हिजोआज अधिकांश ख्रीष्टियानहरूले येशूज्यूको दोस्रो आगमनलाई प्रतीक्षा गरिरहेका छन् । तिनीहरूले येशूज्यू आकाशको प्राकृतिक बादलमा आउनुहुँदा संसार तुरुन्तै नष्ट हुनेछ, र सन्तहरूचाहिँ स्वर्ग प्रवेश गर्नेछन् भनेर सोचिरहेका छन् । तर ख्रीष्टको दोस्रो आगमनसम्बन्धी बाइबलको गवाही र तिनीहरूको सोचाइबीच धेरै भिन्नता छ ।
“त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन् । जब यी कुरा हुन थाल्छन् तब खडा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ ।” लूक २१:२७-२८
येशूज्यूले उहाँ बादलमा आउनुहुँदा संसार तुरुन्त इन्साफ भएर सन्तहरू स्वर्ग राज्य प्रवेश गर्नेछन् भन्नुभएको छैन । बरु उल्टै, उद्धार नजिकै आइरहेकोले खडा भएर शिर माथि उठाई मुक्तिको निम्ति तयारी गर भन्नुभएको छ । यसरी दोस्रो आगमनसम्बन्धी बाइबलको शिक्षा र अधिकांश ख्रीष्टियानहरूको सोचाइबीच ठूलो भिन्नता छ ।
यसकारण ख्रीष्ट आउनुहुने बादलको विषयमा हामीले राम्ररी सोच्न आवश्यक छ । किनभने प्राकृतिक बादल भन्ने सामान्य धारणा येशूज्यूको इच्छाविपरीत पनि हुन सक्छ । यदि हामीले यो विषयलाई स्पष्ट बुझेनौं भने हामीले दोस्रो आगमनका येशूज्यूलाई सही तरिकाले ग्रहण गर्न सक्दैनौं । अनि यदि ग्रहण गर्न सकेनौं भने मुक्ति पनि पाउन सक्दैनौं ।
बादलमा आउनुभएका पहिलो आगमनका येशूज्यू
पहिलो आगमनका येशूज्यूसँग सम्बन्धित अगमवाणीलाई अध्ययन गरेमा यस विषयबारे राम्ररी बुझ्न सकिन्छ । पहिलो आगमनका येशूज्यू यो पृथ्वीमा आउनुभन्दा करीब ६०० वर्षअघि परमेश्वरले दानिएल अगमवक्तालाई येशूज्यूको बारेमा दर्शन देखाउनुभयो ।
“राती मैले मेरो दर्शनमा हेरें, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे ।” दान ७:१३-१४
भविष्यमा मानिसको पुत्र आकाशका बादलमा अधिकार, महिमा र सार्वभौमिक शक्ति लिएर आउनुहुनेछ भनेर अगमवाणी गरिएको थियो । यो अगमवाणी येशूज्यूमा पूरा भयो ।
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ ।” मत्ती २८:१८
“मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन् । मेरो महिमा तिनीहरूमा प्रकट भएको छ ।” यूह १७:१०
“जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु …” लूक २२:२९
पुरानो करारको अगमवाणीअनुसार यो पृथ्वीमा अधिकार, महिमा र सार्वभौमिक शक्ति प्राप्त गर्नुभएका व्यक्ति निश्चित रूपमा पहिलो आगमनका येशूज्यू हुनुहुन्छ । दानिएलको पुस्तकमा, येशूज्यू ‘आकाशका बादलका साथ’ आउनुहुनेछ भनेर अगमवाणी गरिएको थियो भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ । येशूज्यू प्राकृतिक बादलमा आउनुभएन तर मरियमको कोखबाट शरीर धारण गरी यो पृथ्वीमा आउनुभयो । वास्तवमा दानिएलको अगमवाणी गलत होइन । ख्रीष्ट आउनुहुने बादलले शरीरलाई दृष्टान्त गर्दछ भन्ने अर्थ हो ।
पहिलो आगमनका येशूज्यू शरीरमा आउनुभएजस्तै, दोस्रो आगमनका येशूज्यू पनि शरीरमा आउनुहुनेछ भन्ने अर्थ हो । येशूज्यूले पनि उहाँ बादलमा आउनुहुनेछ भनेर अगमवाणी गर्नुभयो । उहाँ एक चोटि चाहिँ शरीरमा आउनुभएर अर्को चोटि चाहिँ प्राकृतिक बादलमा आउनुहुने होइन । येशूज्यूको पहिलो आगमनबारे अगमवाणी गरिँदा प्रयोग गरिएको उही दृष्टान्त फेरि प्रयोग गर्नुहुँदै येशूज्यूले आफ्ना चेलाहरूलाई उहाँको दोस्रो आगमन पनि पहिलो आगमनजस्तै शरीरमा नै हुने कुरा चेलाहरूलाई बताउनुभयो ।
बादलले शरीर धारण गरेको मानिसलाई दृष्टान्त गर्दछ
यसबाहेक पनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका वचनहरू बाइबलमा धेरै छन् ।
तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन् । किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, … यहू १:१२
“झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ ।” हितो २५:१४
आफ्नो मात्र ख्याल राख्ने(झूटा अगमवक्ता)हरू र झूटो धाक लाउने मानिसलाई झरीविनाको बादल भनिएको छ । फेरि भन्ने हो भने शरीर धारण गरेका मानिसलाई बादलसँग दृष्टान्त गरिएको छ । यसरी शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएजस्तै, शरीरमा आउनुहुने दोस्रो आगमनका येशूज्यू पनि बादलमा आउनुहुनेछ भनेर नयाँ करार बाइबलमा अगमवाणी गरिएको छ ।
येशूज्यू बादल(शरीर)मा दोस्रो पल्ट आउनुको कारण
स्वर्गीय राज्य नजिक आएको अन्त्यका दिनहरूमा येशूज्यू फेरि शरीर धारण गरी मानिसको स्वरूपमा आउनुहुन्छ । त्यसोभए उहाँले उत्तिखेरै संसारलाई इन्साफ नगर्नुभई फेरि शरीरमा आउनुहुने कारण के होला ?
“म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” लूक १८:८
येशूज्यूको दोस्रो आगमन हुँदा, यो संसारमा मुक्ति पाउन योग्यको साँचो विश्वास लिएकाहरू कोही भेट्टाउनुहुनेछैन भनिएको छ । यो वचनअनुसार हिजोआज धेरै मण्डलीहरूले येशूज्यूलाई विश्वास गर्छौं त भन्छन् तर येशूज्यूले स्थापना गरिदिनुभएको शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारका सत्यताहरू भने तिनीहरू पालन गर्दैनन् । ती मण्डलीहरूले परमेश्वरको आज्ञालाई त्यागेर आइतबारको सेवा, क्रिसमस जस्ता मानिसका नियमहरू पालन गरिरहेका छन् । मानिसको नियम पालन गर्नुचाहिँ व्यर्थको उपासना हो भनेर परमेश्वरले स्पष्टसँग भन्नुभएको छ ।
“ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ । तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’ ।” मत्ती १५:७-९
संसारले व्यर्थमा येशूज्यूको उपासना गर्नेछ भन्ने कुरा येशूज्यूलाई पहिल्यै थाहा थियो । त्यसैले त उहाँले “यो पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” भन्नुभयो । विश्वास नभएको संसारमा यदि येशूज्यू अन्तिम इन्साफको प्रभुको रूपमा आउनुभयो भने मुक्ति पाउन सक्ने कोही हुँदैन । यसकारण अन्तिम इन्साफ हुनुअघि, मुक्ति पाउने प्रजालाई भेला गर्न र सत्यतामा डोऱ्याउन येशूज्यू स्वयम् शरीरमा दोस्रो पल्ट आउनुहुनेछ ।
“मेरा अरू भेडा छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ ।” यूह १०:१६
यहाँ ‘यस गोठका भेडा’ले चाहिँ, येशूज्यूले पहिलो आगमनको समयमा गोठालोको रूपमा आउनुभएर बचाउनुभएका सन्तहरूलाई जनाउँछ । तर ‘अरू भेडा पनि छन्, जो यस गोठका होइनन् । तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ’ भन्नुभएको छ । योचाहिँ २,००० वर्षअघि येशूज्यूले शरीर धारण गरी गोठालोको रूपमा आउनुभएर चेलाहरूलाई डोऱ्याउनुभएजस्तै, यी अन्त्यका दिनहरूमा पनि उहाँ फेरि शरीरमा आउनुभएर मुक्ति पाउने सन्तहरूलाई स्वयम्ले डोऱ्याउनुहुनेछ भन्ने अगमवाणी हो ।
२,००० वर्षअघि यहूदीहरूले ख्रीष्ट बादलमा आउनुहुनेछ भनिएको अगमवाणीलाई सही तरिकाले बुझ्न नसकी आकाशका बादललाई मात्र हेरे, र शरीरमा आउनुभएका येशूज्यूलाई ग्रहण गर्न सकेनन् । अहिले पनि उस्तै नै हो । बाइबलको सत्यतालाई नबुझी केवल आकाशका बादलहरूमा हेर्नेहरूले मुक्तिको अवसर गुमाउनेछन् । यसकारण शरीरमा आउनुभएका दोस्रो आगमनका येशूज्यूलाई ठीकसँग ग्रहण गर्नको निम्ति हामीले बाइबलका अगमवाणीहरूमा ध्यान दिनुपर्छ ।