पिता, पुत्र, पवित्र आत्मा
त्रिएक विषयको वर्णन

9411 읽음

रूपरेखा

यो पुस्तकमा आन साङ होङज्यूले पिता, पुत्र र पवित्र आत्मा फरक-फरक नभएर एकै पिता परमेश्वर हुनुहुन्छ भनेर बाइबलद्वारा सिकाउनुभयो । स्वर्ग र पृथ्वी सृष्टि गर्नुभई लाल समुद्र फटाउनुभएका पिता यहोवा परमेश्वर, मानव-जातिको पाप-क्षमाको निम्ति क्रूसमा रगत बगाउनुभएका येशूज्यू, अनि सन्तहरूलाई विभिन्न किसिमको वरदान दिनुहुने पवित्र आत्माचाहिँ फरक-फरक नभएर एकै परमेश्वर हुनुहुन्छ भनी आन साङ होङज्यूले गवाही दिनुभयो ।

भूमिका

हिजोआज संसारभरि फैलिरहेका सबै मण्डलीहरूले येशूज्यूको नाउँ त पुकारिरहेका छन्, तर येशूज्यू वास्तवमा को हुनुहुन्छ भन्ने कुरा स्पष्ट रूपमा जान्ने मानिस धेरै छैनन् । प्रत्येक मण्डलीले आ-आफ्नै सिद्धान्तअनुसार अर्थ लगाएकोले येशू ख्रीष्टको प्रकृतिलाई चिन्न नसकेका हुन् । कुनै मण्डलीले परमेश्वर र येशूज्यूलाई छुट्ट्याउँदै येशूज्यूलाई हामी मानिसजस्तै एक सृष्टिको थोकको रूपमा सोच्दछ, कुनैले येशूज्यूलाई स्वर्गदूतमध्येको एकको रूपमा सोच्दछ, अनि कुनै मण्डलीले चाहिँ परमेश्वर र येशूज्यूको इच्छा र उद्देश्य एउटै भएकोले उहाँलाई त्रिएक भनिए तापनि वास्तवमा परमेश्वर र येशूज्यू फरक-फरक हुनुहुन्छ भन्दै जिद्दी गर्ने गर्छ । कुनै मण्डलीले चाहिँ येशूज्यू १,९०० वर्षअघि क्रूसमा टाँगिनुभएकोले उहाँ परमेश्वरको इच्छा पूरा गर्न असफल हुनुभयो पनि भन्ने गर्छ । अनि येशूज्यूलाई पापी भनेर सराप्ने मण्डली पनि छ ।

त्यसोभए एउटै बाइबल लिएर किन तिनीहरूले यसरी भिन्नाभिन्नै अर्थ लगाएका होलान् ? त्योचाहिँ पवित्र आत्माको प्रेरणा पाएर लेखिएको आत्मिक वचनलाई, पापले फोहोर भएको मानिसको भौतिक आँखाद्वारा मात्र हेरेर अर्थ लगाई सही तरिकाले छुट्ट्याउन नसकेकोले गर्दा हो । येशूज्यूले भन्नुभयो, “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् …” (यूह ५:३९) ।

माथिको वचनमा येशूज्यूले भन्नुभएको धर्मशास्त्रचाहिँ नयाँ करारलाई होइनकि पुरानो करारलाई जनाएर भन्नुभएको वचन हो । त्यसैले यो वचनद्वारा येशूज्यूले पुरानो करारका सबै अगमवक्ताहरूको अगमवाणीको पुस्तक अध्ययन गर्ने व्यक्तिले मात्र यहोवा परमेश्वर शरीरमा आउनुहुनेछ भन्ने अगमवाणीलाई बुझ्नेछ, र उहाँ नै आफ्ना प्रजालाई तिनीहरूका पापबाट मुक्त गरिदिनुहुने मसीह हुनुहुन्छ भनी बुझ्न सक्नुको साथै उहाँ(येशूज्यू स्वयम्) को हुनुहुन्छ भन्ने कुरा स्पष्टसँग जान्न सक्नेछन् भन्ने वचन हो । यसकारण हामीले यो प्रश्नलाई लिएर अन्तहीन विवाद गरी समय खेर फाल्नुहुँदैन तर पुरानो करारका अगमवाणीहरूलाई ध्यानपूर्वक अध्ययन गरेर येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरा स्पष्टसँग जान्नुपर्दछ ।

पुरानो करारमा उल्लेखित पछि आउनुहुने ख्रीष्टको विषयका अगमवाणीहरूलाई अध्ययन नगरी येशूज्यू वास्तवमा को हुनुहुन्छ भन्ने कुरा जान्न सकिँदैन । त्यसोभए यो प्रश्नको नायक हुनुभएका येशूज्यू, यो संसारमा आउनुअघि कहाँ हुनुहुन्थ्यो, र उहाँ को हुनुहुन्थ्यो होला ? यी प्रश्नहरूको विषयमा पुरानो करारका अगमवक्ताहरूको लेख अध्ययन गरौं ।

विषयसूची

  • अध्याय १ येशूज्यूको विषयमा
  • अध्याय २ मूलभूत रूपमा परमेश्वर
  • अध्याय ३ परमप्रभु मसीहको रूपमा आउनुहुने अगमवाणी
  • अध्याय ४ येशू नाउँको अर्थ मुक्तिदाता
  • अध्याय ५ पुरानो करारका यहोवा नै नयाँ करारका येशूज्यू
  • अध्याय ६ परमेश्वरका पुत्र येशू
  • अध्याय ७ ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान
  • अध्याय ८ पवित्र आत्माको विषयमा
  • अध्याय ९ स्वर्गदूत र पवित्र आत्मा

अध्याय १ येशूज्यूको विषयमा

बाइबलमा येशूज्यूको विषयमा विभिन्न तरिकाले अगमवाणी गरिएको छ । कहिले परमेश्वरको रूपमा, कहिले परमेश्वरको पुत्रको रूपमा, कहिले परमेश्वरको दासको रूपमा र कहिले चाहिँ अगमवक्ताको रूपमा अगमवाणी गरिएकोले सामान्य अध्ययनद्वारा ठीकसँग अर्थ लगाउन एकदमै गाह्रो छ । अब पुरानो करारका अगमवाणीहरू र नयाँ करारमा तिनको पूर्णतालाई जोडेर अध्ययन गरौं ।

व्य १८:१८ 『तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खडा गर्नेछु । म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन् ।』 भनिएको यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो भनेर पत्रुसले दृढतापूर्वक गवाही दिएका छन् ।

प्रे ३:२२-२४ 『मोशाले भनेका थिए, ‘परमप्रभु (यहोवा) परमेश्वरले मलाई खडा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ । यसो हुनेछ, कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ ।’ “शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन् ।”』

यसरी माथिका अगमवाणीहरू अध्ययन गरेर हेर्ने हो भने येशूज्यूलाई अगमवक्ताको रूपमा अगमवाणी गरिएको छ । अनि यशैया अगमवक्ताले चाहिँ,

यशै ४२:१-४ 『“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्न हुन्छु । तिनमा म मेरो आत्मा राखिदिनेछु । तिनले जाति-जातिहरूमा न्याय ल्याउनेछन् । तिनी चिच्च्याउनेछैनन्, वा कराउनेछैनन् अथवा तिनले आफ्नो सोर सडकमा सुनाउनेछैनन् । फुटेको निगालो तिनले भाँच्नेछैनन् र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन् । तिनले विश्वस्ततामा न्याय गर्नेछन् । जबसम्म तिनले पृथ्वीमा इन्साफ स्थापित गरिसक्दैनन् तबसम्म न त तिनी दुर्बल हुनेछन्, न निरुत्साहित हुनेछन् । तिनको व्यवस्थामा टापूहरूले आफ्नो आशा राख्नेछन् ।”』 भनेका थिए, यो अगमवाणीको पूर्णता मत्तीको सुसमाचारमा लेखिएको छ ।

मत्ती १२:१६-२१ 『र उहाँ को हुनुहुन्छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो । यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो, “मेरो दास जसलाई मैले चुनेको छु, मेरो प्रिय जोसँग म प्रसन्न छु, म मेरो आत्मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्यायको घोषणा गरिदिनेछन् । तिनी न त झगडा गर्नेछन् न साह्रै चिच्च्याउनेछन्, न त कसैले तिनको सोर गल्लीहरूमा सुन्नेछ । फुटेको निगालो तिनले भाँच्नेछैनन् र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्त्यमा न्यायलाई विजयसम्म पुऱ्याउनेछन् । तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्नेछन् ।”』

माथिको वचनमा चाहिँ येशूज्यूलाई परमेश्वरको दास, परमेश्वरलाई प्रसन्न पार्ने व्यक्ति, परमेश्वरले चुन्नुभएको व्यक्ति हुनुहुन्छ भनिएको छ । यशैया अगमवक्ताले अझ अगमवाणी गरेका छन् :

यशै ६१:१-२ 『परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ । परमप्रभुको प्रसन्नताको वर्ष, र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन,』 भनिएको छ, र यो अगमवाणीको पूर्णता लूकाको पुस्तकमा लेखिएको छ ।

लूक ४:१६-२१ 『उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो । उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो । उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो: “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ ।” उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो । सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पऱ्यो । तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ ।”』

यो अगमवाणीको वचनलाई पनि ध्यान दिएर अध्ययन गर्ने हो भने येशूज्यू, एक जना अगमवक्ताको स्थानमा रहनुभएको छ ।

तर उही यशैया अगमवक्ताले लेखेका तल उल्लेखित वचनमा हेर्ने हो भने परमप्रभु स्वयम् येशूज्यूको रूपमा प्रकट हुनुहुने विषयमा अगमवाणी गरिएको छ ।

यशै ४०:३, ९-११ 『कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ” … सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्लो पर्वतमा जाऊ । यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ । यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्वर यहीँ हुनुहुन्छ !” हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ । हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ । उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ । उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजीक बोक्नुहुन्छ । उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोऱ्याउनुहुन्छ ।』 भनिएको यो अगमवाणी बप्तिस्मा-दिने यूहन्ना र येशूज्यूद्वारा पूरा भयो । लेखिएको छ :

मत्ती ३:१-३ 『त्यही समयमा बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजीक आएको छ ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो :“उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’ ।”』 भनिएको यो वचन नै यशैया ४०:३-११ को अगमवाणीसँग सम्बन्धित वचन हो ।

बप्तिस्मा-दिने यूहन्ना, परमप्रभुको बाटो तयार गर्न आएका व्यक्ति हुन्, र परमप्रभुचाहिँ शरीर धारण गर्नुभई येशूज्यूको रूपमा आउनुभएको हो ।

फेरि यशैया अगमवक्ताले परमप्रभु बालकको रूपमा जन्मनुहुनेछ भन्ने अगमवाणी पनि गरेका छन् ।

यशै ७:१४ 『यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।』भनिएको छ, र यो अगमवाणीको पूर्णताचाहिँ मत्ती १:१८-२३सँग सम्बन्धित छ ।

मत्ती १:१८-२३ 『येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे । तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ । तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।”』

‘इम्मानुएल’ नाउँको अर्थ, ‘परमेश्वर हामी मानिसहरूसँग रहनुहुन्छ’ भन्ने हो, र ‘येशू’ नाउँको अर्थचाहिँ, ‘परमेश्वरले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ’ भन्ने हो । इम्मानुएल अथवा येशूको अर्थ परमेश्वर हो । अनि फेरि अगमवाणी गरिएको छ :

यशै ९:६-७ 『किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ ।』

माथिको वचन पनि ध्यान दिएर अध्ययन गर्नुभयो भने परमप्रभु परमेश्वर, एक जना बालकको रूपमा जन्मनुहुने विषयको अगमवाणी हो भन्ने निश्चित हुन्छ । यीबाहेक पनि परमेश्वर संसारमा आउनुहुने विषयमा विभिन्न प्रकारले अगमवाणी गरिएको छ, यसकारण सामान्य सोचाइद्वारा अध्ययन गरेर ठीक अर्थ लगाउन साँच्चै गाह्रो छ । तर ख्रीष्टलाई चिन्नुचाहिँ मानिसमा निर्भर छैन, योचाहिँ परमेश्वरले दिनुभएको विशेष उपहार हो । लेखिएको छ :

यूह १:१०-१३ 『उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन । उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् । तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो । तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन् ।』 भनिएको र फेरि,

मत्ती १६:१६-१७ 『सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।”』 भनिएको छ ।

अध्याय २ मूल स्वरूपमा परमेश्वर

सर्वशक्तिमान् र सर्वव्यापी परमेश्वर विराजमान हुनुहुने क्षेत्र, सारा ब्रह्माण्डभरि फैलिएको छ, सारा ब्रह्माण्ड पनि सानो भएर उहाँ अटाउनुहुन्न भनेर लेखिएको छ ।

१ राज ८:२७ 『“तर के परमेश्वर निश्चय नै पृथ्वीमा वास गर्नुहुन्छ र ? स्वर्गहरू, स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न भने, मैले निर्माण गरेको यो मन्दिरमा त झन् कसरी अटाउनुहुन्छ !”』

यर २३:२४ 『“के कोही मानिस गुप्त ठाउँहरूमा लुक्न सक्छ र म त्यसलाई देख्न सक्दिनँ ?” परमप्रभु भन्नुहुन्छ । “के स्वर्ग र पृथ्वी दुवैलाई म ढाक्दिनँ र ?” परमप्रभु भन्नुहुन्छ ।』

त्यसैले परमेश्वरको आँखामा ढाकिएको ठाउँ छैन, जतिसुकै गुप्त ठाउँमा लुके तापनि परमेश्वरको अगाडिचाहिँ पूर्ण रूपले प्रकट भएको हुन्छ, र सारा ब्रह्माण्ड परमेश्वरको हातभित्रबाट चलिरहेको छ । यसरी परमेश्वरचाहिँ सर्वशक्तिमान् हुनुहुन्छ र अति सानो कुरासम्म पनि निरीक्षण गर्ने व्यक्ति हुनुहुन्छ ।

अनि हामीले विशेष गरी जान्नुपर्ने कुराचाहिँ परमेश्वर आत्मामा मात्रै रहनुहुने होइन कि शरीरमा पनि रहनुहुन्छ, र कहिलेकाहीँ बाटोमा हिँड्ने बटुवाको रूपमा पनि प्रकट हुनुहुन्छ । लेखिएको छ :

उत १८:१-४, १० 『दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो । तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे । उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्म निहुरेर दण्डवत् गरे । तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्छ भने कृपा गरी आफ्नो दासकहाँबाट त्यसै नजानुहोस् । म केही पानी ल्याउनेछु, र तपाईंहरू आफ्ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस् ।”』 भनेर अब्राहामले चाहिँ रोटी पकाएर असल बाछो काटेर पकाइसकेपछि दही, दूध सबै तयार गरेर परमेश्वरलाई टक्र्याए, परमेश्वरले भोजन गर्नुभएपछि 『… “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माएकी हुन्छे ।”』भनेर प्रतिज्ञा गर्नुभयो ।

फेरि भन्ने हो भने परमेश्वरले ‘इसहाकको रूपमा जन्मनेछु’ भन्नुभएको वचन हो । यस्तो लेखिएको छ :

यूह ८:५६ 『“तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए, र तिनले देखे अनि रमाए ।”』 भन्नुभएको, र प्रेरित पावलले लेखेका छन् :

गला ३:१६ 『प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए । धर्मशास्त्रले “सन्तानहरूलाई” भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ । तर धर्मशास्त्रले “तिम्रो सन्तानलाई” भन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ ।』

अनि “परमेश्वर आत्मा हुनुहुन्छ”(यूह ४:२४) भनिएको छ । परमेश्वरको त्यो पवित्र आत्मा मरियमको शरीरद्वारा येशू ख्रीष्टको रूपमा पनि जन्मनुभयो ।

मत्ती १:१८ 『येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुनु अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो ।』

अनि “उहाँको नाउँ येशू राख्नेछौ” भनिएको छ, र यो नाउँको अर्थचाहिँ “उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ” भनिएको छ । यशैया अगमवक्ताले पनि अगमवाणी गरेका छन् :

यशै ७:१४ 『… हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।』 भनेका छन्, र मत्तीले चाहिँ त्यो नाउँको अर्थ,

मत्ती १:२३ 『… जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।”』 भनेका छन् ।

त्यसैले प्रेरित यूहन्ना र प्रेरित पावलले येशू ख्रीष्टलाई सृष्टिकर्ता हुनुहुन्छ भनेका छन् ।

यूह १:१-३ 『आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो । सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन ।』

यूह १:१४ 『अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।』 अनि प्रेरित पावलले लेखेका छन् :

फिलि २:६-८ 『परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन । तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो । स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो ।』

रोम ९:५ 『पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्छ, सर्वोच्च परमेश्वर, जसको युगानयुग स्तुति होस् । आमेन ।』 भनिएको छ । अनि फेरि लेखिएको छ :

कल १:१६ 『किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन् ।』

सर्वशक्तिमान् परमेश्वरले गर्न नसक्नुहुने काम केही पनि छैन, उहाँ मानिसको रूपमा जन्मन पनि सक्नुहुन्छ, बटुवा वा भिखारीको रूपमा प्रकट हुन पनि सक्नुहुन्छ । त्यसकारण परमेश्वर यो पृथ्वीमा नीचो मानिसको रूपमा जन्मनुहुन्छ भन्दा आश्चर्य मान्ने कुरै छैन ।

अध्याय ३ परमप्रभु मसीहको रूपमा आउनुहुने अगमवाणी

पुरानो करारमा पछि आउनुहुने मसीहको विषयको अगमवाणीमा, परमप्रभु परमेश्वर स्वयम् यो संसारमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको थियो । मलाकी अगमवक्ताले लेखेका छन् :

मला ३:१ 『“हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन् ।” …』 भन्नुभएको यो वचनमा परमप्रभु परमेश्वर स्वयम् यो संसारमा आउनको निम्ति आफ्ना समाचारवाहक बप्तिस्मा-दिने यूहन्नालाई पहिला पठाएर परमप्रभुको बाटो तयार गर्न लगाउनुहुन्छ भन्ने अर्थ रहेको छ ।

उस्तै अर्थमा यशैया अगमवक्ताले पनि पछि आउनुहुने परमप्रभुको बाटो तयार गर भनेर यसरी अगमवाणी गरेका छन् :

यशै ४०:३, १०-११ 『कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । … हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ । हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ । उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ । उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजीक बोक्नुहुन्छ । उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोऱ्याउनुहुन्छ ।』

योचाहिँ येशू ख्रीष्टको प्रथम आगमनको विषयको अगमवाणी हो भन्ने कुरा सबैलाई राम्ररी थाहा छ (मत्ती ३:१-३; लूक ७:२४-२७) । अनि यशैया अगमवक्ताले लेखेका छन् :

यशै ५४:१३ 『“तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ ।”』 भन्नुभएको छ, र येशूज्यूले चाहिँ यो अगमवाणीको विषयमा यसरी भन्नुभएको छ :

यूह ६:४५-४६ 『“ ‘अनि ती सबै जना परमेश्वरद्वारा सिकाइनेछन्’ भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ । प्रत्येक जसले पिताबाट सुन्छ र सिक्छ त्यो मकहाँ आउँछ । पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्वरबाट आएको हो, उसैले पितालाई देखेको छ ।”』

यूह १४:७-९ 『“तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ । अबदेखि उसो उहाँलाई चिन्दछौ, र उहाँलाई देखेका छौ ।” फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस् । त्यति भए हामीलाई पुग्छ ।” येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ । तिमी कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाइदिनुहोस् ?’ ”』 भनिएको छ ।

त्यसैले यशैया ५४:१३को अगमवाणीचाहिँ परमप्रभु स्वयम् मसीहको रूपमा यो संसारमा आउनुभएर शिक्षा दिनुहुन्छ भन्ने वचन हो । अनि येशूज्यूबाट शिक्षा पाउने मानिस नै परमेश्वरबाट शिक्षा पाउने र परमेश्वरलाई देख्ने मानिस हो । “प्रत्येक जसले पिताबाट सुन्छ र सिक्छ त्यो मकहाँ आउँछ” भनिएको छ । सजिलो तरिकाले भन्ने हो भने प्रत्येक जसले येशूज्यूबाट सिक्छ त्यो येशूज्यूकहाँ आउन सक्छ भन्ने वचन हो ।

यूह ६:४६ 『“… जो परमेश्वरबाट आएको हो, उसैले पितालाई देखेको छ ।”』

यूह १४:९ 『“… जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ । तिमी कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाइदिनुहोस् ?’ ”』

यूह १०:३० 『“पिता र म एक हौं ।”』

माथिका वचनहरूलाई राम्ररी ध्यान दिनुभएमा अरू बढी व्याख्या गर्न आवश्यक पर्दैन । अनि अगाडिको अध्यायमा पनि लेखेको थिएँ, फेरि दोहोऱ्याएर वचन दिनुको कारणचाहिँ,

यशै ७:१४ 『यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राखिनेछ ।』 भनिएको यो अगमवाणीचाहिँ परमेश्वरको पवित्र आत्माबाट मरियमको शरीरद्वारा बालकको रूपमा जन्मलिनुभएका येशूज्यूद्वारा पूरा भएको यथार्थता जो कोहीलाई पनि थाहा छ ।

मत्ती १:१८-२३मा “… जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ … तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ” भनिएको छ, अनि “… उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग” भनेर पनि लेखिएको छ ।

फेरि भन्ने हो भने, ‘इम्मानुएल’, अथवा ‘येशू’ भन्ने शब्दको अर्थलाई हेर्दा, पवित्र आत्मा परमेश्वर शरीरमा आउनुभएर आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनुभई तिनीहरूसँग रहनुहुनेछ भन्ने वचन हो । त्यसकारण यशैयाले चाहिँ ती बालकको विषयमा आदरार्थी शब्द प्रयोग गरेर निम्नानुसार लेखेका छन् :

यशै ९:६-७ 『किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।』

येशूज्यूले आफूलाई परमेश्वरको पुत्र हुँ भनी बताउनुभए तापनि फरिसीहरूले परमेश्वरको पुत्र, ख्रीष्ट नै परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने जानेकाले येशूज्यूको विषयमा यसरी दोष लगाएका थिए :

यूह १०:३३ 『यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ ।”』 यहूदीहरूले त्यसो भनेको चाहिँ पुरानो करारको बाइबलमा अगमवाणी गरिएको ख्रीष्टचाहिँ संसारमा आउनुहुने परमेश्वर हुनुहुन्छ भन्ने थाहा भएकोले गर्दा हो ।

पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기