- कष्टको साताको आइतबार : यरूशलेम प्रवेश
- कष्टको साताको सोमबार : फलविहीन अञ्जीरको रूखलाई सराप दिनुभएको अनि मन्दिर शुद्ध गर्नुभएको
- कष्टको साताको मंगलबार–बुधबार : अगमवाणी र दृष्टान्तद्वारा निरन्तर शिक्षा
- कष्टको साताको बिहीबार : अन्तिम निस्तार-चाड मानेपछि भीडद्वारा पक्राउ
- कष्टको साताको शुक्रबार : चरम कष्ट र क्रूसमा मृत्यु वरण
बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएका येशू ख्रीष्टको जीवन आफैमा अगमवाणी थियो । तापनि इस्राएलीहरूचाहिँ बाइबलमा मसीह महिमासित आउनुहुनेछ भन्ने अडिग सोचाइमा जकडिएका थिए । त्यसैले आफ्नो प्राणभन्दा प्यारो ठानेको परमेश्वरलाई तिनीहरूले चिन्न नसकी उहाँलाई क्रूसमा टाँगे ।
‘कष्टको साता’ले येशूज्यू गधाको बछेडामाथि सवार हुनुभएर यरूशलेममा प्रवेश गर्नुभएको दिनदेखि उहाँले क्रूसमा मृत्यु भोग्नुभएसम्मको एक सातालाई जनाउँछ । यो सातामा, येशूज्यूले आफ्ना चेलाहरूसँग अन्तिम निस्तार-चाड मान्नुभयो, सोही रात गिरफ्तार हुनुभयो, र अर्को दिनसम्म चरम कष्ट भोग्नुभयो । यशैयाको अगमवाणीअनुसार उहाँ छेडिनुभयो, पेलिनुभयो, घाइते हुनुभयो, अत्याचार र इन्साफ पाउनुभयो । तापनि उहाँले ती सबै मौनतापूर्वक सहनुभयो । मानव-जातिको मुक्तिको निम्ति मृत्युसम्म बलिदान हुनुभएका येशू ख्रीष्टको प्रेमचाहिँ कष्टको साताको कार्यमा खोपिएको छ ।
कष्टको साताको आइतबार : यरूशलेम प्रवेश
३ वर्षको सेवाकार्यको अन्त्यमा, जब येशूज्यूको अन्तिम निस्तार-चाड नजिकै थियो, तब उहाँ अगमवाणी पूरा गर्न आफ्ना चेलाहरूसँग यरूशलेममा जानुभयो । जब उहाँ यरूशलेम नजिकको जैतून डाँडाको छेउमा अवस्थित बेथफागे र बेथानिया भन्ने ठाँउमा आइपुग्नुभयो, तब उहाँले दुई जना चेलाहरूलाई गाउँमा पठाउनुभएर उहाँको निम्ति एउटा गधाको बछेडा ल्याउन लगाउनुभयो (मत्ती २१:१-२; मर्क ११:१-२) । चेलाहरूले गधाको बछेडा ल्याएर त्यसमाथि आफ्ना लुगाफाटा ओछ्याए, र येशूज्यू त्यसमाथि बस्नुभयो । त्यस बेला उहाँलाई पछ्याएका भीडले पनि आफ्ना वस्त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याए । तिनीहरूले खजूरका हाँगाहरू हल्लाउँदै कराए,
“होसन्ना ! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ !”
येशूज्यू यरूशलेम प्रवेश गर्नासाथ मानिसहरूले उहाँलाई स्वागत गरे । यसरी, सियोनका राजा एउटा बछेडामा सवार भएर आउनुहुनेछ भन्ने पुरानो करारको अगमवाणी पूरा भयो (जक ९:९) । दिनको अन्त्यमा येशूज्यू बाह्रै चेलाहरूका साथमा बेथानियामा जानुभयो ।
कष्टको साताको सोमबार : फलविहीन अञ्जीरको रूखलाई सराप दिनुभएको अनि मन्दिर शुद्ध गर्नुभएको
भोलिपल्ट बिहान बेथानियाबाट यरूशलेम फर्कनुहुँदा, येशूज्यू र उहाँका चेलाहरूले बाटोमा पातले भरिएको एउटा अञ्जीरको रूख देख्नुभयो । येशूज्यू भोकाउनुभएको थियो र उहाँ त्यसको नजिक जानुभयो । तर त्यस बेला अञ्जीरको फल फल्ने समय नभएकोले उहाँले रूखमा फल पाउनुभएन । येशूज्यूले त्यस अञ्जीरको रूखलाई “अब उप्रान्त यसले कहिल्यै फल नफलाओस्” भन्नुभयो ।
त्यसपछि उहाँ मन्दिरमा प्रवेश गर्नुहुँदा, किनबेच गर्नेहरूका कारण त्यहाँ कोलाहल मच्चिएको थियो । परमेश्वरको मन्दिरभित्र पैसा कमाउनका लागि व्यापारिक गतिविधिहरू गरिएको देखेर येशूज्यू क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई “तिमीहरूले मेरो घरलाई डाँकूहरूको अड्डा बनाइरहेका छौ” भनेर हप्काउनुहुँदै तिनीहरूलाई मन्दिरबाट धपाउनुभयो । साँझपख उहाँ त्यस सहर छोडेर बेथानियामा जानुभयो ।
कष्टको साताको मंगलबार–बुधबार : अगमवाणी र दृष्टान्तद्वारा निरन्तर शिक्षा
१. धार्मिक नेताहरूसँग बहस
भोलिपल्ट बिहानै उहाँहरू सहर फर्कनुहुँदा, येशूज्यूले अघिल्लो दिनमा सराप दिनुभएको अञ्जीरको रूख जरैबाट सुकेको देखेर चेलाहरू छक्क परे । योचाहिँ अञ्जीरको रूखसँग दृष्टान्त गरिएको इस्राएल देश श्राप पाएर नष्ट हुनेसम्बन्धी दिनुभएको वस्तुगत शिक्षा थियो । जब येशूज्यू मन्दिरमा प्रवेश गर्नुभयो, तब त्यो समयका धार्मिक नेताहरूले विभिन्न तर्कद्वारा उहाँलाई परीक्षा गर्न खोजे । फरिसीहरूले येशूज्यूलाई फसाउन रोमी सम्राटलाई कर तिर्नु न्यायसङ्गत छ कि छैन भनी सोधे । तब येशूज्यूले तिनीहरूलाई “जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ” भन्ने जवाफ दिनुभयो । अनि मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरूले पुनरुत्थानको विषयमा बहस गरिरहेका बेला येशूज्यूले “परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ” भन्ने शिक्षा दिनुहुँदै भीडलाई छक्क पार्नुभयो । यसरी येशूज्यूले बुद्धिमानी जवाफद्वारा तिनीहरूको विरोधलाई पराजित गर्नुभयो । उहाँले शास्त्री र फरिसीहरूलाई चून लाइराखेका चिहानसँग दृष्टान्त गर्नुभयो, जो बाहिरपट्टि धर्मी देखा पर्छन्, तर भित्रपट्टि चाहिँ अधर्मले भरिएका हुन्छन्, र तिनीहरू नरकको दण्डबाट कदापि उम्कनेछैनन् भन्नुहुँदै चेताउनी दिनुभयो ।
२. अन्त्यका दिनहरू र दोस्रो आगमनसम्बन्धी अगमवाणी
जब उहाँ मन्दिरबाट निस्कनुभयो, तब एक जना चेलाले मन्दिरको भवनलाई देखाउँदै त्यसको भव्यताको प्रशंसा गरे । येशूज्यूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, र प्रत्येक भत्काएर फालिनेछ भनी अगमवाणी गर्नुभयो । उहाँ जैतून डाँडामा बस्नुहुँदा, चेलाहरूले “यी कुरा कहिले हुनेछन् र तपाईंको आगमन र यस युगको अन्त्यको चिन्ह के हुनेछ” भनी उहाँलाई सोधे ।
तब येशूज्यूले विपत्तिको प्रसववेदनाको रूपमा युद्ध, अनिकाल र भूकम्पहरू हुनेछन्, अनि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू धेरै देखा परेर धेरैलाई बहकाउनेछन्, र दुष्टता बढेको हुनाले प्रेम सेलाएर जानेछ भनी अगमवाणी गर्नुभयो । साथै दोस्रो आगमनको चिन्हको सम्बन्धमा उहाँले “अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ : जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरू पनि जब यी सबै कुरा भएको देख्नेछौ, तब ऊ नजीकै, ढोकामै छ भनी जान” भन्नुभयो । उहाँले विश्वासी नोकर र दुष्ट नोकरको दृष्टान्त, दश कन्याको दृष्टान्त, सुनका सिक्काको दृष्टान्त, भेडा र बाख्राको दृष्टान्त आदिद्वारा पनि अन्तिम युगका परमेश्वरका प्रजाले लिनुपर्ने विश्वासको बारेमा जानकारी दिनुभयो । यी सबै कुराहरू येशूज्यूले निस्तार-चाडभन्दा ठीक दुई दिनअघि बताउनुभयो ।
येशूज्यूलाई आँखाको काँडाको रूपमा लिएका मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले प्रधान पूजाहारी कैयाफाको दरबारमा भेला भएर उहाँलाई मार्न षडयन्त्र रचे । त्यस बेला बाह्र चेलाहरूमध्येको एक रहेको यहूदा इस्करियोत तिनीहरूकहाँ आयो । यहूदा इस्करियोतमा धनको यति लोभ थियो, कि एक जना स्त्रीले येशूज्यूमाथि बहुमूल्य अत्तर खन्याएर उहाँलाई आदर गर्दा यहूदा त्यस स्त्रीसँग साह्रै रूष्ट भएको थियो । त्यसले मुख्य पूजाहारीहरूकहाँ गएर “यदि मैले तपाईंहरूको हातमा येशूलाई सुम्पिदिएँ भने मलाई कति पैसा दिनुहुन्छ ?” भनेर सोध्यो । तिनीहरूले त्यसलाई चाँदीका ३० सिक्का दिए, र त्यसै बखतदेखि त्यसले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो ।
कष्टको साताको बिहीबार : अन्तिम निस्तार-चाड मानेपछि भीडद्वारा पक्राउ
१. चेलाहरूसँग मनाउनुभएको निस्तार-चाड
अन्ततः निस्तार-चाडको दिन आयो । येशूज्यूले “मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग निस्तार-चाड मान्नेछु’ ” भन्नुहुँदै पत्रुस र यूहन्नालाई निस्तार-चाडको तयारी गर्न लगाउनुभयो । चेलाहरूले येशूज्यूको आदेशअनुसार निस्तार-चाडको तयारी गरे (मत्ती २६:१७-१९; मर्क १४:१२-१६; लूक २२:७-१३) ।
साँझ परेपछि येशूज्यू र चेलाहरू माथिल्लो तलाको एउटा ठूलो कोठामा भेला हुनुभयो । निस्तार-चाडको भोज खानुअघि, येशूज्यू उठ्नुभयो र एउटा तौलिया आफ्नो कम्मरमा बेरेर, बाटाको पानीले आफ्ना चेलाहरूका गोडा धुन लाग्नुभयो (यूह १३:१-५) । नोकरले मालिकको गोडा धुनु स्वाभाविक कुरा भएकोले पत्रुसले येशूज्यूलाई आफ्नो गोडा धुनलाई दिन मानेनन् । तब येशूज्यूले “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन” भन्नुभयो । येशूज्यूको यो वचनबाट चकित भएका पत्रुसले येशूज्यूलाई उनको हात र शिरसमेत धोइदिन आग्रह गरे । तर येशूज्यूले, नुहाइसकेको मानिस अर्थात् बप्तिस्मा लिइसकेको मानिसले गोडाबाहेक अरू केही धुनुपर्दैन भन्नुभयो । चेलाहरूका गोडा धोइसक्नुभएपछि येशूज्यूले भन्नुभयो, “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।”
उहाँले चेलाहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” निस्तार-चाडको रोटी र दाखमद्यलाई आफ्नो देह र रगत भन्नुहुँदै उहाँले तिनीहरूलाई त्यो खान र पिउन भन्नुभयो । तिनीहरूले पाप-क्षमा र अनन्त जीवन पाऊन् भनेर उहाँले तिनीहरूलाई आफ्नो देह र रगत खान र पिउन दिनुभयो । उहाँले निस्तार-चाडचाहिँ “यो मेरो रगतमा स्थापित गरिने नयाँ करार हो । मेरो सम्झनामा यो गर्ने गर” भन्ने आज्ञा दिनुभयो ।
पुरानो करारको समयमा यहोवा परमेश्वरले निस्तार-चाडद्वारा इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिलाउनुभएजस्तै, नयाँ करारको समयमा येशूज्यूले पाप र मृत्युको दास भएका आफ्ना प्रजालाई नयाँ करारको निस्तार-चाडद्वारा छुटकारा दिलाउनुभयो (यूह ८:३२-३४; प्रका १:५) । अनि निस्तार-चाडद्वारा ख्रीष्टसँग एउटै शरीर भएका चेलाहरूलाई “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर” भनी आज्ञा गर्नुभयो (यूह १३:३४) ।
त्यस रात येशूज्यूले, उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई धोका दिने र चेलाहरू सबै जना पछि हटिजाने कुरा अगमवाणी गर्नुभयो । तब पत्रुसले अरू येशूज्यूलाई “सबै जना पछि हटे भने पनि म पछि हट्नेछैनँ” भने । तर येशूज्यूले तिनलाई “आज राती भाले बास्नुअघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ” भन्नुभयो । पत्रुस लगायत अन्य सबै चेलाहरूले येशूज्यूसँगै मर्नुपरे तापनि उहाँलाई कहिल्यै इन्कार नगर्ने कुरा प्रण गरे ।
२. गेतसमनीमा प्रार्थना गर्नुभएपछि गिरफ्तार
निस्तार-चाड मान्नुभएपछि मध्यरातमा येशूज्यू र उहाँका चेलाहरू गेतसमनी डाँडामा जानुभयो । उहाँले चेलाहरूमध्ये पत्रुस, यूहन्ना र याकूबलाई मात्र लानुभयो र भन्नुभयो, “तिमीहरू यहीँ बस, र मसँग जागा रहो ।” अनि अलि पर जानुभएर उहाँले, आफूले भोग्न लाग्नुभएको असहनीय कष्टलाई सोच्दै गहिरो प्रार्थना गर्नुभयो । तीन पल्ट प्रार्थना गर्नुभएपछि येशूज्यू चेलाहरूकहाँ आउनुभयो । येशूज्यूचाहिँ क्रूसको चरम कष्ट भोग्न लाग्नुभएको थियो । तर यसप्रति अनभिज्ञ भएका चेलाहरू भने मस्त निदाइरहेका थिए । निदाइरहेका ती चेलाहरूलाई ब्यूँझाउनुहुँदै उहाँले “मलाई विश्वासघात गर्ने व्यक्ति नजिकै छ” भन्नुभयो ।
त्यसपछि मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो । यहूदा इस्करियोतले पूर्वनिर्धारित सङ्केतस्वरूप येशूज्यूलाई म्वाइँ खायो, र तिनीहरूले अगि बढेर उहाँलाई गिरफ्तार गरे । जब उहाँको छेउमा उभिरहेका पत्रुसले यो देखे, तब उनले मुख्य पूजाहारीको दासको कान छिनाइदिए । येशूज्यूले यी सबै कुरा बाइबलको अगमवाणीअनुसार पूरा भएको हो भन्ने कुरा बताउनुभयो, र दासको कान छोएर उहाँले त्यसलाई निको पारिदिनुभयो ।
बदजष जब भीडले येशूज्यूलाई गिरफ्तार गरेर बाँधे, तब सबै चेलाहरू उहाँलाई छोडेर भागे । येशूज्यूलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगियो । त्यहाँ शास्त्रीहरू र धर्म-गुरुहरू भेला भएर येशूज्यूलाई मृत्युदण्ड दिलाउन उहाँको विरुद्धमा झूटो अभियोग लगाउन खोजे । तर तिनीहरूले जति कोसिस गरे पनि केही प्रमाण फेला पार्न सकेनन् । त्यस बेला कैयाफाले येशूज्यूलाई सोधे, “के तँ परमेश्वरका पुत्र ख्रीष्ट होस् ?” येशूज्यूले “हो” भनी जवाफ दिनुभयो । यो सुनेर कैयाफाले आफ्नो वस्त्र च्यातेर भने, “यसले त ईश्वर-निन्दा बोल्यो । हामीलाई अब अरू प्रमाणको के दरकार पऱ्यो र ?” क्रोधित भीडले येशूज्यूलाई मृत्युदण्ड दिनैपर्छ भन्दै चिच्च्याए, उहाँको मुखमा थुके, उहाँलाई मुक्का र थप्पड हाने ।
टाढैबाट येशूज्यूको पछिपछि लागेका पत्रुसले बाहिरी आँगनबाट यी सबै हेरिरहेका थिए । अनि एउटी नोकर्नीले तिनीकहाँ आएर सोधी, “तिमी पनि येशूसँग थियौ, होइन ?” सङ्कटमा परेका पत्रुसले त्यो कुरालाई इन्कार गर्दै हतारमा बाहिर दलानमा निस्के । अर्कीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशूसँगै थियो ।” तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ ।” अलि बेरपछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्चै, तिमी पनि तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ ।” तब पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे, “म ती मानिसलाई चिन्दैचिन्दिनँ ।” तब तुरुन्तै भाले बास्यो । अनि येशूज्यूले फर्केर पत्रुसलाई हेर्नुहुँदा पत्रुसलाई येशूज्यूको यो वचन याद भयो, “भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए (मत्ती २६:६९-७५; लूक २२:५४-६२) ।
कष्टको साताको शुक्रबार : चरम कष्ट र क्रूसमा मृत्यु वरण
१. बारम्बारको जाँच र कष्ट
निस्तार-चाडको भोलिपल्ट अखमिरी रोटीको चाडको बिहान सबेरै, मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले येशूज्यूलाई मृत्युदण्ड दिने निधो गरे र उहाँलाई हाकिम पिलातसकहाँ लगे (मत्ती २७:१) । यो देखेर यहूदा इस्करियोतलाई आफूले गरेको विश्वासघातप्रति पछुतो भयो । अनि येशूज्यूलाई धोका दिएबापत पाएको चाँदीका तीस सिक्का त्यसले मुख्य पूजाहारीहरूलाई फिर्ता गरिदियो । तर तिनीहरूले त्यो लिन इन्कार गरे । तब त्यसले ती सिक्कालाई मन्दिरमा फ्याँकेर गयो, र झुण्डेर आत्महत्या गऱ्यो ।
मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले येशूज्यूलाई पिलातसको सामु लगेर यसो भन्दै अभियोग लगाए, “यस मानिसले जनताहरूलाई बहकाउँछ । यसले कैसरलाई कर नतिर्दा पनि हुन्छ भन्छ, र आफैलाई ‘म राजा हुँ’ भन्छ ।” पिलातसले येशूज्यूलाई “के तिमी यहूदीहरूका राजा हौ ?” भनेर सोध्दा येशूज्यूले “हो” भन्ने जवाफ दिनुभयो । मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले येशूज्यूलाई धेरै कुराहरूको अभियोग लगाउँदा पनि येशूज्यू मौन रहनुभएको देखेर पिलातस छक्क परे । पिलातसले येशूज्यूमा कुनै दोष फेला नपारेकाले, तिनले उहाँलाई गालीलका हाकिम हेरोद एन्टिपासकहाँ पठाइदिए, जो त्यस बेला यरूशलेममा थिए । हेरोदले येशूज्यूलाई प्रश्न गरे, तर येशूज्यूले तिनलाई केही जवाफ दिनुभएन । त्यसपछि हेरोदले येशूज्यूको गिल्ला गरे र उहाँलाई पिलातसकहाँ फर्काइदिए ।
येशूज्यूलाई मृत्युदण्ड दिइनुपर्ने कुनै आधार नभेट्टाएपछि पिलातसले, निस्तार-चाडको उपलक्ष्यमा एक जना कैदीलाई रिहा गर्ने प्रथालाई विचार गरे र भीडलाई तिनीहरू हत्यारा बरब्बालाई रिहा गर्न चाहन्छन् कि येशूलाई भनी सोधे । जब मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुऱ्याए, तिनीहरूले येशूज्यूलाई देखाएर उहाँलाई क्रूसमा टाँगिओस् भनी चिच्याए । पिलातसले “यी मानिसले के अपराध गरेका छन् र ?” भनी सोधे । तर तिनीहरूले अझ बढी चिच्याउँदै “त्यो क्रूसमा टाँगिओस्” भनी माग गरे ।
उत्तेजित यहूदीहरू देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु ।” तिनीहरू सबैले विश्वस्ततापूर्वक भने “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस् ।” अन्ततः पिलातसले बारब्बालाई छोडिदिए, र येशूज्यूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए । तब सिपाहीहरूले येशूज्यूलाई लगेर कोर्रा लगाए, उहाँको शिरमा काँढाको मुकुट लगाइदिए, उहाँलाई थुके, उहाँको शिरमा निगालोले हिर्काए, र सबै किसिमका अपमानद्वारा उहाँको गिल्ला गरे । त्यसपछि तिनीहरूले येशूज्यूलाई क्रूस बोकाएर उहाँलाई गलगथामा लगे ।
२. क्रूसमा मृत्यु
बिहान ९ बजेतिर, सिपाहीहरूले येशूज्यूको हात र खुट्टाहरूमा कीला ठोकेर उहाँलाई क्रूसमा टाँगे । तिनीहरूले ‘यहूदीहरूका राजा’ भन्ने दोष-पत्र उहाँको शिरदेखि मास्तिर टाँसिदिए । मानिसहरूले क्रूसमा कष्ट भोगिरहनुभएका येशूज्यूलाई हेर्दै “तँ परमेश्वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज” भने र शासकहरूले उहाँको गिल्ला गर्दै भने, “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन ।” येशूज्यूले कोर्रा खानु, छेडिनु र रगत बहाउनुचाहिँ एक पापीले पाउन योग्यको सजाय हो भनेर मानिसहरूले सोच्दथे । तर येशूज्यूले भोग्नुभएको सबै कष्ट हाम्रो अधर्म र अपराधहरूको निम्ति थियो भनेर पुरानो करार बाइबलमा लेखिएको छ (यशै ५३:३-८) । मानव-जातिले भोग्नुपर्ने पापको दण्ड येशूज्यूले सट्टामा भोगिदिनुहुँदै बाइबलको अगमवाणी पूरा गर्नुभयो ।
येशूज्यूको बायाँ र दायाँपट्टि दुई जना डाँकूहरू टाँगिएका थिए, जसमध्ये बायाँपट्टिको डाँकूले येशूज्यूको गिल्ला गर्दै भन्यो, “के तिमी ख्रीष्ट होइनौ ? तिमी आफैलाई र हामीलाई बचाऊ ।” तब येशूज्यूको दायाँपट्टिको डाँकूले त्यसलाई हकारेर भन्यो, “हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त पाप गरेका छौं । तर यी मानिसले त केही अनुचित काम गरेका छैनन् ।” त्यसपछि त्यसले येशूज्यूलाई भन्यो, “तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् ।” कष्टको समयमा दायाँपट्टिको डाँकूको यो निवेदन सुनेर येशूज्यूले “आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” भन्नुहुँदै त्यसलाई मुक्तिको प्रतिज्ञा गर्नुभयो ।
प्रायः दिउँसोको मध्यान्हतिर सारा देशलाई अन्धकारले ढाक्यो । बिहान ९ बजेदेखि दिउँसो ३ बजे गरेर ६ घण्टासम्म क्रूसमा कष्ट भोग्नुभएका येशूज्यूले “अब सिद्धियो” भन्नुहुँदै आफ्नो प्राण त्याग्नुभयो । त्यही घडी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म च्यातियो । यो दिनचाहिँ प्रस्थानको समयको कष्टलाई पुस्तौँसम्म सम्झना गराउने अखमिरी रोटीको चाडको दिन हुनुका साथै शबाथ-दिनको तयारीको दिन अर्थात् शुक्रबार थियो ।
त्यस साँझ, योसेफ नाउँ गरेका एक धनी मानिस, जो येशूज्यूका चेला थिए, तिनले पिलातससँग येशूज्यूको मृत शरीर मागेर लगे । तिनले उहाँको मृत शरीरलाई सफा मलमलको कपडामा बह्रे । अनि चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाइदिए (मत्ती २७:५७-६०) । येशूज्यूले डाँकूहरूसँग क्रूसमा टाँगिनुभएपछि, धनी मानिसको चिहानमा राखिनुभएर “उसको चिहान दुष्टहरूसित बनाइयो, र मृत्युमा धनीहरू उसको साथमा थिए” भन्ने अगमवाणी पूरा गर्नुभयो (यशै ५३:९) ।