मण्डलीको इतिहास र परमेश्वरको मण्डली | नयाँ करारको सत्यता उन्मूलन र पुनर्स्थापन

3157 읽음

२,००० वर्षअघि परमेश्वर मानिसको रूपमा आउनुभएर मण्डली स्थापना गर्नुभयो । त्यो नै परमेश्वरको मण्डली थियो । परमेश्वरको मण्डलीले, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको सत्यता पालन गऱ्यो । अनि नयाँ करारको सुसमाचार लगनशीलताका साथ प्रचार गरेका प्रेरितहरूले यसलाई रोमी साम्राज्यभरि फैलाए । समयको बहावसँगै प्रेरितहरू संसारबाट बिदा भए, र विभिन्न सोचाइ र पृष्ठभूमि लिएका मानिसहरू मण्डलीमा प्रवेश गरे । त्यसपछि साँचो विश्वास हराउँदैजान थाल्यो । चरम सतावटपछि धर्मनिरपेक्षता जस्ता कोलाहलपूर्ण इतिहास भएर गुज्रिँदैजाँदा येशूज्यूले स्थापना गर्नुभएको र नयाँ करारको सत्यता पालन गर्ने परमेश्वरको मण्डली पूर्ण रूपमा लोप भयो ।

हिजोआज येशूज्यूलाई विश्वास गर्छौं भन्ने मण्डलीहरू संसारमा असंख्य छन् । तीमध्ये येशूज्यूले स्थापना गर्नुभएको वैधानिक मण्डलीचाहिँ कुन होला ? २,००० वर्षअघि परमेश्वरको मण्डलीले मानेको नयाँ करारको सत्यता, मण्डलीको इतिहास र बाइबलको अगमवाणीमा केन्द्रित रहँदै यसको उत्तर पत्ता लगाऔं ।

सुरुको मण्डलीको इतिहासः येशूज्यू र प्रेरितहरूको युग

येशूज्यूले राज्यको सुसमाचार प्रचार गर्नुहुँदै मण्डली स्थापना गर्नुभयो (मत्ती १६:१८) । पत्रुस, यूहन्ना, पावल लगायतका प्रेरितहरू जाने गरेको मण्डलीको नाउँ परमेश्वरको मण्डली थियो (१ कोर १:२; ११:२२; गला १:१३) । परमेश्वरको मण्डलीको मुख्य विशेषता भनेको येशूज्यूले उदाहरण देखाइदिनुभएको शबाथ-दिन1, निस्तार-चाड2स्ता नयाँ करारको सत्यताहरू पालन गर्नु थियो ।

  1. शबाथ-दिनः हिजोआज प्रायः मण्डलीहरूले आइतबारको सेवा गर्छन्, तर येशूज्यूले आइतबारको सेवा गर्नू भनेर एक चोटि पनि आज्ञा गर्नुभएको छैन । येशूज्यूले सधैँ शबाथ-दिन, शनिबार आराधना गर्नुभयो (लूक ४:१६) । अनि शबाथ-दिनचाहिँ परमेश्वरका प्रजाले संसारको अन्त्यको दिनसम्म मान्नुपर्ने सत्यता हो भनी सिकाउनुभयो (लूक २४:२०) । सुरुको मण्डलीले येशूज्यूको उदाहरणअनुसार शबाथ-दिनलाई आदतको रूपमा मान्यो (प्रे १७:२) ।
  2. निस्तार-चाडः येशूज्यूले निस्ताड-चाडद्वारा नयाँ करार स्थापना गर्नुभई पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो (मत्ती २६:१७-२८; लूक २२:१४-२०; यूह ६:५३-५४) । सुरुको मण्डलीले ख्रीष्टको सुसमाचारलाई पछ्याउँदै नयाँ करार निस्तार-चाड मान्यो (१ कोर ५:७-८; ११:२३-२६) ।

तर यो नयाँ करारको सत्यता लोप हुनेबारे येशूज्यूले सामा र गहूँको दृष्टान्तद्वारा अगमवाणी गर्नुभयो ।

येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छऱ्यो । तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो । … त्यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्दा गहूँसमेत उखेल्नेछौ । फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्‌न देओ । फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’ ।” मत्ती १३:२४-३०

मालिकले असल बीउ छरेको ठाउँमा शत्रुले आएर सामा छरिदिएको कुराचाहिँ येशूज्यूले असल बीउ छर्नुभएपछि शैतानले अधर्म अर्थात् झूटो शिक्षाद्वारा संसार भर्नेछ भन्ने अर्थ हो (मत्ती १३:३६-४२) । येशूज्यूको अगमवाणी जस्ताको तस्तै पूरा भयो ।

ख्रीष्टियानहरूमाथि रोमीहरूको सतावट र मण्डलीमा विभाजन

येशूज्यूको स्वर्गारोहणपछि नयाँ करारको सुसमाचार यहूदियालाई पार गरेर रोमसम्म प्रचार भयो । अन्य देवता र मूर्तिहरूलाई इन्कार गर्दै येशूज्यूलाई मात्र विश्वास गर्ने ख्रीष्टियानहरूको धार्मिक विश्वासले रोमीहरूमा अत्यधिक घृणाको भाव जगायो । ख्रीष्टियान धर्मले सम्राट नेरोको समयदेखि ई.सं. ३१३सम्म करीब २५० वर्ष रोमी साम्राज्यबाट भयानक सतावट भोग्यो । धर्म परित्याग नगर्दा असंख्य सन्तहरू क्रूसमा टाँगिए, खम्बामा जलाइए र एम्फिथिएटरमा फ्याँकिएर जङ्गली जनावरको आहारा बने ।

ती विभिन्न कठिनाइको बाबजुद सुरुको मण्डलीका सन्तहरूको विश्वास डगमगिएन । येशूज्यूले सिकाउनुभएको र मानेर उदाहरण देखाउनुभएको नयाँ करारको सत्यतालाई तिनीहरूले दृढतापूर्वक पालन गरे । तर येशूज्यूबाट सीधै सिकेका प्रेरितहरू संसारबाट बिदा भएपछि दोस्रो शताब्दीमा सन्तहरूको विश्वास कमजोर हुन थाल्यो । तीमध्ये कसै-कसैले, ख्रीष्टको शिक्षामा मानिसको विचार थपिएका सिद्धान्तहरूमा जिद्दी गर्न थाले । मण्डलीचाहिँ एकातिर प्रेरितहरूको युगको सत्यता पालन गर्ने पूर्वी मण्डली, र अर्कातिर परमेश्वरको व्यवस्था पालन नगर्ने पश्चिमी मण्डलीमा विभाजन भयो ।

त्यो समयमा रोमी साम्राज्यमा मिथ्रा धर्म अर्थात् आइतबारलाई पवित्र दिन मान्ने धर्म व्याप्त थियो । रोममा केन्द्रित पश्चिमी मण्डलीहरूले दोस्रो शताब्दीदेखि शबाथ-दिनलाई त्यागेर आइतबारको दिनमा आराधना गर्न थाले । अर्कातिर पूर्वी मण्डलीहरूले चाहिँ चौथो शताब्दीमा कन्स्टेन्टाइनको पालासम्म लगातार शबाथ-दिन माने ।

“… तिनीहरूका पूर्ववर्ती अर्थात् उहिले शबाथ-दिन मान्नेहरू कन्स्टेन्टाइनको आदेशबाट दुःखित भए, जसले गर्दा हप्ताको पहिलो दिन मान्ने कुरालाई अझ कडाइका साथ लागू गरियो । … चौथो शताब्दीको नजिकतिर शनिबारलाई चाडको रूपमा मान्ने चलनचाहिँ पूर्वी मण्डलीहरूमा आम कुरा थियो भन्ने कुरा निश्चित छ । …” द मोर्डन शबाथ एक्जामिन्ड, हेनरी ब्यानरम्यान, लन्डनः विटाकर, ट्रेचर र आर्नेट, सन् २०१२, पेज नं. २७४

पश्चिमी मण्डलीहरूले ख्रीष्टको शिक्षालाई छोडेर निस्तार-चाडपछि आउने आइतबार अर्थात् पुनरुत्थानको दिनमा पवित्र भोज गरे । तर त्यसको केन्द्रमा रहेको रोमी मण्डलीले चाहिँ, येशूज्यू र प्रेरितहरूको उदाहरणअनुसार निस्तार-चाडमा पवित्र भोज गर्ने पूर्वी मण्डलीहरूलाई समेत निस्तार-चाड इन्कार गर्न लगाउँदै उनीहरूकै रीतिरिवाज पछ्याउन जोड दिए । पूर्वी मण्डलीहरूले त्यसो गर्न इन्कार त गरे तर मानिसको युक्तिद्वारा बनेको अधर्मले नयाँ करारको सत्यतालाई अतिक्रमण गर्नबाट भने तिनीहरूले त्यसलाई रोक्न सकेनन् ।

“तर पूर्वी र पश्चिमी मण्डलीबीच विभेद सृजना भयो । एसियामा सबैभन्दा महत्त्वपूर्ण मिति निसान महिनाको १४औँ दिन थियो … र त्यसपछि पवित्र भोज(Eucharist) मनाइन्थ्यो । तर पश्चिमी मण्डलीहरूमा चाहिँ निसान महिनाको १४औँ दिनपछि आउने आइतबारसम्म उपवास बसेपछि मात्र पास्कल पवित्र भोज मनाइन्थ्यो … ई.सं. १५५मा पोलिकार्पले पोप एनिसिटससँग त्यस प्रश्नबारे बहस गरे तर एकले अर्कालाई आश्वासन दिलाउन नसकेकाले उनीहरू अन्तत: त्यो दिनलाई छुट्टाछुट्टै मान्ने सहमतिमा पुगे । रोममा ई.सं.१९७मा अवस्था झनै विवादास्पद भयो । एनिसिटसभन्दा अझ बढी दमनकारी प्रवृत्तिका पोप भिक्टरले सम्पूर्ण अन्योलहरूलाई रोक्ने र सबै मण्डलीहरूलाई आइतबारमा पुनरुत्थानको दिन मान्ने डोमिनिकको नियम स्वीकार गर्न विवश पारिदिने प्रतिबद्धता जाहेर गरे ।” जोन विलियम्स चार्ल्स वान्ड, ई.सं. ५००सम्मको सुरुको मण्डलीको इतिहास, रोउट्लेज, सन् २००६, पेज नं. ८२-८३

ख्रीष्टियान धर्ममा निरपेक्षता र नयाँ करारको सत्यता उन्मूलन

ई.सं. ३१३मा रोमी सम्राट कन्स्टेन्टाइनले मिलानो राजकीय आदेश जारी गरे, जुन कुराले मण्डलीको इतिहासमा ठूलो मोड लियो । यो आदेशद्वारा कन्स्टेन्टाइनले ख्रीष्टियान धर्मलाई स्वीकार गरिदिए, र ख्रीष्टियानहरूलाई समर्थन गर्ने नीतिहरू जारी गरे । मण्डलीलाई उच्च पारिएकोले ख्रीष्टियान धर्मबारे सही ज्ञान नभएका मानिसहरूसमेत मण्डलीतिर ओइरिए । रोमी सम्राटले आफ्नो राजनीतिक शक्तिको लागि ख्रीष्टियान धर्मलाई प्रयोग गरे ।

यस्तो अवस्थामा मण्डली क्षणभरमै सांसारिक भयो, र नयाँ करारको सत्यता पनि लोप भयो । ई.सं. ३२१मा कन्स्टेन्टाइनले आइतबार बिदाको आदेश जारी गर्दा पश्चिमी मण्डलीहरूले मात्र नभएर पूर्वी मण्डलीहरूले समेत शबाथ-दिनलाई लत्याएर आइतबार आराधना गरे । ई.सं. ३२५मा कन्स्टेन्टाइनद्वारा आयोजित निकेयाको धार्मिक सम्मेलनमा निस्तार-चाड हटाइयो । रोमको मण्डलीको जिद्दीअनुसार पवित्र भोज इस्टरमा गर्ने कुरा निर्धारित भयो । त्यति मात्र होइन, रोमी मण्डलीहरूले सूर्य देवता मिथ्राको जन्मदिन डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा परिवर्तन गरे ।

यसरी नयाँ करारको सत्यतालाई त्यागेर सूर्य देवता पुज्ने रीति अपनाएको रोमन क्याथोलिक धर्म ई.सं. ३९२मा रोमी साम्राज्यको राष्ट्रिय धर्म बन्यो । अन्त्यसम्म ख्रीष्टको शिक्षालाई पछ्याउने प्रण गरेका सन्तहरूले पहाडतिर अथवा मरूभूमिमा लुकी-लुकी सत्यता पालन गरे । तर अन्ततः सत्यताको नसा पूर्ण रूपमा चुँडिएरै छाड्यो ।

मध्य युगको मण्डलीको इतिहासः पोपतन्त्रको युग (धार्मिक अन्धकारको युग)

रोमी साम्राज्य कमजोर हुँदैगएपछि उत्तरबाट जर्मन जातिहरूले रोमी साम्राज्यमा पसेर आफ्नो राज्य स्थापना गरे । कष्टको श्रृङ्खलाबाट गुज्रिएपछि आखिरमा तिनीहरू रोमन क्याथोलिक धर्ममा लागे, र थुप्रै यूरोपेली देशहरूमा पोप तिनीहरूका आत्मिक अगुवा भए । नयाँ करारको सत्यतालाई झूटा सिद्धान्तहरूमा परिवर्तन गरेको रोमन क्याथोलिक मण्डलीका प्रमुखले पूर्ण अधिकार लिए । यसो हुँदै अन्ततः सत्यता नभएको धार्मिक अन्धकारको युग अर्थात् पोपतन्त्रको युग आयो ।

यस बेला कसै-कसैले रोमन क्याथोलिक मण्डलीका गल्तीहरू औँल्याएका त थिए, तर ती कुराहरूलाई वास्ता गरिएन । रोमन क्याथोलिक मण्डलीले, आफ्नो भ्रष्टातालाई औँल्याउनेहरूको आलोचनाबाट मुक्त हुन र आफ्नो शक्ति कायम राख्न न्यायालय स्थापना गऱ्यो । त्योद्वारा धेरै मानिसहरूलाई विधर्मीको संज्ञा दिइँदै निर्मम यातना दिइयो, र मारियो ।

“होली अफिस भनिने न्यायालय, पोप इनोसेन्ट तेस्रोद्वारा गठन गरिएको थियो । पछि गएर अर्का पोप ग्रेगरी नवौँले त्यसलाई निर्दिष्ट गरे । … पवित्र पोशाक पहिरिएर क्रूर र अमानवीय तरिकाले अरूलाई यातना दिने, निर्दोष पुरुष र महिलाहरूलाई जीवितै जलाउने अनि ‘ख्रीष्टको प्रतिनिधि’को आदेशको बहानामा ख्रीष्टको नाउँमा त्यो काम गरेका साधु र पूजाहारीहरूलाई सोचौं ।

‘न्यायिक जाँचबुझ’(Inquisition)चाहिँ मानव इतिहासकै सबैभन्दा घृणित र पाश्विक काम थियो, जसलाई पोपहरूले आफ्नो शक्ति कायम राख्न करीब ५०० वर्षसम्म प्रयोग गरे ।” हेनरी एच्. हेली, हेलीको बाइबल ह्यान्डबुक, जोन्डर्वन पब्लिसिङ हाउस, सन् १९६२, पेज नं. ८८३

धर्म-सुधारको इतिहास : अपूर्ण धर्म-सुधार

पाप मोचन पत्र(Indulgence) बिक्री जस्ता रोमन क्याथोलिक मण्डलीको भ्रष्टाचार चरम सीमामा पुगेपछि अन्ततः यूरोपमा धर्म-सुधारको आगो दन्कियो । सन् १५१७मा मार्टिन लुथरले जर्मनको विटेनबर्ग विश्वविद्यालयको मण्डलीको अगाडिको ढोकामा क्याथोलिकका गल्तीलाई औंल्याउँदै ९५ बुँदे पत्र टाँसिदिए । तब धर्म-सुधार व्यापक रूपले सुरु भयो, अनि ज्वीङ्ली र केल्विन लगायतका धेरै धर्म-सुधारकहरूले धर्मसुधारको लागि पहल गरे ।

यसरी १६औँ शताब्दीमा थुप्रै धर्म सुधारकहरूले रोमन क्याथोलिक मण्डलीको भ्रष्टाचारलाई औँल्याउँदै बाइबलको शिक्षालाई पछ्याउन खोजे । परिणामस्वरूप लुथरान, प्रेस्बिटेरियन, ब्याप्टिस्ट र मेथोडिस्ट मण्डलीजस्ता विभिन्न प्रोटेस्टेन्ट मण्डलीहरू उत्पन्न भए । यद्यपि तिनीहरूले विश्वासको सुधारको लागि मात्र आवाज उठाए । तर निस्तार-चाड अर्थात् नयाँ करारको सत्यतालाई भने पुनर्स्थापना गर्न सकेनन् । प्रोटेस्टेन्ट मण्डलीले आइतबारको सेवाजस्ता रोमन क्याथोलिक मण्डलीको झूटो सिद्धान्तलाई जस्ताको तस्तै पछ्यायो ।

असंख्य धर्म-सुधारकहरू देखा परे, र धेरै विद्वान्‌हरूले बाइबल अध्ययन त गरे तर कसैले पनि नयाँ करारको सत्यतालाई पुनर्स्थापना गर्न सकेनन् । रोमन क्याथोलिक मण्डलीको शक्ति पतन भयो । तर त्यसले बनाएको आइतबारको सेवा र क्रिसमसजस्ता झूटा सिद्धान्तहरू भने अझै पनि व्याप्त छन् । निष्कर्षमा, केवल १६औँ शताब्दीको धर्म-सुधार मात्र अपूर्ण थिएन तर अन्य सबै धर्म-सुधारकहरूको धर्म-सुधारहरू पनि अपूर्ण थियो भन्ने अर्थ हो ।

अन्तिम पूर्ण धर्म-सुधार: नयाँ करारको पुनर्स्थापना र परमेश्वरको मण्डली

आदिदेखि अन्त्यसम्मको कुरा जान्नुहुने परमेश्वरले संसारको इतिहासलाई सञ्चालन गर्नुहुन्छ । मण्डलीको इतिहासको सम्बन्धमा पनि उस्तै हो । क्षणिक रूपमा झूटा सिद्धान्तहरू व्याप्त भएर शैतानले शक्ति पाएजस्तो देखिए तापनि परमेश्वरले शैतानको शक्ति तोडिदिनुभएर सन्तहरूलाई अधर्मबाट छुटकारा गराउनुहुन्छ । यो कार्य पूरा गर्नलाई ख्रीष्ट, अर्थात् दोस्रो आगमनका येशूज्यू देखा पर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।

जसै मैले हेरें, त्यो सीङ पवित्र जनहरूका विरुद्ध लडाइँ गर्दैथियो र तिनीहरूलाई परास्त गर्दैथियो, जबसम्म ती अति प्राचीन आएर सर्वोच्चका पवित्र जनहरूको पक्षमा इन्साफको घोषणा गरे, अनि समय आयो जब तिनीहरूले राज्य अधिकार गरे । दान ७:२१-२२

‘त्यो सीङ’ भन्नाले दानिएल ७:२५मा उल्लेखित ‘सानो सीङ’ हो । सानो सीङले परमेश्वरका ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्नेछ, पवित्र जनहरूका विरुद्ध लडाइँ गरेर तिनीहरूलाई जित्नेछ । यो नै परमेश्वरलाई विरोध गर्ने सानो सीङको शक्ति हो । तर धन्न, ती अति प्राचीन आएर पवित्र जनहरूको पक्षमा इन्साफको घोषणा गर्नुहुनेछ भनिएको छ । परमेश्वर यो पृथ्वीमा आउनुभएर सबै झूटा सिद्धान्तहरूलाई नष्ट गर्नुहुनेछ, र सन्तहरूलाई सत्यतामा डोऱ्याउनुहुनेछ भन्ने अर्थ हो ।

“के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र ? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र ? म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” लूक १८:७-८

येशूज्यू दोस्रो पल्ट आउनुहुँदा उहाँले यो संसारमा मुक्ति पाउन योग्यको विश्वास कतै भेट्टाउनुहुनेछैन भन्नुभयो । किनकि उहाँले सामा र गहूँको दृष्टान्तद्वारा अगमवाणी गर्नुभएजस्तै, शैतानले नयाँ करारको सत्यता हटाइदिएर संसारमा अधर्म भरिदियो । यस्तो अवस्थामा यदि उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्नेछैन । यसकारण येशूज्यूको दोस्रो आगमनचाहिँ इन्साफका प्रभुको रूपमा होइनकि उद्धारकको रूपमा हुनेछ । उहाँ अन्तिम इन्साफअघि दोस्रो पल्ट आउनुभएर नयाँ करारका सत्यताहरू सबै पुनर्स्थापना गरिदिनुहुनेछ र सन्तहरूलाई अधर्मको साङ्लोबाट छुटकारा गराउनुहुनेछ । यो नै यस युगमा परमेश्वर स्वयम्‌ले गर्नुहुने पूर्ण धर्मसुधार हो ।

प्रकाशको पुस्तकमा पनि मोहोरबन्द गरिएको बाइबलको मोहोर खोलिदिन दाऊदको मूल हुनुभएका येशूज्यू दोस्रो पल्ट आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ (प्रका ५:१-५; २२:१६) । अर्थात् शैतानको बाधा-अवरोधले गर्दा कसैले पनि मान्न नसकेको नयाँ करारको सत्यतालाई दोस्रो आगमनका ख्रीष्ट आउनुभएर पुनर्स्थापना गरिदिनुहुनेछ भन्ने वचन हो । यसकारण ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुभयो भने सन्तहरूले मुक्ति पाउन सक्नेछन् भनेर बाइबलले बताएको छ ।

त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलार्इ एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । हिब्रू ९:२८

बाइबलका यी सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले शबाथ-दिन, निस्तार-चाड इत्यादि सुरुको मण्डलीले मानेको नयाँ करारको सत्यतालाई पूर्ण रूपले पुनर्स्थापन गरिदिनुभएर परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो । वर्तमान समयमा, शैतानद्वारा रोपिएका झूटा सिद्धान्तहरू होइन तर येशूज्यू र प्रेरितहरूको युगको सत्यता पालन गर्ने मण्डली नै आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली मात्र हो । तसर्थ परमेश्वरको मण्डली नै पूर्ण धर्म-सुधार गर्ने मण्डली, र मुक्तिको प्रतिज्ञा भएको वैधानिक मण्डली हो ।

FacebookTwitterEmailLineMessage
सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기