बाइबलका त्रिएक परमेश्वर
: पिता, पुत्र र पवित्र आत्मा परमेश्वर को हुनुहुन्छ होला ?

14360 읽음

पिता यहोवा परमेश्वर, पुत्र येशू ख्रीष्ट र पवित्र आत्मा परमेश्वरचाहिँ पवित्र तीन जना हुनुहुन्छ । अनि पवित्र तीन जनाचाहिँ एकै हुनुहुन्छ भन्ने सिद्धान्तलाई त्रिएक भनिन्छ । त्रिएकलाई ख्रीष्टियान धर्मको केन्द्रीय सिद्धान्तको रूपमा लिइन्छ तर यसलाई कसरी बुझ्ने भन्नेबारे अझै पनि सम्प्रदायहरूबीच फरक-फरक विचारहरू छन् ।

“पुत्र येशूज्यू मूलभूत रूपमा को हुनुहुन्छ ?” भन्ने कुरा नै तिनीहरूको मुख्य समस्या हो । संसारभरि फैलिएको ख्रीष्टियान धर्मले अहिले येशूज्यूको नाउँ पुकारिरहेको त छ तर यो प्रश्नको सही जवाफ कमैलाई मात्र थाहा छ । त्योचाहिँ प्रत्येक मण्डलीले आफ्नै इच्छाअनुसार बाइबललाई व्याख्या गर्ने भएकोले हो । कुनै मण्डलीले येशूज्यूलाई हामीजस्तै सृष्टिका थोकको रूपमा लिँदछ भने कुनैले उहाँलाई स्वर्गदूतको रूपमा लिने गर्छ, कुनैले परमेश्वर र येशूज्यूको इच्छा र उद्देश्य एउटै भएकोले उहाँहरू एकै त हुनुहुन्छ तर उहाँहरूको मूलभूत रूप भने फरक-फरक छ भन्ने गर्छन् ।

त्रिएकसम्बन्धी बाइबलीय गवाहीलाई हेर्ने हो भने येशूज्यू मूलभूत रूपमा परमेश्वर हुनुहुन्छ (फिलि २:५) । परमेश्वरले मानव-जातिलाई बचाउन लामो समयदेखि मुक्तिको कार्य गर्दैआउनुभएको छ । एकवचनमा हुनुभएका पिता परमेश्वरले मुक्तिको प्रबन्ध अवधिभर पिता, पुत्रपवित्र आत्मा गरेर ३ जनाको भूमिका निभाउनुभयो । बाइबलमा भएको त्रिएकको साँचो अर्थ यही हो ।

त्रिएक परमेश्वरलाई बुझ्ने समझ

त्रिएकको विषयलाई सजिलै बुझ्नको निम्ति पानीको रूप परिवर्तनलाई सोचौं । तरल रूपमा रहेको पानीलाई चिस्यायो भने ठोस पदार्थ बरफ बन्छ । अनि पानीलाई उमाल्यो भने ग्याँस अर्थात् बाफ बन्छ । हुन त पानी, बरफ र बाफको रूप र नाम फरक-फरक भए पनि यसको मूल तत्त्वचाहिँ उही पानी(H₂O) नै हो । यसै गरी परमेश्वरले पनि युगअनुसार फरक स्वरूप र नाउँमा मुक्तिको कार्य गर्नुभए तापनि मूलभूत रूपमा उहाँहरू एकै परमेश्वर हुनुहुन्छ । बाइबलमा भएका अगमवाणीहरूलाई हेरेमा त्रिएकको अर्थ स्पष्टसँग बुझ्न सकिन्छ ।

सर्वप्रथम पिता र पुत्रको विषयमा सोचौं । येशूज्यूले, बाइबलले उहाँको विषयमा गवाही दिएको कुरा बताउनुभयो (यूह ५:३९) । येशूज्यूको समयको बाइबल भनेको पुरानो करार हो । बालकको रूपमा जन्मनुभएका येशूज्यू नै पिता परमेश्वर हुनुहुन्छ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको छ ।

किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । यशै ९:६

यसकारण पुत्र येशूज्यू नै पिता यहोवा परमेश्वर हुनुहुन्छ । अबचाहिँ पिता परमेश्वर र पवित्र आत्मा परमेश्वरको विषयमा सोचौं । प्रेरित पावलले, पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ र त्यस लगतै येशूज्यूले पनि हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ भनेर गवाही दिएका छन् ।

त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । रोम ८:२६-२७

दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । रोम ८:३४

यस्ता अभिलेखहरू नै येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने कुराका प्रमाण हुन् । यसकारण पिता, पुत्र र पवित्र आत्मा फरक नभएर एकै हुनुहुन्छ । फेरि भन्नुपर्दा पिता परमेश्वर एक जनाले पुत्र र पवित्र आत्माको भूमिका निभाउनुभयो । परमेश्वरले पिता, पुत्र र पवित्र आत्माको भूमिका निर्वाह गर्नुको कारणचाहिँ उहाँले मुक्तिको प्रबन्धलाई ३ युगमा विभाजन गर्नुभएर प्रत्येक युगमा फरक नाउँ लिएर कार्य गर्नुभएकोले हो ।

प्रत्येक युगमा फरक नाउँमा कार्य गर्नुहुने त्रिएक परमेश्वर

सबै कार्यकलापको लागि समय छ (उप ३:१) । मानिसहरू यो संसारमा आ-आफ्नै उद्देश्य लिएर जिइरहेका हुन्छन् । त्यसै गरी हाम्रो विश्वासको जीवनको पनि निश्चित उद्देश्य छ । त्यो नै आत्माको मुक्ति प्राप्त गर्नु हो (१ पत्र १:८-९) । मानव-जातिलाई बचाउने उद्देश्यद्वारा परमेश्वरले गर्नुहुने मुक्तिको प्रबन्ध पनि निर्धारित समयअनुसार अर्थात् युगअनुसार पूरा हुन्छ । परमेश्वरले ६,००० वर्षको मुक्तिको प्रबन्धलाई ३ युगमा विभाजन गर्नुभएर प्रत्येक युगमा मुक्तिदाताको बेग्लाबेग्लै नाउँ दिनुभयो ।

“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, …” मत्ती २८:१९

येशूज्यूले विश्व मुक्तिको निम्ति सबै देशका जातिहरूलाई चेला बनाउन, अनि तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन भन्नुभयो । पिता र पुत्र र पवित्र आत्माको नाउँ भनिएकोले पिताको नाउँ छ, पुत्रको नाउँ छ र पवित्र आत्माको पनि नाउँ छ भन्ने अर्थ हो । सर्वप्रथम पुरानो करार बाइबलमा मुक्तिदाताको नाउँदेखि नै अध्ययन गरौं ।

“म हुँ, म नै परमप्रभु(यहोवा, ASV) हुँ । मबाहेक अरू कोही मुक्तिदाता छैन ।” यशै ४३:११

यशैया अगमवक्ताको समयमा मुक्तिदाताको एकमात्र नाउँचाहिँ ‘यहोवा’ थियो । पिता यहोवाले मुक्तिको कार्य गर्नुभएको युगचाहिँ पिताको युग थियो । पिताको युगमा यहोवा बाहेक अर्को कुनै पनि नाउँमा मुक्ति पाउन सकिँदैनथ्यो । त्यसोभए परमेश्वर यो पृथ्वीमा ‘येशू’ नाउँमा आउनुहुँदा पनि के मुक्तिदाताको नाउँ यहोवा नै रहिरह्यो होला ?

“ ‘यो त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ ।’ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।” प्रे ४:११-१२

येशू नाउँबाहेक मुक्ति पाउनलाई अर्को कुनै नाउँ नै दिइएको छैन भनिएको छ । युगचाहिँ पिताको युगबाट पुत्रको युगमा परिवर्तन भयो । युग परिवर्तन भएकोले मुक्तिदाताको नाउँ पनि यहोवाबाट येशूमा परिवर्तन भयो । तसर्थ हामीले मुक्तिदाता परमेश्वरको नाउँलाई पुकार्ने एउटा निश्चित समय-सीमा छ । पिताको युगमा पिताको नाउँद्वारा मात्र मुक्ति पाउन सकिन्थ्यो, र पुत्रको युगमा चाहिँ पुत्रको नाउँद्वारा मात्र मुक्ति पाउन सकिन्थ्यो ।

नयाँ नाउँमा आउनुहुने पवित्र आत्मा परमेश्वर

अहिलेचाहिँ पिताको युग पनि होइन, पुत्रको युग पनि होइन, तर पवित्र आत्माको युग हो । पवित्र आत्माको युगमा मुक्तिदाताको नाउँ यहोवा होला कि येशूज्यू होला ? कि अर्को कुनै नयाँ नाउँ होला ? अब पवित्र आत्माको युगका मुक्तिदाताको नाउँको बारेमा अध्ययन गरौं ।

“जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन । म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ । आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।” प्रका ३:१२

यहाँ ‘म’ भन्नाले येशूज्यू हुनुहुन्छ । यसकाण मेरो नयाँ नाउँ भन्नाले येशूज्यूको नयाँ नाउँ हो । नयाँ नाउँ भन्नुभएकोले ‘येशू’ नाउँभन्दा फरक नाउँ हुनुपर्छ ।

“… जसले जित्छ, त्यसलाई म गुप्त-मन्नको केही भाग दिनेछु, र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्दैन ।” प्रका २:१७

यो वचनमा, जित्नेलाई नयाँ नाउँ लेखिएको पत्थर दिनेछु भन्नुभएको छ । यहाँ पत्थर भन्नाले साँच्चैको पत्थर होइन । नयाँ करार बाइबलमा पत्थरले येशूज्यूलाई जनाउँछ ।

उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ । मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ । १ पत्र २:४

तसर्थ प्रकाश २:१७मा भनिएको पत्थरमा लेखिएको नयाँ नाउँ नै येशूज्यूको नयाँ नाउँ हो । तर नयाँ नाउँचाहिँ पाउनेले बाहेक अरू कसैले जान्दैन भनिएको छ । वर्तमान समयमा येशूज्यूको नाउँ संसारका सबै मानिसहरूलाई थाहा छ । तर यो नयाँ नाउँचाहिँ अहिलेसम्म संसारले नजानेको अर्को नाउँ भएकोले, पाउनेले बाहेक अरू कसैले जान्दैन भनिएको हो । यो नयाँ नाउँ नै पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ हो ।

पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ

परमेश्वरका प्रजाहरूले प्रत्येक युगका मुक्तिदाताको नाउँलाई विश्वास गरेर पछ्याएमा मात्र मुक्ति पाउन सक्नेछन् भनेर बाइबलमा भनिएको छ ।

परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ ।” यशै ४३:१०

पिताको युगमा परमेश्वरका प्रजाहरू यहोवा नाउँको साक्षीको रूपमा चुनिएका थिए । कारण पिताको युगका मुक्तिदाता यहोवा हुनुहुन्थ्यो । तर पुत्रको युगमा भने फरक थियो ।

यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ ?” उहाँले तिनीहरूलाई भन्नुभयो, “… पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” प्रे १:६-८

पुत्रको युगमा प्रजाहरू येशूज्यूको साक्षी हुनेछन् भन्नुभयो । त्योचाहिँ युग पिताको युगबाट पुत्रको युगमा परिवर्तन भएजस्तै मुक्तिदाता पनि यहोवाबाट येशूज्यूमा परिवर्तन हुनुभएकोले गर्दा हो । त्यसोभए पवित्र आत्माको युगमा चाहिँ नि त ? यो युगमा हामीहरू स्वभावतः नयाँ नाउँको साक्षी हुनुपर्छ । किनभने पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ नै नयाँ नाउँ हो ।

त्यसै गरी प्रत्येक युगमा सन्तहरूले प्रार्थना गर्दा पुकार्नुपर्ने नाउँहरू पनि बेग्लाबेग्लै छन् । पिताको युगमा चाहिँ तिनीहरूले प्रार्थनाको उत्तर प्राप्त गर्न यहोवाको नाउँमा प्रार्थना गर्नुपर्थ्यो ।

तब मैले परमप्रभुको नाउँमा पुकार गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस् ।” भज ११६:४

कारण पिताको युगका मुक्तिदाता यहोवा हुनुहुन्थ्यो । त्यसोभए युग पिताको युगबाट पुत्रको युगमा परिवर्तन हुँदा मानिसहरूले कसको नाउँमा प्रार्थना गरे होलान् ?

“अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होओस् ।” यूह १६:२४

“अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ” भन्ने वचनचाहिँ येशूज्यूका चेलाहरूले त्यो समयसम्म येशूज्यूको नाउँमा होइनकि अर्को नाउँमा प्रार्थना गर्दैआएका थिए भन्ने कुरा हो । तर अबदेखि चाहिँ येशूज्यूको नाउँमा प्रार्थना गर भन्नुभयो । युग पिताको युगबाट पुत्रको युगमा परिवर्तन भएकोले अबदेखि चाहिँ प्रार्थना पनि पुत्रको युगका मुक्तिदाता येशूज्यूको नाउँमा गर्नुपर्छ भन्ने शिक्षा हो ।

पुत्रको युगमा भएको कुरालाई वास्ता नगरीकन यदि कसैले यहोवा नाउँमै प्रार्थना गर्दछ भने के उसले त्यो प्रार्थनाको उत्तर पाउँछ होला ? पाउँदैन । “मेरो नाउँमा माग, अनि तिमीहरूले पाउनेछौ” भन्ने वचनचाहिँ अबदेखि येशूज्यूको नाउँबाहेक अर्को नाउँमा मागेमा प्रार्थनाको उत्तर पाउन सकिँदैन भन्ने अर्थ हो । त्यसोभए पवित्र आत्माको युगमा चाहिँ कसको नाउँमा प्रार्थना गरेमा उत्तर पाउन सकिन्छ होला ? हामीले पवित्र आत्माको युगका मुक्तिदाता अर्थात् नयाँ नाउँमा प्रार्थना गर्नुपर्छ ।

पिताको युगका मानिसहरूले त्यो युगको मुक्तिदाता अर्थात् यहोवा नाउँ पुकारेर उद्धार पाए (योए २:३२) । युग पिताको युगबाट पुत्रको युगमा परिवर्तन हुँदा मानिसहरूले येशू नाउँ पुकारेर उद्धार पाए (रोम १०:९-१३) । यस पवित्र आत्माको युगमा चाहिँ नि त ? यस युगमा नयाँ नाउँ पुकारेमा उद्धार पाउन सकिन्छ । किनभने पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ नै येशूज्यूको नयाँ नाउँ हो ।

हामीहरू पवित्र आत्माको युगमा जिइरहेकाले, हामीले येशूज्यूको नयाँ नाउँ अनिवार्य जान्नुपर्छ । तब मात्र विश्वासको उद्देश्य आत्माको मुक्ति पाउन सकिन्छ । यो नयाँ नाउँको मालिक को हुनुहुन्छ भन्ने कुरा जान्न सकिने तरिकाचाहिँ केवल बाइबल हो (यूह ५:३९) । बाइबलका अगमवाणीहरू ध्यानपूर्वक अध्ययन गरेमा पवित्र आत्माको युगका मुक्तिदाता अर्थात् नयाँ नाउँमा आउनुहुने येशूज्यू नै दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू हुनुहुन्छ भन्ने कुरा निश्चित गर्न सकिन्छ ।

त्रिएक परमेश्वरले गर्नुभएको मुक्तिको कार्यको संक्षिप्त इतिहास निम्नानुसार छ । पुरानो करारको समयमा पिता यहोवा परमेश्वरले इस्राएलीहरूलाई चुन्नुभएर तिनीहरूलाई भविष्यको स्वर्गको बाटो तयारी गर्न लगाउनुभयो । उचित समय भएपछि, परमेश्वरले स्वर्गको महिमा पछि राख्नुभई यो पृथ्वीमा शरीरमा आउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुहुँदै मानव-जातिको पापको खातिर क्रूसमा बलिदान हुनुभएर सबै जातिहरूका लागि स्वर्गको बाटो खोलिदिनुभयो । उहाँ नै परमेश्वरका पुत्र, येशू ख्रीष्ट हुनुहुन्छ । तर सुसमाचारको बाटो अवरुद्ध भयो र स्वर्गतर्फको बाटो बन्द भयो । त्यसैले परमेश्वर स्वयम् यो पृथ्वीमा दोस्रो पल्ट आउनुभएर स्वर्गतर्फको बाटो खोलिदिनुभयो । उहाँ नै दोस्रो पल्ट आउनुहुनेछ भनेर अगमवाणी गरिनुभएका ख्रीष्ट, पवित्र आत्मा आन साङ होङज्यू हुनुहुन्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기