निस्तार-चाडचाहिँ, परमेश्वरलाई विश्वास गर्ने सन्तहरूलाई मुक्तिमा डोऱ्याउने केन्द्रीय सत्यता भएकोले यो महत्त्वपूर्ण छ । बाइबलमा हाम्रो विश्वासको उद्देश्य आत्माको मुक्ति हो भनिएको छ (१ पत्र १:८-९) । मुक्ति नपाएका आत्माहरू आफ्नै पापको कारणले नरकमा मृत्यु भोग्छन् (रोम ६:२३; प्रका २०:१२-१५) । आत्माको मुक्ति भनेको मृत्युबाट उम्केर ‘अनन्त जीवन’ प्राप्त गर्नु हो । परमेश्वरले आफ्ना प्रजालाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभई(१ यूह २:२५) अनन्त जीवन प्राप्त गर्ने तरिका पनि जानकारी दिनुभएको छ । त्यो नै नयाँ करार निस्तार-चाड हो ।
परमेश्वरको आज्ञा निस्तार-चाड
निस्तार-चाड महत्त्वपूर्ण हुनुको अर्को एउटा कारणचाहिँ यसलाई परमेश्वर स्वयम्ले तोकिदिनुभएकोले गर्दा हो । पुरानो करारको समयमा पिता यहोवा परमेश्वरले निस्तार-चाडलाई पुस्तौँ-पुस्तासम्म अनन्त विधिको रूपमा मान्नू भनी आज्ञा गर्नुभयो ।
“यो परमप्रभुको निस्तार-चाड हो … तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू ।” प्रस १२:११-१४
नयाँ करारको समयमा पनि पुत्र येशूज्यू परमेश्वरले निस्तार-चाड मान्नू भनी आज्ञा गर्नुभयो ।
अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?” … तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । मत्ती २६:१७-१९
निस्तार-चाडचाहिँ परमेश्वरले प्रत्येक युगमा मान्नू भनेर आज्ञा गर्नुभएको महत्त्वपूर्ण चाड हो । पुरानो करारको समयमा परमेश्वरले निस्तार-चाड मान्नू भनेर आज्ञा गर्नुको पहिलो उद्देश्यचाहिँ इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउनको निम्ति, र अन्तिम उद्देश्यचाहिँ तिनीहरूलाई कनानमा डोऱ्याउनको निम्ति थियो । नयाँ करारको समयमा पनि उस्तै नै हो । परमेश्वरले पाप र मृत्युको दासत्वबाट आफ्ना प्रजालाई छुटकारा गराएर आत्मिक कनान स्वर्गतिर डोऱ्याउनको निम्ति निस्तार-चाड मान्नू भनी आज्ञा गर्नुभयो ।
निस्तार-चाडको महत्त्व: अनन्त जीवनको केन्द्रीय सत्यता
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । …” यूह ६:५३-५४
येशूज्यूले, उहाँको देह खाने र रगत पिउनेसित अनन्त जीवन छ भन्नुभयो । अनि उहाँको देह र रगत खान र पिउन सकिने तरिका पनि सिकाइदिनुभयो ।
अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार-चाडको थुमा बलि चढाउनुपर्थ्यो । … अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” … अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूक २२:७-२०
येशूज्यूले निस्तार-चाडको रोटीलाई उहाँको देह र दाखमद्यलाई उहाँको रगत भन्नुभयो । हामीले नयाँ करार निस्तार-चाड मानेमा येशूज्यूको देह खान र रगत पिउन सक्छौं, र अनन्त जीवन पाउन सक्छौं । “तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन” भन्नुभएको वचनअनुसार निस्तार-चाड नमानेसम्म हामीले कदापि अनन्त जीवन प्राप्त गर्न सक्दैनौं ।
परमेश्वरले पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझलाई निस्तार-चाड भनेर पहिल्यै तोकिदिनुभएको थियो (लेवी २३:४-५) । त्यसैले येशूज्यूले पनि यो दिनलाई प्रतीक्षा गर्नुहुँदै साँझमा आफ्ना चेलाहरूसँगै नयाँ करारको निस्तार-चाड मान्नुभयो (मत्ती २६:१९-२०) । साथै येशूज्यूले ‘दु:ख भोग्न अघि नै’ निस्तार-चाडको भोजन खाने ठूलो इच्छा गर्नुभएको थियो (लूक २२:१५) । निस्तार-चाडचाहिँ येशूज्यू क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रात मनाइएको थियो (१ कोर ११:२३) ।
हिजोआज अधिकांश मण्डलीहरूले निस्तार-चाडको पवित्र भोजलाई पुनरुत्थानको दिनसँग समायोजन गर्छन् । तर येशूज्यूले मानेर उदाहरण देखाउनुभएको निस्तार-चाडको मिति र पुनरुत्थानको दिनको मिति बिलकुल फरक छ । निस्तार-चाडको दिनमा बाहेक, अन्य दिनमा खाइने रोटी र पिइने दाखमद्य कुनै हालतमा येशूज्यूको देह र रगत हुन सक्दैन । येशूज्यूले उदाहरण देखाउनुभएबमोजिम पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा खाइने रोटी र पिइने दाखमद्य मात्र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट येशूज्यूको देह र रगत बन्दछ ।
निस्तार-चाडद्वारा स्वर्गमा डोऱ्याउनुहुने
आफ्नो देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवन दिनको निम्ति परमेश्वर स्वयम् बलि हुनुपर्थ्यो । परमेश्वरले किन कष्ट र बलिदान सहनुभएर हामीलाई अनन्त जीवन दिन त्यति ठूलो इच्छा गर्नुभएको होला ? यसको उत्तर जान्नलाई पहिला, स्वर्ग कस्तो ठाउँ हो भन्ने कुरा बुझ्नुपर्छ ।
“उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । किनकि पहिलेका कुराहरू बितिसकेका छन् ।” प्रका २१:४
स्वर्ग भनेको फेरिचाहिँ मृत्यु नहुने ठाउँ हो । अर्थात् कुनै दिन मर्ने अस्तित्वहरू कदापि स्वर्ग जान सक्दैनन् भन्ने वचन हो । त्यसैले येशूज्यूले हामीलाई अनन्त जीवन दिनलाई त्यति ठूलो इच्छा गर्नुभएको हो । मरणशील मानव-जातिलाई अमरणशील बनाएर स्वर्ग लैजान परमेश्वरले हामीलाई निस्तार-चाड मान्नू भनी आज्ञा गर्नुभयो । तापनि यदि हामी परमेश्वरको आज्ञालाई बेवास्ता गर्दै निस्तार-चाड मान्दैनौं भने कसरी स्वर्गको आशा गर्न सक्छौं र ?
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।” मत्ती ७:२१
पुरानो करार र नयाँ करारको दुवै समयमा परमेश्वरले निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभयो । परमेश्वरको इच्छामा आज्ञाकारी भएर निस्तार-चाड मान्ने सन्तहरू मात्र अनन्त स्वर्गमा प्रवेश गर्न सक्नेछन् । परमेश्वरको इच्छाअनुसार जिएका सुरुको मण्डलीका सन्तहरूले पनि नयाँ करार निस्तार-चाड मानेका थिए ।
नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ । हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी … चाड मनाऔं । १ कोर ५:७–८
यो वचनमा ‘यसकारण’ भन्नाले ‘निस्तारको थुमा हुनुभएका ख्रीष्ट क्रूसमा बलिदान हुनुभएको कारण’ भन्ने अर्थ हो | येशूज्यू क्रूसमा बलिदान हुनुभएकोले अब हामीले निस्तार-चाड मान्नुपर्दैन भनेर प्रेरित पावलले कहिल्यै भनेका छैनन् । तर उल्टै निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यू क्रूसमा बलिदान हुनुभएकोले हामीले निस्तार-चाड मान्नुपर्छ भनेका छन् ।
हामी मानव-जातिलाई स्वर्ग डोऱ्याउन चाहनुहुने परमेश्वरको महान् प्रेम नयाँ करार निस्तार-चाडमा समावेश छ । येशूज्यू क्रूसमा बलिदान हुनुभएपछि पनि निस्तार-चाड मानेको सुरुको मण्डलीले जस्तै, यो युगमा यदि हामी पनि आत्माको मुक्ति पाउने उद्देश्य लिएर साँचो विश्वासको जीवन जिउन चाहन्छौं भने हामीले पनि नयाँ करार निस्तार-चाड अनिवार्य मान्नुपर्छ ।