२,००० वर्षअघि येशूज्यू यो पृथ्वीमा आउनुहुँदा मानिसहरूले उहाँलाई बप्तिस्मा-दिने यूहन्ना हुनुहुन्छ भने, कसैले एलिया त कसैले अगमवक्ता हुनुहुन्छ भने । येशूज्यू वास्तवमा पिता परमेश्वर हुनुहुन्थ्यो । येशूज्यूले “मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्” भन्नुहुँदै बाइबलद्वारा मात्र उहाँ को हुनुहुन्छ भनी चिन्न सकिन्छ भनी सिकाइदिनुभयो (यूह ५:३९) ।
हिजोआज विश्वका असंख्य मण्डलीहरूले येशूज्यूको नाउँ पुकारे तापनि उहाँ को हुनुहुन्छ भन्ने कुरा तिनीहरूले ठीकसँग बुझेका छैनन् । तिनीहरूले येशूज्यूलाई मानिसजस्तै एक सृष्टिका थोक वा स्वर्गदूतहरूमध्ये एक हुनुहुन्छ भन्ठान्दै परमेश्वर र येशूज्यूलाई फरक-फरक व्यक्तिको रूपमा लिन्छन् । तर ठीक विपरीत, बाइबलमा येशूज्यू नै सृष्टिकर्ता यहोवा, र शरीर धारण गर्नुभएका पिता परमेश्वर हुनुहुन्छ भनेर गवाही दिइएको छ । पुरानो करार बाइबलको अगमवाणीद्वारा यो यथार्थतालाई निश्चित गरौं ।
पुत्रको रूपमा आउनुभएका पिता परमेश्वर
यशैया अगमवक्ताले बालकको रूपमा जन्मनुभएका येशूज्यू नै पिता परमेश्वर हुनुहुन्छ भनेर स्पष्टसँग गवाही दिएका छन् ।
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । यशै ९:६
पुरानो करारको समयमा ‘पिता’ भनेर पुकारिनुहुने परमेश्वरचाहिँ यहोवा हुनुहुन्छ (यशै ६३:१६; ६४:८) । यसकारण एक जना बालक, एक जना छोराको रूपमा आउनुहुने पुत्र येशूज्यू नै पिता यहोवा परमेश्वर हुनुहुन्छ भन्ने अर्थ हो ।
यशैया अगमवक्ताले यहोवा परमेश्वर शरीरमा यस पृथ्वीमा आउनुहुनेछ, र उहाँ मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान बन्नुहुनेछ भनी अगमवाणी गरे (यशै ८:१३-१५) । यो अगमवाणी येशूज्यूले पूरा गर्नुभयो भनेर प्रेरित पत्रुसले गवाही दिए (१ पत्र २:४-८) । येशूज्यूको ईश्वरत्वलाई पूर्ण रूपमा महसुस गरेका प्रेरित पावलले येशूज्यू शरीर धारण गर्नुभएका पिता परमेश्वर हुनुहुन्छ भनी पुष्टि गरे (फिलि २:५-६; रोम ९:५) ।
येशूज्यू उपवास बस्नुभएको समयमा दियाबलसले उहाँको परीक्षा गर्दा, उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो । त्यसैले कसै-कसैले “यदि उहाँ परमेश्वर हो भने किन उहाँले सबै परीक्षा र कष्टहरू भोग्नुभयो ?” भन्दै येशूज्यूको वास्तविक रूपप्रति शङ्का गर्न सक्लान् । येशूज्यूले यी सबै कुरा भोग्नुभएको चाहिँ उहाँ पुत्रको रूपमा आउनुभएकोले गर्दा हो । उहाँले शरीरमा आउनुभएर, परमेश्वरका सन्तानहरूले विभिन्न परिस्थितिलाई कसरी सामना गर्नुपर्छ भन्ने कुरा स्वयम्ले उदाहरण देखाइदिनुभयो (यूह १३:१५) । उहाँ पापरहित हुनुहुन्थ्यो तापनि उहाँले पाप-क्षमाको धर्मविधि बप्तिस्मा लिनुभयो, र निस्तार-चाड पनि मान्नुभयो ।
इम्मानुएलको अगमवाणी पूरा गर्नुभएका येशूज्यू
पुरानो करार बाइबलमा कन्याले गर्भवती भएर एउटा छोरा जन्माउनेछे र उनको नाउँ इम्मानुएल राखिनेछ भनेर अगमवाणी गरिएको थियो (यशै ७:१४) । इम्मानुएलको अर्थ हो, परमेश्वर हामीहरूसँग । यहाँ परमेश्वर भन्नाले यहोवा परमेश्वर हुनुहुन्छ (यशै ४४:६; ४५:२१) । फेरि भन्नुपर्दा, इम्मानुएल शब्दले यहोवा परमेश्वर आफ्ना प्रजासँग भन्ने अर्थ बोकेको छ । यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो ।
येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । “ … तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” … “कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।” मत्ती १:१८-२३
पवित्र आत्माद्वारा गर्भधारण गरेकी कन्या मरियमबाट पुत्रको रूपमा जन्मनुभएका येशूज्यूले इम्मानुएलको अगमवाणी पूरा गर्नुभयो । यो नै येशूज्यू, यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाण हो । यो यथार्थतालाई दृढ विश्वास गरेका मत्तीले इम्मानुएल नाउँको अर्थलाई अनुवाद गर्दै येशूज्यू मूलभूत रूपमा पिता परमेश्वर हुनुहुन्छ भनी गवाही दिए ।