पवित्र आत्मा भनेको के हो ?
बाइबलमा पवित्र आत्मासम्बन्धी सब कुरा

19449 읽음

शब्दकोशमा पवित्र आत्माको अर्थ ‘त्रिएकमध्येको एक हुनुभएका परमेश्वरको आत्मा,’ साथै ख्रीष्टियानहरूको आत्मिक जीवनको आधारभूत शक्तिको मुख्य अङ्ग’ हो । त्यसोभए के पवित्र आत्मा भनेको व्यक्ति अथवा अदृश्य सक्रिय शक्ति हो ? यदि व्यक्ति हो भने परमेश्वरजस्तै व्यक्ति होला कि फरक व्यक्ति होला ? यसबारे बाइबलमा स्पष्टसँग उत्तर दिइएको छ । पवित्र आत्माचाहिँ व्यक्तित्व लिनुभएका परमेश्वर हुनुहुन्छ, जसले परमेश्वरका प्रजालाई पवित्र आत्माको वरदान दिनुहुन्छ । २,००० वर्षअघि पुत्र येशूज्यूको रूपमा देखा पर्नुभएका पवित्र आत्मा अन्तिम युगमा दोस्रो पल्ट आउनुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।

पवित्र आत्मा भनेको के हो ?

कसै-कसैले पवित्र आत्मा भनेको विद्युतीय छाल अथवा ऊर्जाजस्तै सक्रिय शक्ति हो भन्दै जिद्दी गर्छन् । तर यो साह्रै गलत कुरा हो । बाइबलमा हेर्दा, परमेश्वरका प्रजाले कुनै गलत कार्य गर्दाखेरि पवित्र आत्मा दु:खित बन्नुहुन्छ भनिएको छ (एफि ४:३०) । पवित्र आत्माले सुस्केरामा प्रार्थना पनि गर्नुहुन्छ, र सोच्नु पनि हुन्छ (रोम ८:२६-२७) । उहाँ बोल्नु पनि हुन्छ (प्रे १०:१९-२०) । यी सबै कार्यहरू सोचाइ र भावना भएको अस्तित्वले मात्र गर्न सक्छ । यो नै, पवित्र आत्मा केवल सक्रिय शक्ति होइन भन्ने कुराको स्पष्ट प्रमाण हो । पवित्र आत्मा अर्थात् परमेश्वरको आत्माचाहिँ परमेश्वरभन्दा फरक अस्तित्व नभएर उही परमेश्वर हुनुहुन्छ । किनभने परमेश्वर स्वयम् आत्मा हुनुहुन्छ (यूह ४:२४) ।

… किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ । मानिसभित्र रहेको आफ्नै आत्माबाहेक कसले मानिसका विचारलाई बुझ्न सक्छ ? त्यसरी नै परमेश्वरका विचार परमेश्वरका आत्माबाहेक कसैले बुझ्दैन । १ कोर २:१०-११

मानिसको विचार ऊ आफूले मात्र जान्न सकेजस्तै, परमेश्वरको विचार पनि परमेश्वरले मात्र जान्न सक्नुहुन्छ । तर परमेश्वरले मात्र जान्नुहुने परमेश्वरका सम्पूर्ण रहस्यहरू पवित्र आत्मा जान्नुहुन्छ भनेर बाइबलमा लेखिएको छ । यदि पवित्र आत्माचाहिँ परमेश्वरभन्दा फरक अस्तित्व हुनुभएको भए यो असम्भव थियो । यसकारण परमेश्वरको आत्मा अर्थात् पवित्र आत्माचाहिँ आत्मामा रहनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ ।

पवित्र आत्माका वरदान के-के हुन् ?

मण्डलीमा जानुहुँदा तपाईंले “पवित्र आत्मा पाउनुहोस्,” “पवित्र आत्मा माग्नुहोस्” आदि भनेको सुन्नुहुनेछ । त्यसैले प्राय: मानिसहरुले पवित्र आत्मा भनेको केवल शक्ति अथवा परमेश्वरको वरदान हो भनेर गलत तरिकाले बुझ्ने गर्छन् । तर ‘पवित्र आत्मा’ र ‘पवित्र आत्माको वरदान’ एक-अर्कामा फरक कुरा हुन् । पवित्र आत्मा हामीमा वास गर्नुहुँदा पवित्र आत्माको शक्ति प्रकट हुन्छ । यस्तो शक्ति अथवा वरदानलाई नै पवित्र आत्माको वरदान भन्ने गरिन्छ । अर्थात् पवित्र आत्माले अनुग्रहद्वारा दिनुहुने उपहार भन्ने कुरा हो । पवित्र आत्माको वरदान विभिन्न किसिमको हुन्छ, र पवित्र आत्माले उहाँको इच्छाअनुसार प्रत्येक मानिसलाई ती वरदान दिनुहुन्छ (१ कोर १२:४-११) । योद्वारा थाहा हुन्छ, कि पवित्र आत्मा भनेको आफैमा कुनै शक्ति होइन तर प्रत्येकमा विभिन्न क्षमता होओस् भनेर वरदान दिनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ ।

अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । प्रे २:४

पेन्तिकोसको चाड मानेका सुरुको मण्डलीका सन्तहरूले ‘पवित्र आत्माले दिनुभएको उच्चारणबमोजिम’ अन्य भाषाहरूमा बोल्ने वरदान पाए । फेरि भन्नुपर्दा पवित्र आत्मा सन्तहरूमाथि ओर्लनुभएर कार्य गरिदिनुभएपछि तिनीहरूले अन्य भाषामा बोल्ने पवित्र आत्माको वरदान प्रकट भयो । यसको अतिरिक्त बाइबलका ठाउँ-ठाउँमा ‘पवित्र आत्मा खन्याइयो,” र “पवित्र आत्मा पाए” भन्ने खालका अभिव्यक्तिहरू पनि छन् । सीधै भन्नुपर्दा यसले पवित्र आत्माको वरदानलाई जनाउँछ, जसलाई सरल तरिकाले पवित्र आत्मा भनेर अभिव्यक्त गरिएको छ (प्रे २:१८, ३३) । प्रसङ्गको आधारमा, यसले आत्मामा रहनुभएका परमेश्वरलाई जनाएको छ कि पवित्र आत्माको वरदानलाई जनाएको छ भन्ने कुरालाई हामीले छुट्‌ट्याउनुपर्छ ।

पवित्र आत्मा र पुत्र येशूज्यू एकै हुनुहुन्छ

२,००० वर्षअघि परमेश्वरका आत्मा अर्थात् पवित्र आत्मा शरीर धारण गरेर पुत्रको रूपमा यो पृथ्वीमा आउनुभयो, जो मरियमको कोखबाट जन्मनुभएका पुत्र येशूज्यू हुनुहुन्छ (यशै ९:६; मत्ती १:१८-२३) । येशूज्यूलाई शरीर धारण गरेर यो पृथ्वीमा आउनुभएका परमेश्वर को रूपमा ठीकसँग चिनेका प्रेरितहरूले पवित्र आत्मा र येशूज्यू एकै हुनुहुन्छ भनी गवाही दिए ।

त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ … ख्रीष्ट येशू, हुनुहुन्छ, जो … परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । रोम ८:२६-२७, ३४

प्रेरित पावलले एकातिर, पवित्र आत्माले सन्तहरूका निम्ति प्रार्थना गरिदिनुहुन्छ भने र अर्कातिर येशूज्यूले सन्तहरूका निम्ति प्रार्थना गर्नुहुन्छ भनेर गवाही दिए । यो नै पवित्र आत्मा र येशूज्यू एकै हुनुहुन्छ भन्ने अर्थ हो । प्रेरित पत्रुसले पनि उस्तै इच्छामा यसरी लेखे ।

तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए । १ पत्र १:१०-११

सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । २ पत्र १:२०-२१

पत्रुसले, पुरानो करारका अगमवक्ताहरूले अगमवाणी लेख्दा ख्रीष्टको आत्माबाट प्रेरणा पाएर लेखेका थिए भने, र अर्कातिर चाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर लेखेका थिए भनेका छन् । यसबाट पनि, पवित्र आत्मा र येशूज्यू एकै हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ ।

पवित्र आत्माचाहिँ दोस्रो आगमनका येशूज्यू

नयाँ करार बाइबलमा ‘पवित्र आत्मा’ले पवित्र आत्माको युगका मुक्तिदाता दोस्रो आगमनका येशूज्यूलाई पनि सङ्केत गर्दछ ।

… किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् … अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” … प्रका १९:७–९

यहाँ ‘थुमा’चाहिँ दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । कारण पहिलो आगमनमा देखा नपर्नुभएकी दुलही पनि थुमासँगै देखा पर्नुभएको छ । यसरी प्रेरित यूहन्नाले अन्तिम समयमा दुलहा हुनुभएका दोस्रो आगमनका येशूज्यूसँगै दुलही(थुमाकी पत्नी) पनि देखा पर्नुहुनेछ भनेर अगमवाणी गरे । तर एउटै हातद्वारा लिखित प्रकाश अध्याय २२मा चाहिँ पवित्र आत्मा र दुलही देखा पर्नुभएर सबैलाई स्वर्गीय विवाह भोजमा निमन्त्रणा दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । प्रका २२:१७

अर्थात् अन्त्यको समयमा सुन्नेहरू, तिर्खाउनेहरू र इच्छा गर्नेहरूलाई सित्तैँमा जीवनको पानी(मुक्ति) दिनुहुने मुक्तिदाता दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा हो । येशूज्यू स्वयम्‌ले पनि आफ्नो दोस्रो आगमनको बारेमा निम्नानुसार अगमवाणी गर्नुभयो ।

“र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । … म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु ।” यूह १४:१६-१८

येशूज्यूले, पिताले अर्को सल्लाहकारदिनुहुनेछ भन्नुभयो र लगतै “म तिमीहरूकहाँ आउनेछु” भन्नुभयो । यो नै येशूज्यू स्वयम् अर्को सल्लाहकारको रूपमा फेरि आउनुहुनेछ भन्ने अर्थ हो । यहाँ ‘अर्को सल्लाहकार’ले भविष्यमा आउनुहुने पवित्र आत्मालाई जनाउँछ ।

“तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।” यूह १४:२६

येशूज्युले गवाही दिनुभएको ‘मेरो नाउँमा पठाउनुहुने पवित्र आत्मा’ले चाहिँ पहिलो आगमनपछि फेरि आउनुहुने पवित्र आत्मा परमेश्वरको रूपमा अन्तिम युगमा देखा पर्नुहुने मुक्तिदाता दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । यसरी येशूज्यूले दोस्रो पल्ट आउनुहुने आफैलाई पवित्र आत्मा भन्नुभयो ।

पवित्र आत्माको नाउँ के हो ?

संसारको अन्त्यको बारेमा पूर्वानुमान गर्नुभएका येशूज्यूले पिता र पुत्रको मात्र नाउँ होइन तर पवित्र आत्माको पनि नाउँ छ भन्नुभयो ।

“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, … ” मत्ती २८:१९-२०

पिताको नाउँ भन्नाले पिताको युगका मुक्तिदाताको नाउँ हो, र पुत्रको नाउँ भन्नाले पुत्रको युगका मुक्तिदाताको नाउँ हो । यी नाउँहरूसँगै पवित्र आत्माको नाउँ पनि उल्लेख गरिएकोले पवित्र आत्माको नाउँले पवित्र आत्माको युगका मुक्तिदाताको नाउँलाई जनाउँछ ।

प्रकाशको पुस्तकमा पवित्र आत्माको नाउँलाई येशूज्यूको नयाँ नाउँ, अर्थात् दोस्रो आगमनका येशूज्यूको नाउँको रूपमा अगमवाणी गरिएको छ (प्रका ३:१२; २:१७) । त्यसैले मत्ती २८:१९मा भनिएको ‘पवित्र आत्मा’ले पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । खासमा पवित्र आत्मा भनेको परमेश्वरको आत्मा त हो, तर अर्कातिर यसले पवित्र आत्माको युगका मुक्तिदाता दोस्रो आगमनका येशूज्यूलाई पनि सङ्केत गर्दछ ।

मूलभूत रूपमा परमेश्वर हुनुभएका पवित्र आत्माले पिताको युग र पुत्रको युग दुवै समयमा आफ्ना प्रजासँगै रहनुभएर मुक्तिको कार्यलाई नेतृत्व गर्नुभयो (२ शमू २३:२; प्रे ८:२९) । अनि अन्तिम पवित्र आत्माको युगमा उहाँ येशूज्यूको नयाँ नाउँमा दोस्रो पल्ट यो पृथ्वीमा आउनुभएर जीवनको पानीको मूल खोलिदिनुभई मुक्ति दिनुहुन्छ । यस युगका मुक्तिदाता, दोस्रो आगमनका येशूज्यू हुनुभएका पवित्र आत्मा परमेश्वरलाई हामीले केवल बाइबलद्वारा मात्र चिन्न सक्छौ (यूह ५:३९) ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기