सबैभन्दा महान् आज्ञा पालन गर्ने तरिका : प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो

7086 읽음

२,००० वर्षअघि कुनै एक जना व्यवस्थाका अध्यापकले येशूज्यूलाई ‘सबैभन्दा महान् आज्ञा’ कुन हो भनी सोधे । तब येशूज्यूले “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नु नै महान् र प्रथम आज्ञा हो । दोस्रोचाहिँ आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु” हो भन्नुभयो । अर्थात् प्रेम गर्नु नै सबै व्यवस्था पूरा गर्नु हो ।

वर्तमान युगमा दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले, येशूज्यूले भन्नुभएको ‘सबैभन्दा महान् आज्ञा’को साँचो अर्थ र त्यसलाई पालन गर्न सकिने तरिका जानकारी दिनुभयो । निस्तार-चाड लगायत नयाँ करारका चाडहरू मानेमा प्रेमलाई पूरा गर्न सकिन्छ, अनि हामीले असल कार्यद्वारा ख्रीष्टको बलिदान र प्रेमको मार्गलाई पछ्याउनुपर्छ भनेर उहाँले सिकाउनुभयो ।

सबैभन्दा महान् आज्ञा, ‘प्रेम’ गर्नु नै व्यवस्था पूरा गर्नु हो

परमेश्वरले आफ्ना प्रजालाई बचाउन पुरानो करार र नयाँ करार दुवै समयमा मोशाको व्यवस्था र ख्रीष्टको व्यवस्था दिनुभयो । येशूज्यूले यी सबै व्यवस्था पूरा गर्नु नै सबैभन्दा महान् आज्ञा रहेको ‘प्रेम’ हो भन्नुभयो ।

तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो ?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू । महान् र प्रथम आज्ञा यही हो । दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू । सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन् ।” मत्ती २२:३५-४०

येशूज्यूले, परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नु नै महान् र प्रथम आज्ञा हो र दोस्रोचाहिँ आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु हो भन्नुभयो । अनि उहाँले “सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्” भन्नुभयो । यो नै, दश आज्ञा लगायत पुरानो करारका सबै व्यवस्थाहरूलाई यी दुई आज्ञाले प्रतिनिधित्व गर्छ भन्ने अर्थ हो ।

पुरानो करारको व्यवस्थालाई प्रतिनिधित्व गर्ने दश आज्ञालाई दुई भागमा विभाजन गरिएको छ । दश आज्ञामध्ये सुरुको चार वटा आज्ञाचाहिँ परमेश्वरसँगको हाम्रो सम्बन्धमा हामीले मान्नुपर्ने आज्ञा हुन् । अनि पाँचौँदेखि दशौँसम्मको आज्ञाचाहिँ अरू मानिसहरूसँग हाम्रो सम्बन्धमा हामीले मान्नुपर्ने आज्ञा हुन् ।

अघिल्ला आज्ञाहरूचाहिँ “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नू” भन्ने आज्ञाद्वारा पूरा गर्न सकिन्छ । कारण परमेश्वरलाई प्रेम गर्नेले अरू देवता-देवीलाई अथवा मूर्तिलाई पुज्दैन र परमेश्वरको नाउँ व्यर्थमा पनि लिँदैन । पछिल्ला आज्ञाहरूचाहिँ “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्ने आज्ञाद्वारा पूरा गर्न सकिन्छ । किनभने अरूलाई प्रेम गर्नेले उक्त व्यक्तिलाई चोट पुग्ने काम कहिल्यै गर्दैन । यसकारण येशूज्यूको वचनजस्तै, दश आज्ञाद्वारा प्रतिनिधित्व गरिएका सबै व्यवस्थाहरू प्रेमद्वारा पूरा हुन्छ । परमेश्वरको यस्तो इच्छालाई बुझेका प्रेरित पावलले पनि “प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो” भनी गवाही दिए ।

… किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ । “तैंले व्यभिचार नगर्, तैंले हत्या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर् ।” प्रेमले छिमेकीको खराबी गर्दैन । यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो । रोम १३:८-१०

सबैभन्दा महान् आज्ञा पालन गर्ने तरिकाः नयाँ करारका चाड

पुरानो करारको समयमा “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नू” भन्ने आज्ञा पूर्ण रूपमा पूरा गर्न सकिँदैनथ्यो । दश आज्ञा र पुरानो करारका चाडहरू उस्तै हुन् (प्रस ३४:१८-२८) । पुरानो करारको समयमा परमेश्वरका प्रजाले पशुको बलि गरेर चाड मान्थे । त्यसरी पशुको बलिद्वारा परमेश्वरको प्रेमलाई पूर्ण रूपमा महसुस गर्नु र आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गर्नु भनेको गाह्रो कुरा थियो ।

तर नयाँ करारको समयमा मानव-जातिको मुक्तिको निम्ति परमेश्वर शरीरमा आउनुभयो, र स्वयम् प्रायश्चितको बलिदानको वस्तु भइदिनुभयो । उहाँले क्रूसमा बगाउनुभएको बलिदानको रगतद्वारा निस्तार-चाड लगायत नयाँ करारका चाडहरू स्थापना गरिदिनुभयो । परमेश्वरका प्रजाले चाड मान्दैपिच्छे परमेश्वरको बलिदान र प्रेमलाई सम्झना गर्थे, र परमेश्वरले महान् प्रेमद्वारा बचाउनुभएका आत्माहरूलाई प्रेम गर्ने मन तिनीहरूमा जाग्दथ्यो (१ कोर १०:१६-१७) ।

यसरी नयाँ करारका चाडहरूद्वारा परमेश्वरको बलिदान र प्रेमलाई महसुस गर्दा हामीले “आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गर्नू र आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्ने महान् आज्ञा पालन गर्न सक्छौं ।

नयाँ करार निस्तार-चाडचाहिँ ‘एक-अर्कालाई प्रेम गर’ भन्नुभएको नयाँ आज्ञा

दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले, निस्तार-चाडको रोटी र दाखमद्यद्वारा स्थापित नयाँ करारचाहिँ ‘एक-अर्कालाई प्रेम गर’ भन्ने नयाँ आज्ञासँग उस्तै हो भनी सिकाउनुभयो । सारा व्यवस्थालाई पूरा गर्ने सबैभन्दा महान् आज्ञा, ‘प्रेम’ले नयाँ करार निस्तार-चाडले जस्तै बराबर काम गर्छ भन्ने अर्थ हो ।

यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूक २२:२०

“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।” यूह १३:३४

लूका अध्याय २२ र यूहन्ना अध्याय १३ दुवैमा निस्तार-चाडको पवित्र भोजमा घटेको घटनाबारे अभिलेख गरिएको छ । लूकाको सुसमाचारमा भनिएको ‘नयाँ करार’ र यूहन्नाको सुसमाचारमा भनिएको ‘नयाँ आज्ञा’चाहिँ येशूज्यूले एकै समयमा र एकै ठाउँमा दिनुभएको वचन हो । यद्यपि लूकाको सुसमाचारमा ‘नयाँ आज्ञा’ भनेर लेखिएको छैन, र यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर लेखिएको छैन । कारण बाइबलमा करार र आज्ञा भनेको एउटै कुरा हो । उदाहरणको लागि, पुरानो करारको समयमा परमेश्वरले दश आज्ञालाई करार पनि भन्नुभएको छ (प्रस ३४:२८; व्य ४:१३) । त्यसैले नयाँ करार निस्तार-चाड भनेकै ‘एक-अर्कालाई प्रेम गर’ भन्ने नयाँ आज्ञा हो ।

नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्त

हामीले नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्यौं भने शाब्दिक रूपमा फरक भए पनि नयाँ करार र नयाँ आज्ञा एउटै हो भन्ने कुरा बुझ्न सक्छौं । येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा सन्तहरूलाई उहाँको देह खुवाएर, रगत पियाएर एउटै शरीर हुने गराउनुभयो (मत्ती २६:१७-२८; लूक २२:७-२०; यूह ६:५३-५६) ।

आशिष्‌का त्यो कचौरा जुनको निम्ति हामी आशिष्‌ माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र ? त्यो रोटी, जुन हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरमा हुने सहभागिता होइन ? किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं । १ कोर १०:१६-१७

नयाँ करार निस्तार-चाडद्वारा येशूज्यूको देह र रगतमा सहभागी भएर सन्तहरू एउटै शरीर बन्छन् । ख्रीष्टभित्र आपसमा एउटै शरीर भएपछि त कसरी आफ्नै शरीरलाई घृणा गर्न सकिन्छ र ? परमेश्वरले नयाँ करार निस्तार-चाडद्वारा सन्तहरूलाई एक भएर आपसमा प्रेम गर्न सक्ने गराउनुभएको छ ।

निस्तार-चाडको पवित्र भोजचाहिँ ख्रीष्टको देह खाने र रगत पिउने धर्मविधि हुनुको साथै मानव-जातिको मुक्तिको निम्ति क्रूसमा आफ्नो देह च्यात्नुभएर रगत बगाउनुभएका ख्रीष्टको बलिदान र प्रेमलाई महसुस गर्ने धर्मविधि हो । हुन त स्वभावैले दुष्ट भएकाले हामी अरूलाई आफैलाई जस्तै प्रेम गर्न त जान्दैनौं । तापनि नयाँ करार निस्तार-चाडद्वारा ख्रीष्टको बलिदान र प्रेमलाई पूर्ण रूपमा महसुस गरेपछि हामीले अरूलाई प्रेम गर्न सक्नेछौं । नयाँ करारमा समाविष्ट प्रेमको सिद्धान्तद्वारा हामी नयाँ आज्ञालाई पालना पनि गर्न पुग्छौं ।

सबैभन्दा महान् आज्ञा, प्रेमलाई कार्यान्वयन गर्ने सन्तहरूको सुकर्म

आन साङ होङज्यूले नयाँ करारद्वारा मुक्ति पाएका सन्तहरूले अनिवार्य ‘एक-अर्कालाई प्रेम गर’ भन्ने नयाँ आज्ञालाई कार्यान्वयन गर्नुपर्छ भनी सिकाउनुभयो । योद्वारा उहाँले हामीलाई सबैभन्दा महान् आज्ञा रहेको प्रेमलाई पूरा गर्न भन्नुभयो । परमेश्वरलाई नचिनेका र पापले गर्दा मृत्युको बाटोमा गइरहेका आत्माहरूप्रति उहाँले दया दर्शाउनुभयो, र प्रेमद्वारा उनीहरूलाई बचाउनुभयो । ख्रीष्टको यस्तो उदाहरणलाई पछ्याउँदै सन्तहरूले पनि, मृत्युतर्फ गइरहेका आत्माहरूलाई बचाउने प्रेम धारण गरेको परमेश्वर चाहनुहुन्छ ।

सबैभन्दा महान् आज्ञा, प्रेमलाई कार्यान्वयन गर्नु भनेको जीवनको वचन प्रत्यक्ष प्रचार गर्ने कार्य मात्र होइन तर सुकर्मद्वारा परमेश्वरको महिमा प्रकट गर्दै मानिसहरूको हृदयलाई परमेश्वरतिर फर्काउने कार्य पनि हो । परमेश्वरको अनुग्रहद्वारा पापबाट मुक्त भएका सन्तहरूले सुकर्मद्वारा आफ्नो पश्चात्तापलाई व्यक्त गर्दै परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन जिउनुपर्छ । त्यसैले येशूज्यूले हामीलाई सुकर्मद्वारा परमेश्वरको महिमा गर्न भन्नुभयो, अनि प्रेरित पत्रुसले पनि सन्तहरूलाई असल जीवन जिउन आग्रह गरे ।

“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् ।” मत्ती ५:१६

अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस् । कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून् । १ पत्र २:१२

सत्यता जतिसुकै सही भए पनि यदि सन्तहरूको कार्य खराब छ भने सुसमाचारको ज्योति मधुरो हुँदैजानेछ । तर ठीक विपरीत, सत्यता पनि सही छ, र सत्यता प्रचार गर्ने मानिसहरूको कार्य पनि सुन्दर छ भने सुसमाचारको ज्योति अझ उज्यालो गरी चम्कनेछ । सन्तहरूको सुकर्मले, अविश्वासीहरूको हृदयलाई पश्चात्ताप गराएर तिनीहरूलाई परमेश्वरकहाँ डोऱ्याउँदा परमेश्वर अति प्रसन्न हुनुहुनेछ ।

यसकारण वर्तमान युगका साँचो परमेश्वरका प्रजाले नयाँ करारका चाडहरू मान्नुपर्छ, अनि ती चाडहरूद्वारा परमेश्वरको बलिदान र प्रेमलाई पूर्ण रूपमा महसुस गर्नुपर्छ । व्यवस्थालाई पूरा गर्ने प्रेमलाई, हामीले कार्यान्वयन गर्न प्रयत्न गर्ने जीवन जिउनुपर्छ । फेरि भन्नुपर्दा पहिलो, हामीले सारा हृदयले परमेश्वरलाई प्रेम गर्नुपर्छ र दोस्रो, हामीले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ ।

सम्बन्धित लेख
पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기