सर्वशक्तिमान् परमेश्वर मानिसको रूपमा देखा पर्न सक्नुहुन्छ ।
मानिसको रूपमा आउन सक्नुहुने परमेश्वर
मानिस परमेश्वर बन्न सक्दैन, तर सर्वशक्तिमान् परमेश्वरचाहिँ मानिसको रूपमा आउन जति पनि सक्नुहुन्छ । परमेश्वरले गर्नुभएको आकाश र पृथ्वीको सृष्टि-कार्य अथवा लाल समुद्र फटाउनुभएको कार्यलाई यदि तपाईं विश्वास गर्नुहुन्छ भने परमेश्वर मानिसको रूपमा देखा पर्न सक्नुहुन्छ भन्ने यथार्थतालाई पनि तपाईंले सजिलै विश्वास गर्न सक्नुहुन्छ ।
मानिसको रूपमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने धर्म नै ख्रीष्टियान धर्म
ख्रीष्टियान धर्मको केन्द्रबिन्दु भनेकै मानिसको रूपमा आउनुभएका परमेश्वरलाई विश्वास गर्नु हो । ख्रीष्ट भन्नाले सम्पूर्ण मानव-जातिलाई बचाउन मानिसको रूपमा आउनुहुने परमेश्वर हुनुहुन्छ, र उहाँलाई विश्वास गर्ने धर्मलाई ख्रीष्टियान धर्म भनिन्छ ।
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । यशै ९:६
यशैया अगमवक्ताले ‘शक्तिशाली परमेश्वर, अनन्तका पिता’ एक जना बालक अर्थात् मानिसको रूपमा जन्मनुहुनेछ भनेर अगमवाणी गरे । यो अगमवाणीलाई पूरा गर्नुभएका व्यक्ति नै येशूज्यू हुनुहुन्छ (लूक १:३१-३३), र उहाँ येशूज्यूलाई विश्वास गर्ने धर्म नै ख्रीष्टियान धर्म हो । यसकारण यदि तपाईं बाइबलका अगमवाणीहरूलाई विश्वास गर्नुहुने साँचो ख्रीष्टियान हुनुहुन्छ भने तपाईंले परमेश्वर बालकको रूपमा जन्मन सक्नुहुन्छ भन्ने कुरालाई विश्वास गर्नैपर्छ । प्रेरित पावलले येशू ख्रीष्ट नै मानिस हुनुहुन्छ भनेर जोड दिने क्रममा उहाँ येशूज्यू सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसको युगानयुग स्तुति होस् भनेर पनि गवाही दिए ।
किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ– मानिस, ख्रीष्ट येशू । १ तिमो २:५
पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्छ, सर्वोच्च परमेश्वर, जसको युगानयुग स्तुति होस् । आमेन । रोम ९:५
बाइबलको अगमवाणी र अडिग सोचाइ
करीब २,००० वर्षअघि यहूदीहरूले येशू ख्रीष्टलाई बाइबलको अगमवाणीअनुसार शरीरमा आउनुभएका परमेश्वरको रूपमा चिनेनन् । किनभने तिनीहरू, परमेश्वर मानिसको रूपमा आउन सक्नुहुन्न भन्ने अडिग सोचाइमा जकडिएका थिए ।
“पिता र म एक हौं ।” यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए । येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ ?” यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ ।” यूह १०:३०-३३
अन्ततः तिनीहरूले ख्रीष्टलाई इन्कार गरे, र उहाँलाई क्रूसमा टाँग्ने जघन्य पाप गर्न पुगे । तर प्रेरितहरूले चाहिँ बाइबलका अगमवाणीहरूलाई पूर्ण विश्वास गरेकाले तिनीहरूले मानिसको रूपमा आउनुभएका परमेश्वरलाई ग्रहण गरे (यूह ५:३९; लूक २४:२५-२७; प्रे १७:२-३) । त्यो घटना यस युगमा पनि दोहोरिन्छ । अडिग सोचाइलाई हटाएर बाइबलका अगवाणीहरूलाई पूर्ण विश्वास गर्नेहरूले नै दोस्रो आगमनका ख्रीष्टलाई ग्रहण गर्न सक्नेछन् ।