बाइबलमा बप्तिस्मा भनेको के हो ?
अर्थ, महत्त्व

23456 읽음

बप्तिस्मा भनेको ख्रीष्टियान बन्न चाहने कुनै मानिसले आफ्नो पापमय शरीरको खोल छोडेर नयाँ जीवनमा जन्मनलाई गरिने धर्मविधि हो । बप्तिस्माको मूल ग्रीक शब्दचाहिँ बाप्तिस्मा हो, जुनचाहिँ भिजाउनु वा डुबाउनु भन्ने अर्थ बोकेको बाप्तिजो शब्दबाट आएको हो । येशूज्यूले पनि, अनि फिलिपद्वारा प्रचारित नपुंसकले पनि पानी भएको ठाउँनेर गई बप्तिस्मा लिनुभएको यथार्थताले यो कुरालाई थप समर्थन गर्दछ (मत्ती ३:१६; प्रे ८:३८-३९) । कसैको शिरमा अथवा निधारमा थोरै पानी छर्केर गरिने विधिचाहिँ बाइबलमा भनिएको ‘बप्तिस्मा’भन्दा फरक छ ।

बप्तिस्माको अर्थ– पाप गाडिने धर्मविधि

बप्तिस्माको धर्मविधि गरिँदा, पूरै शरीरलाई पानीमा डुबाइन्छ । यसले, विगतका हाम्रा सबै पापहरू गाडियो भन्ने कुरालाई सङ्केत गर्दछ ।

के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं ? यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं । रोम ६:३-४

बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ । मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ । कल २:१२

क्रूसमा मृत्यु भोग्नुभएपछि येशूज्यू चिहानमा गाडिनुभयो र मृतकबाट पुनरुत्थान हुनुभयो । त्योजस्तै हामीले पनि बप्तिस्मा लिँदा हाम्रा पापहरू पानीमा गाडिएर हामीले नयाँ जीवन पाउँछौं । यसकारण बप्तिस्मा भनेको शरीरलाई चिहानमा गाडेझैँ पूरै शरीरलाई पानीले भिजाउने धर्मविधि हो ।

अहिले अधिकांश मण्डलीहरूले पानी छर्केर बप्तिस्मा दिने गर्छन् । योचाहिँ पानीको हाहाकार भएको अवस्था अथवा शरीरलाई पानीमा डुबाउन निषेध गरिएको चिकित्सा प्रतिबन्धको अवस्थाबाट सृजिएको हो । हुन त अपरिहार्य अवस्थामा मात्र त्यसो गरिएको थियो । तर पछि गएर मण्डलीहरूमा त्यसैको आदत बस्यो । हिजोआज बप्तिस्माको साँचो अर्थ मधुरिएकोले धेरै मण्डलीहरूले पानी छर्केर बप्तिस्मा दिने गर्छन् ।

बप्तिस्माको महत्त्व– येशूज्यूले आज्ञा गर्नुभएको मुक्तिको नियम

बप्तिस्माचाहिँ येशूज्यूले उदाहरण देखाउनुभएर आज्ञा गर्नुभएको नियम भएकोले यो महत्त्वपूर्ण छ । मानव-जातिको मुक्तिको निम्ति आउनुभएका येशूज्यू स्वयम्‌ले मानिसहरूलाई बप्तिस्मा दिनुभयो । अनि आफ्ना चेलाहरूलाई पनि, सबै देशका जातिहरूलाई बप्तिस्मा दिन भन्नुभयो ।

यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्तिस्मा दिनुभयो । यूह ३:२२

“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,” मत्ती २८:१९

यदि बप्तिस्माचाहिँ मुक्तिसँग असम्बन्धित भएको भए येशूज्यूले बप्तिस्मा दिनुहुने पनि थिएन र दिनू भनेर आज्ञा गर्नुहुने पनि थिएन । येशूज्यूको कार्यले पनि बप्तिस्माचाहिँ मुक्तिको निम्ति नभई नहुने नियम हो भन्ने कुरा देखाउँछ । त्यसैले येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरित पत्रुसले “पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ, र पवित्र आत्माको वरदान पाउनेछौ” भन्दै प्रचार गरे, अनि बप्तिस्माचाहिँ मुक्तिको चिन्ह हो भनी गवाही दिए (प्रे २:३८; १ पत्र ३:२१) ।

येशूज्यूले, यदि कोही पानी र आत्माद्वारा जन्मेन भने उसले परमेश्वरको राज्य देख्नेछैन, अर्थात् स्वर्ग जान सक्नेछैन भन्नुभयो ।

येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन ।” यूह ३:५

यहाँ, ‘पानी’द्वारा जन्मनु भन्नाले विगतका पापहरू बप्तिस्माद्वारा गाडिएर नयाँ जीवन पाउनु भन्ने अर्थ हो । प्रेरित पावलले पनि, बप्तिस्माद्वारा हामीहरू नयाँ जीवनमा जन्मन्छौं भन्ने यथार्थतालाई प्रष्ट पारे (रोम ६:३-४) । बप्तिस्मा नलिएको र नयाँ गरी नजन्मेको मानिस स्वर्ग जान सक्दैन । त्यसैले येशूज्यूले, विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ भन्नुभयो ।

“विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ ।” मर्क १६:१६

पुरानो करारको खतना र नयाँ करारको बप्तिस्मा

पुरानो करारको समयमा इस्राएलीहरूले परमेश्वरको प्रजा हुने चिन्हस्वरूप खतना गर्ने गर्थे ।

“तिमीहरूको आफ्नो खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्ह यही हुनेछ । … खतना नगरिएको जुनसुकै पुरुष जसको खलडीको खतना भएको छैन, त्यो मानिस आफ्नो जातिबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्ग गर्छ ।” उत १७:११-१४

तर नयाँ करारको समयमा चाहिँ बप्तिस्मा लिएमा परमेश्वरका प्रजा बन्न सकिन्छ । पुरानो करारको खतना नै नयाँ करारको समयमा बप्तिस्मामा प्रतिस्थापन भएको हो ।

ख्रीष्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो । बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ । मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ । कल २:११-१२

यहाँ “हातविना गरिएको खतना”, “उहाँमा खतना”ले बप्तिस्मालाई जनाउँछ ।

पुरानो करारको समयमा खतना भएजस्तै, नयाँ करारको समयमा परमेश्वर र उहाँका प्रजाबीचको करारको चिन्ह नै बप्तिस्मा हो । फेरि भन्नुपर्दा, परमेश्वरले नयाँ करारको सत्यताभित्र बप्तिस्मा लिएका मानिसहरूलाई मात्र आफ्ना प्रजाको रूपमा स्वीकार्नुहुन्छ । अनि बप्तिस्माद्वारा हामीले विगतका पापहरू सबै क्षमा पाई परमेश्वरका प्रजाभएअनुरूप उहाँको वचनअनुसार जिउने अवसर प्राप्त गर्नेछौं (रोम ६:६) । यसकारण परमेश्वरका प्रजा भएर सही विश्वासको सही मार्गमा हिँड्न चाहने जो कोहीले पनि पहिला बप्तिस्मा लिएको हुनुपर्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기