येशूज्यूको मृत्यु भएको ३ दिनपछि आइतबार बिहान सखारै, येशूज्यूलाई विश्वास गर्ने स्त्रीहरू येशूज्यूको शरीरमा सुगन्धित द्रव्य घस्नलाई चिहानमा गए । तर चिहानको ढोकाको ढुङ्गा हटाइएको थियो, र ती स्त्रीहरूका सामुन्ने सेतो वस्त्र लगाएका एक जना स्वर्गदूत देखा परे ।
उनले भने, “आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ, जो क्रूसमा टाँगिनुभएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ । उहाँ यहाँ हुनुहुन्न । उहाँलाई राखेको ठाउँ हेर” । मर्क १६:६
स्त्रीहरूले यो खबर चेलाहरूलाई हतारका साथ सुनाए । चेलाहरूले यी कुरा वाहियात हुन् भन्ठाने र विश्वास गरेनन् । तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा शरीर बेर्न प्रयोग गरिएको सूती कपडाका पट्टीहरू मात्र देखे (लूक २४:८-१२) ।
सुसमाचारका ४ वटा पुस्तकहरूको अन्त्यमा र प्रेरितको पुस्तकको सुरुवातमा, येशूज्यूको पुनरुत्थानपछि घटेको घटनाबारे अभिलेख गरिएको छ । येशूज्यूले कष्टपछि मृत्यु भोग्नुभएको कुराबाट चेलाहरू निरुत्साहित भएका थिए । तर जब तिनीहरूले अगमवाणीअनुसार पुनरुत्थान हुनुभएका येशूज्यूलाई भेटे, तब तिनीहरू आफ्नो विश्वासमा दृढ भए । येशूज्यू नै मुक्तिदाता हुनुहुन्छ भनी साहसका साथ सुनाउने क्रममा, येशूज्यूको स्वर्गारोहणपछि मण्डलीमा पवित्र आत्माको उदेकको कार्य घट्यो ।
पुनरुत्थानपछि येशूज्यू चेलाहरूमाझ देखा पर्नुभएको
मृतकबाट पुनरुत्थान हुनुभएको दिनमा येशूज्यू पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, अनि त्यसपछि यरूशलेमबाट इम्माउस भन्ने गाउँतिर गइरहेका दुई जना चेलाहरूकहाँ देखा पर्नुभयो (लूक २४:१३-१५) । ती चेलाहरू येशूज्यूसँग बातचित गर्दै हिँडिरहेका थिए, तर तिनीहरूले उहाँलाई चिन्न भने सकेनन् । तिनीहरू येशूज्यूको मृत्युप्रति शोकाकुल भइरहेका बेला येशूज्यूले तिनीहरूलाई, ख्रीष्टले ती कष्टहरू भोग्नुपर्थ्यो, र आफ्नो महिमामा प्रवेश गर्नुपर्थ्यो भन्ने कुरा बाइबलद्वारा गवाही दिनुभयो ।
इम्माउसमा आइपुग्नुभएपछि येशूज्यूले साँझको भोजन खाने समयमा रोटी लिनुभएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो । तब तिनीहरूका आँखा खुले, र तिनीहरूका माझमा देखा पर्नुभएर धर्मशास्त्रको अर्थ खोलिदिनुभएका व्यक्ति स्वयम् येशूज्यू हुनुहुन्छ भनी तिनीहरूले चिने । तब आश्चर्यचकित हुँदै तिनीहरू त्यति नै बेला यरूशलेममा फर्के ।
त्यो दिनको साँझ, यरूशलेममा भेला भएका चेलाहरू यहूदीहरूको डरले गर्दा ढोका बन्द गरेर बसिरहेका थिए । इम्माउसबाट आएका दुई जना चेलाहरूले, आफूले कसरी बाटोमा येशूज्यूलाई भेटे र रोटी भाँच्दाखेरि कसरी उहाँलाई चिने भन्ने कुरा बताए । तब एक्कासि येशूज्यू त्यो ठाउँमा देखा पर्नुभयो । चेलाहरू तर्से, र डरले आत्तिँदै तिनीहरूले येशूज्यूलाई उहाँको प्रेत भन्ठाने । त्यसपछि येशूज्यूले चेलाहरूलाई उहाँको पुनरुत्थानको घटना विश्वास दिलाउन आफ्ना हात र पाउ देखाउनुभयो, र उहाँले भोजन पनि खानुभयो ।
तब त्यहाँ अनुपस्थित थोमाले, चेलाहरूले येशूज्यूलाई देखेका थिए भन्ने कुरा अरू चेलाहरूबाट त सुने तर तिनले येशूज्यूको पुनरुत्थानलाई विश्वास गरेनन् । तिनले भने, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्दिनँ, उहाँको कोखामा मेरो हात हाल्दिनँ, तबसम्म म विश्वास गर्नेछैनँ ।” आठ दिनपछि थोमा लगायत एघार जना चेलाहरू सबै जना घरभित्रै भएको बेला येशूज्यू फेरि देखा पर्नुभयो । येशूज्यूले थोमालाई भन्नुभयो, “मेरा हातहरू हेर । तिम्रो हात बढाएर मेरो कोखामा हाल । शङ्का नगर, तर विश्वासी होऊ ।” त्यो समयमा थोमाले “मेरा प्रभु, र मेरा परमेश्वर !” भनेकाले येशूज्यूले “तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ ? धन्य हुन् तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्वास गर्छन्” भन्नुभयो ।
त्यसपछि पत्रुससहित सात जना चेलाहरू गालीलमा फर्के र माछा पक्रन गए । तिनीहरूले माछा पक्रनलाई जाल हाने तापनि त्यो रात केही पक्रेनन् । त्यही बेला येशूज्यू तिनीहरूकहाँ देखा पर्नुभएर डुङ्गाको दाहिनेपट्टि जाल हान्न भन्नुभयो । उहाँले भन्नुभएबमोजिम गर्दा तिनीहरूले थुप्रै माछाहरू पक्रन सके । सुरुमा येशूज्यूलाई नचिनेका चेलाहरूले, तिनीहरूलाई त्यसरी निर्देशन दिनुहुने व्यक्ति त येशूज्यू हुनुहुँदोरहेछ भन्ने कुरा पछि थाहा पाए । माछा पक्रेर फर्केका पत्रुसलाई येशूज्यूले “के तिमी मलाई प्रेम गर्दछौ ?” भनेर तीन पल्ट सोध्नुभयो । पत्रुसले येशूज्यूलाई प्रेम गर्छु भनेर प्रत्युत्तर दिँदैपिच्छे येशूज्यूले “मेरा पाठाहरूलाई खुवाऊ”, “मेरा भेडाहरूको हेरचाह गर” र “मेरा भेडाहरूलाई खुवाऊ” भन्नुभयो ।
सुसमाचार प्रचारको मिसन दिनुभएका येशूज्यू
येशूज्यूलाई भेट्न गालीलमा आएका ११ जना चेलाहरूलाई उहाँले यसो भन्नुभयो, “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ । मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” यसरी उहाँले तिनीहरूलाई सुसमाचार प्रचारको मिसन दिनुभयो (मत्ती २८:१८-२०) ।
येशूज्यूले पुनरुत्थानपछि ४० दिनसम्म चेलाहरूकहाँ देखा पर्नुभएर उहाँ जीवितै हुनुहुन्छ भन्ने कुराको निश्चित प्रमाणहरू देखाउनुभयो, र परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो । उहाँले चेलाहरूलाई पिताले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा नआउञ्जेल यरूशलेम छोडेर कतै नगई प्रतीक्षा गर्नू भनी आदेश दिनुभयो । पवित्र आत्मा तिनीहरूमा आउनुभएपछि तिनीहरूले शक्ति पाउनेछन्, र तिनीहरू यरूशलेममा, सारा यहूदियामा, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म उहाँका साक्षी हुनेछन् भन्ने वचन दिनुभयो । यो कुरा भन्नुभएपछि चेलाहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो (प्रे १:३-९) ।
येशूज्यूको पुनरुत्थानले चेलाहरूको विश्वासमा ठूलो प्रभाव पाऱ्यो । येशूज्यूले आफ्नो दुःख-भोग अघि राज्यको सुसमाचार सुनाउने क्रममा, चेलाहरूले निश्चय नै मृतकहरूको पुनरुत्थानसम्बन्धी शिक्षा सुनेका थिए (मत्ती २२:३०; यूह ५:२९) । तैपनि पुनरुत्थान सम्बन्धी तिनीहरूमा दृढ विश्वास र बुझाइ नभएकोले तिनीहरू भागे । अनि येशूज्यूको मृत्युपछि यहूदीहरूबाट मरिने पो हो कि भनेर भयभीत हुँदै तिनीहरू ढोका बन्द गरेर लुके । तर येशूज्यूको पुनरुत्थानको प्रत्यक्ष साक्षी भएपछि तिनीहरू आत्मिक संसार र जीवनको पुनरुत्थानप्रति विश्वस्त भए । परिणामस्वरूप यहूदी र अन्यजातिहरूको सतावटको बाबजुद पनि तिनीहरूले शहीदको मार्ग हिँड्न हिचकिचाएनन् र साहसपूर्वक सुसमाचार सुनाए । ख्रीष्टको पुनरुत्थानको प्रत्यक्ष साक्षी भएअनुरूप तिनीहरूले येशूज्यूको पुनरुत्थानबारे धेरै मानिसहरूको सामु जोडले गवाही दिए । अनि भविष्यमा सन्तहरूले प्राप्त गर्ने जीवनको पुनरुत्थानबारे गवाही दिने पत्रहरू पनि छोडे ।
येशूज्यूको पुनरुत्थानपछिको ५०औँ दिन, पेन्तिकोसको दिनमा पवित्र आत्मा खन्याइएको
येशूज्यूको स्वर्गारोहणपछि, येशूज्यूको आदेशबमोजिम चेलाहरू प्रार्थना गर्न यरूशलेममा भेला भए । येशूज्यू पुनरुत्थान हुनुभएपछिको ५०औँ दिन, पेन्तिकोसको दिनमा चेलाहरू सबै जना एकै ठाउँमा भेला भए । अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरै घर भरिदियो । आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे ।
पवित्र आत्माले भरिएपछि, पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम चेलाहरू अन्य भाषाहरूमा बोल्न लागे । पवित्र आत्माको शक्तिद्वारा चेलाहरूले, आफूले नजानेको अन्य देशका भाषाहरूमा बोल्न सके । पेन्तिकोसको दिन(साताहरूको चाड) मान्नलाई संसारका सबै देशहरूबाट यरूशलेममा भेला भएका यहूदीहरू त्यो आवाज सुनेर जम्मा भए । येशूज्यूका चेलाहरूले आफ्नो देशको भाषामा बोलिरहेका सुनेर ती अन्यजातिहरूले आश्चर्यचकित हुँदै यसो भने, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र ? त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं ?”
तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन् ।” त्यो समयमा पवित्र आत्माले भरिएका पत्रुसले खडा भए, र चेलाहरू मातेकाले त्यसरी आ-आफ्नो भाषामा बोलेका होइनन् तर बाइबलको अगमवाणीअनुसार पवित्र आत्मा पाएकाले त्यसो भएको हो भनी बताइदिए । अनि यहूदीहरूले मारेको येशूज्यू नै मुक्तिदाता हुनुहुन्छ भनेर तिनले बाइबलद्वारा साहसका साथ गवाही दिए । पत्रुसले बप्तिस्माद्वारा, पाप-क्षमा र पवित्र आत्मा प्राप्त गर्नुहोस् भन्दाखेरि त्यो दिनमा ३,००० जनाले पश्चात्ताप गरेर बप्तिस्मा लिए ।
पवित्र आत्माको कार्यद्वारा अगि बढेको सुरुको मण्डलीको पुनर्जागरण
परमेश्वरको वचन ग्रहण गरेका मानिसहरू प्रेरितहरूको शिक्षालाई ग्रहण गरी सङ्गति र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे । हरेक दिन तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ भेला भएर परमेश्वरको प्रशंसा गर्थे । प्रेरितहरूले परमेश्वरको वचन साहसका साथ प्रचार गरिरहे, र उद्धार पाउनेहरूको संख्या दिनदिनै थपिँदैगयो ।
एक दिन पत्रुस र यूहन्ना दिउँसो ३ बजे प्रार्थना समयमा मन्दिरमा जाँदैथिए । तब मन्दिरको ‘सुन्दर’ नामक ढोकामा एक जना लङ्गडो मानिसले तिनीहरूसित पैसा माग्यो । तब पत्रुसले भने, “सुनचाँदी मसित छैन । तर जे मसित छ, त्यही म तँलाई दिन्छु । नासरतका येशू ख्रीष्टको नाउँमा हिँड् !” तिनले त्यसको हात समाएर उठाए । जन्मैदेखिको लङ्गडा मानिस जुरूक्क उठेर खडा भयो, हिँड्न थाल्यो र त्यसले उफ्रँदै परमेश्वरको स्तुति गऱ्यो । त्यो देखेर सबै मानिसहरूले अचम्म माने र एकसाथ दगुरी आए । पत्रुसले त्यो कार्यचाहिँ तिनीहरूको आफ्नो शक्ति वा भक्तिद्वारा गरिएको होइनकि येशूज्यूको नाउँमाथि गरेको विश्वासले गर्दा भएको हो भन्दै येशूज्यूको विषयमा साहसका साथ प्रचार गरे । वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संखया प्राय: ५,००० जना भयो ।
त्यो समयमा प्रेरितहरूले गरेका सुसमाचार प्रचारप्रति अप्रसन्न भएका धर्म-गुरुहरूले पत्रुस र यूहन्नालाई पक्रेर थुनामा राखे । भोलिपल्ट यहूदी शासकहरू र धर्म-गुरुहरूले महासभामा भेला भएर पत्रुस र यूहन्नालाई सोधपूछ गरे । पत्रुस र यूहन्ना तिनीहरूसँग कति पनि डराएनन्, तर उल्टै “तपाईंहरूले क्रूसमा टाँग्नुभएका येशूज्यू हाम्रा मुक्तिदाता हुनुहुन्छ । ‘येशू’ नाउँबाहेक अरू कोही मुक्तिदाता छैन” भनेर साहसका साथ गवाही दिए । त्यसपछि धर्म-गुरुहरूले तिनीहरूलाई येशूको नाउँमा नबोल्नू वा कुनै शिक्षा नदिनू भनी चेतावनी दिए । तर प्रेरितहरूले “हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दैसक्दैनौं” भनेर खण्डन गरे ।
महासभाबाट निस्किएपछि पत्रुस र यूहन्नाले अरू चेलाहरूसँगै, परमेश्वरको वचन अझ साहसका साथ गवाही दिन सक्ने गराइदिनुहोस् भनी गहिरो प्रार्थना गरे । जब तिनीहरूले प्रार्थना गरिसके, तब तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहसका साथ परमेश्वरको वचन बोले (प्रे ४:२३-३१) ।
बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएका ख्रीष्ट, येशूज्यू ! येशूज्यूले निस्तार-चाडमा नयाँ करार स्थापना गर्नुभएर मानव-जातिलाई पापबाट बचाउनुभयो । त्यस रात उहाँ पक्राउ पर्नुभयो, र अखमिरी रोटीको चाडमा उहाँले क्रूसमा प्राण त्याग्नुभयो । येशूज्यूलाई विश्वास नगर्ने मानिसहरूका नजरमा, येशूज्यूचाहिँ आफूमा कुनै शक्ति नभएकोले उहाँले त्यो कष्ट भोग्नुभएको जस्तो देखिनुभयो । तर वास्तवमा सर्वशक्तिमान् परमेश्वर संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा बन्नुभयो, र मौनतापूर्वक बलिदान हुनुभयो (१ कोर ५:७) । येशूज्यूमाथि विश्वास गर्नेहरूलाई उहाँले, तेस्रो दिनमा मृतकबाट पुनरुत्थान हुनुभएको त्यस्तो चमत्कार देख्ने गराउनुभयो ।
चरम कष्ट सहँदै क्रूसमा मृत्यु भोग्नुभएका येशूज्यू मृतकबाट जीवित भई उठ्नुभयो भन्ने कुराचाहिँ ती दिनहरूमा चेलाहरूलाई मात्र नभएर सबैलाई विश्वास गर्न गाह्रो कुरा थियो । तर बाइबलमा अगमवाणी गरिएकोले मानिसको आम सोचाइद्वारा नभएर सबै कुरा परमेश्वरको इच्छाअनुसार अगि बढ्यो । येशूज्यूको पुनरुत्थानचाहिँ सबै सन्तहरूका निम्ति आशा र हर्षको सन्देश थियो । येशूज्यूको पुनरुत्थानपछि सन्तहरूले दह्रो विश्वास र पुनरुत्थानको जीवित आशा बोकेर पेन्तिकोसको दिनमा झारिएको पवित्र आत्माद्वारा आश्चर्यजनक सुसमाचारको कार्य पूरा गरे ।
परमेश्वरले शरीरमा आउनुभएर स्वयम् उदाहरण देखाइदिनुभएको अनन्त जीवन र पुनरुत्थानको आशा यस वर्तमान युगमा पनि जारी छ । किनभने मुक्तिको प्रतिज्ञा गरिएको जीवनको सत्यता, नयाँ करारलाई पुनर्स्थापना गरिदिन येशूज्यू दोस्रो पल्ट शरीरमा आउनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ (हिब्रू ९:२८; यशै २५:६-९) ।