करारको महत्त्वः पुरानो करारमा यहोवा परमेश्वरको मुक्तिको कार्यको इतिहास

11425 읽음
विषयसूची

परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति मुक्तिको कार्य गर्दैहुनुहुन्छ । पुरानो करारको समयमा, पिता यहोवाको नाउँद्वारा कार्य गर्नुभएका परमेश्वरले आफ्नो चुनाउ र करारद्वारा यो कार्यको जग बसाल्नुभयो । उहाँले इस्राएल जातिलाई चुन्नभएर तिनीहरूसँग पुरानो करार स्थापना गर्नुभयो, र त्यो पालन गर्नेहरूलाई बचाउनुभयो । हामीले पुरानो करारद्वारा परमेश्वरले डोऱ्याउनुभएको मुक्तिको कार्यको साधारण बहावलाई देख्न सक्छौं ।

यहोवा परमेश्वरको मुक्तिको कार्यको इतिहासः भाग १ सृष्टिदेखि पितृसत्तात्मक युगसम्म

आदम र हव्वा अदनको बगैँचाबाट निष्कासित

आदिमा यहोवा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो । उहाँले भूमिको माटो र जीवनको सासद्वारा मानिस बनाउनुभएर तिनलाई अदनको बगैँचामा रहने गराउनुभयो । अदनको बगैँचामा, खायो मात्र भने सदाकाल बाँच्न सक्ने जीवनको फल थियो । तर सर्पको छलमा परेर आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखको फल खाई पाप गरे र तिनीहरू अदनको बगैँचाबाट धपाइए ।

परमेश्वरले आदमलाई जीवनको फल पुनः प्राप्त गर्न सकिने सत्यता देखाइदिनुभयो । आदमले यसबारे कयिन र हाबिललाई गवाही दिए । कयिनले त्यो सत्यतालाई ग्रहण गरेनन्, तर हाबिलले चाहिँ ग्रहण गरे । कयिनले आफ्नो इच्छाअनुसार भूमिको उब्जनीबाट परमेश्वरलाई भेटी चढाए । तर हाबिलले आज्ञाकारिताका साथ थुमाको बलिको रगत चढाएकाले परमेश्वरले हाबिलको भेटीलाई ग्रहण गर्नुभयो (उत ४:१-४) । यसरी रगत बगाएर चढाइने बलिको विधि मोशाको पालासम्म हस्तान्तरण हुँदैआयो (उत ८:२०-२१; १२:७; १५:९) ।

परमेश्वरले नोआलाई चुन्नुभयो

आदमका सन्ततिहरूमध्ये हाबिल र हनोकचाहिँ परमेश्वरको इच्छाअनुसार जिउँथे भने अधिकांशचाहिँ त्यसरी जिउँदैनथे । अन्ततः नोआको पालामा आएर संसार दुष्टताले भरियो, र यहोवा परमेश्वरले त्यसलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्नुभयो । तैपनि जलप्रलय हुनुअघि नै उहाँले नोआलाई जहाज बनाउन लगाउनुभएर मुक्तिको अनुग्रह प्रदान गर्नुभयो ।

जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भएर बाबेलको धरहरा बनाई परमेश्वरको इच्छाविरुद्ध गए । दण्डस्वरूप परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभई एक-अर्काको भाषा नबुझ्ने गराइदिनुभयो, र तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो ।

अब्राहामसँग बाँधिएको करार

परमेश्वरले कल्दीहरूको ऊरमा बसिरहेका अब्राहामलाई बोलाउनुभयो, र तिनलाई धेरै सन्तानहरू साथै कनान देश दिने प्रतिज्ञा गर्नुभयो । परमेश्वरको वचनमा अब्राहाम पूर्ण रूपमा आज्ञाकारी भएर कनानतर्फ लागे । अब्राहाम ९९ वर्षका हुँदा परमेश्वरले तिनीसँग करार बाँध्नुभयो । अर्को वर्ष परमेश्वरले तिनलाई सन्तान दिनुभयो, अनि उहाँ तिनका परमेश्वर हुने प्रतिज्ञा गर्नुभयो, र उहाँले खतनालाई करारको चिन्ह बनाउनुभयो (उत १७:१-१४) ।

इसहाक, याकूब र इस्राएल

अब्राहाम १०० वर्षका हुँदा परमेश्वरको प्रतिज्ञाअनुसार साराको कोखबाट इसहाकको जन्म भयो । परमेश्वरले इसहाकलाई अब्राहामको उत्तराधिकारी बनाउनुभयो । इसहाकका दुई जुम्ल्याहा छोराहरू थिएः एसाव र याकूब । परमेश्वरले कान्छो छोरा याकूब जन्मनुअघिबाटै तिनलाई जन्मसिद्ध ज्येष्ठाधिकार र आशिष् दिनलाई चुन्नुभयो । परमेश्वरको आशिष् पाउनको निम्ति हरेक कठिनाइलाई सहेपछि याकूबले ‘इस्राएल’ भन्ने नाउँ पाए ।

कनान देशमा ठूलो खडेरी भयो । परमेश्वरले याकूबका एघारौँ छोरा योसेफद्वारा याकूबका परिवारलाई मिश्र डोऱ्याउनुभएर बचाउनुभयो । समय बित्दैजाँदा याकूबको बाह्र जना छोराहरूबाट इस्राएलको बाह्र कुल गठन भयो । मिश्रमा इस्राएलीहरूको ठूलो जाति बन्यो, र पछि तिनीहरूलाई मिश्रको राजा फारोद्वारा दास बनाइयो ।

यहोवा परमेश्वरको मुक्तिको कार्यको इतिहासः भाग २ प्रस्थानदेखि एकीकृत राजतन्त्रको पालासम्म

इस्राएलसँग बाँधिएको करार र कनानतर्फको यात्रा

यहोवा परमेश्वरले मोशा अगमवक्तालाई पठाउनुभएर इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउनुभयो । त्यसपछि उहाँले सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुहुँदै तिनीहरूसँग करार बाँध्नुभयो, जसलाई ‘पुरानो करार’ अथवा ‘मोशाको व्यवस्था’ भनिन्छ । यसरी आदमको समयदेखि हस्तान्तरण हुँदैआएको रगत बलिको विधिलाई नै व्यवस्थाको रूपमा तोकियो । परमेश्वरले उहाँको करार र व्यवस्था पालन गर्नेहरूलाई आफ्ना प्रजा घोषणा गर्नुभयो ।

परमेश्वरले उहिले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको वचनअनुसार इस्राएलीहरूलाई कनानमा डोऱ्याउनुभयो । अनि कनान डोऱ्याउने क्रममा उहाँले तिनीहरूलाई परमेश्वरको करार पालन गर्न लगाएर आशिष् दिलाउन आफ्नो करार र व्यवस्था सिकाउनुभयो । इस्राएलीहरूको उजाड-स्थानको ४० वर्षको यात्रामा, उहाँले तिनीहरूको विश्वास र आज्ञाकारितालाई जाँच गर्नुभयो (व्य ८:१-१६) । पहिलो पुस्ताका प्रायः इस्राएलीहरू त्यो जाँचमा उत्तीर्ण हुन सकेनन्, र उजाड-स्थानमै नष्ट भए । यहोशू र कालेब, अनि दोस्रो पुस्ताका इस्राएलीहरूले मात्र कनानमा प्रवेश गरेर विश्राम पाए ।

करारलाई बिर्सेर मूर्तिलाई पुजेका

४० वर्षको उजाड-स्थानको जीवन बिताएपछि इस्राएलीहरू कनानमा पुगे, र धेरै युद्धहरू गरेपछि तिनीहरूले कनान देशमाथि विजय गरे । तर “त्यस भूमिमा जिइरहेका जातिहरू सबैलाई त्यहाँबाट निकाल्नू” भन्ने परमेश्वरको वचनलाई तिनीहरूले पूर्ण रूपमा पालन गरेनन्, र परमेश्वरको करारलाई पनि बिर्से । परिणामस्वरूप तिनीहरूले कनानीहरूलाई पछ्याउँदै मूर्तिपूजा गरे । त्यस पापका कारण शत्रुहरूबाट दुर्व्यवहार र दमन पाएका इस्राएलीहरूले परमेश्वरसमक्ष बिन्ती गरे । तब परमेश्वरले न्यायकर्ताहरू नियुक्त गरिदिनुभएर तिनीहरूलाई शत्रुबाट बचाइदिनुभयो । तर शान्ति पाउनेबित्तिकै तिनीहरूले परमेश्वरको अनुग्रहलाई बिर्सेर फेरि पाप गर्न पुगे । न्यायकर्ताहरूको अवधिभरि पापको यस दुष्चक्र दोहोरिरह्यो ।

न्यायकर्ताहरूको युगको अन्तमा, इस्राएलीहरूले आफ्ना वरिपरिका देशहरूमा झैँ एक राजा नियुक्त गरिदिन परमेश्वरसमक्ष बिन्ती गरे । परमेश्वरले तिनीहरूलाई राजतन्त्रको खराबीको बारेमा बताइदिनुभयो, तर तिनीहरूले त्यसमा कान लगाएनन् । अन्ततः परमेश्वरले शाऊललाई इस्राएलका पहिलो राजाको रूपमा नियुक्त गर्नुभयो, र त्यसपछि एकीकृत राजतन्त्रको युग सुरु भयो । पछि, परमेश्वरले अनाज्ञाकारी शाऊललाई इन्कार गर्नुभयो, र दाऊदलाई राजा नियुक्त गर्नुभयो । दाऊदले सियोनलाई जिते, अनि यरूशलेमलाई नयाँ राजधानी बनाएर त्यहाँ करारको सन्दूक ल्याए । दाऊदले परमेश्वरको करार र विधिलाई ईमानदारितापूर्वक पछ्याएकाले परमेश्वरले तिनलाई ‘मेरो हृदयअनुसारको मान्छे’ भनी स्वीकार्नुभयो । दाऊदको शासनकालमा इस्राएल समृद्ध भयो ।

यहोवा परमेश्वरको मुक्तिको कार्यको इतिहासः भाग ३ विभाजित राज्यको युगदेखि कैदबाट फर्केको समयसम्म

सोलोमनको मूर्तिपूजा र इस्राएल विभाजन

दाऊदको छोरा सोलोमनको पालामा, यरूशलेममा मन्दिर निर्माणको ऐतिहासिक कार्य सम्पन्न भयो, र इस्राएलले परमेश्वरबाट प्रशस्त आशिष् पायो । तर सोलोमनले आफ्नो शासनकालको अन्त्यतिर परमेश्वरको करार र विधिलाई त्यागेर अश्तोरेत र मोलोखजस्ता मूर्तिहरूलाई पुज्न थाले । परिणामस्वरूप सोलोमनको मृत्युपछि इस्राएल देश उत्तर इस्राएल र दक्षिण यहूदा गरी दुई राज्यमा विभाजित भयो ।

सुरुमा उत्तर इस्राएलले परमेश्वरको करारलाई त्यागेर सुनको बाछा पुजी तुरुन्तै परमेश्वरबाट टाढियो । तिनीहरूले आफ्नो इतिहासभरि नै मूर्तिपूजा गरिरहे, र परमेश्वरलाई घिन लाग्ने बाल र अशेराजस्ता अन्य देवताहरूको उपासना गरे । त्यो गम्भीर पापका कारण परमेश्वरले तिनीहरूलाई सुरक्षा गर्नुभएन, अनि ई.पू. ७२१मा तिनीहरू अश्शूरी साम्राज्यद्वारा नष्ट भए ।

कहिलेकहीँ दक्षिण यहूदाले ईमानदारिताका साथ परमेश्वरको सेवा गरे, र विदेशीहरूको आक्रमणबाट बचे । उदाहरणका लागि, दक्षिण यहूदाका राजा यहोशापातले दाऊदको पाइलालाई पछ्याउँदै परमेश्वरको व्यवस्था पालन गरेकोले मोआब र अम्मोनको आक्रमणबाट देशलाई बचाए । हिजकिया राजाको शासनकालमा, लामो समयसम्म नमनाइएको निस्तार-चाड मानेर यहूदा देश अश्शूरको आक्रमणबाट बचेको थियो ।

करारलाई लत्याएको हुनाले बेबिलोनको कब्जामा परेको

दक्षिण यहूदाले निस्तार-चाड मान्यो, र ई.पू. ५८६मा बेबिलोनको आक्रमण हुन अघिसम्म परमेश्वरको सुरक्षा प्राप्त गऱ्यो । तर तिनका सन्ततिहरूले परमेश्वरको करारलाई लत्याएकाले बेबिलोनको आक्रमणमा परे, प्रजाहरू बन्दी बनाएर लगिए, अनि दक्षिण यहूदाको राजधानी रहेको यरूशलेम उजाड भयो (२ राज २४:१४) ।

यहूदाका मानिसहरू ७० वर्षपछि आफ्नो गृहनगर फर्कनेछन् भनेर परमेश्वरले यर्मिया अगमवक्ताद्वारा अगमवाणी गर्नुभएको थियो (यर २५:११) । अगमवाणी गरिएको ७० वर्षपछि, अगमवाणीलाई विश्वास गर्दै धैर्य गरेकाहरू खुशी र हर्षसाथ आफ्नो गृहनगर फर्के । तिनीहरूले सामरीहरूको अवरोध लगायत विभिन्न कठिनाइहरूको बाबजुद यरूशलेम मन्दिर पुनर्निर्माण गर्न हरप्रयत्न गरे । तिनीहरू विदेशको आक्रमणमा परेको, र देशविहीन भएकोचाहिँ परमेश्वरको करारलाई लत्याएकोले गर्दा हो भनी तिनीहरूले महसुस गरे । यसपछि तिनीहरूले मोशाको व्यवस्था पालन गर्न व्यग्रतापूर्वक प्रयत्न गरे । तिनीहरूले येशूज्यूको पहिलो आगमनको समयसम्म व्यवस्था पालन गरिरहे ।

यहोवा परमेश्वरको मुक्तिको कार्य र करारको महत्त्व

पुरानो करारमा यहोवा परमेश्वरले नेतृत्व गर्नुभएको मुक्तिको कार्यको केन्द्रबिन्दु नै करार थियो । बलि चढाएर परमेश्वरसँग करार बाँध्ने मानिसहरू नै परमेश्वरका प्रजाहरू हुन् (भज ५०:४-५) । यसले परमेश्वर र उहाँका प्रजाहरू व्यवस्था र करारद्वारा आपसमा बाँधिएका हुन्छन् भन्ने कुरा देखाउँछ । करार पालन गर्नेहरूलाई परमेश्वरले सधैँ आशिष् दिनुभयो, तर करारलाई हटाउने वा लत्याउनेहरूलाई भने उहाँले नष्ट गर्नुभयो (यर ११:६-११) ।

उदाहरणको लागि, दक्षिण यहूदाका हिजकिया राजाले आफ्नो शासनकालमा मन्दिरलाई पवित्र गरे, र लामो समयसम्म नमनाइएको परमेश्वरको करार निस्तार-चाड माने । निस्तार-चाड मान्न आऊन् भनी तिनले उत्तर इस्राएलमा समाचारवाहकहरू पठाए, तर त्यहाँका मानिसहरूले उल्टै ती समाचारवाहकहरूको गिल्ला र हाँसो गरे (२ इति ३०:१-१०) । पछि गएर अश्शूरी सेनाद्वारा उत्तर इस्राएल विनाश भयो । तर करारलाई पालन गरेका दक्षिण यहूदाले चाहिँ परमेश्वरको सुरक्षा पायो (२ राज १८:९-१२; १९:३०-३४) ।

यो इतिहास योशियाह राजाको पालामा पनि दोहोरियो । योशियाह राजाले करारको वचनअनुसार निस्तार-चाड माने, र परमेश्वरले तिनलाई आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरको व्यवस्था पालन गरेका व्यक्तिको संज्ञा दिनुभयो (२ राज २३:२१-२५) । तर योशियाहको मृत्युपछि यहूदाले परमेश्वरको करारलाई लत्यायो, र बेबिलोनको आक्रमणमा परेर नष्ट भयो । यहूदामाथि विपत्ति आउनुको कारणबारे परमेश्वरले यर्मिया अगमवक्ताद्वारा स्पष्टसित बताइदिनुभयो ।

“जब परमप्रभुले तिमीहरूका दुष्ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्दाविना उजाड भएको थियो, जस्तो आज पनि छ । तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्यवस्था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्छ, तिमीहरूमाथि आएको हो ।” यर ४४:२२-२३

यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नुहुने

परमेश्वरले शारीरिक इस्राएलीहरूलाई चुन्नुभएर तिनीहरूसँग पुरानो करार स्थापना गर्नुभएर तिनीहरूलाई डोऱ्याउनुभएको कारणचाहिँ त्योद्वारा आत्मिक इस्राएलीहरू अर्थात् मुक्ति पाउने सन्तहरूलाई शिक्षा दिनको निम्ति हो (रोम १५:४) । पुरानो करार ईमानदारितापूर्वक पालन गरेकाहरूले आशिष् पाएजस्तै, वर्तमान युगमा पनि परमेश्वरको करारलाई अमूल्य ठानेर पालन गर्नेहरूले मुक्तिको आशिष् पाउनेछन् ।

परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोऱ्याएर ल्याएको थिएँ ।” परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ ।” … “तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।” यर ३१:३१-३३

यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि नयाँ करारको व्यवस्था पालन गर्ने मानिसहरू नै उहाँका प्रजा हुनेछन् र उहाँचाहिँ तिनीहरूका परमेश्वर हुनुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो । यो अगमवाणी, नयाँ करारको समयमा येशूज्यूले मर्कूसको माथिल्लो तलामा चेलाहरूसँग निस्तार-चाड मान्नुभएर नयाँ करार स्थापना गर्नुहुँदा पूरा भयो (लूक २२:१९-२०) । पुरानो करारको समयमा परमेश्वरले आफ्ना चुनिएका प्रजासँग करार र व्यवस्था स्थापना गर्नुभयो, र विश्वासद्वारा ती पालन गर्नेहरूमाथि अनुग्रह गर्नुभयो । नयाँ करारको समयमा पनि, उहाँले चुनिएका प्रजाका लागि नयाँ करार र ख्रीष्टको व्यवस्था स्थापना गर्नुभएर नयाँ करार मान्नेहरूलाई मुक्ति र अनन्त जीवनको आशिष् दिनुहुन्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기