ahnsahnghong.com is provided in English. Would you like to change to English?

मोशाको व्यवस्था र ख्रीष्टको व्यवस्था

4817 읽음

रूपरेखा

परमेश्वरले पुरानो करारको समयमा मोशाको व्यवस्था(पुरानो करार) स्थापना गर्नुभयो, र नयाँ करारको समयमा ख्रीष्टको व्यवस्था(नयाँ करार) स्थापना गर्नुभयो । यस पुस्तकमा आन साङ होङज्यूले दश आज्ञामध्ये पहिलोदेखि चौथो आज्ञा अर्थात् परमेश्वरसँग सम्बन्धित आज्ञाचाहिँ परमेश्वरका चाडहरूद्वारा पूरा हुन्छ भनी प्रकाश पार्नुभयो । ती चाडहरूचाहिँ ख्रीष्टको व्यवस्था(नयाँ करार)मा परिवर्तन भएका हुन् भन्ने कुरा उहाँले जानकारी दिनुभयो । साथै यस वर्तमान युगमा नयाँ करारका चाडहरू मान्ने परमेश्वरको मण्डली नै बाइबलको अगमवाणी पूरा गर्ने प्रतिज्ञाको सन्तान हुनुको साथै अन्तिम झरी पवित्र आत्माको आशिष् पाउने मण्डली हो भनी गवाही दिनुभयो ।

भूमिका

बाइबल अध्ययन गर्नुको सबैभन्दा महत्त्वपूर्ण उद्देश्य भनेको ख्रीष्टको अनमोल रगतले कसरी हामीलाई अनन्त जीवन दिन्छ भन्ने कुरा महसुस गर्नु हो । वर्तमानमा हामीले पुरानो करारको व्यवस्थाको बारेमा अध्ययन गर्नुको कारणचाहिँ ख्रीष्टको प्रेमलाई अनुभव गर्न र परमेश्वरले युग-युगदेखि लुकाउनुभएको मुक्तिको प्रबन्धलाई बुझ्न सकिने भएकोले हो । योचाहिँ विगतद्वारा वर्तमान र वर्तमानद्वारा भविष्य जान्न सक्ने गराउनुहुने परमेश्वरको बुद्धि र प्रबन्ध हो ।

परमेश्वरले विश्वासका पुर्खा अब्राहामको परिवारद्वारा अर्थात् स्वतन्त्र स्त्री साराबाट जन्मेको इसहाक र कमारी हागारको शरीरबाट जन्मेको इश्माएलद्वारा, भविष्यमा दुई किसिमको करार आउने कुरा देखाइदिनुभयो । हागारबाट जन्मेको इश्माएलले सीनै पर्वतबाट निस्केको पुरानो करार अर्थात् मोशाको व्यवस्थालाई सङ्केत गर्दछ (यूह ७:१९), र साराबाट जन्मेको इसहाकले सियोनबाट निस्कने नयाँ करार अर्थात् ख्रीष्टको व्यवस्थालाई सङ्केत गर्दछ । मोशाको व्यवस्थाचाहिँ भविष्यमा देखा पर्ने ख्रीष्टको व्यवस्थाको वास्तविकता नभएर छाया भएकोले परमेश्वरले मोशाको व्यवस्थाद्वारा अँध्यारो भएको हाम्रो हृदयलाई ख्रीष्टको उज्ज्वल व्यवस्थाको अनुग्रहमा वास गर्न सक्ने बाटो खोलिदिनुभएको छ ।

यहाँहरूले यो पुस्तक अध्ययन गर्नुभयो भने अन्धकारमा भौंतारिरहेका आत्माहरूलाई जीवन र खुशीको बाटोमा ल्याउनुभएर गुमाएको स्वर्गीय राज्यतिर डोऱ्याउनुहुने परमेश्वरको साँचो सोर सुन्नुहुनेछ ।

यो पुस्तक आन साङ होङज्यू स्वयम्‌ले लेख्नुभएको केही लघु पुस्तकहरूको संग्रह हो । ख्रीष्टभित्र एउटै अनुग्रहद्वारा हृदयमा बिहानको तारा नउदाउञ्जेल गम्भीरतापूर्वक अध्ययन गर्नुभएर चम्किलो अनन्त जीवनको सिंहासनको हिस्सा प्राप्त गर्ने व्यक्ति हुनुहोस् भनी गहिरो इच्छा गर्दछौं ।

विषयसूची

  • अध्याय १ दश आज्ञा र लिखित अक्षरको व्यवस्था
  • अध्याय २ नयाँ करार र पुरानो करार
  • अध्याय ३ नयाँ करारको नियम
  • अध्याय ४ जीवनको फल र दश आज्ञा
  • अध्याय ५ पुरानो करार नयाँ करारमा बद्लिएको
  • अध्याय ६ स्वर्गीय यरूशलेम र पार्थिव यरूशलेम
  • अध्याय ७ हारूनको दर्जा र मल्कीसेदेकको दर्जा
  • अध्याय ८ प्रतिज्ञाका सन्तान
  • अध्याय ९ अन्तिम झरी पवित्र आत्मा
  • अध्याय १० भोजनसम्बन्धी बाइबलको शिक्षा

अध्याय १ दश आज्ञा र लिखित अक्षरको व्यवस्था

दश आज्ञा र नयाँ करारमा संरक्षक भनिएको लिखित अक्षरको व्यवस्थाबीच कस्तो सम्बन्ध छ होला ? मोशाले सीनै पर्वतमा दश आज्ञा प्राप्त गर्दा परमेश्वरले भन्नुभयो,

प्रस २४:१२ 『“… तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु ।”』

अनि प्रेरित पावलले पनि रोमीहरूलाई पत्र लेख्दा यसो भनेका थिए,

रोम ७:५-७ 『जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे । हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखि मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं । हामीले के भन्ने त ? व्यवस्था पाप हो ? कदापि होइन ! यदि व्यवस्था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ ।』

माथि उल्लेखित व्यवस्था, लिखित विधान(लिखित अक्षरको व्यवस्था) अथवा आज्ञा समग्रमा एउटै हो । अनि लेखिएको छ :

२ कोर ३:६-७ 『नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा । किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ । तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए । …』

एफि २:१५ 『र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, …』

हिब्रू ७:१६ 『जो पुर्ख्यौलीसम्बन्धी नियमको आधारमा होइन, …』

हिब्रू ७:१८-१९ 『किनभने त्यो पहिलो आज्ञाचाहिँ कमजोर र बेकामको भएको हुनाले खारेज भएको छ, (किनकि व्यवस्थाले केही कुरा सिद्ध तुल्याएन) …』 यी पदहरूले शिला-पाटीमा खोपिएको दश आज्ञामा लिखित अक्षरको व्यवस्थाका केही भागहरू रहेको कुरा जानकारी दिएको छ ।

माथि उल्लेखित लिखित अक्षरको व्यवस्थासँग सम्बन्धित बाइबलका पदहरूलाई ध्यानपूर्वक हेर्ने हो भने दश आज्ञा लिखित अक्षरको व्यवस्थामा समावेश छ भन्ने निश्चित हुन्छ । निष्कर्षमा भन्ने हो भने लिखित अक्षरको व्यवस्था दश आज्ञाभित्र छ । अनि दश आज्ञालाई समेटेको पुरानो करार नयाँ करारमा पूर्ण रूपले परिवर्तन भएको छ (हिब्रू ७:१२) ।

दश आज्ञा र चाड

मोशाको व्यवस्थामा दश आज्ञालाई करार भनिएको छ, अनि चाडलाई पनि करार भनिएको छ । मोशा दोस्रो पल्ट दश आज्ञा लिन सीनै पर्वतमा उक्लेर त्यहाँ ४० दिन बिताउँदा यहोवा परमेश्वरले सम्पूर्ण व्यवस्था घोषणा गरिदिनुहुँदा ३ चरणका ७ वटा चाडहरूको बारेमा बताउनुहुँदै ती चाडहरूको अर्थअनुसार करार बाँध्नुभएर करारका शिला-पाटीहरू दिनुभएको थियो (प्रस ३४:१८-२८) ।

प्रस ३४:२७-२८ 『तब परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुरा लेख्, किनकि यी नै कुराबमोजिम(३ चरणका ७ वटा चाडहरूबमोजिम) तँ र इस्राएलसित मैले करार बाँधेको छु ।” मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे । तिनले न त रोटी खाए न पानी पिए । तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे ।』

व्य ४:१३-१४ 『उहाँले आफ्नो करार, आफ्ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो । यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्यस बेला मलाई दिनुभयो ।』

व्य ५:२-३ 『परमप्रभु हाम्रा परमेश्वरले हामीसित होरेबमा करार बाँध्नुभयो । परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्म यहाँ जीवित छौं, यो बाँध्नुभएको हो ।』 अनि २ राजाको पुस्तकमा इस्राएलीहरूले निस्तार-चाड करारको वचनअनुसार माने भनेर लेखिएको छ (२ राजा २३:१-३, २१-२३) र प्रेरित पावलले हिब्रूहरूलाई पत्र लेख्दा यसरी भनेका छन्,

हिब्रू ९:१-७ 『पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्थान पनि थिए । …』

पावलले प्रायश्चितको दिनको चाडको बारेमा भन्दा ‘पहिलो करारमा आराधनाका धर्म-विधिहरू थिए’ भनेर भनेका छन् । तसर्थ दश आज्ञा परमेश्वरले हामीलाई दिनुभएको करारको वचन हो । दश आज्ञामध्ये पहिलो आज्ञादेखि चौथो आज्ञा केवल एकमात्र परमेश्वरलाई मान्ने करार हो । परमेश्वरप्रति बफादार हुने तरिका केवल चाड हो । स्पष्ट भन्ने हो भने दश आज्ञा, चाड र पवित्रस्थानचाहिँ छुट्‌ट्याउनै नमिल्ने एउटै संरचना हो । जसो लेखिएको छ :

यशै ३३:२० 『हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, …』

हिब्रू ९:१ 『पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्थान पनि थिए । …』

हिब्रू ९:१८-२० 『यसकारण पहिलो करार पनि रगतविना पक्का हुन सकेन । जब मोशाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्याउलासहित, व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के । अनि उनले यसो भने, “परमेश्वरले तिमीलाई आज्ञा गर्नुभएको करारको रगत यही हो ।”』 दश आज्ञा भएकोले नै पवित्रस्थान बनाइएको हो र पवित्रस्थान भएकोले नै चाडहरू स्थापना गरिएका हुन् ।

तसर्थ परमप्रभुको महान् दिनले चाडहरूलाई जनाउँछ (लेवी १६:२९-३१; यूह ७:३७; यूह १९:३१ तुलना) । प्राचीन समयका इस्राएलीहरूले यो करारलाई उल्लङ्घन गर्दा श्राप पाएका थिए (यशै २४:१-५), तर चाडलाई महसुस गरेर मनाउँदाचाहिँ आशिष् पाएका थिए ।

पाँचौँ आज्ञादेखि दशौँ आज्ञाचाहिँ हामी मानिससँग सम्बन्धित आज्ञा भएकोले यी आज्ञाहरू मात्र पालन गरेर परमेश्वरप्रति बफादार हुन सकिने होइन । यी आज्ञाहरू परमेश्वरको लाभको निम्ति दिइएको होइन (अयू ३५:६-८), तर मानिसहरूबीच असल सम्बन्ध कायम राख्नको निम्ति दिइएको हो । दश आज्ञा र चाडहरू फरक छन् भनेर सोच्ने मानिसचाहिँ अझै पनि पुरानो करार र नयाँ करारलाई छुट्‌ट्याउन नजान्ने मानिस हो ।

कसै-कसैले भन्ने गर्छन् कि, दश आज्ञा करारको सन्दूकभित्र छ, र व्यवस्थाको पुस्तकचाहिँ करारको सन्दूकको छेउमा छ (व्य ३१:२४-२६) । त्यसैले करारको सन्दूकभित्र राखिएको दश आज्ञाचाहिँ अनन्तकालसम्म रहिरहन्छ तर करारको सन्दूकको छेउमा राखिएको व्यवस्थाको पुस्तकचाहिँ येशूज्यू क्रूसमा टाँगिनुभएपछि रद्द भयो ।

त्यसोभए हामीले दश आज्ञा र व्यवस्थाको पुस्तकबीचको सम्बन्धबारे अध्ययन गर्नुपर्छ । करारको सन्दूकको छेउमा राख्नू भन्नुभएको व्यवस्थाको पुस्तकले प्रस्थान, लेवी र गन्ती समावेश भएको व्यवस्थाको पुस्तकलाई जनाउँदछ । यो व्यवस्थाको पुस्तकचाहिँ इस्राएलीहरू मिश्रबाट निस्केको ४० वर्ष बितेपछि कनान देशमा प्रवेश गर्नुभन्दा अघिल्लो वर्ष ११औँ महिनाको पहिलो दिनमा मोआबको भूमिमा समस्त इस्राएली समुदायमाझ घोषणा गरेर लेखिएको थियो (व्य १:१-५; २७:११; ३१:२२-२६ तुलना) ।

तर त्यो पुस्तकभित्र के लेखिएको छ भने, दश आज्ञा र दश आज्ञासम्बन्धी विस्तृत वर्णन लेखिएको छ (व्य ४:१२-१४; ५:१-२१; २९:१ तुलना) अनि खानेकुराको नियम र दशांशको नियमको बारेमा पनि लेखिएको छ (व्य १४:३-२१, २२-२३) ।

तसर्थ दश आज्ञा लेखिएको व्यवस्थाको पुस्तक रद्द भयो भन्ने मानिसचाहिँ खानेकुराको नियम, दशांशको नियम र दश आज्ञासमेत सबै रद्द भयो भन्ने मानिस हो । किनभने व्यवस्थाको पुस्तकभित्र दश आज्ञा, दशांश र खानेकुराको नियमसमेत सबै लेखिएको छ । त्यसैले व्यवस्थाको पुस्तक रद्द भयो भने दश आज्ञा, दशांश र खानेकुराको नियमसमेत सबै रद्द हुन्छ । व्यवस्थाको पुस्तकलाई करारको सन्दूकको छेउमा राखिएको कारणचाहिँ त्यो पुस्तकमा दश आज्ञाको बारेमा विस्तृत रूपमा लेखिएकोले गर्दा हो । दश आज्ञा र तिनको आंशिक वर्णन निम्नानुसार छन् ।

मानिससँग सम्बन्धित आज्ञा

प्रस २०:१२ 『“आफ्ना बुबा र आमालाई आदर गर, …”』 यो आज्ञाको सम्बन्धमा व्यवस्थाको पुस्तकमा विस्तृत रूपमा यसरी लेखिएको छ :

प्रस २१:१५ 『“जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, त्यो मारिनैपर्छ ।”』

प्रस २१:१७ 『“जसले आफ्नो बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ ।”』

व्य २१:१८-२१ 『आफ्ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताडना दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने, त्यसका आमा-बुबाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन् । तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरो ढीट र बदमाश छ । त्यसले हाम्रो आज्ञापालन गर्दैन । यो लफङ्गो र मतवाला हो ।” तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून् । तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन् ।』

व्य २७:१६ 『“आफ्ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस् ।” तब सबै जनाले भनून्, “आमेन ।”』

व्य ५:१७ 『“हत्या नगर्नू ।”』 यो आज्ञाको सम्बन्धमा यसरी लेखिएको छ :

प्रस २१:१२-१४ 『“कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यो पनि मारिनैपर्छ । तर यदि कुनै मानिसले सो जानाजानी गरेको थिएन तर परमेश्वरले त्यसो हुन दिनुभएको हो भने, त्यो भाग्नलाई म एउटा स्थान तोकिदिनेछु । तर यदि अर्को मानिसलाई युक्ति गरेर कुनै मानिसले माऱ्यो भने, त्यसलाई मेरो वेदीबाटै भएपनि मार्नका निम्ति लैजानू ।”』

प्रस २२:२-३ 『“यदि चोर घर फोर्दैगरेको फेला पऱ्यो भने र त्यसलाई पिट्दा त्यो मऱ्यो भने, त्यसको हत्याको दोष पिट्नेलाई लाग्नेछैन । तर घाम झुल्किसकेको भए, त्यो दोषी हुनेछ । …”』

व्य १९:४-६ 『कसैलाई मारेर आफ्नो ज्यान बचाउनलाई त्यहाँ भाग्ने मानिसको विषयमा नियम यो हो– जसले आफ्नो छिमेकीलाई दुश्मनी नभई नचाहेरै मार्दछ । …』

व्य ५:१८ 『“व्यभिचार नगर्नू ।”』 यो आज्ञाको सम्बन्धमा यसरी लेखिएको छ :

लेवी २०:१०-२२ 『“यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गऱ्यो भने व्यभिचारी र व्यभिचारिणी दुवै मारिनैपर्छ । आफ्ना बुबाकी पत्नीसित सहवास गर्नेले आफ्ना बुबाको अनादर गरेको हो । ती दुवै मारिनैपर्छ । तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस् । कुनै मान्छेले आफ्नी बुहारीसित सहवास गऱ्यो भने ती दुवै मारिनैपर्छ । त्यो दुराचरण हो । …”』

व्य २२:२३-३० 『“मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर सहरभित्रै त्यससँग सम्भोग गरेको फेला पऱ्यो भने, ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू …”』 यीबाहेक व्यभिचारको पापसम्बन्धी अरू वर्णनहरू पनि छन् ।

व्य ५:१९ 『“चोरी नगर्नू ।”』 यो आज्ञाको सम्बन्धमा यसरी लेखिएको छ :

प्रस २२:१-९ 『यदि कसैले गोरु अथवा भेडा चोरेर त्यसलाई माऱ्यो कि बेच्यो भने, त्यसले गोरुको सट्टा पाँच वटा गोरु … “चोरले नोक्सानी भरिदिनुपर्छ । तर त्यससँग केही छैन भने, चोरीको निम्ति त्यो बेचियोस् ।” …』

व्य २४:७ 『कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्यसलाई कमारो तुल्यायो अथवा बेच्यो भने, त्यस अपहरण गर्नेलाई मार्नुपर्छ । तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ ।』

यीबाहेक पनि चोरीसम्बन्धी विस्तृत वर्णनहरू मोशाको व्यवस्थाको पुस्तकमा धेरै लेखिएका छन् (व्य २४:१०-२२; २८:१-६८) ।

पहिलो आज्ञा र यसको वर्णन

माथि उल्लेखित मानिससँग सम्बन्धित आज्ञाको विस्तृत वर्णन व्यवस्थाको पुस्तकमा लेखिएजस्तै परमेश्वरसँग सम्बन्धित आज्ञाको पनि विस्तृत वर्णन व्यवस्थाको पुस्तकमा लेखिएको छ । परमेश्वरले मोशालाई दिनुभएको दश आज्ञा, अगाडि र पछाडि दुवैपट्टि लेखिएका दुई शिला-पाटी थिए (प्रस ३२:१५-१६; ३४:२८-२९) । पहिलो पाटीमा परमेश्वरसँग सम्बन्धित पहिलोदेखि चौथो आज्ञा लेखिएका थिए अनि दोस्रो पाटीमा चाहिँ मानिससँग सम्बन्धित पाँचौँ आज्ञादेखि दशौँ आज्ञा लेखिएका थिए । पहिलोदेखि चौथो आज्ञालाई परमेश्वरसँग सम्बन्धित आज्ञा भनिनुको कारणचाहिँ शबाथ-दिन लगायत परमेश्वरका सम्पूर्ण चाडहरू ती चाडको धर्मविधिअनुसार पवित्रस्थानमा केवल एकमात्र परमेश्वरलाई पुज्ने आज्ञा भएकोले हो ।

त्यसोभए कसो गरेमा पहिलो आज्ञा पालन गर्न सकिन्छ होला ?

“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू”(प्रस २०:३) भन्नुभएको वचनमा “अरू कुनै देवता-देवीहरूलाई नमान्नू” भन्ने आज्ञा र “मलाई मात्र मान्नू” भन्ने दुई वटा आज्ञा समावेश छ ।

अरू देवता-देवीहरूलाई नमानी परमेश्वरलाई मात्र मान्ने तरिका भनेको निस्तार-चाडको दिनमा बलिदान चढाउनु हो, किनभने निस्तार-चाडचाहिँ दासत्व र मृत्युको भूमि मिश्रबाट निकालेर ल्याउनुभएको दिन हो ।

परमेश्वरले “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्नुभएर स्वेच्छाचारी माग गर्नुभएको होइन । मलाई मान्नू तर अरू देवता-देवीहरूलाई नमान्नू भन्नुमा हामीले परमेश्वरलाई मात्र मान्नुपर्ने निश्चित कारण छ । परमेश्वरले आफ्ना मानिसहरूलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याउनुभयो, अनि तिनीहरूलाई छुटकारा दिनुभएको त्यो दिनको सम्झना गर्दै परमप्रभुको निम्ति चाडको रूपमा पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू भन्ने आज्ञा दिनुभयो (प्रस १३:३-१०; १२:१७ तुलना) ।

त्यसैले पहिलो आज्ञा दिनुहुँदा र निस्तार-चाडको बारेमा भन्नुहुँदा उस्तै वचन दिनुभएको छ । “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ । मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू”(व्य ५:६-७; प्रस २०:२-३) भन्नुभएर निस्तार-चाडको बारेमा भन्नुहुँदा पनि “दासत्वको देश, मिश्रबाट निस्केर आएको यस दिनको तिमीहरूले सम्झना राख”(प्रस १३:३-१०; १२:१७; व्य १६:१-१७ तुलना) भन्नुभएको छ । फेरि भन्ने हो भने “मैले तिमीहरूलाई मेरो(परमेश्वरको) बलिदानको रगतद्वारा दासत्वको भूमि मिश्रदेशबाट छुटकारा दिलाएँ, के म नै तिमीहरूको उद्धारक होइन र ? त्यसैले मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू, मैले तिमीहरूलाई निकालेर ल्याएको दिनको सम्झना गर्दै यो दिनमा मलाई मान्नू” भन्न खोज्नुभएको हो ।

परमेश्वरको पहिलो आज्ञाको विषयमा स्पष्टसँग बुझेका मानिसहरू त्यति छैनन् । परमेश्वरको सबैभन्दा महान् रहस्य पहिलो आज्ञाभित्र छ । प्रायः मानिसहरूलाई पहिलो आज्ञा के हो भन्ने कुरा मात्र सरल रूपमा थाहा छ, तर तिनीहरूले पहिलो आज्ञाको मूल सिद्धान्तलाई बुझेका छैनन् । त्यसैले व्यवस्थाका अध्यापकले येशूज्यूको परीक्षा गर्दा ‘यदि तपाईं साँच्चै अगमवक्ता हुनुहुन्छ भने के तपाईंलाई महान् आज्ञा कुन हो भन्ने कुरा थाहा छ ?’ भनेर सोधेका थिए । लेखिएको छ :

मत्ती २२:३५-४० 『तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो ?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू । महान् र प्रथम आज्ञा यही हो ।”』

सम्पूर्ण अगमवक्ताहरूको अभिलेखलाई हेर्दा आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले परमेश्वरलाई प्रेम गर्ने पहिलो आज्ञा पालन गरेको मानिस यहूदाका राजा योशियाह मात्र थिए । लेखिएको छ :

२ राज २३:२५ 『आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर परमप्रभुतर्फ त्यसरी फर्केका कुनै पनि राजा योशियाहजस्तै अघि वा पछि कहिल्यै भएको छैन ।』

योशियाह राजालाई, मोशाका सबै व्यवस्था मानेका राजा भनेर भनिएको छ । आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरको पहिलो आज्ञा अर्थात् निस्तार-चाड मान्नु नै तिनको ठूलो उपलब्धि थियो । जसो लेखिएको छ,

२ राज २३:२१-२५ 『राजाले सबै मानिसहरूलाई यो हुकुम गरे, “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड करारको यस पुस्तकमा लेखेझैँ मनाओ ।” इस्राएलीहरूलाई अगुवाइ गर्ने न्यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूका समयदेखि यसो यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्ति यो निस्तार-चाड मनाइयो । …』

योशियाह राजाको कार्यमा देख्न सकिएजस्तै निस्तार-चाड मान्नु नै परमेश्वरको पहिलो आज्ञा पालन गर्नु हो । यो यथार्थतालाई येशूले स्पष्टसँग गवाही दिनुभएको छ । “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू”(मत्ती २२:३७-३८; २ राज २३:२१-२५ तुलना) भन्ने वचन निस्तार-चाडलाई जनाएर भन्नुभएको वचन हो ।

मोशाले समस्त इस्राएलीहरूका सभामा बोल्दा निस्तार-चाडको विषयमा यस प्रकारले भनेका थिए । लेखिएको छ :

व्य ६:४-९ 『हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ । तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर । मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख । ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ । घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर । ती आफ्ना हातमा चिन्हको लागि कसिराख । ती तिमीहरूको निधारमा बाँधिराख । ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख ।』

“ती आफ्ना हातमा चिन्हको लागि कसिराख । ती तिमीहरूको निधारमा बाँधिराख” भन्नुभएको वचनले निस्तार-चाडको सम्झना गर्ने कुरालाई जनाउँछ ।

प्रस १३:९-१० 『“परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो(निस्तार-चाड) तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो । यो विधि वर्षेनी ठहराइएको समयमा मान्ने गर्नू ।”』

तसर्थ “परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर” भन्ने यो वचन निस्तार-चाडलाई जनाएर भन्नुभएको वचन हो ।

निस्तार-चाडमा सबै देवताहरूको इन्साफ

“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भनेर भन्नुभएको वचनलाई गहिरिएर अध्ययन गर्ने हो भने पहिलो आज्ञाले निस्तार-चाडलाई जनाएको कुरा बुझ्न सकिन्छ । निस्तार-चाड मान्दा अरू देवता-देवीहरूलाई नमानी हामीलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याउनुभएका परमेश्वरलाई मात्र मान्न पुगिन्छ । किनभने हामीले परमेश्वरको निस्तार-चाड मान्यौं भने अन्य देवता-देवीहरू नष्ट हुन्छन्, र निस्तार-चाड मानेनौं भने हामीले थाहा नपाएको क्षणमा अन्य देवता-देवीहरूले हामीलाई आक्रमण गर्छन् । लेखिएको छ :

प्रस १२:१२, गन्ती ३३:४ 『“त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ ।”』

कसै-कसैले “सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु” भन्ने वचन प्रस्थानको समयमा मात्र लागू हुन्छ भनेर सोच्न सक्लान् । तर यो वचन जुनसुकै युगमा पनि लागू हुन्छ । इस्राएलीहरूले निस्तार-चाड नमान्दा अन्य देवता-देवीहरूलाई भित्र्याएर अल्गा-अल्गा ठाउँहरू र अशेराका खम्बाहरू बनाए, बाल देवतालाई पुजे, र पूरै देश जोखना हेर्ने र भूतप्रेत खेलाउनेहरूद्वारा भरिएको थियो । तर परमेश्वरले अगमवक्ताहरूलाई पठाउनुभएर फेरि निस्तार-चाड मान्दा ती सम्पूर्ण देवताहरू, मूर्तिहरू लगायत जोखना हेर्ने र भूतप्रेत खेलाउनेहरूसमेत सबै नष्ट भएका थिए ।

उहिल्यै हिजकिया राजाको समयमा र योशियाह राजाको समयमा पनि लामो समयसम्म चाड नमनाइएको हुनाले पूरै देश मूर्तिहरूद्वारा भरिएको थियो । तर निस्तार-चाड मनाउँदा तिनीहरूको आँखा खोलिएर तिनीहरूले यरूशलेम र यहूदाका सहरहरू सबै जोखना हेर्ने र भूतप्रेत खेलाउने, घर-देवताहरू र मूर्तिहरू, र सबै घिनलाग्दा थोकहरूले भरिएको देखे, र ती सबैलाई खतम गरे (२ राज २३:२१-२४; २ इति ३०:१-५, ३१:१) । अनि निस्तार-चाड मानेपछि पूजाहारीहरूले मानिसहरूका निम्ति प्रार्थना गर्दा त्यो प्रार्थना स्वर्गमा पुग्यो भनिएको छ ।

२ इति ३०:२७ 『पूजाहारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिन खडा भए, अनि परमेश्वरले पुकारा सुन्नुभयो, किनकि तिनीहरूको प्रार्थना स्वर्गमा परमेश्वरको पवित्र वासस्थानसम्मै पुग्यो ।』

हिजकिया राजा र योशियाह राजाले लामो समयसम्म निस्तार-चाड नमानेका हुनाले मूर्तिहरूलाई नष्ट गर्नुभन्दा अघिचाहिँ मूर्तिहरूलाई पुजिरहेका थिए । तर परमेश्वरको निस्तार-चाड मानेपछि तिनीहरूले सबै मूर्तिहरूलाई नष्ट गरे । यसको कारण परमेश्वरले पहिल्यै प्रस्थानको समयमा निस्तार-चाडलाई ‘मूर्तिहरूको इन्साफ गर्ने दिन’को रूपमा तोक्नुभएकोले हो । चाहे जुनसुकै युग होस्, परमेश्वरका प्रजाहरूले निस्तार-चाड मान्दा अन्य देवताहरू इन्साफ पाएर नष्ट हुन्छन् भने निस्तार-चाड नमान्दा आफूले पनि थाहा नपाईकन अन्य देवतालाई पुज्न पुगिन्छ ।

उहिल्यै इस्राएलका राजा यारोबामले इस्राएलीहरूलाई परमेश्वरका चाडहरू पालन गर्नबाट वञ्चित गराउनको निम्ति दुई वटा सुनका बाछाको मूर्तिहरू बनाएर एउटाचाहिँ दान र अर्कोचाहिँ बेथेलमा स्थापना गरेर “तिमीहरूलाई यरूशलेममा जान अति कष्ट हुन्छ, हे इस्राएल हो, तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएका तिमीहरूका देवताहरू त यहाँ पो छन्” भनेर भनेका थिए (१ राज १२:२५-३३) ।

करीब ई.पू. ९७५तिर यारोबाम राजाले इस्राएलीहरूलाई परमेश्वरको चाड मान्नबाट वञ्चित गराउन चाडको सट्टामा बनाएका सुनको बाछाका मूर्तिहरू र अल्गा थानहरूलाई योशियाह राजाको समयसम्म लगभग ३०० वर्षसम्म पुजिएको थियो । जब योशियाह राजाले परमेश्वरको मन्दिरमा भेट्टाइएको व्यवस्थाको पुस्तक पढेर निस्तार-चाडलाई महसुस गरे, तब तिनले सम्पूर्ण मूर्तिहरू, वेदीहरू र अल्गा थानहरूलाई हटाए (२ राज २२:१-२०; २३:१५-२०), अनि निस्तार-चाड मानेपछि तिनले बाँकी मूर्तिहरू र जोखना हेर्नेहरू सबैलाई पूर्ण रूपमा खतम गरे (२ राज २३:२१-२४) ।

योजस्तै वर्तमानमा पनि येशूज्यूले नयाँ करार स्थापना गर्नुभएको दिनलाई लत्याएर अर्कै दिनलाई तोकेर मान्नु भनेको यारोबामले मूर्ति बनाएर अर्कै दिनलाई चाडको रूपमा तोकेसरह हो । इजकिएल अगमवक्ताले पनि यस विषयमा लेखेका छन् ।

इज ११:१२ 『“अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँडेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ ।”』

विगतमा होस् या वर्तमानमा, परमेश्वरले तोक्नुभएको नियम पालन नगर्दा अन्य कुराको सम्झना गर्ने नियम अर्थात् अन्यजातिको नियम पालन गर्न पुगिन्छ । त्यसैले परमेश्वरको नियमअनुसार निस्तार-चाड नमानेमा अन्य देवी-देवताहरूलाई पुज्न पुगिन्छ ।

कसै-कसैले निस्तार-चाड शारीरिक इस्राएलीहरूसँग मात्र सम्बन्धित छ, वर्तमान समयका हामीहरूको निम्ति यो निस्तार-चाड क्रूसद्वारा रद्द भइसक्यो भन्ने गर्छन् । पुरानो करारको समयमा पनि निस्तार-चाड नमान्ने मानिसहरूले ‘निस्तार-चाड प्रस्थानको समयमा मात्र आवश्यक थियो तर अबचाहिँ अझ राम्रो तरिकाद्वारा परमेश्वरलाई मान्नुपर्छ’ भन्दै मूर्ति बनाएर पुजेका थिए । त्यसरी नै वर्तमान समयमा पनि मानिसहरूले मुक्तिको प्रबन्धलाई बुझेनन् भने त्यस्तो सोचाइ लिन पुग्छन् । तर निस्तार-चाड शारीरिक इस्राएलीहरूको निम्ति मात्र नभएर वास्तवमा चाहिँ सारा संसारका आत्मिक इस्राएलीहरूले उद्धार पाउने अति महत्त्वपूर्ण दिन हो ।

पुरानो करारको समयमा इस्राएलीहरू निस्तार-चाडद्वारा मिश्रबाट निस्केका थिए अनि निस्तार-चाडद्वारा कनान देशमा प्रवेश गरेका थिए । यो निस्तार-चाड, नष्ट भएर जाने शारीरिक इस्राएलीहरूको निम्ति होइनकि वास्तवमा चाहिँ आत्मिक इस्राएलीहरूको निम्ति स्थापना गरिदिनुभएको हो । त्यसैले निस्तार-चाडको रातलाई ‘परमप्रभुको रात’ भन्नुभएको हो (प्रस १२:४२) ।

मिश्रमा मनाइएको निस्तार-चाड छाया थियो, र यसको वास्तविकताचाहिँ येशूज्यूले चेलाहरूसँग नयाँ आज्ञा अर्थात् नयाँ करारको रूपमा मान्नुभएको अन्तिम निस्तार-चाड हो (लूक २२:२०; हिब्रू ९:१५ तुलना) । यो दिनचाहिँ येशूज्यूले विश्वभरि पापको दासत्वमा रहेका आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको दिन हो । यो निस्तार-चाडको पालनाद्वारा अरू देवता-देवीहरूलाई नमानी केवल हाम्रा मुक्तिदाता हुनुभएका ख्रीष्टलाई मात्र मान्न सकिन्छ । क्रूसद्वारा निस्तार-चाड रद्द भएको होइनकि बरु उल्टै प्रकाशमा ल्याइएको हो ।

कसै-कसैले पुरानो करारको समयमा चाडलाई महत्त्वपूर्ण ठानिने भएकोले निस्तार-चाडलाई पहिलो आज्ञाको रूपमा सोच्न सकिए पनि नयाँ करारको समयमा आएरचाहिँ क्रूसद्वारा रद्द भएको छ भन्ने गर्छन् । तर पुरानो करारमा निस्तार-चाड पहिलो आज्ञा थियो भने नयाँ करारमा पनि निस्तार-चाड नै पहिलो आज्ञा हुनुपर्छ । त्यसको कारण पुरानो करार छाया र नयाँ करारचाहिँ वास्तविकता भएकोले हो ।

दोस्रो आज्ञा र यसको वर्णन

दोस्रो आज्ञामा “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू”(व्य ५:८-१०) भन्नुभएको छ ।

व्य ४:१५-१९ 『होरेबमा अग्निको माझदेखि परमप्रभु बोल्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ । सावधान बस ! नत्रता तिमीहरूले आफ्ना निम्ति एउटा मूर्ति बनाउनेछौ, …』

प्रस २०:२२-२४ 『तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्नू: स्वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ । मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू । तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू । मेरो निम्ति माटोको वेदी बनाएर त्यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेडाबाख्राहरू र गाईबस्तुहरू चढाउनू । जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्यहाँ-त्यहाँ आएर म तिमीहरूलाई आशिष् दिनेछु ।”』 यी सम्पूर्ण वचनहरू करारको सन्दूकको छेउमा राखिएको व्यवस्थाको पुस्तकमा लेखिएका छन् ।

अनि “मूर्ति नबनाउनू” भन्ने दोस्रो आज्ञा कुनै आकारको प्रतिमूर्ति बनाउँदा मात्र भङ्ग हुने होइनकि पहिलो आज्ञालाई भङ्ग गर्दा दोस्रो आज्ञालाई पनि भङ्ग गर्न पुगिन्छ । यो कुरालाई यारोबामले परमेश्वरको पहिलो आज्ञालाई उल्लङ्घन गर्दा मूर्ति बनाएर पुज्न पुगेको कुराद्वारा बुझ्न सकिन्छ ।

यसरी कुनै कुराको आकारको प्रतिमूर्ति बनाएर पुज्नु मात्र मूर्ति होइनकि परमेश्वरले तोक्नुभएको नियमलाई तोडेर अर्कै नियम बनाएर मान्नु पनि परमेश्वरको साँचो कुराको मूर्ति बनाउनु हो । फेरि भन्ने हो भने परमेश्वरले शबाथ-दिन तोक्नुभएको छ, तर आइतबारको दिनलाई शबाथ-दिन भनेर मान्यो भने त्योचाहिँ शबाथ-दिनको मूर्ति बनाउनु हो ।

तेस्रो आज्ञा र यसको वर्णन

तेस्रो आज्ञामा “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू”(व्य ५:११) भन्नुभएको छ, यो आज्ञा परमेश्वरको नाउँ व्यर्थमा नलिँदैमा पालन गरेको हुने होइन । परमप्रभुको नाउँ व्यर्थैमा नलिनू भन्नाले परमप्रभुको नाउँ पवित्र रूपमा लिनुपर्छ भन्ने अर्थ हो । परमप्रभुको नाउँ व्यर्थमा लिने र पवित्र रूपमा लिने विषयमा अध्ययन गरौं । लेखिएको छ,

२ इति २:४ 『“अब मैले पनि परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्न र उहाँको सामुन्ने सुगन्धित धूप बाल्न, …”』

१ राज ८:३०, ३४-३६ 『आफ्नो दास र आफ्नो प्रजा इस्राएलले यस ठाउँ(मन्दिर)तिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्नुहोस् । आफ्नो वासस्थान स्वर्गबाट सुन्नुहोस्, र जब तपाईंले सुन्नुहुन्छ, तब क्षमा गर्नुहोस् । … तब स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, …』

१ राज ९:३ 『“… तैंले निर्माण गरेको यस मन्दिरलाई मैले पवित्र पारेको छु, र सदाको निम्ति मैले मेरो नाउँ त्यहाँ राखेको छु । …”』

प्रस २०:२४ 『“… जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्यहाँ-त्यहाँ आएर म तिमीहरूलाई आशिष् दिनेछु ।”』

परमप्रभुले आफ्नो नाउँ राख्नुभएको ठाउँ नै उहाँको मन्दिर हो । त्यो मन्दिरभित्र मात्र परमप्रभुले तोक्नुभएको नियमअनुसार उहाँको नाउँ पवित्र रूपमा लिइन्थ्यो र उच्च पारिन्थ्यो । यदि कसैले परमेश्वरको नियमलाई पालन नगरी मानिसले बनाएको नियमलाई पछ्याउँदै “यो साताचाहिँ वर्षभरि गरेको पाप क्षमा हुने प्रार्थना सप्ताह हो” अथवा “यो शबाथ-दिन हो” भन्छ अथवा आफ्नो इच्छाअनुसार निस्तार-चाडको पवित्र भोज गर्दै “यो रोटी र कचौरा हामीलाई उद्धार गर्नुहुने येशूज्यूको देह र अनमोल रगत हो” भन्छ भने त्यो नै परमेश्वरको नाउँ व्यर्थैमा लिने र परमेश्वरको अपमान गर्ने कार्य हो । लेखिएको छ,

व्य १६:१-६ 『… तर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुने ठाउँमा नै सूर्यास्तको समयमा तिमीहरू मिश्रबाट प्रस्थान गरेको बेलामा निस्तार-चाडको बलि चढाउनू ।』

येशूज्यूले नयाँ करार स्थापना गरिदिनुभएको सोही दिनमा हामीले पवित्र भोज मान्दै परमप्रभुको नाउँ पवित्र रूपमा लियौं र उहाँको नाउँ उच्च पाऱ्यौं भने त्यो कार्य कति सुन्दर हुन्छ होला !

तसर्थ यो तेस्रो आज्ञा पनि पहिलो आज्ञा भङ्ग गर्दा तोड्न पुगिन्छ । फेरि भन्ने हो भने यदि कसैले आइतबारको दिनलाई “यो परमप्रभुको पवित्र शबाथ-दिन हो” भन्दै त्यो दिनमा आराधना गर्दै प्रार्थना गर्छ भने त्यो नै मूर्ति बनाउने अनि परमप्रभुको नाउँ व्यर्थैमा लिने कार्य हुन जान्छ । तर शबाथ-दिन मान्ने मानिसले आइतबार आराधना गऱ्यो भने केही फरक पर्दैन ।

त्यसै गरी येशूज्यूले नयाँ करार स्थापना गर्नुभएको उही दिनमा पवित्र भोज मान्ने मानिसले साधारण दिनमा पवित्र भोजको धर्मविधि गर्दा मूर्ति बनाएको अथवा परमेश्वरको नाउँ व्यर्थैमा लिएको ठहर्दैन । तेस्रो आज्ञासम्बन्धी वर्णन पनि सन्दूकको छेउमा राखिएको व्यवस्थाको पुस्तकमा विस्तृत रूपमा लेखिएको छ ।

चौथो आज्ञा र यसको वर्णन

लेखिएको छ, “परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्न याद राख्नू”(व्य ५:१२-१४) । “किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो”(प्रस २०:११) भनिएको हुनाले शबाथ-दिनचाहिँ सृष्टिकर्ताको सम्झना गर्ने दिन हो भन्ने अर्थ हो ।

विगतमा शबाथ-दिन मान्ने नियम यस प्रकार थियो :

गन्ती २८:९-१० 『“ ‘शबाथमा दुई वटा एक वर्षे निष्खोट थुमा, तेलमा मुछेको एक पाथी मसिनो पीठो अन्नबलिको निम्ति र त्यसको अर्घ-बलिसमेत चढाउनू । नित्यको होमबलि र त्यसको अर्घ-बलिबाहेक हरेक शबाथको होमबलि यही हो ।’ ”』

अनि “हरेक शबाथ परमप्रभुको सामुन्ने त्यो रोटी बारम्बार राखिओस् । इस्राएलीहरूका निम्ति यो अनन्तको करार होस्”(लेवी २४:५-८; १ इति ९:३२; २३:३१; २ इति २:४; इज ४६:४ तुलना) भनिएको छ ।

मोशाको व्यवस्थामा शबाथ-दिन मान्ने धर्मविधि भएकोले शबाथ-दिनलाई चाड पनि भनिन्थ्यो ।

लेवी २३:२-३ 『“इस्राएलीहरूलाई भन्: ‘पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाडहरू यी नै हुन् । छ दिन काम गरियोस्, तर सातौँ दिनचाहिँ विशेष विश्रामको शबाथ, एक पवित्र सभाको दिन हो । त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू । तिमीहरूले जहीँ बसोबास गरे तापनि त्यो परमप्रभुको शबाथ हो ।’”』

चौथो आज्ञा अर्थात् शबाथ-दिनलाई चाड भनिनुको कारणचाहिँ पवित्रस्थानमा शबाथको विधिअनुसार बिहान र बेलुकी होमबलि, उपस्थितिको रोटी र अर्घबलि चढाइने धर्मविधि भएकोले हो । अनि शबाथ-दिन भङ्ग गर्ने विषयमा पनि लेखिएको छ,

प्रस ३५:२-३ 『“… तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्नू ।”』

प्रस ३१:१५ 『“… जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ ।”』

गन्ती १५:३२-३६ 『इस्राएलीहरू उजाड-स्थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे । … “त्यो मानिस मारिनैपर्छ । सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून् ।” …』

यस्ता सबै वचनहरू र शबाथ-दिनसम्बन्धी विस्तृत वर्णन सन्दूकको छेउमा राखिएको व्यवस्थाको पुस्तकमा लेखिएको छ ।

अध्याय २ नयाँ करार र पुरानो करार

बाइबल पुरानो करार र नयाँ करार मिलेर बनेको छ । पुरानो करार भनेको पुरानो प्रतिज्ञा र नयाँ करार भनेको नयाँ प्रतिज्ञा हो । पुरानो करार क्रूसद्वारा रद्द भएको छ, तर नयाँ करारचाहिँ पालन गर्नुपर्छ भन्ने सोचाइ ख्रीष्टियानहरूमा रहेको आम सोचाइ हो । यदि हामीले पुरानो करारको शिक्षालाई शाब्दिक रूपमा मात्र बुझेर पालन गऱ्यौं भने ख्रीष्टको अनुग्रहबाट वञ्चित हुन पुग्नेछौं । त्यसैले हामीले पछ्याउनुपर्ने शिक्षा के हो भन्ने कुरा बाइबलको नयाँ करारमा खोजेर त्यसैअनुसार गर्नुपर्छ ।

सम्पूर्ण सिद्धान्तको आधार नै येशूज्यू हुनुहुन्छ । हाम्रा शिक्षक र उद्धारक हुनुभएका येशूज्यूले सीधै दिनुभएको शिक्षा र पालन गर्नुभएको कुरा हामीहरूले पालन गर्नुपर्छ । अनि येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरितहरूको शिक्षा र उदाहरणलाई जस्ताको तस्तै पछ्याउनुपर्छ । यदि प्रेरितहरूको शिक्षालाई बेवास्ता गर्दै अझ राम्रो गर्छु भनेर आफ्नो विचार लगायो भने त्यो नै विधर्म हुन्छ । लेखिएको छ :

गला १:६-९ 『… हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गऱ्यो भने पनि त्यो व्यक्ति श्रापित होस् । … म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस् ।』

तर समय बित्दैजाँदा सत्यता एक-एक गरेर परिवर्तन हुन थाल्यो । येशूज्यूले राज्यको सुसमाचारको असल बीउ छर्नुभएपछि शत्रु दियाबलसले सामा छर्छ भनेर पहिल्यै अगमवाणी गर्नुभएजस्तै (मत्ती १३:२४-३०) जीवनको सत्यता प्रेरितहरूको समयपछि परिवर्तन हुन थाल्यो, र ई.सं. १६७मा निस्तार-चाडको पवित्र भोजको धर्मविधि अर्कै दिनमा परिवर्तन भयो । मण्डलीको सम्पूर्ण अधिकार लिएको भ्याटिकन र डा. किडले पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिन अर्थात् निशान महिनामा निस्तार-चाड मान्नेहरूलाई विधर्मीको आरोप लगाए (“A History of the Early Church to A.D. 500” पेज नं. ८३) ।

त्यसपछि शैतानले आफ्नो गतिविधिलाई झन् बढाउन थाल्यो र अन्त्यमा शबाथ-दिनसमेत परिवर्तन गऱ्यो । त्यसले निस्तार-चाडलाई परिवर्तन गरेको ई.सं. १६७पछि शबाथ-दिनलाई पनि ई.सं. ३२१मा परिवर्तन गऱ्यो । तर परमेश्वरको सत्यता सदाको लागि शैतानको कुल्चाइमा रहन सक्दैन । अगमवाणीअनुसार सत्यताको ज्योति चम्किन थाल्यो । लुथरले विश्वासको स्वतन्त्रता पुनः स्थापना गरे, बप्तिस्मा मण्डलीले बप्तिस्मालाई अनि विश्राम मण्डलीले शबाथ-दिनलाई पुनः स्थापना गरे । अब अन्त्यमा बाँकी रहेको नै जीवन दिने निस्तार-चाडको पवित्र भोजको धर्मविधि हो । हामीले अन्तिम सत्यता रहेको निस्तार-चाडलाई पूर्ण रूपमा प्रकट गरेर जीवनको सत्यता खोज्ने सबैलाई सुनाउनुपर्छ, र येशूको अन्तिम आगमनको बाटो तयार गरी निस्तार-चाडको थुमाको रगतद्वारा पाप पखालेर अनन्त जीवनमा प्रवेश गर्नुपर्छ ।

अहिले यो समयमा सुनाउन लागेको खबर नयाँ खबर होइन । येशूज्यूले सिकाइदिनुभएको र प्रेरितहरूले सुनाएका सुसमाचार हो । लेखिएको छ :

फिलि ४:९ 『तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गऱ्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ ।』

१ कोर ११:२३-२६ 『किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो । यो मेरो सम्झनाको निम्ति गर ।” त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर ।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ ।』 (लूक २२:७-२० तुलना)

नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड हो । येशूज्यू र प्रेरित पावलले निस्तार-चाडको पवित्र भोजलाई जनाएर नयाँ करार भनेर भन्नुभएको छ ।

अध्याय ३ नयाँ करारको नियम

नयाँ करारले पुरानो करारलाई पूरा गरेकोले पुरानो लिखित अक्षरका नियमहरू आत्मिक नियममा परिवर्तन भएका हुन् । लेखिएको छ :

१ कोर ५:७-८ 『… हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी … चाड मनाऔं ।』

हिब्रू ७:१२ 『किनकि पूजाहारी पद बद्लिँदा व्यवस्था पनि बद्लिनैपर्छ ।』

फेरि भन्ने हो भने लिखित अक्षरको पद पवित्र आत्माको पदमा बद्‌लिएको हो । येशू ख्रीष्टले हामीलाई यो पापमय संसार(मिश्र)बाट छुटकारा पाएको दिनको स्मरण गराउन मिश्रबाट निस्केर आउँदा मनाइएको निस्तार-चाडलाई रोज्नुभएर अन्तिममा आफ्ना चेलाहरूसँग निस्तार-चाडको पवित्र भोज मनाउनुहुँदै नयाँ करार दिनुभयो (लूक २२:७-१३, १९-२०; प्रस १३:८-१० तुलना) ।

येशूज्यूले निस्तार-चाडमा थुमा खानुको सट्टा उहाँको शरीरलाई सङ्केत गर्ने रोटी खान लगाउनुभयो, र थुमाको रगत वेदीमा अथवा मानिसहरूमाथि छर्किनुको सट्टा उहाँको रगतलाई सङ्केत गर्ने दाखमद्य पिउन लगाउनुभएर हाम्रो शरीर शुद्ध भई ‘पवित्र आत्मा वास गर्नुहुने पवित्र आत्माको मन्दिर’ बन्ने नयाँ करारको नियम दिनुभएकोले हामीले यो दिनको सम्झना र घोषणा गर्नुपर्छ (१ कोर ११:२३-२६; लूक २२:१५-२०; यूह ६:५३-५५ तुलना) ।

यदि येशूज्यूले अन्तिम कार्यको रूपमा गर्नुभएको निस्तार-चाडको धर्मविधि अन्य जुनसुकै दिनमा गरे पनि फरक नपर्ने भए उहाँले जुनसुकै दिनमा गर्नुभएर जुनसुकै दिनमा गरे पनि फरक नपर्ने उदाहरण देखाइदिनुहुनेथियो । तर येशूज्यूले हामीलाई उदाहरण देखाउनको निम्ति निस्तार-चाडलाई पर्खनुभई “निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” भन्नुभयो । “मैले दु:ख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ”(लूक २२:१५) भन्नुभएको चाहिँ निस्तार-चाडविना उहाँको कार्य पूरा हुन नसक्ने भएकोले उहाँले त्यो दिनलाई पर्खनुभएर चेलाहरूसँग निस्तार-चाड खाने ठूलो इच्छा गर्नुभएको हो । यसकारण यो विधिलाई निस्तार-चाड खाने भोज भनेर लेखिएको छ (लूक २२:८-१५; मत्ती २६:१७; मर्क १४:१२-१४) ।

यहूदीहरूको इतिहासमा १,५०० वर्षसम्म पहिलो महिनाको १४औँ दिनमा निस्तार-चाडको थुमा बलि गरिँदैआएको थियो र सोही दिनमा येशू ख्रीष्टले चेलाहरूसँग निस्तार-चाडको भोज खानुभई यो चाडलाई संसारको पाप उठाइलैजाने परमेश्वरको थुमाको रूपमा उहाँको मृत्यु हुने कुराको सम्झना गर्ने दिनको रूपमा तोक्नुभयो । येशू ख्रीष्टले प्रायश्चितको महान् कार्यलाई निस्तार-चाडको पवित्र भोजको धर्मविधिमा नयाँ करारद्वारा छाप लगाउनुभयो ।

निस्तार-चाडको रोटीचाहिँ क्रूसमा टाँगिनुभएका येशूज्यूको शरीर बन्दछ, र निस्तार-चाडको दाखमद्य क्रूसमा बगाउनुभएको येशूज्यूको अनमोल रगत बन्दछ । निस्तार-चाडचाहिँ प्रायश्चितको महान् प्रेम हामीलाई स्पष्टसँग देखाउने धर्मविधि हो । येशूज्यूले निस्तार-चाडको पवित्र भोजको धर्मविधिमा भन्नुभएको महत्त्वपूर्ण कुरा यस प्रकार छ :

लूक २२:१९-२० 『अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”』

यूह ६:५३-५६ 『येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो । मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।”』

येशूज्यूले निस्तार-चाडको थुमाको रूपमा क्रूसमा टाँगिने उहाँको शरीर र क्रूसमा बग्ने उहाँको अनमोल रगतलाई निस्तार-चाडको पवित्र भोजको धर्मविधिमा छाप लगाइराख्नुभएको कुरा माथिको वचनमा दर्शाइएको छ । त्यसैले यो धर्मविधिद्वारा येशूज्यूभित्र रहन पुगी जीवन पाउनुको साथै अन्त्यको दिनमा जीवित पार्नुहुने प्रतिज्ञा प्राप्त हुन्छ ।

अनि उहाँले कचौरा लिनुभएर “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो”(लूक २२:२०) भन्नुभएर दाखमद्यको बारेमा यस प्रकारले विस्तृत रूपमा वर्णन गरिदिनुभयो ।

यूह १५:५ 『“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ । यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ ।”』

यो वचन अन्तिम भोजको उत्सव भएको ठाउँमा दाखमद्य दिनुहुँदै येशूले भन्नुभएको वचन हो । येशूले प्रायश्चितको महान् प्रेमको कार्यलाई निस्तार-चाडको पवित्र भोजको धर्मविधिमा नयाँ करारको रूपमा स्थापना गर्नुभयो अनि भन्नुभयो,

यूह १३:३४ 『“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।”』

यूह १५:१२ 『“मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर ।”』

यूह १३:१३-१५ 『“तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ । यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।”』

यूहन्ना १३:३४मा “एउटा नयाँ आज्ञा तिमीहरूलाई दिँदछु” भन्नुभएको वचन र लूका २२:२०मा “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” भन्नुभएको वचन उस्तै हो । अन्य तीन सुसमाचारका पुस्तकहरूमा चाहिँ ‘नयाँ आज्ञा’ नभनी ‘नयाँ करार’ अथवा ‘करार’ भनेर लेखिएको छ, र यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर नलेखिईकन ‘नयाँ आज्ञा’ भनेर लेखिएको छ (यूह १३:३४; १५:१०-१२) । यो नयाँ करार अर्थात् नयाँ आज्ञाचाहिँ हामीलाई उद्धार गर्नुभएका उद्धारकर्ता प्रभुको सम्झना दिवस हुनुको साथै येशूज्यूले हामीलाई प्रेम गर्नुभएजस्तै हामीले पनि येशूज्यूलाई प्रेम गर्ने र दाजुभाइहरू आपसमा येशूज्यूभित्र प्रेम गर्ने प्रेमको निस्तार-चाड हो ।

१ कोर १०:१६-१७ 『आशिष्‌का त्यो कचौरा जुनको निम्ति हामी आशिष् माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र ? त्यो रोटी, जुन हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरमा हुने सहभागिता होइन ? किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं ।』 भनिएकोले यो धर्मविधिद्वारा दाजुभाइ आपसमा प्रेम गर्नुका साथै येशूज्यूभित्र एउटै शरीर भइन्छ ।

जो कोही होस्, आफ्नो शरीरलाई घृणा गर्ने मानिस हुँदैन । यदि हामीहरू येशूज्यूभित्र एउटै शरीर भयौं भने आफ्नो शरीरलाई प्रेम गरेजस्तै दाजुभाइलाई प्रेम गर्नेछौं ।

निस्तार-चाड र अन्तिम भोज

कसै-कसैले भन्ने गर्छन् कि येशूज्यूले अन्तिम भोज मान्नुभएको दिनचाहिँ निस्तार-चाडको दिन नभएर निस्तार-चाडको अघिल्लो दिन, पहिलो महिनाको तेह्रौँ दिनको साँझ हो । तर मत्ती, मर्कूस र लूका यी तीनै सुसमाचारका पुस्तकहरूमा येशूज्यूले “निस्तार-चाडको भोज तयारी गर” अथवा “यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ”(मत्ती २६:१७; मर्क १४:१२; लूक २२:७-८, १३-१५ तुलना) भनेर स्पष्टसँग भन्नुभएको छ । येशूज्यू स्वयम्‌ले भन्नुभएको वचनलाई इन्कार गर्न मिल्छ र ?

तिनीहरूले यसो पनि भन्ने गर्छन् कि येशूज्यूलाई क्रूसमा टाँगिएको दिन निस्तार-चाडको दिन हो । किनभने येशूज्यू निस्तारको थुमा हुनुभएकोले निस्तार-चाडको थुमा बलि गर्ने दिनमा नै उहाँ क्रूसमा टाँगिनुपर्छ भनेर तिनीहरूले व्याख्या गर्ने गर्छन् । यस्तो व्याख्याचाहिँ तिनीहरूले येशूज्यूको उद्धार कार्यसँग सम्बन्धित चाडपर्व र बलिदानको वास्तविकता हुनुभएका येशूज्यूको कार्यद्वारा पूरा हुने अगमवाणीलाई नबुझेकाले गर्दा आएको हो । अगमवाणीको पूर्णताबाट हेर्दा, निस्तार-चाडको थुमाभन्दा प्रायश्चितको बलिदान अझ ठूलो हो । प्रायश्चितको बलिदान पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा चढाइन्थ्यो (हिब्रू १३:११-१२; लेवी १६:२७-३४ तुलना) । त्यसोभए येशूज्यू प्रायश्चितको बलि पनि हुनुभएकोले सातौँ महिनाको दशौँ दिन, प्रायश्चितको दिनमा पनि येशूज्यू क्रूसमा टाँगिनुपर्दैन र ?

वास्तवमा येशूज्यू चाडहरूको सम्पूर्ण बलिदान हुनुभयो । दैनिक चढाइने नित्यको होमबलि पनि हुनुभयो (प्रस २९:३८-३९), शबाथ-दिनमा चढाइने शबाथको थुमा पनि हुनुभयो (गन्ती २८:९-१०), निस्तार-चाडको थुमा पनि हुनुभयो (१ कोर ५:७-८), र प्रायश्चितको बलि पनि हुनुभयो । तर येशूज्यू पवित्र पात्रोअनुसार पहिलो महिनाको पन्ध्रौँ दिनमा बलिदान हुनुभएमा अगमवाणी ठीकसँग पूरा हुन्छ ।

यहूदीहरूको लागि निस्तार-चाड सबैभन्दा ठूलो दिन भएकोले तिनीहरूले त्यो दिन अपराधीहरूलाई क्रूसमा टाँग्दैनथे । तिनीहरूका लागि निस्तार-चाड ठूलो चाड भएकोले तिनीहरूले त्यस दिन अपराधीलाई क्रूसमा टाँग्न सुम्पिँदैनथे । प्रेरितहरूकै समयमा हेर्ने हो भने पनि प्रेरित पत्रुस कैदमा पर्दा निस्तार-चाड आएकोले तिनीहरूले निस्तार-चाड बित्ने समयलाई पर्खेका थिए भनेर लेखिएको छ । प्रभुका स्वर्गदूतले पत्रुसलाई निस्तार-चाडको रातमा नै झ्यालखानबाट मुक्त गरेका थिए (प्रे १२:१-१०) । तर पवित्र पात्रोअनुसार पहिलो महिनाको पन्ध्रौँ दिन अर्थात् अखमिरी रोटीको चाडचाहिँ इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेका दिन (गन्ती ३३:३) हुनुका साथै मिश्रीहरूले आफ्ना मरेका जेठा सन्तानहरू गाडेको दिन (गन्ती ३३:४) हो । त्यसैले यहूदीहरूका लागि यो दिनचाहिँ अपराधीहरूलाई क्रूसमा झुण्ड्याउने परम्परा बनेर आएको थियो । पापीहरूले पाउने सरापमुनि येशूज्यू क्रूसमा टाँगिनुभएर सरापभित्र रहेका हामीलाई मुक्त गरिदिनुभएको हो । लेखिएको छ :

गला ३:१३ 『हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ ।』 (व्य २१:२२-२३ तुलना)

बाइबलका थुप्रै पदहरूलाई ध्यानपूर्वक हेर्ने हो भने येशूज्यूलाई क्रूसमा टाँगिएको दिनचाहिँ निस्तार-चाडको भोलिपल्ट अर्थात् अखमिरी रोटीको चाडको दिन हो भन्ने जान्न सकिन्छ । त्यसकारण येशूज्यूले अन्तिम निस्तार-चाडको भोज खानुभएको दिन नै निस्तार-चाडको थुमा बलि गर्ने दिन अर्थात् पहिलो महिनाको चौधौँ दिनको साँझ हो । लेखिएको छ :

मर्क १४:१२ 『अखमिरी रोटीका चाडको प्रथम दिनमा, जब तिनीहरूले निस्तार-चाडको थुमा बलिदान चढाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्छा के छ ? हामी कहाँ गएर तपाईंको निम्ति निस्तार-चाडको भोज तयार गरौं ?”』

पुरानो करारको निस्तार-चाड, नयाँ करारको छाया

पुरानो करारको समयमा इस्राएलीहरूले मान्दैआएका निस्तार-चाडलाई खोजेर हेर्ने हो भने तिनीहरूले पहिलो पटक मिश्रमा निस्तार-चाड मानेर त्यहाँबाट प्रस्थान गरेका थिए (प्रस १२:१२-४२), त्यसपछि उजाड-स्थानको यात्रामा पवित्रस्थान बनाएर दोस्रो वर्षमा निस्तार-चाड मानेका थिए (प्रस ४०:१-२५; गन्ती ९:१-१४ तुलना) र उजाड-स्थानको ४० वर्षे यात्रा समाप्त गरेर कनानमा प्रवेश गर्ने तयारीको रूपमा यरीहोको मैदानमा निस्तार-चाड मनाई कनान प्रवेश गरेका थिए (यहो ५:१०-१५) । तर कनान प्रवेश गरेपछि परमेश्वरले आज्ञा गर्नुभएअनुसार निस्तार-चाड नमानेर मूर्तिलाई नै परमेश्वर सोच्दै पुजिरहेका बेला योशियाह राजा र हिजकिया राजाको समयमा तिनीहरूले अगमवक्ताद्वारा निस्तार-चाड थाहा पाएर फेरि मानेपछि मूर्तिहरूलाई नष्ट गरेका थिए (२ राज २३:१-२५; २ इति ३०:१-२७, ३१:१ तुलना) । बेबिलोनको कैदबाट छुटकारा पाएर फर्केका इस्राएलीहरूले मन्दिर बनाएर निस्तार-चाड पवित्र रूपले मानेका थिए (एज्रा ६:१४-२२) । येशूज्यूले आफ्ना चेलाहरूसँग नयाँ करारको निस्तार-चाड मान्नुभएको थियो (लूक २२:७-२०; १ कोर ११:२३-२६ तुलना) । यसरी हेर्दा, परमेश्वरको प्रत्येक महान् कार्य पूरा हुँदैपिच्छे निस्तार-चाडद्वारा परमेश्वरको इच्छा प्रकट भएको थियो ।

यसकारण पुरानो करारमा देखा परेको निस्तार-चाड छाया हो र वास्तविक निस्तार-चाडको महत्त्वपूर्ण कार्य नयाँ करारको सुसमाचारको युगमा देखिएको छ । ऐनाको रूपमा देखाइदिनुभएको आश्चर्यजनक सिद्धान्तलाई पूर्ण रूपले बुझियो भने येशूज्यूको उद्धार कार्य के हो भन्ने पत्ता लाग्नेछ । सरल रूपमा भन्ने हो भने प्रस्थान गरेका इस्राएलीहरूको ४० वर्षको इतिहासले सुसमाचारको युग २,००० वर्षमा देखा पर्ने घटनालाई देखाएको छ । उजाड-स्थानको ४० वर्षको इतिहासमध्ये निस्तार-चाडको विषयमा मात्र हेर्ने हो भने यस प्रकार छ ।

प्रस्थानको समयमा मानिएको निस्तार-चाड छाया हो र येशूज्यूले चेलाहरूसँग मान्नुभएको अन्तिम निस्तार-चाड वास्तविकता हो, सीनैको उजाड-स्थानमा आएर दोस्रो वर्षमा मानिएको निस्तार-चाड छाया हो (गन्ती ९:१-१४), र येशूज्यू स्वर्ग उचालिनुभएपछि उहाँका चेलाहरूले मानेका नयाँ करारको निस्तार-चाड वास्तविकता हो, त्यसै गरी उजाड-स्थानको ४० वर्ष समाप्त गरेर कनान देशमा प्रवेश गर्नुअघि इस्राएलीहरूले यरीहोको मैदान गिलगालमा मानेका निस्तार-चाड छाया हो र सुसमाचारको युग अर्थात् अन्त्यमा स्वर्गीय कनान प्रवेश गर्ने तयारीस्वरूप बाँकी सन्तानहरूले मान्ने निस्तार-चाड वास्तविकता हो ।

मिश्रमा निस्तार-चाड मानेपछि मोशाले शारीरिक इस्राएलीहरूलाई मिश्रबाट उजाड-स्थानमा डोऱ्याए, जुनचाहिँ भविष्यमा हुने कुराको छाया थियो, र येशूज्यूले चेलाहरूसँग अन्तिम निस्तार-चाड मान्नुभएर क्रूस बोक्नुभई आत्मिक इस्राएलीहरूलाई विश्वासको उजाड-स्थानमा डोऱ्याउनुभयो, जुनचाहिँ वास्तविकता हो ।

भूतहरूको वासस्थान पत्ता लगाउने निस्तार-चाड

प्रेरित यूहन्नाले भूतहरूको वासस्थान र भूतहरूको अखडा देख्न सकिने सत्यता देखा पर्ने विषयमा यसरी लेखेका छन् :

प्रका १८:१-३ 『यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखें । तिनको वैभवले पृथ्वी उज्यालो भयो । तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखडा भएको छ । किनकि सबै जातिहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन् ।”』

“तिनको वैभवले पृथ्वी उज्यालो भयो” भनिएको त्यो वैभवचाहिँ भूतहरूको वासस्थान र अशुद्ध तथा घृणित आत्माहरूको अखडालाई देख्न सकिने प्रकाश हो ।

योशियाह राजाले पनि परमेश्वरको मन्दिर भूतहरूको वासस्थान र हरेक अशुद्ध तथा घृणित आत्माहरूको अखडा बन्न पुगेको कुरा पनि थाहा नपाई १८ वर्षसम्म विभिन्न किसिमका अशुद्ध भूतहरू र बाल देवतालाई पुजेका थिए । तर निस्तार-चाड मानेपछि तिनका आँखाले परमेश्वरको मन्दिरभित्रका कुराहरू देखे, र त्यहाँ विभिन्न किसिमका भूतहरूको वासस्थान रहेको थाहा पाएर तिनले तुरुन्तै ती सबै भूतहरूलाई नष्ट गरे (२ राज २३:१-७) अनि निस्तार-चाड मानेपछि त्यहाँ भएका जम्मै मूर्तिहरू, अन्य घिनलाग्दा थोकहरू र सबै जोखना हेर्नेलाई तिनले खतम गरे (२ राज २३:२१-२५) ।

त्यसैले प्रकाश १८:१-३मा भनिएको वैभवचाहिँ येशूज्यूले क्रूसमा बगाउनुभएको अनमोल रगतद्वारा स्थापना गर्नुभएको निस्तार-चाड पवित्र भोजको सत्यताको वैभव हो । यदि हामीले यो सत्यतालाई बुझ्यौं भने भूतहरूको वासस्थानलाई आफ्नै आँखाले देखेझैँ गरी पत्ता लगाउन सक्नेछौं । त्यसैले जुनसुकै युगमा होस् मानिसहरूले निस्तार-चाड मान्दा अन्य देवता-देवीहरू नष्ट भएर एकमात्र परमेश्वरलाई पुज्न पुगिने भएकोले पहिलो आज्ञा मानेको ठहर्छ । वर्तमान समयमा पनि निस्तार-चाडको सत्यतालाई बुझेर मान्यो भने आत्मिक आँखा खुल्नेछ र आफूले पनि थाहा नपाई पुजिरहेका मूर्तिहरू थाहा पाउनुका साथै मण्डलीभित्र भएका धेरै मूर्तिहरूलाई देखेर घिन लाग्नेछ । त्यसैले शैतानले सबभन्दा मन नपराउने कुरा भनेकै निस्तार-चाड हो ।

शैतानले प्राचीन समयमा होस् वा वर्तमान समयमा होस् यो निस्तार-चाडलाई हटाउन अनेक प्रकारको षड्यन्त्र रचिरहेको छ । किनभने परमेश्वरले प्रस्थानको समयमा निस्तार-चाडलाई सबै देवताहरूको इन्साफ गर्ने दिनको रूपमा तोक्नुभएको थियो । हामीले प्रत्येक वर्ष निस्तार-चाड मान्यौं भने अन्य देवताहरू हामीभित्र प्रवेश गर्न सक्नेछैनन् ।

येशूज्यूले यो दिन अन्तिम निस्तार-चाडको उत्सवद्वारा क्रूसमा टाँगिने उहाँको देह र अनमोल रगत चेलाहरूलाई दिनुहुँदै शैतानको अधिकारलाई खोस्नुभएर आफ्ना चेलाहरूलाई नयाँ करारको रूपमा दिनुभएको थियो । यसकारण हामीले यो नयाँ करारको विधि पालन गऱ्यौं भने शैतान नष्ट हुनेछ । तर यदि यो करार पालन गरेनौं भने शैतानले मण्डलीमाथि अधिकार जमाएर परमेश्वरका प्रजाहरूलाई मुक्ति पाउनबाट वञ्चित गराउन हरकिसिमले दबाउनेछ, र हामीलाई उद्धार गर्नुहुने उद्धारकर्ताको सम्झना गर्ने दिन सम्झना गर्न दिनेछैन ।

मोशाले इस्राएलीहरूको सभा अगाडि अन्तिम चेताउनीको वचन सुनाउँदा आफ्नो मृत्यु भएपछि देखा पर्ने झूटा अगमवक्ताहरूका बारेमा यसरी भनेका थिए । लेखिएको छ :

व्य १३:५ 『तर त्यो अगमवक्ता वा स्वप्न-दर्शी मारिनुपर्छ, किनकि दासत्वको देश मिश्रबाट मुक्त गरेर ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो । यसरी तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ ।』

“त्यो अगमवक्ता वा स्वप्न-दर्शी” भन्नाले दासत्वको देश मिश्रबाट मुक्त गरेर ल्याउनुहुने परमप्रभु परमेश्वरको विद्रोह गर्न सिकाउने मानिस हो । फेरि भन्ने हो भने, विद्रोही अगमवक्ता वा स्वप्न-दर्शीले निस्तार-चाड मान्न नदिने मानिसलाई जनाउँछ ।

सुसमाचारको युगमा पनि, भविष्यमा खडा हुने झूटा अगमवक्ताहरूको विषयमा प्रेरित पत्रुसले यस प्रकारले भनेका छन् :

२ पत्र २:१ 『जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खडा हुनेछन् । यिनीहरूले गुप्त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्, र आफैमाथि चाँडै विनाश ल्याउनेछन् ।』

“तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्” भन्ने वचनचाहिँ प्रायश्चितको महान् बलिदानद्वारा स्थापित निस्तार-चाडको धर्मविधि त्याग्नेहरूलाई भनिएको वचन हो । यस विषयमा प्रेरित पावलले लेखेका छन्, 「तिमीहरू आफै विचार गरः परमेश्वरका पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्मालाई अपमान गर्नेचाहिँ झन् कति बढी कडा दण्डको योग्य ठहरिनेछ」 (हिब्रू १०:२९) ।

“आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र बनाउने” भन्ने वचनचाहिँ निस्तार-चाडको धर्मविधिलाई अपवित्र बनाउने मानिसहरूलाई जनाएर भन्नुभएको वचन हो । वर्तमान समयमा पनि, येशूज्यूले क्रूसको बलिदानद्वारा शैतानबाट खोस्नुभएको स्वर्गको अधिकार शैतानले फेरि खोस्न र परमेश्वरका प्रजाहरूलाई नयाँ करारको रगतद्वारा पवित्र तुल्याउनुभएको उद्धारकर्ताको दिनलाई सम्झना गर्न नदिन शैतानले विभिन्न छल गरिरहेको छ । यसो गरेर हाम्रा प्रधान पूजाहारीले स्वर्गीय पवित्रस्थानबाट गर्नुहुने मध्यस्थ कार्य हामीले जान्न नसक्ने गराउनुको साथै हामीलाई येशूज्यूसँग सम्बन्ध गाँस्न नसक्ने गराउनु नै शैतानको उद्देश्य हो ।

हामीले सबैभन्दा राम्ररी बुझ्नुपर्ने र ध्यान दिनुपर्ने कुरातर्फ हाम्रो सोचाइ जान नदिन शैतानले हरकिसिमका दुष्ट योजनाहरू बनाएर हाम्रो मनलाई अर्कै कुरातर्फ अल्झाइदिन्छ । त्यो छल गर्नेको अगुवाले प्रायश्चितको बलिदान र सर्वशक्तिमान् मध्यस्थकर्ताको विषयमा स्पष्टसँग देखाउने महान् सत्यतालाई घृणा गर्छ ।

पृथ्वीको पवित्रस्थानचाहिँ स्वर्गीय पवित्रस्थानको छाया भएकोले येशूज्यूले ३ चरणका ७ वटा चाडअनुसार आफ्नो कार्य पूरा गर्नुभएको ती दिनहरूमा पृथ्वीमा भएका आफ्ना प्रजाहरूका लागि प्रार्थना गरिदिनुहुन्छ (हिब्रू ७:२५; रोम ८:२६-२७, रोम ८:३४; यशै ५३:१२) । यो सत्यतालाई बुझेर पालन गर्ने मानिसहरूको सम्बन्ध येशूज्यूसँग गाँसिन्छ र स्वर्गीय पिताको मन पृथ्वीका सन्तानहरूले जान्नुको साथै पृथ्वीका सन्तानहरूको मन स्वर्गमा रहनुभएका पितातर्फ फर्कन्छ ।

तसर्थ निस्तार-चाड साँच्चै आश्चर्यजनक जीवनको सत्यता हो । हामीले नयाँ करार निस्तार-चाडको पवित्र भोज मान्यौं भने पहिलो, उहाँको रगतद्वारा यस पापमय संसारबाट उद्धार पाउँछौं । दोस्रो, अन्य सबै देवताहरू नष्ट हुने भएकाले परमेश्वरलाई मात्र मान्न पुगी परमेश्वरको पहिलो आज्ञा पूरा गर्न सक्छौं । तेस्रो, निस्तार-चाडको थुमाको रगतद्वारा साहसका साथ जीवनको रूखतर्फ जान सक्नुको साथै पवित्र सहरमा प्रवेश गर्ने अधिकार प्राप्त गर्न सक्छौं । अनि अन्त्यमा, यो नै अन्तिम सात विपत्तिबाट बच्न सकिने चिन्ह पनि हुन्छ (हिब्रू १०:१९-२०; प्रस १२:१३-१४; इज ९:४-७; प्रका ७:१४; २२:१४ तुलना) ।

पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기