशूज्यूलाई सही तरिकाले चिन्न सकेनन् । उहाँको दैनिक जीवनयापन तिनीहरूले सोचेको भन्दा फरक भएकोले अन्ततः तिनीहरू ख्रीष्टबाट टाढिए । ख्रीष्टको शारीरिक जीवनमा मात्र ध्यान दिनेहरूले यसै गरी ठेस खान्छन् । बाइबलमा परमेश्वरलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान भनेर अगमवाणी गरिएको छ (यशै ८:१३-१५) ।

येशू ख्रीष्टको वातावरण

येशूज्यूसँग समय बिताउने मानिसहरू उच्च ओहदाका थिएनन् । तर तिनीहरूचाहिँ संसारले घृणा गरेको कर उठाउने र वेश्याहरू थिए । येशूज्यूले कर उठाउने र पापीहरूलाई मित्र बनाउनुभएकोले यहूदीहरूले उहाँको निन्दा गरे । पापीप्रतिको घृणाले गर्दा फरिसीहरूले स्वभावतः येशूज्यूलाई पनि घृणा गर्न पुगे ।

“किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन् । मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड, कर उठाउने र पापीहरूको मित्र !’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ ।” मत्ती ११:१८-१९

कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए । “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे । लूक १५:१-२

यहूदीहरूले कर उठाउनेहरू र वेश्याहरूलाई किन घृणा गरेका होलान् ? कर उठाउनेहरूचाहिँ रोमको लागि कर सङ्कलन गर्ने अधिकारीहरू थिए । यहूदीहरूले कर उठाउनेहरूलाई, आफ्नै जातिमाथि दमन गर्ने रोमीहरूको पक्षधर ठान्दै तिनीहरूलाई घृणा गर्थे । वेश्याहरूलाई चाहिँ जुनसुकै समयमा होस्, तुच्छ ठानिन्थ्यो । येशूज्यूले यस्तै मानिसहरूसँग धेरै समय बिताउनुभयो, र तीमाथि कर उठाउनेहरू र वेश्याहरू ती धर्मगुरुहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् पनि भन्नुभयो ।

… येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिनीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन् ।” मत्ती २१:३१

येशूज्यूको वातावरण, मानिसको रूपमा आउनुभएका ख्रीष्टको महिमालाई लुकाउन पर्याप्त बन्यो । ‘परमेश्वरबाट पठाइएका पवित्र जन हो भने कसरी यी कर उठाउनेहरू र वेश्याहरूसँग हेलमेल गर्न सक्छन् र ?’ यस्तो सोचाइले तिनीहरूको आँखा ढाकिदियो । येशूज्यूको दयालु वचन र उहाँले बाइबलको अगमवाणी पूरा गर्नको निम्ति गर्नुभएका कार्यहरू तिनीहरूको आँखामा देखिएन । यसरी ख्रीष्टको जीवनपद्धति र वातावरणजस्ता शारीरिक पक्षहरूमा बढी ध्यान दिएका यहूदीहरू बाइबलमा गरिएको अगमवाणीअनुसार लोटे, टुक्रा-टुक्रा भए र पक्राउ परे ।

ख्रीष्टबाट बाधा नपाउनेहरू

शरीरमा आउनुभएका परमेश्वरलाई ख्रीष्टको रूपमा ग्रहण गर्नको लागि हामीले “धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन” भन्ने येशूज्यूको वचनलाई बिर्सनुहुँदैन । जब बप्तिस्मा-दिने यूहन्नाले यो संसार छोड्ने समय आयो, तब तिनले आफ्ना चेलाहरूलाई येशूज्यूकहाँ पठाएर, उहाँ नै साँचो ख्रीष्ट हो कि होइन भन्ने कुरा निश्चित गर्न लगाएका थिए (मत्ती ११:२-३) । त्यो समयमा येशूज्यूले, पुरानो करारमा ख्रीष्टको विषयमा गरिएका अगमवाणीहरू आफूले पूरा गरेको र यूहन्नाको मिसन पूरा भएको कुरा बताइदिनुभयो । त्यसपछि उहाँले भन्नुभयो, “धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन ।”

येशूले तिनीहरूलाई भन्नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ, अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गडाहरू हिँड्दछन् । कुष्ठरोगीहरू शुद्ध पारिएका छन् । बहिराहरू सुन्न सक्ने भएका छन् । मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ । धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन ।” मत्ती ११:४-६

येशूज्यूले यसो भन्नुको कारणचाहिँ उहाँको शारीरिक जीवन र वातावरणमा मानिसहरूलाई ठेस खान लगाउने धेरै कुराहरू भएकोले गर्दा हो । बाइबलका अगमवाणीहरूमा, येशूज्यू नै मानव-जातिलाई बचाउन आउनुभएका ख्रीष्ट हुनुहुन्छ भनेर स्पष्टसँग लेखिएको भए पनि उहाँको शारीरिक स्वरूप आम मानिसको भन्दा अलिकति पनि फरक थिएन । येशूज्यूको शारीरिक जीवन र शारीरिक पक्षलाई हेर्दा, त्यहाँ ठेस खान लगाउने कुराहरू धेरै थिए । कसैको लागि, उहाँ सिकर्मीको छोरा हुनु ठेस खाने कारण बन्यो भने कसैको लागि उहाँ गालीलबाट आउनुभएको कुरा नै पासोको कारण बन्यो । यसरी परमेश्वर इस्राएलीहरूका लागि ठेस खान लगाउने ढुङ्गा, लोट्न लगाउने चट्टान र पासो हुनुहुन्छ भन्ने अगमवाणी पूरा भयो (यशै ८:१३-१५) ।

परमेश्वरलाई विश्वास गर्नेहरूले ख्रीष्टको शारीरिक पक्षतिर होइन, तर बाइबलका अगमवाणीहरूतिर ध्यान दिई ख्रीष्टलाई चिनेर ग्रहण गर्नुपर्छ । ख्रीष्टको जीवन र वातावरणद्वारा मूल्याङ्कन गर्नेहरूले ख्रीष्टलाई कहिल्यै चिन्न सक्दैनन् ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기