स्वर्गको परिवार : हामी र परमेश्वरबीचको सम्बन्ध

9764 읽음

ख्रीष्टियानहरूले परमेश्वरलाई ‘पिता’ भनी पुकार्दछन् । किनभने २,००० वर्षअघि येशूज्यूले परमेश्वरलाई “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” भन्नुपर्छ भनेर सिकाउनुभयो । तर येशूज्यूले परमेश्वरलाई पिता भन्नुभएको चाहिँ के स्वर्गमा पिता परमेश्वर मात्र हुनुभएकोले हो त ?

‘बुबा’ भन्ने शब्द घरमा प्रयोग गरिने सम्बोधन हो । बुबा छन् भने सन्तान पनि हुन्छन्, र ती सन्तानलाई जन्माउने आमा पनि हुन्छिन् । यो पृथ्वीमा परिवार भएजस्तै स्वर्गमा पनि पिता परमेश्वर, माता परमेश्वर र परमेश्वरका सन्तानहरू भएको स्वर्गको परिवार छ भनेर बाइबलले गवाही दिएको छ ।

पृथ्वीको परिवारचाहिँ स्वर्गको परिवारको नकल र छाया

तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्रवासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू ।” हिब्रू ८:५

पुरानो करारको समयमा परमेश्वरले मोशालाई स्वर्गीय पवित्रस्थानको नमूनाबमोजिम पृथ्वीको पवित्रस्थान बनाउन आदेश दिनुभयो । त्योचाहिँ इस्राएलीहरूले पृथ्वीको पवित्रस्थानद्वारा, अदृश्य स्वर्गीय पवित्रस्थानको बारेमा बुझ्न सकून् भन्ने हेतूले थियो । परमेश्वरको यस्तो इच्छा पारिवारिक प्रणालीमा पनि समावेश छ । हामीले हाम्रो आँखाले देख्न नसक्ने स्वर्गको परिवारलाई सजिलै बुझ्न सकून् भनेर परमेश्वरले त्यसको नकल र छायाको रूपमा यो पृथ्वीमा पारिवारिक प्रणाली बनाउनुभयो ।

यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ? हिब्रू १२:९

यसरी बाइबलमा हाम्रा शारीरिक बुबाप्रतिको अनुशासनद्वारा आत्माका पिताप्रतिको अनुशासनको बारेमा सिकाइएको छ । छायाको रूपमा रहेको यो पृथ्वीको परिवारमा बुबा हुनुभएजस्तै, वास्तविक स्वर्गको परिवारमा पनि आत्माका पिता अर्थात् पिता परमेश्वर अवश्य हुनुहुन्छ ।

स्वर्गीय परिवारको सदस्य

शाब्दिक रूपमा, बुबा भन्ने शब्दले सन्तान भएको पुरुष जनाउँछ । फेरि भन्ने हो भने कुनै पुरुष ‘बुबा’ भनेर बोलाइनको निम्ति तिनको अनिवार्य सन्तान हुनुपर्छ । त्योजस्तै परमेश्वरलाई पनि पिता भनेर पुकारिनाले परमेश्वरका पनि सन्तान छन् भन्ने अर्थ बुझाउँछ ।

परमप्रभु भन्नुहुन्छ …. “म तिमीहरूलाई ग्रहण गर्नेछु | म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” २ कोर ६:१७-१८

बाइबलमा विश्वासी सन्तहरूलाई परमेश्वरका सन्तान, अर्थात् छोरा-छोरी भनिएको छ । तर के बुबा एकलैले सन्तान जन्माउन सक्नुहुन्छ र ? सक्नुहुन्न । कारण गर्भ धारण गरेर अन्तिममा जीवन जन्माउने भूमिका चाहिँ आमाले निर्वाह गर्नुहुन्छ । आमा हुनुहुन्न भने सन्तान हुन सक्दैन र सन्तान नभएपछि त बुबा पनि बन्न सकिँदैन । ‘बुबा’ भन्ने सम्बोधनले सन्तान सँगसँगै सन्तानकी ‘आमा’ पनि छिन् भन्ने कुरा बुझाउँछ । ‘पिता परमेश्वर’ भन्ने सम्बोधनले पनि ‘माता परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा जानकारी दिँदछ ।

तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गला ४:२६

‘माथि’ भन्नाले स्वर्ग हो । यसरी बाइबलमा स्वर्गीय माता, अर्थात् माता परमेश्वर हुनुहुन्छ भनेर स्पष्टसँग गवाही दिइएको छ । यो पृथ्वीको परिवारमा जस्तै स्वर्गको परिवारमा पनि स्वर्गीय पिता, स्वर्गीय सन्तान र स्वर्गीय माता हुनुहुन्छ ।

अनन्त जीवन दिनुहुने स्वर्गीय माता

यो संसारमा आमाविना जन्मेको मानिस कोही छैन । निश्चय नै बुबा पनि हुनुपर्छ तर जीवन जन्माउने मुख्य भूमिका आमाले निर्वाह गर्नुहुन्छ । योचाहिँ मानिसमा मात्र होइन तर चराचुरुङ्गी, माछा र जीवजन्तु आदि सबै जीवित प्राणीमा लागू हुने तथ्य हो ।

परमेश्वरले यावत् थोकलाई आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभई, स्वर्गका थोकहरूको नकल र छायाको रूपमा यो पृथ्वीका थोकहरू बनाउनुभयो (प्रका ४:११; हिब्रू ८:५) । त्यसोभए परमेश्वरले, आमाद्वारा सन्तानले जीवन पाउने गराउनुको कारण के होला ? त्योचाहिँ अनन्त जीवन पनि पिता परमेश्वर साथै माता परमेश्वरले दिनुहुन्छ भन्ने यथार्थता जानकारी दिनको निम्ति हो ।

अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।”… उत १:२६

लामो समयदेखि मानव-जातिले परमेश्वरचाहिँ नर स्वरूपमा मात्र हुनुहुन्छ भन्ठान्दै उहाँलाई पिता परमेश्वर भनेर पुकार्दैआएका छन् । यदि मानिसलाई बनाउनुभएका सृष्टिकर्ता परमेश्वर साँच्चै नै पिता परमेश्वर मात्र हुनुहुँदो हो त उहाँले स्वाभावतः “मानिसलाई आफ्नै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुपर्नेथियो । तर परमेश्वरले ‘हाम्रै’ भन्नुभयो । किन उहाँले ‘हाम्रै’ भन्नुभएको होला ? यसपछिको वचनमा त्यसको कारण जान्न सकिन्छ ।

यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । उत १:२७

परमेश्वरले उहाँकै स्वरूपमा, उहाँकै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो । परिणामस्वरूप नर र नारी सृष्टि भए । अर्थात् परमेश्वर नर स्वरूप र नारी स्वरूपमा हुनुहुन्छ भन्ने कुरा हो । यदि हामी नर स्वरूपका परमेश्वरलाई पिता भनेर पुकार्छौं भने नारी स्वरूपकी परमेश्वरलाई चाहिँ हामीले के भनेर पुकार्नुपर्छ होला ? निश्चय नै ‘माता’ भनेर पुकार्नुपर्छ । यसरी अनन्त जीवन दिनुहुने स्वर्गीय माताको अस्तित्वको विषयमा बाइबलको उत्पत्तिको पुस्तकदेखि नै गवाही दिइएको छ । यसकारण हामीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वर दुवैलाई विश्वास गरेमा हामीहरू अनन्त जीवन पाउने परमेश्वरका सन्तान बन्न सक्नेछौं ।

रगतद्वारा गाँसिएको परिवार

तर पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छु भन्दैमा स्वर्गीय परिवारको सदस्य बन्न सकिने चाहिँ होइन । यो संसारमा बुबा-आमा र सन्तानबीच रगतको सम्बन्ध हुन्छ । त्योजस्तै परमेश्वरको सन्तान बन्नको निम्ति हामीमा पनि परमेश्वरको रगत हुनुपर्छ । त्यसैले येशूज्यूले हामीलाई परमेश्वरको रगत प्राप्त गर्न सकिने सत्यता सिकाइदिनुभयो । त्यो नै नयाँ करार निस्तार-चाड हो ।

उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” … यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूक २२:१४-१५, २०

येशूज्यूले केलाई उहाँको रगत भन्नुभयो ? निस्तार-चाडको दाखमद्यलाई । निस्तार-चाड मानेमा हामीले परमेश्वरको रगत प्राप्त गर्न सक्छौं । नयाँ करार निस्तार-चाडचाहिँ मानेमा परमेश्वरको रगत प्राप्त गरी उहाँको सन्तान बन्न सकिने अमूल्य सत्यता हो ।

परमेश्वरको सन्तान बन्नु भनेको अनन्त स्वर्गको उत्तराधिकार पाउने परमेश्वरको उत्तराधिकारी हुनु भन्ने अर्थ हो (रोम ८:१६-१७) । कसै-कसैले परमेश्वर र सन्तबीचको सम्बन्धलाई मालिक र नोकरको सम्बन्धको रूपमा परिभाषित गर्छन् । तर योचाहिँ बाइबलको गवाहीभन्दा फरक विचार हो । बाइबलमा परमेश्वर हाम्रा आत्मिक पिता-माता हुनुहुन्छ, र हामीचाहिँ परमेश्वरको आत्मिक रगतद्वारा गाँसिएका परमेश्वरका सन्तानहरू हौं । महिमित स्वर्गमा अनन्त खुशी उपभोग गर्ने स्वर्गीय परिवारको सदस्य बन्ने तरिकाचाहिँ पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गरेर नयाँ करार निस्तार-चाड मान्नु हो ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기