आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डली

3068 읽음

सन् १९६४मा दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डलीचाहिँ सुरुको मण्डलीको सत्यता र विश्वासलाई पुनर्स्थापन गर्ने एकमात्र मण्डली हो । स्थापना भएको ५० वर्षभित्र १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी मण्डलीहरू विश्वव्यापी रूपमा स्थापना भइसकेका छन् । परमेश्वरको मण्डली(आधिकारिक नाउँ : विश्व सुसमाचार समाज परमेश्वरको मण्डली)ले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ, र नयाँ करार सुसमाचारलाई अमूल्य ठानेर पालन गर्दै यसको प्रचार गर्दछ । साथै परमेश्वरको शिक्षाअनुसार यो मण्डलीले साँचो प्रेमद्वारा स्वयंसेवा गर्दै मानव-जातिमाझ खुशी पनि बाँड्दछ ।

दोस्रो आगमनका ख्रीष्टले पुनर्स्थापन गर्नुभएको परमेश्वरको मण्डली

२,००० वर्षअघि परमेश्वरले यो पृथ्वीमा आफ्नै रगतले मण्डली स्थापना गर्नुभयो (प्रे २०:२८) । येशूज्यूले स्थापना गर्नुभएको र प्रेरितहरू जाने गरेको उक्त मण्डलीको नाउँ ‘परमेश्वरको मण्डली’ हो (१ कोर १:२; गला १:१३) । परमेश्वरले क्रूसको बलिदानको रगतद्वारा स्थापना गर्नुभएको शबाथ-दिन, पेन्तिकोसको दिन, छाप्रो-वासको चाड, निस्तार-चाड आदि नयाँ करारका सत्यताहरू परमेश्वरको मण्डलीमा पालन गरिन्छ (मत्ती २६:१७-२८; लूक २२:७-२०; लूक ४:१६; प्रे २:१; यूह ७:२-३९) । विशेष गरी नयाँ करार निस्तार-चाडमा पाप-क्षमा र अनन्त जीवनको आशिष् भएकोले येशूज्यूले आफ्ना चेलाहरूसँगै यो चाड मान्ने ठूलो इच्छा गर्नुभयो (लूक २२:१५; यूह ६:५३-५४) ।

तर प्रेरितहरूको युग बितेपछि मण्डली धर्मनिरपेक्ष भयो र निस्तार-चाड लगायतका सत्यताहरू सबै खारेज भए । नयाँ करार पालन गर्ने परमेश्वरको मण्डली धार्मिक अन्धकारको युगमा लोप भयो । १६औँ शताब्दीको धर्म-सुधारपछि बाइबललाई आफ्नै तरिकाले अर्थ लगाउने विभिन्न धार्मिक सम्प्रदाय र धार्मिक नेताहरू देखा परे । तर तिनीहरूले परमेश्वरको सत्यता कतै भेट्टाउन सकेनन् ।

लामो समयसम्म मोहोरबन्द गरिएको नयाँ करारको सत्यतालाई ख्रीष्टले दोस्रो आगमनको समयमा अन्ततः मोहोर तोडिदिनुभयो । बाइबलको अगमवाणीअनुसार दाऊदको मूल हुनुभएका दोस्रो आगमनका येशूज्यूले मात्र पुनर्स्थापन गर्न सक्नुहुने मुक्तिको सत्यता, नयाँ करार सुसमाचार सबै पुनर्स्थापन गरिदिनुभई सन् १९६४मा परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ (प्रका ५:५) । साथै दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले बाइबलको अगमवाणीअनुसार स्वर्गीय विवाह भोजकी दुलही हुनुभएकी माता परमेश्वरसम्बन्धी बाइबलका सबै रहस्यहरू पूर्ण रूपमा जाहेर गरिदिनुभयो (प्रका २२:१७; १९:७-९) । नयाँ करारको व्यवस्था भएको, अनि पिता परमेश्वर र माता परमेश्वर रहनुहुने सियोनमा सबै देशका जातिहरूलाई डोऱ्याउनुभएका व्यक्ति पनि आन साङ होङज्यू नै हुनुहुन्छ (मीका ४:१-२; इज ४७:१-१२) ।

परमेश्वरको मण्डलीको परिचय

सत्यता र विश्वास

सुरुको मण्डलीले लिएको उही नाउँ, सत्यता र विश्वास लिएको मण्डली नै परमेश्वरको मण्डली हो । पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिलाई पाप-क्षमा र पवित्र आत्माको आशिष् दिनको निम्ति येशूज्यूले आफ्नै रगतद्वारा नयाँ करार स्थापना गर्नुभयो । त्यसैले यो मण्डलीले निस्तार-चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड (पुनरुत्थानको दिन), साताहरूको चाड(पेन्तिकोसको दिन), तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाडहरू लगायत बप्तिस्मा, शबाथ-दिन, घुम्टोको नियम आदि नयाँ करारका व्यवस्थाहरू पालन गर्दै प्रचार पनि गर्दछ । तर बाइबलमा नभएको क्रूसपूजा, आइतबारको सेवा, क्रिसमस र थ्याङ्क्सगिभिङ-डे जस्ता परमेश्वरको आज्ञाविपरीतका शिक्षा भने पालन गर्दैन ।

बाइबलको अगमवाणीअनुसार जीवनको पानी दिन आउनुभएका पिता परमेश्वर र माता परमेश्वरलाई सन्तहरूले विश्वास गर्दै उहाँका शिक्षालाई व्यवहारमा लागू गर्छन् । परमेश्वरमा मिल्ने सन्तान भएअनुरूप उनीहरू खुशी परिवार बनाउन र ईश्वरीय स्वभावमा सहभागी हुन प्रयत्न गर्छन् । “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर” भन्ने वचनजस्तै उनीहरूले आफ्नो छिमेक, समुदाय र देशमा योगदान पुऱ्याइरहेका छन् ।

‘परमेश्वरको मण्डलीको सत्यता’बारे थप बुझ्ने

वृद्धि र विकास

सन् १९६०को प्रारम्भतिर परमेश्वरको मण्डली सानो हाउस चर्चको रूपमा सुरु भयो । आन साङ होङज्यूको बलिदान र समर्पणद्वारा मण्डलीको जग बसालियो, अनि राजधानी क्षेत्र हुँदै सारा कोरियाभरि सुसमाचार फैलियो । आन साङ होङज्यूले बाइबलको अगमवाणीअनुसार ३७ वर्षको सेवा-कार्य पूरा गर्नुभई सन् १९८५मा स्वर्गारोहण हुनुभएपछि, परमेश्वरको मण्डलीले माता परमेश्वरको निर्देशनलाई पछ्याई नयाँ करार सुसमाचार प्रचार गर्दै परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न अझ प्रयत्न गऱ्यो ।

परमेश्वरमा बसालिएको विश्वासद्वारा, मण्डली द्रुत गतिमा वृद्धि भयो, र यो मण्डलीले छिमेक र समाजमा नून र ज्योतिको भूमिका निभायो । सन् १९८८मा दर्तीत सदस्यहरूको संख्या १०,००० थियो भने सन् १९९०को दशकको बीचतिर त्यो संख्या १,००,००० पुग्यो । सन् १९९७मा संयुक्त राज्य अमेरिकासहित ३ वटा देशहरूमा मण्डली स्थापना भयो । सन् २००१मा पहिलो विदेश भ्रमण टोली कोरियामा आएपछि, ७ वटा देशहरूमा मण्डली स्थापना भयो । तब अन्तर्राष्ट्रिय रूपमा सन्तहरू वृद्धि भएसँगै एकपछि अर्को गर्दै नयाँ मन्दिरहरू निर्माण भए ।

सन् २०१६मा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर स्थापना भएसँगै ७ अरब मानव-जाति बचाउने अभियान घोषणा भयो । सन् २०१८मा आन साङ होङज्यूको १००औँ जन्म वार्षिकोत्सवपछि १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी मण्डलीहरू विश्वव्यापी रूपमा स्थापना भयो । विदेश प्रचार सुरु भएको चाहिँ २० वर्ष, अनि मण्डली स्थापना भएको चाहिँ ५० वर्ष जति भयो ।

परमेश्वरको मण्डलीको इतिहासबारे थप बुझ्ने

प्रेम र स्वयंसेवा

परमेश्वरको मण्डलीले जाति, राष्ट्रियता र संस्कृतिको पर्खाललाई नाघेर संसारका सबै मानिसहरूलाई विश्वव्यापी परिवार ठान्दछ । सन्तहरूले प्रकोप, भोक, रोग र गरिबीले पीडित मानिसहरूलाई स्वयंसेवा गरेर परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्छन् । मण्डलीले आपतकालीन राहत, चिकित्सा तथा कल्याणकारी सहयोग, सांस्कृतिक सञ्चार, चरित्र शिक्षावातावरण संरक्षण जस्ता विभिन्न क्षेत्रमा स्वयंसेवा प्रदान गर्दछ ।

विश्वभरिका सरकार र निकायहरूले समर्थन र साझेदारी गरेर परमेश्वरको मण्डलीसँग सहकार्य गरिरहेका छन् । ती साझेदारीमार्फत मण्डलीले दिगो विकास लक्ष्यलाई कार्यान्वयन गरेर जलवायु परिवर्तनलाई प्रतिक्रिया दिँदै प्रकोप राहत कार्यहरू गरी विश्वव्यापी छिमेकीहरूको कल्याणमा सुधार ल्याउँदै अन्तर्राष्ट्रिय समुदायलाई समर्थन गरिरहेको छ । राजनीति, अर्थशास्त्र, कानून, शिक्षा, कला र संस्कृति, खेलकुद, र चिकित्सा जस्ता विभिन्न क्षेत्रका धेरै विज्ञहरूले परमेश्वरको मण्डलीको स्वयंसेवा गतिविधिलाई समर्थन गर्ने वाचास्वरूप हस्ताक्षर गरेका छन् ।

सन् २०१६मा संयुक्त राज्य अमेरिकाको यूएन मुख्यालयमा आयोजित यूएन केन्द्रीय आपतकालीन राहत कोष (CERF)को उच्चस्तरीय बैठकमा परमेश्वरको मण्डलीलाई आमन्त्रण गरिएको थियो । मण्डलीलाई यस्तो सम्मेलनमा आमन्त्रण गरिएकोचाहिँ यो पहिलो चोटि थियो । सो दिनमा महासचिव पास्टर गिम जु छलज्यूले आफ्नो वक्तव्यमा “परमेश्वरको मण्डलीले मानव-हितका लागि गर्ने सम्पूर्ण गतिविधिहरू आमाको मनबाट आएको हो” भन्नुहुँदै भविष्यमा विश्वव्यापी गाउँका विभिन्न समस्या समाधान गर्न हातमा हात मिलाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

परमेश्वरको मण्डलीको स्वयंसेवाबारे थप बुझ्ने

मुख्य अवार्डहरू

समाज र देशका लागि गरेको समर्पण र प्रयत्नका निम्ति चिर-परिचित परमेश्वरको मण्डलीले पदक, प्रशंसा-पत्र र उपलब्धि अवार्डसमेत गरेर ३,००० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । दक्षिण कोरियाका ३ प्रमुख सरकारहरूले मण्डलीलाई राष्ट्रपतीय प्रशंसा-पत्र, योग्यता पदक र राष्ट्रपतीय प्रशंसा पत्रले पुरस्कृत गरेका छन् । सन् २०१६मा महारानी एलिजाबेथ द्वितीयले स्वयंसेवाका लागि बेलायतमा रहेको परमेश्वरको मण्डलीलाई महारानी स्वयंसेवा अवार्डले सम्मानित गरेकी थिइन् । बाइडेन, ट्रम्प र ओबामा जस्ता अमेरिकाका तीन प्रमुख सरकारहरूले परमेश्वरको मण्डलीलाई ४८ पटक राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड (उत्कृष्ट सङ्गठन पुरस्कार) प्रदान गरेका थिए । यसको अतिरिक्त परमेश्वरको मण्डलीले अन्तर्राष्ट्रिय वातावरण अवार्डमा ग्रीन एप्पल अवार्ड(स्वर्ण र काँस्य)सहित अन्य थुप्रै अवार्डहरू प्राप्त गरेको छ ।

परमेश्वरको मण्डलीले सामुदायिक विकास, सद्भाव र सञ्चारमा ल्याएको उपलब्धिहरूलाई स्मरण गर्दै प्रत्येक देशका स्थानीय सरकार र सांसदहरूले घोषणा र सङ्कल्पहरू जारी गरेका छन् । संयुक्त राज्य अमेरिकाका धेरै नगरपालिकाहरूले सर्वसाधारणलाई परमेश्वरको मण्डलीको स्वयंसेवा गतिविधिमा संलग्न गराउन ‘परमेश्वरको मण्डली दिवस’ समेत घोषणा गरेका छन् ।

परमेश्वरको मण्डलीले प्राप्त गरेका अवार्डहरूबारे थप बुझ्ने

परमेश्वरको मण्डलीको मिसन र भिजन

परमेश्वरले यो पृथ्वीमा स्थापना गर्नुभएको मण्डलीचाहिँ केवल परमेश्वरको मण्डली हो । सन्तहरूले पवित्र परमेश्वरको इच्छालाई पछ्याउँदै मानव-जातिलाई बचाउन र तिनीहरूलाई मुक्तिमा डोऱ्याउन नयाँ करार सुसमाचार प्रचार गर्न समर्पित छन् (१ तिमो २:४) । योद्वारा मण्डलीले, येशूज्यूले स्थापना गर्नुभएको अन्तिम धर्म सुधारको मिसन पूरा गर्ने लक्ष्य राख्दछ ।

यो मण्डलीले, यस अन्तिम युगमा सारा मानव-जातिलाई जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलहीको बारेमा हामीलाई जानकारी दिँदछ (प्रका २२:१७) । परमेश्वरको मण्डलीले बाइबलको अगमवाणीअनुसार आउनुभएका आन साङ होङज्यू र स्वर्गीय माताको विषयमा गवाही दिँदै मानव-जातिलाई जीवनको मार्गमा डोऱ्याउँछ ।

ख्रीष्टियान धर्म विश्वव्यापी रूपमा ओरालो लागेको बेला, परमेश्वरको मण्डलीचाहिँ क्रमिक रूपमा वृद्धि हुनुको प्रेरक शक्ति नै परमेश्वरको सत्यता र प्रेम हो । परमेश्वरको मण्डलीले विश्वभरिका मानिसहरूलाई बाइबलको सत्यता अनि स्वर्गीय पिता र माताको महान् प्रेमद्वारा सान्त्वना, आशा र खुशी प्रदान गर्दछ । हिमालय, अमेजन वन, अन्टार्कटिक र उत्तरी ध्रूवका छिमेकी क्षेत्रहरूमा समेत एलोहिम परमेश्वरलाई प्रशंसा गर्ने आवाजहरू गुञ्जायमान छन् ।

विश्वव्यापी गाउँका प्रत्येक मानिसहरूले एलोहिम परमेश्वरलाई महसुस गरेर स्वर्गीय परिवारको सदस्य बनी अनन्त जीवनको आशिष् प्राप्त गर्नेछन् भनी आशा गर्दै परमेश्वरको मण्डलीले सारा संसारमा जीवनको सत्यता निरन्तर प्रचार गरिरहनेछ ।

परमेश्वरको मण्डली WATVमा जाने

FacebookTwitterEmailLineKakaoMessage
सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기