रूपरेखा
बाइबलमा विपत्ति र इन्साफसम्बन्धी पनि अगमवाणी हुनुको साथै त्यो इन्साफबाट सन्तहरूलाई मुक्ति दिलाउने सत्यता पनि त्यसमा समावेश छ । यस पुस्तकमा आन साङ होङज्यूले परमेश्वरको करार पालन नगर्ने प्रजाले इन्साफ पाएर नष्ट भएको इतिहासद्वारा, करारको महत्त्वबारे जानकारी दिनुभएको छ । निकट अन्तिम विपत्तिबाट मुक्ति पाउने प्रजाचाहिँ ख्रीष्टले सुनाउनुभएको नयाँ करार सुसमाचार अर्थात् परमेश्वरको छाप रहेको नयाँ करार निस्तार-चाड मान्नेहरू हुन् भनी उहाँले गवाही दिनुभयो ।
भूमिका
अहिले पठाइएको यो सानो पुस्तकचाहिँ अन्तिम विपत्ति र ठूलो सङ्कष्टलाई पार गराउने परमेश्वरको छाप परमेश्वरका सन्तानहरूले प्राप्त गर्ने विषयको खुशीको खबर हो ।
अब निकट भविष्यमा सात विपत्तिहरू झर्नेछन् । आजसम्म “येशूको दोस्रो आगमन नजिक छ” भन्दै झूटा अगमवक्ता र झूटो अगमवाणी कहनेहरूले भ्रममा पारेका छन् । तर साँचो सत्यता रहेको ठाउँमा झूट पहिला खडा भएर कार्य गर्छ भन्ने यथार्थता सबैलाई राम्ररी थाहा नै होला ।
झूट भएको ठाउँमा निश्चित रूपमा साँचो सत्यता लुकेर रहेको हुन्छ भन्ने यथार्थतालाई बिर्सनुहुँदैन । यो कुरा जानेर, यो सानो पुस्तक अध्ययन गर्नुभयो भने सजिलै जीवनको सत्यता पत्ता लाग्नेछ । ढीला नगरी गम्भीरतापूर्वक अध्ययन गर्नुभई नजिक आइरहेको सात विपत्तिबाट बचेर मुक्ति पाउनुहोस् भन्ने चाहन्छु ।
यो पुस्तकको खुशीको खबर यो हो कि नोआको जहाजजस्तै, चाहे जोसुकै होस्, सत्यताभित्र पस्यो मात्र भने बचाइनेछ । नोआको जहाजमा प्रवेश गरेका विभिन्न जातका जनावरहरू पापरहित भएकाले प्रवेश गरेका होइनन् । त्योजस्तै जोसुकै होस्, चाहे पाप भएको होस् या पाप नभएको होस्, यो सत्यताभित्र प्रवेश गऱ्यो मात्र भने मुक्ति पाउनेछ । गम्भीरतापूर्वक अध्ययन गरेर परमेश्वरको छाप प्राप्त गरी अनन्त जीवनमा प्रवेश गर्नुहोस् भन्ने चाहन्छु ।
विषयसूची
- अध्याय १ अन्तिम विपत्ति र इन्साफ
- अध्याय २ निस्तार-चाडको रहस्य
- अध्याय ३ करारलाई लत्याएको हुनाले बेबिलोनको कब्जामा परेको
- अध्याय ४ दश आज्ञा र लिखित अक्षर
- अध्याय ५ पुरानो करार नयाँ करारमा बद्लिएको
- अध्याय ६ पुरानो करार र नयाँ करारबीच तुलना तालिका
- अध्याय ७ मल्कीसेदेकको दर्जा
- अध्याय ८ नयाँ करारको नियम
- अध्याय ९ नयाँ करार नै सुसमाचार हो
- अध्याय १० सुसमाचारको सेवक नै नयाँ करारको सेवक
- अध्याय ११ निस्तार-चाड र अन्तिम भोज
- अध्याय १२ भूतहरूको वासस्थान पत्ता लगाउने निस्तार-चाड
- अध्याय १३ नयाँ करारले पाप हटाउँछ
- अध्याय १४ परमेश्वरको छाप लगाउने कार्य
- अध्याय १५ के शबाथ-दिन परमेश्वरको छाप हो ?
- अध्याय १६ परमेश्वरको छाप भनेको के हो ?
- अध्याय १७ येशूज्यूको शरीर नै परमेश्वरको छाप हो
- अध्याय १८ नियुक्त गरिएका चाडहरूको शोक गर्नेहरू
अध्याय १ अन्तिम विपत्ति र इन्साफ
मत्ती २४:३७-३९ 『“मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्तै हुनेछ । किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन् । मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।”』
अनि प्रेरित पावलले थेसलोनिकेमा भएका सन्तहरूलाई पत्र लेख्दा यस प्रकारले लेखेका छन् :
१ थेस ५:१-३ 『तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्ने आवश्यकता छैन । किनकि तिमीहरू आफै राम्ररी जान्दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ । जब मानिसहरू “शान्ति र सुरक्षा” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन् ।』 प्रेरित पत्रुसले यो ‘समय’को विषयमा यस प्रकारले अगमवाणी गरेका छन् :
२ पत्र ३:६-७ 『त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो । तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन् ।』
२ पत्र ३:१०-१३ 『तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन् । यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ ? तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन् र तत्त्वहरू आगोको रापमा पग्लनेछन् । तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ ।』 अनि प्रेरित यूहन्नाले अन्तिम विपत्ति झर्दाको दृश्यलाई यसरी वर्णन गरेका छन् :
प्रका १६:१७-२१ 『अनि सातौँ स्वर्गदूतले आफ्नो कचौरो हावामा खन्याए, र मन्दिरको सिंहासनबाट यसो भन्ने एउटा चर्को आवाज निस्क्यो, “अब सिद्धियो ।” तब बिजुली चम्के, आवाजहरू र मेघ गर्जनहरू भए, र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिल्यै गएको थिएन । त्यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्वंस-विध्वंस भए । परमेश्वरलाई महान् बेबिलोनको याद आयो, र उहाँले आफ्नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्यसलाई पिउन दिनुभयो । अनि हरेक टापू लोप भएर गयो र पहाडहरू बेपत्ता भए । …』
अनि पुरानो करारमा पनि यस प्रकारले लेखिएको छ :
सप १:१४-१८ 『“परमप्रभुको महादिन नजिकै छ, र त्यो चाँडै आउँदैछ । ध्यानसित सुन । परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्यहाँ योद्धाको चिच्च्याई ठूलो हुनेछ । त्यो दिन क्रोधको दिन हुनेछ, विपत् र वेदनाका दिन, कष्ट र सर्वनाशको दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन, किल्ला भएका सहरहरू र कुनाका धरहराहरूका विरुद्धमा तुरही र लडाइँको सोरको दिन । म मानिसहरूमाथि सङ्कष्ट ल्याउनेछु, र तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन् । तिनीहरूको रगत धूलोसरि र तिनीहरूका आन्द्रा-भुँडीहरू फोहरसरि फ्याँकिनेछन् । परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ । उहाँका डाहको आगोले सारा संसारै भस्म पारिनेछ, किनकि पृथ्वीमा बस्नेहरू सबैलाई उहाँले अचानक भस्म पार्नुहुनेछ ।”』
मला ४:१-३ 『“हेर, त्यो दिन आउँदैछ । त्यो भट्टीझैँ दन्कनेछ । सबै हठी र सबै दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । “त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्नेछैन । तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ । अनि गोठलाई छोडेर निस्केका बाछाजस्तै तिमीहरूचाहिँ बाहिर निस्कनेछौ । तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ । जुन दिन म त्यो काम गर्छु, त्यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।』
माथि लेखिएका थुप्रै अगमवक्ताहरूका अगमवाणीहरू सबै संसारको अन्त्यसम्बन्धी अगमवाणीहरू हुन् । हिजोआज वर्तमान पुस्ताको बारेमा भविष्यवाणी गर्ने मानिसहरूको रिपोर्टअनुसार “स्वीच मात्र दबायो भने संसारको पूर्ण विनाश” भनिएको छ (सन् १९७७ अक्टोबर २० तारिख, ग्यङनाम दैनिक पत्रिका) र सन् १९७६ मार्च १२ तारिखमा गुग्जेसिन्बो पत्रिकामा “आणविक युद्धबाट बच्नका लागि पूर्वतयारी गर्दै अमेरिकाको वासिङ्गटन डि.सि.को वरिपरिका जमीनमुनि ९७ वटा भूमिगत सहरहरू बनाइएका छन्” भनेर लेखिएको छ । यो सबै मानिसहरूको लागि चेताउनी हो ।
अब यो संसार बन्द गल्लीभित्र परेको छ, दिमाग अनियन्त्रित भएको छ र निराशाजनक युग आएको छ । तर जब चेताउनीको समाचार आउँछ तब मुक्तिको समाचारले पनि सँगै पछ्याउँछ । लेखिएको छ :
यर ४:५-६ 『“यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक !’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं !’ सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति भागेर जाओ ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु ।”』
सप २:१-३ 『ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ, नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै । हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर । धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ ।』
यस्तो समयमा अति हतारचाहिँ मुक्तिको समाचारतर्फ कान लगाउनु हो । तेस्रो विश्वयुद्धद्वारा पृथ्वीको अन्त्य होस् अथवा परमेश्वरको महान् शक्तिद्वारा अन्त्य होस्, विपत्तिबाट पार हुन सक्ने अगमवाणीहरू पनि भएकोले धर्मशास्त्रका पदहरू अध्ययन गरौं । धर्मशास्त्रमा जगत्को अन्त्यबारे धेरै अगमवाणीहरू छन् । अगमवाणीलाई पूर्ण रूपले विश्वास गर्ने र त्यसैअनुसार चल्नेले मुक्ति पाउनेछ ।
यदि मुक्तिको खबरलाई विश्वास नगरी आफ्नै चलाखीद्वारा बच्नलाई सम्पत्ति खर्च गरेर जमीन खनेर लुक्ने ठाउँ बनायो, रकेटबाट अर्को ग्रहमा भागेर गयो, शान्त देशतिर भागेर गयो अथवा आणविक जहाज बनाएर उत्तरी ध्रुवको हिमशिलामुनि लुक्यो भने यस्ता कार्यहरूले उसलाई एकछिन संकटबाट तर्किन मद्दत गर्ला तर उसको जीवन अनन्तसम्म बच्नचाहिँ सक्दैन भनेर अगमवक्ताहरूले लेखेका छन् ।
सप १:१८ 『परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ । …』 अनि आमोस अगमवक्ताले लेखेका छन् ।
आमो ९:२-४ 『“तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ । तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई उँधो तानेर झार्नेछु । तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म त्यहाँबाट खोजी-खोजीकन तिनीहरूलाई पक्रनेछु । तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि म तिनीहरूलाई डस्न सर्पलाई आज्ञा दिनेछु । तिनीहरू आ-आफ्ना शत्रुहरूद्वारा निर्वासित गरिए तापनि म तरवारलाई हुकुम गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । भलाइको निम्ति होइन, तर खराबीको निम्ति म तिनीहरूमाथि नजर राख्नेछु ।”』
त्यसैले अब मानिसको बाटो वा तरिका प्रयोग गर्नुको सट्टा परमेश्वरको निर्देशनलाई पछ्याउँदै बाइबलको अगमवाणीअनुसार मुक्तिको उपाय अध्ययन गरेर त्यसैअनुसार चल्नुपर्ने समय आएको छ ।
अगमवाणीलाई विश्वास गर्नेहरूलाई मुक्ति दिन परमेश्वरले प्राचीन समयको छायाको इतिहासद्वारा अन्त्यको बारेमा देखाइदिनुभएको छ । त्यो इतिहास अध्ययन गर्ने हो भने यस प्रकार छ :
प्रस १२:१२-१४ 『“त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू ।”』
नयाँ करार हिब्रू ११:२८मा 『ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाडको विधि पालन गरे र रगत छर्के』 भनिएको छ । फेरि भन्नुपर्दा निस्तार-चाड मान्नेहरूका लागि निस्तार-चाडको थुमाको रगत चिन्ह भएर तिनीहरूमाथि विपत्ति झारिएन भन्ने कुरा हो ।
प्रस्थानपछि पनि करीब ५८६ ई.पू.तिर यहूदा बेबिलोनको आक्रमणबाट नष्ट हुन लाग्दा र यरूशलेम पनि विनाश हुनैलाग्दा यर्मिया अगमवक्ताले मानिसहरूलाई यसरी चेताउनी दिएका थिए ।
यर ११:१-४ 『यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: “यस करारका शर्तहरू ध्यानसित सुन्, र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन् । तैंले तिनीहरूलाई भन्, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यस करारका शर्तहरूलाई पालन नगर्ने मानिस श्रापित होस्– करारका ती शर्तहरू जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मैले फलामको भट्टी, अर्थात् मिश्रदेशबाट निकालेर ल्याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ’ । (मिश्रदेशबाट निकालेर ल्याउनुभएको दिन निस्तार-चाडको दिन हो) ‘मेरो आज्ञापालन गर, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा मान, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु ।』 यसरी यर्मियाले घोषणा गरे तापनि इस्राएलीहरूले उनको कुरा नसुनेका हुनाले बेबिलोन देशको आक्रमणमा परेर तिनीहरू नष्ट भए । अनि यर्मियाले यसरी पनि गवाही दिएका छन् ।
यर १६:१०-११ 『“जब तैंले यस जातिलाई यी सबै कुरा भन्छस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन परमप्रभुले हाम्रो विरुद्धमा यस्तो ठूलो विपत्ति आओस् भनी खटाउनुभएको छ ? हामीले के भूल गरेका छौं ? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले कुनचाहिँ पाप गरेका छौं र ?’ तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर पराई देवताहरूका पछि लागेर तिनीहरूको सेवा गरे र तिनीहरूलाई पुजे,’ परमप्रभु भन्नुहुन्छ । “तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्था पालन गरेनन् ।”』
यर ४४:२३ 『“तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्यवस्था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्छ, तिमीहरूमाथि आएको हो ।”』
अनि यशैया अगमवक्ताले सारा संसार विनाश हुने कारणचाहिँ सदासर्वदाको करारलाई तोडेकाले गर्दा हो भनेर चेताउनी दिएका छन् ।
यशै २४:३-५ 『पूरै पृथ्वी उजाड हुनेछ र पूर्ण रूपमा लूटपीट गरिनेछ, किनकि परमप्रभुले नै यो कुरा भन्नुभएको छ । पृथ्वी सुक्खा हुनेछ, र त्यो ओइलाउँछ । संसार दुर्बल हुन्छ, र त्यो ओइलाउँछ । पृथ्वीका उच्च दर्जाका मानिसहरू दुर्बल हुन्छन् । पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ । तिनीहरूले नियमहरू उल्लङ्घन गरेका छन्, कानूनहरू भङ्ग गरेका छन् र सदासर्वदाको करार तोडेका छन् ।』
सदासर्वदाको करार भनेको येशू ख्रीष्टले खडा गर्नुभएको नयाँ करार हो ।
अध्याय २ निस्तार-चाडको रहस्य
लूक २२:२० 『… “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”』
हिब्रू १३:२० 『अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले』 भनिएको छ ।
पुरानो करारको समयमा पुरानो करार राम्ररी पालन गरेकाहरू विपत्तिबाट पार भएका थिए भने नयाँ करारको समयमा चाहिँ नयाँ करार पालन गर्नेहरू विपत्तिबाट पार हुनेछन् भनिएको छ । ई.पू. १४९८तिर प्रस्थानको समयमा पनि निस्तार-चाडको थुमाको रगत चिन्ह भएर इस्राएलीहरूले उद्धार पाएका थिए, अनि हिजकिया राजाको समयमा पनि निस्तार-चाड मानेका हिजकिया राजा र तिनका प्रजाहरू यरूशलेम सहरभित्र स्वर्गदूतहरूको सहयोगद्वारा अश्शूर राज्यको आक्रमणबाट बचेका थिए । त्यो इतिहास अध्ययन गर्ने हो भने यस प्रकार छ ।
२ इति ३०:४-१० 『यो प्रस्ताव राजा र सारा समुदायलाई असल लाग्यो । तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ । यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड मानेका थिएनन् । हिजकियाको हुकुमअनुसार राजा र तिनका अधिकारीहरूबाट यस्तो घोषणा-पत्र लिएर समाचारवाहकहरू सारा इस्राएल र यहूदाभरि गएः “हे इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क(निस्तार-चाड मान्न फर्क), र अश्शूरका राजाहरूका हातबाट उम्कनेहरूतिर उहाँ पनि फर्कून् । तिमीहरू आफ्ना पुर्खाहरू र तिमीहरूका कुटुम्बहरूजस्तै नहोओ । तिनीहरू त परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघाती भए, र परमप्रभुले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो । त्यो तिमीहरू आफैले देख्यौ । तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ । तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर । परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस् । तिमीहरू परमप्रभुतिर फर्क्यौ भने(निस्तार-चाड मान्न आयौ भने) तिमीहरूका कुटुम्बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन् । किनभने परमप्रभु तिमीहरूका परमेश्वर (पश्चात्ताप गरेर निस्तार-चाड मान्नेहरूसँग) दयालु र करुणामय हुनुहुन्छ । तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन ।” तब ती समाचारवाहकहरू एफ्राइम र मनश्शेका देश(सामरिया)भरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए । तर मानिसहरूले तिनीहरूको(समाचारवाहकहरूको) गिल्ला र हाँसो गरे ।』
माथि उल्लेखित वचनहरूलाई विस्तारमा वर्णन गर्ने हो भने लामो समयसम्म परमेश्वरका पवित्र चाडहरू नमानेको यहूदा देशले, यशैया अगमवक्ताको सल्लाहअनुसार हिजकिया राजा सिंहासनमा बसेपछि, भत्केको मन्दिर मर्मत गरे (२ इति २९:१-३) र करीब ई.पू. ७२६तिर पवित्र पात्रोअनुसार दोस्रो महिनाको १४औँ दिनमा निस्तार-चाड मान्ने अठोट गरेर समाचारवाहकहरूलाई यहूदा र सामरिया देशसम्म पठाए । तर करीब २५० वर्षको लामो समयसम्म निस्तार-चाड नमनाएका सामरियाका मानिसहरूलाई निस्तार-चाडको बारेमा थाहै थिएन, न त निस्तार-चाडको सत्यतालाई बुझ्ने कुनै बाटो नै थियो । त्यसैले यस्तो खुशीको समाचार लिएर आएका समाचारवाहकहरूको तिनीहरूले गिल्ला र हाँसो गरे (२ इति ३०:१०) ।
त्यसको ३ वर्षपछि अश्शूरका राजा शलमनेशेरले सामरियामाथि आक्रमण गरेर त्यसलाई घेरा हाले । ३ वर्ष घेरा हालेपछि करीब ई.पू. ७२१तिर इस्राएलका राजा होशियाको नवौँ वर्षमा, समाचारवाहकहरूलाई गिल्ला र हाँसो गर्ने सामरिया कब्जा गरिएर अन्त्य भयो ।
लाखौँ मानिसहरू मारिए, लाखौँ मानिसहरू कैदी बनाइए र लाखौँ मानिसहरू विभिन्न देशमा छरिएर घुमन्ते जीवन बिताए । करीब ई.पू. ९७५मा यारोबाम राजा भएपछि परमप्रभुको निस्तार-चाडलाई लत्याएर मूर्तिपूजा गरेको सामरिया २५४ वर्षपछि नष्ट भयो ।
२ राज १८:९-१२ 『हिजकियाका शासनकालको चौथो वर्षमा, जो इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्ष थियो, अश्शूरका राजा शलमनेशेरले सामरियामाथि आक्रमण गरे, र त्यसलाई घेरा हाले । तीन वर्षसम्म घेरा हालेपछि अश्शूरीहरूले त्यो कब्जा गरे । यसरी हिजकियाको छैटौँ वर्षमा, जो इस्राएलका राजा होशियाको नवौँ वर्ष थियो, सामरिया कब्जा गरियो । अश्शूरका राजाले इस्राएलीहरूलाई अश्शूरमा लगे, र हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा उनले तिनीहरूलाई बसाले । यो यही कारण भएको थियो, कि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार, अर्थात् परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्लङ्घन गरेका थिए । तिनीहरूले न त आज्ञाहरूमा ध्यानै दिए, न ती पालन गरे ।』
अनि यहूदा देशले पनि, परमेश्वरको नियम पालन गर्छौं भने तापनि व्यवस्थामध्ये अति महत्त्वपूर्ण निस्तार-चाड थाहा पाउन र मान्न पनि नसकेको हुनाले बारम्बार विदेशी मुलुकहरूको आक्रमणमा परेर अरूको हातमा पर्दै कष्ट भोगेको थियो ।
तर बेला-बेलामा परमेश्वरले तिनीहरूमाझ अगमवक्ताहरू पठाइदिनुहुन्थ्यो र तिनीहरूले परमेश्वरका नियम र विधिहरू पालन गरेर परमेश्वरबाट सुरक्षा प्राप्त गर्थे ।
हिजकिया राजाले पनि यशैया अगमवक्ताको सल्लाह मानेर सिंहासनमा बस्नासाथ निस्तार-चाड माने । कारण तिनी परमेश्वरको आशिष् पाएर देशलाई रक्षा गर्न चाहन्थे, र भविष्यमा आउने डरलाग्दो कष्टबाट सुरक्षा पाउन चाहन्थे । त्यसैले तिनले निस्तार-चाड माने र त्यसको प्रचार गरे । हिजकिया र उनका प्रजाहरूले विश्वासका साथ निस्तार-चाड मानुञ्जेल तिनीहरू परमेश्वरको सुरक्षाभित्र रहे, र सङ्कष्टको समयमा पनि तिनीहरूले सुरक्षा पाए ।
२ राज १९:३०-३५ 『“फेरि यहूदाका घरानाका बाँचेकाहरूले भूइँमुनि जरा हाल्नेछन्, र जमीनमाथि फल उमार्नेछन् । किनभने यरूशलेमबाट एउटा बाँकी रहेको भाग, र सियोन डाँडाबाट बाँचेकाहरूको एक दल निस्केर आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो काम पूरा गर्नेछ ।” यसैकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “त्यो यस सहरभित्र पस्नेछैन, अथवा त्यसले एउटा काँड पनि यहाँ हान्नेछैन । त्यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन । त्यो आएकै बाटो भएर फर्किजानेछ । यस सहरभित्र त्यो पस्नेछैन, परमप्रभु यही घोषणा गर्नुहुन्छ । मेरो खातिर र मेरो दास दाऊदको खातिर म यस सहरलाई रक्षा गर्नेछु र बचाउनेछु ।” त्यस रात परमप्रभुका स्वर्गदूत निस्के, र तिनले अश्शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे । जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लाशहरू मात्र थिए ।』
निस्तार-चाड नमानेको सामरिया नष्ट भएरै छाड्यो तर यहूदा देशले निस्तार-चाडद्वारा उद्धारको छाप पाएर लगातार परमेश्वरको सुरक्षा प्राप्त गरी ई.पू. ५८६सम्म रह्यो । तर पछि तिनीहरूका सन्ततिहरूले परमेश्वरको करारलाई लत्याएका हुनाले यहूदा देश पनि बेबिलोनको कब्जामा पऱ्यो, र ७० वर्षसम्म यरूशलेम उजाड हुन पुग्यो । तिनीहरूमध्ये साँचो अगमवक्ताको कुरा सुन्नेहरू फेरि आफ्नो देश फर्कन सके तर झूटा अगमवक्ताको कुरा सुन्नेहरू नष्ट भए ।
अब त्यस बेलाका घटनाहरू अझ विस्तृत रूपमा अध्ययन गरेर यस युगप्रति परमेश्वरको इच्छा जान्न सक्ने ज्ञान लिऔं ।
अध्याय ३ करारलाई लत्याएको हुनाले बेबिलोनको कब्जामा परेको
करीब ई.पू. ५८७तिरको कुरा हो, यहूदा देशले परमेश्वरको निस्तार-चाड र करारलाई लत्याएको हुनाले बेबिलोन देशको आक्रमणमा परेर नष्ट भयो; यरूशलेम कब्जा गरियो, लाखौँ मानिसहरू मारिए, हजारौँ मानिसहरू कैदी बनाइए र यर्मियाको अगमवाणीअनुसार ७० वर्ष पूरा नहोउञ्जेल तिनीहरूले पट्टाइलाग्दो कैदी जीवन बिताए । लेखिएको छ :
यर ४४:२२-२३ 『जब परमप्रभुले तिमीहरूका दुष्ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्दाविना उजाड भएको थियो, जस्तो आज पनि छ । तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्यवस्था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्छ, तिमीहरूमाथि आएको हो ।”』 अनि लेखिएको छ :
२ राज २४:१४ 『उनले जम्मै यरूशलेमलाई निर्वासनमा लगे– जम्मै अधिकृतहरू र योद्धाहरू र सबै कारीगरहरू र कलाकारहरूलाई– सबै जम्मा दश हजार जनालाई कैद गरेर लगे । केवल साह्रै कङ्गालीहरूलाई मात्र उनले छोडे ।』
२ राज २५:८-१२ 『बेबिलोनका राजा नबूकदनेसरको उन्नाईसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान, बेबिलोनका राजाका एक अधिकारी यरूशलेममा आए । उनले परमप्रभुको मन्दिर र राजमहल र सहरका सबै घरहरूमा आगो लगाइदिए । सबै मुख्य-मुख्य भवनहरूलाई उनले जलाइदिए । राजकीय अङ्गरक्षकहरूका सेनापतिको नेतृत्वमुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्काइदिए । सेनापति नबूजरदानले सहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजाकहाँ गएकाहरूलाई निर्वासनमा लगे । तर ती सेनापतिले दाखबारी र खेतको काम गर्नका निम्ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्यहाँ छोडे ।』
अनि यर्मिया अगमवक्ताले लेखेका छन् :
यर २५:११-१४ 『“यो सारा देश निर्जन र उजाड हुनेछ, र यी जातिहरूले सत्तरी वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नेछन् ।” “तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्यसका जाति, अर्थात् बेबिलोनीहरूको देशलाई उनीहरूका दोषको कारण सदाको निम्ति उजाड पार्ने गरी दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ । “मैले त्यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात् यस पुस्तकमा लेखेका र यर्मियाले सबै जातिहरूका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्यस देशमाथि ल्याउनेछु । उनीहरू आफू धेरै जातिहरू र ठूला-ठूला राजाहरूद्वारा कमारा तुल्याइनेछन् । म उनीहरूका कार्य र हातका कामअनुसार उनीहरूलाई बदला दिनेछु ।”』
साँच्चै नै यर्मिया अगमवक्ताको कुरा सुनेर त्यसैअनुसार गर्नेहरूले सुरक्षितसाथ दिनहरू बिताए र कहिलेकहीँ शारीरिक सफलता प्राप्त गरे । अनि अन्त्यमा तिनीहरू आफ्नो देशमा फर्केर खुशी र आनन्दसाथ पर्खाल निर्माण र मन्दिर मर्मत गर्न प्रयत्न गरे । तर हननियाजस्ता झूटा अगमवक्ताको अगमवाणीलाई विश्वास गर्ने मानिसहरू सबै नष्ट भए । यशैया अगमवक्ताले यसरी लेखेका छन् :
यशै ९:१६ 『यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन् । तिनीहरूबाट डोऱ्याइएकाहरूचाहिँ बरालिएका छन् ।』
यसरी झूटा अगमवक्ताहरूको छलमा परेकाहरू बेबिलोन देशको विरुद्धमा लाग्दा सबै मारिए, तर यर्मिया अगमवक्ताको अगमवाणीलाई विश्वास गरेका मानिसहरूले धैर्य गर्दै आफ्नो देश फर्कने महिमिति दिनको प्रतीक्षा गरे, र तिनीहरूले अन्त्यमा त्यो देखे ।