परमेश्वरले मानव-जातिलाई मुक्तिको बाटो हुँदै अनन्त स्वर्गमा डोऱ्याउनको निम्ति बाइबल दिनुभएको हो । फेरि भन्नुपर्दा, हामीलाई ‘स्वर्गीय संसारमा डोऱ्याउने निर्देशिका’ नै बाइबल हो भन्न सकिन्छ ।
हामीले हाम्रो नाङ्गो आँखाले ब्रह्माण्डमा रहेका ताराहरूलाई देख्न सक्दैनौं । अनि एकदम नजिक भए पनि हामीले हाम्रो हातमा भएका कीटाणु वा भाइरसजस्ता सूक्ष्म जीवहरूलाई पनि देख्न सक्दैनौं । यी चीजहरू आँखामा देखिँदैनन् भन्दैमा अस्तित्वमा नै छैनन् भन्नचाहिँ मिल्दैन । हामीले टाढामा रहेका ताराहरूलाई दूरदर्शक यन्त्रद्वारा निश्चित गर्न सक्छौं, सूक्ष्म जीवहरूको अस्तित्वलाई अनि सूक्ष्मदर्शक यन्त्रद्वारा निश्चित गर्न सक्छौं । अदृश्य संसारलाई प्रकट गर्ने आत्मिक दूरदर्शक यन्त्र र सूक्ष्मदर्शक यन्त्र नै बाइबल हो । बाइबलको उद्देश्य के हो, र मानव-जातिले बाइबलद्वारा के कुरा जान्न आवश्यक छ ?
बाइबलको उद्देश्य १ अनन्त जीवन र मानव-जातिको मुक्ति
परमेश्वरलाई विश्वास नगर्ने मानिसहरूले आफ्नो बौद्धिक जिज्ञासा समाधान गर्न वा दैनिक जीवनमा चाहिने बुद्धि र उपदेश पाउनलाई बाइबल पढ्ने गर्छन् । बाइबल र परमेश्वरलाई विश्वास गर्ने ख्रीष्टियानहरूले समेत बाइबलको मुख्य उद्देश्यबारे सही तरिकाले नबुझीकन बाइबल पढ्ने गर्छन् ।
बाइबलको उद्देश्य के हो ? २,००० वर्षअघि यो पृथ्वीमा आउनुभएका येशूज्यूले यो प्रश्नको उत्तर दिनुभयो ।
“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” यूह ५:३९
अनन्तको संसार स्वर्ग जानलाई पहिला अनन्त जीवन पाएको हुनुपर्छ । स्वर्गचाहिँ मृत्यु नहुने ठाउँ हो (प्रका २१:४) । यो पृथ्वीमा १०० वर्ष जिउन पनि गाह्रो छ । यो पृथ्वीमा जन्मिएपछि मृत्यु नभोग्ने मानिस कोही छैन । अनन्त जीवनका रचयिता र अनन्त जीवन लिनुभएका परमेश्वरले मानव-जातिलाई पाप र मृत्युबाट मुक्त भएर अनन्त जीवन पाई स्वर्ग प्रवेश गर्न सक्ने रहस्य बाइबलमा राखिदिनुभएको छ ।
तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ । सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस् । २ तिमो ३:१५-१७
बाइबलचाहिँ परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति दिनुभएको पुस्तक हो । यसकारण परमेश्वरको शिक्षालाई महसुस गरेर पालन गर्नेहरूले मुक्तिको ज्ञान पाई अनन्त जीवन र मुक्तिको आशिष् पाउनेछन् । बाइबलमा मुक्तिसम्बन्धी ज्ञान, अनि मुक्तिदाता र सत्यतासम्बन्धी मात्र अभिलेख छैन, तर परमेश्वरको स्वरूपमा मिल्न सकिने सुकर्म र सदाचारसम्बन्धी पनि थुप्रै शिक्षाहरू छन् । परमेश्वरको प्रेमले उहाँका प्रजालाई सिद्ध बनाएर स्वर्गमा सदासर्वदा राज्य गर्न सक्ने बनाउँछ (प्रका २२:५) । हामीले बाइबलभरि नै हामीप्रतिको परमेश्वरको प्रेम देख्न सक्छौं ।
बाइबलको उद्देश्य २ मुक्तिदाताबारे गवाही
येशूज्यूले बाइबलमा अनन्त जीवन पाइन्छ भन्ने कुरालाई उल्लेख गर्नुहुँदै, आफू नै बाइबलले गवाही दिएको मुक्तिदाता रहेको कुरा बताउनुभयो । हामीहरू यूहन्नाको पुस्तकमा उल्लेखित वचन फेरि हेरौं ।
“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” यूह ५:३९
बाइबलको उद्देश्य भनेको मानव-जातिलाई पाप र मृत्युबाट बचाउन शरीरमा आउनुभएका परमेश्वरको विषयमा गवाही दिनु हो । तसर्थ मानव-जातिले केवल बाइबलद्वारा साँचो मुक्तिदाता परमेश्वरलाई चिनेर मुक्ति पाउन सक्छन् ।
युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ । … यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो । कल १:२६-२७
… र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान, अर्थात् ख्रीष्टलाई प्राप्त गरून् । उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन् । कल २:२-३
ख्रीष्टको अर्थ मानव-जातिलाई बचाउन शरीरमा आउनुहुने परमेश्वर हो । ख्रीष्टलाई महसुस गर्नु नै परमेश्वरको रहस्य हो, र उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन् । बाइबलमा गहिरो रहस्य र बहुमूल्य सम्पत्ति लुकेको छ । बाइबल परमेश्वरको वचन हो भनी पूर्ण रूपमा विश्वास गर्ने र लगनशीलतापूर्वक बाइबल अध्ययन गर्नेहरूले ख्रीष्टलाई भेट्न सक्नुको साथै युग-युग र पुस्तौँदेखि गुप्त रहेको सम्पत्ति, अनन्त जीवन र मुक्ति प्राप्त गर्न सक्छन् ।