सात मेघ गर्जनमा लुकेको रहस्य

3444 읽음

प्रकाशको पुस्तकमा हेर्दा, परमेश्वरले सात मेघ गर्जनको आवाज निकाल्न लगाउनुभयो तर उहाँले प्रेरित यूहन्नालाई त्यसलाई गुप्तमा राख्न, र ती नलेख्न भन्नुभयो ।

जब ती सात मेघ गर्जनहरूले आ-आफ्ना आवाज निकाले, म लेख्नै लागेको थिएँ, त्यसै बेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्त राख, र ती नलेख ।” प्रका १०:४

त्यसोभए यो सात मेघ गर्जन सदाको लागि गुप्तमा रहन्छ होला कि कुनै दिन गएर खोलिन्छ होला ? धेरै बाइबलविद्‌हरू र पास्टरहरूले लगातार “यो रहस्य गुप्तमा राखिएकोले हामीले यो जान्न सक्दैनौं, र हामीलाई यो जान्न आवश्यक पनि छैन” भनेर जिद्दी गर्छन् । यदि सात मेघ गर्जनचाहिँ सन्तहरूले जान्न नसक्ने अथवा जान्न आवश्यक नपर्ने कुरा भए बाइबलमा यसबारे लेखिने नै थिएन । तर परमेश्वरले जानीजानी मेघ गर्जनको आवाज निकाल्न लगाउनुभई त्यसलाई गुप्तमा राख्न भन्नुभयो । यसलाई हेर्दा, सात मेघ गर्जनद्वारा परमेश्वरले आफ्ना प्रजालाई केही विशेष कुरा जानकारी दिन चाहनुहुन्छ भनी जान्न सकिन्छ ।

गुप्त राखिएको सात मेघ गर्जन खोलिने समय पनि छ

“गुप्त राख” भन्ने वचनभित्र त्यसको खोलिने समय छ भन्ने अर्थ पनि सँगै रहेको छ । उहिले जब कसैलाई पत्र पठाइन्थ्यो, तब अरू कसैले त्यो पत्र खोलेर पढ्न नसकोस् भनेर त्यसमा मोहोर लगाएर पठाइने गरिन्थ्यो । मोहोर लगाइएको पत्रचाहिँ प्रापकसम्म पुगेपछि तिनले त्यसलाई खोलेर पत्रको विषयवस्तु पढ्दथे । फेरि भन्नुपर्दा, पत्रचाहिँ लक्षित व्यक्तिसम्म नपुगुञ्जेल मात्र मोहोरबन्द हुन्छ । एक समय बन्द गरिएको थियो भन्दैमा त्यो सदाको लागि बन्द हुनेचाहिँ होइन । सात मेघ गर्जन पनि उस्तै नै हो ।

“तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ ।” प्रका १०:७

यहाँ ‘परमेश्वरको रहस्य’ले यही अध्यायको पद ४मा लिखित, गुप्तमा रहेको सात मेघ गर्जनलाई जनाउँछ । यो रहस्य पूरा हुनेछ भनेर लेखिएको छ । परमेश्वरले आफ्ना प्रजालाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न (आमो ३:७) । यसकारण परमेश्वरको रहस्य पूरा हुनको निम्ति पहिला त्यो रहस्य खोलिन आवश्यक छ । मोहोर लगाइएको सात मेघ गर्जनको रहस्य पनि सदाको लागि गुप्तमा रहने होइन, तर यो निश्चय नै खोलिएर पूरा हुन्छ ।

सात मेघ गर्जन भनेको के हो ?

पूर्ण मेघ गर्जन, दश आज्ञा

बाइबलमा परमेश्वरको आवाजलाई मेघ गर्जन भनिएको छ । किनभने परमेश्वरको आवाजलाई स्पष्टसँग सुन्न नसक्नेहरूले त्यसलाई मेघ गर्जनको आवाजको रूपमा सुने ।

“हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस् ।” तब स्वर्गबाट यस्तो एउटा आवाज आयो, “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु ।” त्यहाँ खडा भएको भीडले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो !” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन् !” येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो ।” यूह १२:२८-३०

परमेश्वरले “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु” भन्नुहुँदा प्रेरित यूहन्नाले चाहिँ त्यो आवाजलाई सीधै सुनेर लेखे तर अरूहरूले चाहिँ मेघ गर्जनको आवाज मात्र सुने । यूहन्नालाई चाहिँ परमेश्वरको आवाज सीधै सुन्न सक्ने कान दिइएको थियो । त्यसैले तिनले सात मेघ गर्जनले भनेको कुरा सीधै सुनेर लेख्नैलागेका थिए । तर त्यसलाई गुप्तमा राख्न भनिएकोले तिनले केवल सात मेघ गर्जनको आवाज भनेर मात्र लेखे ।

‘सात’ पूर्णताको अङ्क हो । किनकि परमेश्वरले यावत् थोक सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभई त्यसलाई आशिष् दिनुभएर पवित्र तुल्याउनुभयो । तसर्थ ‘सात’लाई पूर्णसँग प्रतिस्थापन गर्ने हो भने सात मेघ गर्जन भनेको पूर्ण मेघ गर्जन हो । अनि पूर्ण मेघ गर्जन भनेको के होला ? यो मेघ गर्जन एक-दुई जना मानिसको अगाडि मात्र होइन, तर परमेश्वरको प्रजाका सारा समुदायको अगाडि घोषणा गरिएको मेघ गर्जन नै पूर्ण मेघ गर्जन हो ।

बाइबलको इतिहासलाई हेर्दा, सारा मानिसहरूका माझमा परमेश्वरको आवाज सुनिएको चाहिँ एक पटक मात्र थियो । त्यो नै मोशाको पालामा, परमेश्वरले सीनै पर्वतमा आगोको बीचबाट दश आज्ञा घोषणा गर्नुहुँदाको समयमा थियो । परमेश्वर पर्वतमा ओर्लनुभएर मेघ गर्जनको आवाजमा दश आज्ञा घोषणा गरिदिनुभयो ।

तब मोशाले मानिसहरूलाई छाउनीबाट परमेश्वरसँग भेट गर्न ल्याए । तिनीहरूचाहिँ पर्वतको फेदीमा खडा भए । परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो । प्रस १९:१७-१८

अनि यी सब कुरा परमेश्वरले भन्नुभयो: “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ । मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू । … आफ्नो छिमेकीका घरको लालच नगर्नू । आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू ।” जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढै उभिरहे । प्रस २०:१-३, १७-१८

यसरी सारा इस्राएलीहरूका सामु परमेश्वर स्वयम्‌ले दश आज्ञा घोषणा गर्नुभयो । तब मानिसहरूले “परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं” भन्दै थरथर काँपे (प्रस २०:१९) । मोशाले चाहिँ मेघ गर्जनको आवाजलाई ठीकसँग सुन्न सकी त्यसलाई बाइबलमा लेखे, तर अरू इस्राएलीहरूले चाहिँ बुझ्न नसकी मेघ गर्जन मात्र सुने । यसकारण सीनै पर्वतमा घोषणा गरिएको मेघ गर्जनहरूले दश आज्ञालाई जनाउँछ ।

दश आज्ञा र परमेश्वरको चाड

मानिसहरूलाई दश आज्ञाबारे राम्ररी थाहा छ, र सबै ख्रीष्टियानहरूले त्यो पालन गर्नुपर्छ भनी सोच्दछन् । तर किन बाइबलमा दश आज्ञा अर्थात् सात मेघ गर्जन मोहोरबन्द छ भनिएको होला ? बाइबलमा, दश आज्ञासँग उस्तै अर्थ बोकेको एउटा व्यवस्था छ, र त्यही व्यवस्था नै मोहोर लगाएर बन्द गरियो भन्ने अर्थ हो । त्यो व्यवस्था नै ३ चरणका ७ वटा चाडहरू हुन् ।

तब परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा लेख्, किनकि यी नै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु ।” … तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे । प्रस ३४:२७-२८

परमेश्वरले शिला-पाटीहरूमा करारका वचन अर्थात् दश आज्ञा लेखिदिनुअघि उहाँले “यी नै कुराबमोजिम मैले करार बाँधेको छु” भन्नुभयो । ‘यी नै कुरा’ र ‘करार’ अर्थात् दश आज्ञा सबै उस्तै हुन् भनी हामी जान्न सक्छौं । उही अध्यायको प्रसङ्गमा हेर्दा, दश आज्ञासँग उस्तै अर्थ बोकेको ‘यी कुराहरू’ भनेको परमेश्वरको चाड मान्नू भन्ने वचन हो ।

“अखमिरी रोटीको चाड मान्नू … साताहरूको चाड पहिले उब्जिएको गहूँसाथ मान्नू, र वर्षको आखिरमा अन्न भित्र्याउने चाड पनि मान्नू ।” … तब परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा लेख्, किनकि यी नै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु ।” प्रस ३४:१८-२७

यसरी परमेश्वरले हामीलाई अखमिरी रोटीको चाड, साताहरूको चाड र अन्न भित्र्याउने चाड(छाप्रो-वासको चाड) गरेर ३ चरणका चाडहरू मान्न भन्नुभई ‘यी कुरा’बमोजिम दश आज्ञा भन्ने करार बाँध्नेछु भन्नुभयो । यसकारण परमेश्वरका चाडहरू मान्नू भन्ने वचन र दश आज्ञा मान्नू भन्ने वचन मूलभूत रूपमा उस्तै अर्थ हो ।

अर्थात् चाड मानेमा दश आज्ञा पनि पूर्ण रूपमा पालन गर्न सकिन्छ भन्ने यथार्थताद्वारा पनि यसलाई निश्चित गर्न सकिन्छ । उदाहरणको लागि “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञा र “मूर्तिलाई नपुज्नू” भन्ने दोस्रो आज्ञा, निस्तार-चाड मान्दाखेरि पूरा हुन्छ । कारण निस्तार-चाड मानेमा अन्य देवता-देवीहरूले दण्ड पाउनेछन्, सबै मूर्तिहरू हटिजानेछ र हामीले एकमात्र परमेश्वरलाई पुज्न सक्नेछौं (प्रस १२:११-१२) ।

तरै पनि बाइबलको यस्तो शिक्षा नजान्ने मानिसहरू दश आज्ञालाई उच्च आदर गर्दै परमेश्वरका चाडहरू चाहिँ मान्न आवश्यक छैन भन्छन् । यसर्थ प्रकाश १०मा भनिएको ‘गुप्तमा राखिएको’ सात मेघ गर्जनले परमेश्वरको चाडलाई जनाउँछ भन्ने कुरा थाहा हुन्छ ।

गुप्तमा राखिएको सात मेघ गर्जनको रहस्य ‘नयाँ करारका चाड’

प्रकाशको पुस्तकमा ‘गुप्तमा राखिएको’ भनिएको सात मेघ गर्जनले येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारका चाडहरूलाई जनाउँछ । मोशाको समयमा घोषणा गरिएको पुरानो करारका चाडहरूलाई येशूज्यूले, परमेश्वरका प्रजाले नयाँ करारको युगमा मान्नुपर्ने नयाँ करारका चाडहरूद्वारा पूरा गर्नुभयो (मत्ती ५:१७; हिब्रू ७:१२) । उहाँले नयाँ करार निस्तार-चाडद्वारा आफ्ना प्रजालाई पाप-क्षमा र अनन्त जीवनको आशिष् दिनुभयो (मत्ती २६:१७-२८) । उहाँले पेन्तिकोसको चाडद्वारा पवित्र आत्मा खन्याइदिनुभयो (प्रे २:१-४) र छाप्रो-वासको चाडद्वारा जीवनको पानीको प्रतिज्ञा गर्नुभयो (यूह ७:२, ३७-३८) । यसरी मानव-जातिको मुक्तिको निम्ति नित्तान्त आवश्यक पर्ने सबै आशिष्‌हरू परमेश्वरले चाडद्वारा प्रदान गर्नुभयो ।

तर समयको बहावसँगै नयाँ करारका चाडहरू सबै लोप भयो । येशूज्यू र प्रेरितहरू संसारबाट बिदा हुनुभएपछि मण्डली धर्मनिरपेक्ष भयो र गैर-ईसाई सिद्धान्तहरू भित्रिए । अन्ततः मण्डली येशूज्यूको शिक्षाले होइन तर झूटा सिद्धान्तहरूले भरियो । शैतानले परमेश्वरका ठहऱ्याइएका समय र व्यवस्था(चाड) फेर्नेछ भन्ने अगमवाणी पूरा भयो ।

उसले सर्वोच्चको विरुद्धमा बोल्नेछ र उहाँका पवित्र जनहरूलाई अत्याचार गर्नेछ र ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ । … दान ७:२५

यसरी नयाँ करारका चाडहरू हराएकोले आजको दिनसम्म ती याद गरेर मान्ने मानिस एक जना पनि छैन । यो लामो समयसम्म गुप्तमा राखिएकोले, बाइबलमा सात मेघ गर्जन गुप्तमा राखिनेछ भनेर अगमवाणी गरिएको हो (प्रका १०:४) ।

गुप्तमा राखिएको सात मेघ गर्जनको रहस्य कसले खोल्नुहुन्छ ?

त्यसोभए सात मेघ गर्जनको रहस्य कसले खोल्नुहुन्छ होला ?

सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो । अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ ?” स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन । कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । प्रका ५:१-४

कसैले पनि चर्मपत्रको मुठ्ठो खोल्न नसकेको देखेर प्रेरित यूहन्ना खूबै रोए । गुप्तमा राखिएको रहस्यचाहिँ मानव-जातिको मुक्तिसँग सीधै सम्बन्धित एक अत्यन्त महत्त्वपूर्ण कुरा हो भनी हामी यसबाट जान्न सक्छौं । तर यसपछिको पदमा हेर्दा, त्यो रहस्य खोल्ने व्यक्ति देखा पर्नुभएको छ ।

तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।” तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो । उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो । प्रका ५:५-६

परमेश्वरले मोहोरबन्द गर्नुभएको चर्मपत्रको मुठ्ठोलाई खोल्न सक्ने व्यक्ति स्वर्गमा, पृथ्वीमा वा पृथ्वीमुनि कोही थिएन । तर केवल एक जना, जो दाऊदको मूल हुनुहुन्छ भनेर लेखिएको छ । दाऊदको मूलले येशूज्यूलाई जनाउँछ (प्रका २२:१६) । यसबाहेक ‘मारिएको जस्तो देखा पर्नुहुने थुमा’ भन्ने वचनले, उहाँ क्रूसको कष्ट भोगेपछि फेरि देखा पर्नुहुने दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ भनी देखाउँछ । तसर्थ सात मेघ गर्जनको रहस्य केवल दोस्रो आगमनका ख्रीष्टले मात्र खोल्न सक्नुहुन्छ ।

२,००० वर्षअघि येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति स्थापना गरिदिनुभएको नयाँ करारका चाडहरू बाइबलमा स्पष्टसँग लेखिएको छ । यद्यपि नयाँ करारका चाडहरू हटाइएको करीब १,६०० वर्ष बित्ने क्रममा असंख्य धर्म सुधारकहरू, बाइबलविद्‌हरू र पास्टरहरू देखा परे । तर कसैले पनि नयाँ करारका चाडहरू र तिनमा लुकेका अद्‌भुत आशिष्‌हरू जाहेर गर्न सकेनन् । किन कसैले पनि सात मेघ गर्जनको रहस्य खोल्न नसकेका होलान् ? किनकि तिनीहरू दाऊदको मूल होइनन् ।

येशूज्यूले उदाहरण देखाउनुभएको र प्रेरितहरूले मानेका सत्यता, नयाँ करार निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू केवल आन साङ होङज्यूले सिकाउनुभयो र मान्नुभयो । यसकारण सात मेघ गर्जनको रहस्य खोलिदिनुभएर त्यसमा रहेको गहिरो अर्थसमेत सबै जाहेर गरिदिनुभएका आन साङ होङज्यू नै दाऊदको मूल अर्थात् दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।

FacebookTwitterEmailLineKakaoMessage
सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기