मुक्तिदाता येशू ख्रीष्टको विषयमा गवाही दिने बाइबल
| मानिसहरूले मुक्तिदातालाई इन्कार गर्नुको कारण

7396 읽음

मुक्तिदाता येशू ख्रीष्ट । योचाहिँ वर्तमान संसारमा जताततै सुनिने शब्द हो । तर २,००० वर्षअघिचाहिँ अवस्था फरक थियो । यो पृथ्वीमा आउनुभएका मुक्तिदाता येशूज्यूलाई ‘नासरी पन्थ’ भन्ने संज्ञा दिइएको, अनि यहूदीहरूबाट सताइएर इन्कार गरिएको थियो । चेलाहरू, त्यो पनि केहीले मात्र येशूज्यूलाई मुक्तिदाताको रूपमा चिनेर पछ्याएका थिए ।

मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुहुने मुक्तिदातालाई कसरी चिन्न सकिन्छ होला ? साँचो ख्रीष्टलाई चिनाउने निश्चित आधार र प्रमाण नै बाइबल हो । येशूज्यूले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभयो, अनि चेलाहरूले पनि बाइबलको अगमवाणीद्वारा मुक्तिदाता येशू ख्रीष्टलाई महसुस गरी उहाँको प्रचार गरे । बाइबलचाहिँ मुक्तिदाता हुनुभएका ख्रीष्टको विषयमा गवाही दिने पुस्तक हो । परमेश्वरले हामीलाई बाइबल दिनुको सबैभन्दा ठूलो उद्देश्य यही नै हो ।

“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” यूह ५:३९

मुक्तिदाता येशू ख्रीष्टले “बाइबलले मेरो विषयमा गवाही दिएको छ” भन्नुभयो । यसरी बाइबलले मुक्तिदाताको विषयमा गवाही दिएकोले, मुक्तिदाता र बाइबलबीच अविभाज्य सम्बन्ध छ । बाइबलले गवाही दिएको मुक्तिदातालाई मानिसहरूले इन्कार गर्नुको कारणचाहिँ तिनीहरूले बाइबललाई हृदयदेखि विश्वास नगरेकाले गर्दा हो ।

मुक्तिदाता येशू ख्रीष्टले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभयो

यूहन्ना अध्याय ५मा भनिएजस्तै, मुक्तिदाता येशू ख्रीष्टले अन्य कुराद्वारा होइन तर बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभयो ।

तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो(येशूज्यूको) विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो ।लूक २४:२७

योचाहिँ येशूज्यूको पुनरुत्थानपछि, इम्माउसतिर गइरहेका दुई जना चेलाहरूका अगाडि येशूज्यू देखा पर्नुभएर आफ्नो विषयमा गवाही दिनुहुँदाको दृश्य हो । ती दुई चेलाहरू, त्यस बेलासम्म पनि येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन सकेका थिएनन् । तब येशूज्यूले ‘मोशा र सबै अगमवक्ताहरूका पुस्तकबाट’ आफ्नो विषयमा गवाही दिनुभयो । यहाँ मोशा, यशैया, यर्मियाजस्ता अगमवक्ताहरू सबै बाइबलका लेखकहरू हुन् । येशूज्यूले बाइबलद्वारा, आफू मुक्तिदाता रहेको कुरा गवाही दिनुभयो ।

प्रेरितहरूले पनि बाइबलद्वारा येशूज्यूको विषयमा गवाही दिए

येशूज्यूलाई विश्वास गरेका प्रेरितहरूले पनि बाइबलद्वारा, येशूज्यू नै मुक्तिदाता हुनुहुन्छ भनी गवाही दिए ।

पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे । “ख्रीष्टलाई अवश्य दु:ख भोग्नु र मृतकबाट जीवित हुनुपर्थ्यो, र यी नै येशू, जसको सुसमाचार म तिमीहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलीकन तिनले प्रमाणित गरिदिए । प्रे १७:२-३

यसरी प्रेरित पावलले बाइबलद्वारा, मुक्तिदाता येशू ख्रीष्टको विषयमा प्रचार गरे ।

तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए । प्रे ८:३५

योचाहिँ फिलिपले इथियोपियाका उच्च पदाधिकारी रहेका नपुंसकलाई प्रचार गरेको दृश्य हो । तिनले ‘धर्मशास्त्रको यसै खण्ड’बाट सुरु गरेर येशूज्यूको विषयमा गवाही दिए भनिएको छ । पद ३०मा ‘धर्मशास्त्रको यसै खण्ड’ भन्नाले यशैया अगमवक्ताको पुस्तक अर्थात् बाइबल हो ।

फिलिप तिनीकहाँ दौडेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढिरहेको सुनेर उनले सोधे, “तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ ?” प्रे ८:३०

येशज्यू र प्रेरितहरू सबैले, येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बाइबलद्वारा गवाही दिनुभयो । कारण बाइबलद्वारा विना कसैले पनि मुक्तिदातालाई चिन्न सक्दैन । साथै बाइबलले गवाही दिएको ख्रीष्टचाहिँ निश्चय नै येशूज्यू हुनुहुन्छ । निष्कर्षमा भन्नुपर्दा, नयाँ करारका प्रेरितहरू र अगमवक्ताहरूले बाइबललाई पूर्ण विश्वास गरेकाले तिनीहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा चिनेर ग्रहण गर्न सके ।

बाइबल विश्वास नगर्नेहरूले मुक्तिदातालाई इन्कार गर्छन्

पहिलो आगमनको समयका धार्मिक नेताहरूले बाइबलद्वारा अगमवाणी गरिनुभएका र गवाही पाउनुभएका मुक्तिदाता येशू ख्रीष्टलाई किन चिन्न नसकी उल्टै क्रूसमा टाँगेका होलान् ? तीचाहिँ अरूले भन्दा आफूले बाइबल राम्ररी जानेको छु भनेर गर्व गर्ने मानिसहरू थिए । तर तिनीहरूमा न बाइबलप्रति ज्ञान थियो, न त विश्वास । बाइबलले गवाही दिएको परमेश्वरको बारेमा तिनीहरूलाई केही थाहा थिएन ।

“किनभने तिमीहरूले मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए । तर तिमीहरू उनले लेखेका कुराहरू विश्वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्वास गर्छौ ?” यूह ५:४६-४७

मानिसहरूले येशूज्यूलाई विश्वास नगर्नुको कारणचाहिँ तिनीहरूले मोशाले लेखेका कुरालाई विश्वास नगरेकाले गर्दा हो भनेर येशूज्यूले भन्नुभयो । यहाँ मोशाले लेखेका कुराहरू भन्नाले उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था गरेर ५ वटा पुस्तकहरू हुन् । अर्थात् तिनीहरूले बाइबललाई विश्वास नगरेका हुनाले येशूज्यूलाई ख्रीष्टको रूपमा विश्वास गर्न सकेनन् । तिनीहरू बाहिरी रूपमा चाहिँ बाइबललाई विश्वास गर्नेजस्ता देखिन्थे तर वास्तवमा तिनीहरूले विश्वास गर्दैनथे । तिनीहरूले बाइबललाई अक्षरस रूपमा मात्र विश्वास गरे, तर त्यहाँ लेखिएका वचनहरू यथार्थतामा पूरा हुँदाचाहिँ विश्वास गरेनन् ।

परमेश्वर ख्रीष्टको रूपमा आउनुहुने बारे थुप्रै अगमवाणीहरू बाइबलमा लेखिएका छन् । येशूज्यूले ती सबै अगमवाणीहरू प्रत्यक्ष रूपमा एक-एक गर्दै पूरा गर्नुभएको देखेर पनि त्यस बेलाका धार्मिक नेताहरूले येशूज्यूलाई इन्कार गरे । तिनीहरू हृदयदेखि बाइबललाई विश्वास गर्ने मानिसहरू थिएनन् । बाइबलले प्रष्टसँग गवाही दिएको मुक्तिदातालाई तिनीहरूले इन्कार गर्नु भनेकै, तिनीहरूले बाइबललाई सही तरिकाले विश्वास गर्दैनथे भन्ने कुराको प्रमाण हो ।

“मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्दा ठूलो हुँदैन ।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन् । तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन् । तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन् ।” यूह १५:२०-२१

मानिसहरूले येशूज्यूलाई र चेलाहरूलाई सताएका चाहिँ, तिनीहरूले ‘मलाई पठाउनुहुनेलाई’ अर्थात् परमेश्वरलाई नचिनेकाले हो भनेर येशूज्यूले भन्नुभयो । हामीले बाइबलद्वारा मात्र साँचो परमेश्वरलाई चिन्न सक्छौं । त्यो समयका धार्मिक नेताहरूले आफूले परमेश्वरलाई राम्ररी चिनेको छु भनेर गर्व गर्दै हिँड्थे । तर वास्तवमा तिनीहरू आफ्नै विचारमा अडिग रहे, र बाइबलले गवाही दिएको परमेश्वरलाई तिनीहरूले चिन्न खोजेनन् ।

बाइबलमा हेर्दा, ‘सर्वशक्तिमान्’ परमेश्वर मानिसको स्वरूपमा जति पल्ट पनि देखा पर्न सक्नुहुन्छ । तिनीहरू मुखले चाहिँ परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ त भन्थे । तर परमेश्वर शरीर धारणमा आउनुहुने कुरालाई चाहिँ इन्कार गर्थे । तिनीहरूले परमेश्वर स्वर्गको महिमित सिंहासनमा विराजमान हुनुभएको स्वरूपलाई मात्र चिने । तर यो पृथ्वीमा शरीर धारण गरेर आउनुहुने उहाँको रूपलाई भने पटक्कै चिन्न सकेनन् । त्यसैले बाइबलको अगमवाणीअनुसार मानिसको रूपमा आउनुभएका मुक्तिदाता येशू ख्रीष्टलाई तिनीहरूले सताए, र अन्ततः उहाँलाई क्रूसमा टाँगे ।

यसरी येशूज्यूको पहिलो आगमनको समयमा धार्मिक अधिकार लिएका त्यस बेलाका धार्मिक नेताहरूले मुक्तिदाता येशू ख्रीष्टलाई चिन्न नसक्नुको कारणचाहिँ तिनीहरूले बाइबललाई ठीकसँग नबुझेकाले र परमेश्वरलाई ठीकसँग नचिनेकाले गर्दा थियो । वर्तमान यस युगमा पनि बाइबल र परमेश्वरलाई ठीकसँग बुझ्ने र हृदयदेखि विश्वास गर्ने मानिसहरूले मात्र, यो पृथ्वीमा शरीरमा आउनुहुने परमेश्वर अर्थात् ख्रीष्टलाई ग्रहण गर्न सक्नेछन् ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기