केही बाइबलीय पात्रहरूले मुक्तिदाताको विषयमा गवाही दिने अगमवाणीगत भूमिका खेल्दछन् । दाऊद पनि तीमध्येका एक हुन् । सारा मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुभएका येशू ख्रीष्ट, र दाऊदबीच अगमवाणी र पूर्णताको सम्बन्ध रहेको छ ।
हामीले येशूज्यू र दाऊदबीचका अगमवाणीगत पक्षहरूलाई बुझ्यौं भने पछिल्ला दिनहरूमा देखा पर्नुहुने दोस्रो आगमनका ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरा पनि जान्न सक्नेछौं । दाऊदको जीवनीमा लुकेको रहस्यद्वारा, यो युगमा हामीले अनिवार्य खोज्नुपर्ने ‘आत्मिक राजा दाऊद’, दोस्रो आगमनका ख्रीष्टको बारेमा अध्ययन गरौं ।
पछिल्ला दिनहरूमा दाऊदलाई खोज
पछिल्ला दिनहरूमा परमेश्वरका प्रजाले दाऊदलाई खोजेर भेटेमा परमेश्वरको आशिष् अर्थात् मुक्ति पाउनेछन् भनेर होशे अगमवक्ताले अगमवाणी गरे ।
त्यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन् । पछिल्ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्तिर आउनेछन् । होशे ३:५
यस अन्तिम युगमा मुक्तिचाहिँ दाऊदलाई भेटेको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ । त्यसोभए पछिल्ला दिनहरूमा हामीले खोज्नैपर्ने ‘दाऊद’चाहिँ को हुनुहुन्छ होला ? उहाँचाहिँ इस्राएलका दोस्रो राजा रहेका शारीरिक दाऊद नभएर पछिल्ला दिनहरूमा देखा पर्नुहुने अगमवाणीका दाऊद हुनुहुन्छ ।
अगमवाणीका दाऊदको रूपमा आउनुभएका येशूज्यू
यशैया अगमवक्ताले ‘एक जना बालक, एक जना छोरो’को रूपमा जन्मनुहुने परमेश्वर दाऊदको सिंहासनमा बस्नुहुनेछ भनेका छन् ।
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । … उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । … यशै ९:६-७
बाइबलको अगमवाणीमा दाऊदले शरीरमा आउनुहुने परमेश्वर अर्थात् ख्रीष्टलाई जनाउँछ । यो अगमवाणी २,००० वर्षअघि येशूज्यूले पूरा गर्नुभयो । त्यसैले मरियमकहाँ देखा परेका स्वर्गदूतले येशूज्यू नै राजा दाऊदको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएका व्यक्ति हुनुहुन्छ भनी गवाही दिए ।
“अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । … परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।” लूक १:३१-३२
दाऊद र येशूज्यूबीच अगमवाणी र पूर्णताको सम्बन्ध
बाइबलमा येशूज्यूलाई राजा दाऊदको रूपमा सङ्केत गरिनुको कारणचाहिँ दाऊदले गरेको कार्यद्वारा, येशूज्यूले पूरा गर्नुहुने कार्यबारे जानकारी दिनको निम्ति हो । दाऊद र येशूज्यूबीच अगमवाणी र पूर्णताको सम्बन्ध रहेको छ । येशूज्यू बस्नुभएको ‘दाऊदको सिंहासन’को बारेमा बुझौं ।
दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्म राज्य गरे । २ शमू ५:४
पुरानो करारको समयमा दाऊद ३० वर्षको उमेरमा राजा अभिषेक गरिएर राजा बने र तिनले ४० वर्षसम्म राज्य गरे । अगमवाणीका दाऊद हुनुभएका येशूज्यूले पनि ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभई सुसमाचार कार्य सुरु गर्नुभयो ।
जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर … येशूले आफ्नो सेवा-कार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो । लूक ३:२१-२३
येशूज्यूले २० वर्ष अथवा ४० वर्षको उमेरमा पनि सुसमाचार कार्य सुरु गर्न सक्नुहुन्थ्यो । तर उहाँले ३० वर्षको उमेरमै सुरु गर्नुको कारणचाहिँ दाऊदको सिंहासनको अगमवाणी पूरा गर्नको निम्ति थियो ।
‘दाऊदको सिंहासन’मा बाँकी रहेको ३७ वर्ष र येशूज्यूको दोस्रो आगमनको आवश्यकता
राजा दाऊदको अगमवाणी पूर्ण रूपमा पूरा हुनलाई येशूज्यूले दाऊदको शासनकालको अवधि रहेको ४० वर्षसम्म सुसमाचार प्रचार गर्नुपर्छ । तर पहिलो आगमनको समयमा येशूज्यूले ३ वर्षसम्म मात्र सुसमाचार प्रचार गर्नुभयो (लूक १३:६) । त्यसोभए बाँकी रहेको ३७ वर्षचाहिँ नि त ? बाइबलको सम्पूर्ण अगमवाणी निश्चय नै पूरा हुनुपर्छ (मत्ती ५:१८; २४:३५) । दाऊदको सिंहासनमा बाँकी रहेको अगमवाणी पूरा गर्न येशूज्यूको दोस्रो आगमनको आवश्यकता पर्छ । यसकारण आत्मिक राजा दाऊद हुनुभएका येशूज्यू यो पृथ्वीमा फेरि आउनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलार्इ एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । हिब्रू ९:२८
यो अगमवाणीअनुसार दोस्रो आगमनका ख्रीष्टले, पहिलो आगमनका येशूज्यूले पूरा नगर्नुभएको दाऊदको सिंहासनमा बाँकी रहेको ३७ वर्षसम्म सुसमाचार प्रचार गर्नुपर्छ । साथै उहाँ दोस्रो पल्ट आउनुको उद्देश्यचाहिँ ‘उद्धारको निम्ति’ हो भनिएको छ । अर्थात् अगमवाणीका दाऊद हुनुभएका येशूज्यू दोस्रो पल्ट नआउनुभएसम्म कसैले पनि उद्धार पाउन सक्दैन भन्ने कुरा हो । त्यसैले होशे अगमवक्ताले, पछिल्ला दिनहरूमा दाऊदलाई खोज्ने र उहाँको भय मान्नेहरू परमेश्वरको आशिष्तिर आउनेछन् भनेका हुन् ।
२,००० वर्षअघि, दाऊदको सिंहासनमा बस्नुभएका पहिलो आगमनका येशूज्यू शरीरमा आउनुभयो । त्योजस्तै दाऊदको सिंहासनमा बाँकी रहेको अगमवाणी पूरा गर्न दोस्रो आगमनका येशूज्यू पनि स्वभावतः शरीरमा आउनुहुनेछ । त्यसैले यशैया अगमवक्ताले, ‘बालक’को रूपमा जन्मनुहुने, अर्थात् शरीरमा आउनुहुने परमेश्वर दाऊदको सिंहासनमा बस्नुहुनेछ भनेर अगमवाणी गरेका छन् ।
अगमवाणीका दाऊदको चिन्ह, नयाँ करार निस्तार-चाड
अन्तिम युगमा उद्धारको निम्ति हामीले अनिवार्य रूपमा अगमवाणीका दाऊद अर्थात् शरीरमा दोस्रो पल्ट आउनुहुने ख्रीष्टलाई ग्रहण गर्नुपर्छ । तर संसारका असंख्य मानिसहरूका माझमा, हामीले शरीरमा आउनुहुने ख्रीष्टलाई कसरी चिन्ने होला ? साथै अन्त्यका दिनहरूमा धेरै झूटा ख्रीष्टहरू देखा पर्नेछन् पनि भनिएको छ (मत्ती २४:२४) । तर राजा दाऊदको रूपमा आउनुहुने दोस्रो आगमनका येशूज्यूसँग कुनै निश्चित चिन्ह छ भनेर बाइबलले गवाही दिएको छ ।
कान थाप, र मकहाँ आओ । सुन, ताकि तिमीहरूको प्राण जिओस् । म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम । यशै ५५:३
परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति अनन्त करार स्थापना गर्नुभई त्यसलाई ‘दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम’ भन्नुभयो । यसकारण अगमवाणीका दाऊद हुनुभएका दोस्रो आगमनका येशूज्यूको चिन्ह भनेकै अनन्त करार हो ।
अब भेडाका महान्गो ठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले … हिब्रू १३:२०
अनन्त करारको ‘रगत’ भनिएकोले अनन्त करारमा निश्चय नै जीवन दिलाउने येशूज्यूको रगत हुनुपर्छ । फेरि भन्नुपर्दा येशूज्यूले रगतद्वारा स्थापना गर्नुभएको करार नै अनन्त करार हो । बाइबलमा येशूज्यूको रगतद्वारा स्थापित करार नै नयाँ करार हो ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” … उहाँले कचौरा (निस्तार-चाडको दाखमद्य) लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूक २२:१५-२०
येशूज्यूले निस्तार-चाडको दाखमद्यलाई “मेरो रगतमा स्थापित गरिने नयाँ करार” भन्नुभयो । नयाँ करार निस्तार-चाडचाहिँ येशूज्यूको रगतद्वारा स्थापित अनन्त करारको केन्द्रबिन्दु हो । सन्तहरूले येशूज्यूको शरीर र रगतलाई जनाउने निस्तार-चाडको रोटी र दाखमद्य खाएर, पिएर अनन्त जीवन प्राप्त गर्न सक्छन् (यूह ६:५४) । मुक्तिको सत्यता नयाँ करार निस्तार-चाडचाहिँ दाऊदको रूपमा आउनुहुने दोस्रो आगमनका येशूज्यूलाई चिनाउने चिन्ह हो ।
पछिल्ला दिनहरूमा खोज्नैपर्ने दाऊद, ख्रीष्ट आन साङ होङज्यू
येशूज्यूले स्थापना गर्नुभएको नयाँ करार निस्तार-चाड ई.सं.३२५मा निकेयाको सम्मेलनमा रद्द गरियो । त्यहाँदेखि करीब १,६०० वर्षसम्म कसैले पनि यो चाड मान्न सकेन । तर यस युगमा निस्तार-चाड पुनर्स्थापन गर्नुभएर सिकाउनुभएका व्यक्ति एक जना हुनुहुन्छ । उहाँ नै ख्रीष्ट आन साङ होङज्यू हुनुहुन्छ । नयाँ करार निस्तार-चाड मानेमा अनन्त जीवन पाइन्छ भनेर आन साङ होङज्यूले सिकाउनुभयो । दाऊदले मात्र ल्याउन सक्ने ‘अनन्त करार’ उहाँले ल्याइदिनुभयो ।
आन साङ होङज्यूले दाऊदको सिंहासनमा बाँकी रहेको अगमवाणी पनि पूरा गर्नुभयो । आन साङ होङज्यू सन् १९१८मा जन्मनुभयो, र उहाँको उमेर ३० वर्षको पुगेको साल सन् १९४८मा अञ्जीरको रूखको अगमवाणीअनुसार उहाँले बप्तिस्मा लिनुभयो । अगमवाणीका राजा दाऊदको रूपमा उहाँले ३० वर्षको उमेरमा सुसमाचारको कार्य आरम्भ गर्नुभयो । अनि दाऊदको चिन्ह रहेको नयाँ करार निस्तार-चाड ३७ वर्षसम्म प्रचार गर्नुभएपछि सन् १९८५मा उहाँ स्वर्गारोहण हुनुभयो ।
३७ वर्षको निर्धारित समयसम्म सुसमाचारको कार्य समाप्त गरेर आफू स्वर्गारोहण हुने कुरा, उहाँले ४ वर्षअघि नै जानकारी दिनुभएको थियो ।
अपरिचित नयाँ धर्म– परमेश्वरको मण्डली
यो मण्डलीले येशूज्यूको दोस्रो आगमनको समय अहिले नै हो भनी विश्वास गर्दछ र येशूज्यू दोस्रो पल्ट आउनुहुँदा आँखा, नाक, मुख र कान भएको शारीरिक स्वरूपमा जन्मनुहुनेछ भनी विश्वास गर्दछ । येशूज्यू दोस्रो पल्ट शरीरमा आउनुपर्ने कारणचाहिँ “येशूज्यूले पहिलो आगमनमा स्थापना गर्नुभएको नयाँ करार धार्मिक अन्धकारको युगमा हटाइएकोले गर्दा हो । त्यो नयाँ करार जीवनको सत्यता पुनर्स्थापन गरिदिन, अनि आफ्ना प्रजालाई खोज्न प्रभु स्वयम् फेरि आउनुपर्छ” भनी परमेश्वरको मण्डलीले व्याख्या गर्दछ । फेरि आउनुहुने प्रभु यो पृथ्वीमा गुप्तमा आउनुपर्छ र ३७ वर्षको सुसमाचारको सेवाकार्यपछि उहाँले मृत्यु भोग्नुपर्छ । उहाँले ३७ वर्षसम्म सुसमाचारको सेवाकार्य गर्नुपर्ने कारणचाहिँ दाऊदले ४० वर्षसम्म राज्य गरेका थिए, तर पहिलो आगमनका येशूज्यूले ३ वर्ष मात्र कार्य गर्नुभएपछि उहाँ क्रूसमा टाँगिनुभयो । त्यसैले ४० वर्षको दाऊदको सिंहासन पूरा गर्नका निम्ति दोस्रो आगमनका येशूज्यूले ३७ वर्षसम्म सुसमाचारको कार्य गर्नुपर्छ ।” अनि परमेश्वरको मण्डलीले, निस्तार-चाड मानेमा मुक्ति पाउन सकिन्छ भनेर पनि विश्वास गर्दछ । यसले निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले तोक्नुभएको नयाँ करारलाई जोड दिन्छ । साप्ताहिक धार्मिक पत्रिका सन् १९८१ मार्च १८ तारिख
आम मानिसलाई आफू कहिले जन्मने, कहिले मर्ने भन्ने कुरा थाहा हुँदैन । तर आन साङ होङज्यूचाहिँ आउनुहुँदा पनि बाइबलको अगमवाणीअनुसार आउनुभयो र दाऊदको सिंहासनको ३७ वर्ष पूरा गर्नुभएर आफू स्वर्गारोहण हुने कुरा पनि ४ वर्षअघि पूर्वजानकारी दिनुभएर जस्ताको तस्तै पूरा गर्नुभयो ।
लामो समयको अन्तरालमा धेरै आध्यात्मविद्हरू र धार्मिक नेताहरू देखा परे तर नयाँ करार निस्तार-चाड मान्नुपर्छ भनेर कसैले पनि सिकाएनन् । कारण तिनीहरू अगमवाणीका दाऊद होइनन् । अनन्त करारचाहिँ दाऊदलाई प्रतिज्ञा गरिएको विश्वासको प्रेम भनिएकोले शरीरमा आउनुहुने परमेश्वरले बाहेक अरू कसैले पनि यो ल्याउन सक्दैन । नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुभएका आन साङ होङज्यू नै यी पछिल्ला दिनहरूमा हामी सबैले मुक्ति पाउनलाई खोज्नुपर्ने र भय मान्नुपर्ने राजा दाऊद हुनुहुन्छ । उहाँ नै बाइबलको सम्पूर्ण अगमवाणीअनुसार आउनुभएका दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ ।