परमेश्वरको रहस्य र जीवनको पानीको मूल

15498 읽음

रूपरेखा

शरीरमा आउनुहुने परमेश्वर नै ‘परमेश्वरको रहस्य र जीवनको पानीको मूल’ हुनुहुन्छ भनेर बाइबलले जानकारी दिएको छ (कल १:२६-२७; २:२; यूह ४:१४; ७:३७-३९) । यस पुस्तकमा आन साङ होङज्यूले, यो युगमा परमेश्वरको रहस्य र जीवनको पानीको मूल हुनुभएका पवित्र आत्मा र दुलहीबारे गवाही दिनुभएको छ । प्रेरितहरूको युगपछि जीवनको सत्यता हराएकोले कसैले पनि मुक्ति पाउन सकेनन् । ख्रीष्ट शरीर धारण गरेर दोस्रो पल्ट आउनुहुनेछ, उहाँले नयाँ करारका सम्पूर्ण सत्यताहरू पुनर्स्थापन गरिदिनुहुनेछ, र आफ्ना प्रजालाई उद्धार गर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । आन साङ होङज्यूले हामीलाई बाइबलका यी शिक्षाहरू सिकाइदिनुका साथै दोस्रो आगमनका ख्रीष्टसँगै देखा पर्नुहुने दुलहीको बारेमा पनि उल्लेख गर्नुभयो । उहाँले नयाँ करारका चाडहरू र तिनका अगमवाणीगत अर्थ, विगतको इतिहासबाट परमेश्वरका प्रजाले लिनुपर्ने शिक्षा, त्रिएकको विषय, आत्मा, पुरानो करार र नयाँ करार, परमेश्वरको छाप आदिको विषयमा पनि वर्णन गरिदिनुभयो ।

भूमिका

यो पुस्तकचाहिँ पुरानो करार बाइबलको अन्तिम अध्याय मलाकी ४:५-६को “हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु । त्यसले बुबाहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बुबाहरूतिर फर्काइदिनेछ” भनिएको वचन अनि आमोस अगमवक्ताले “निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न” (आमो ३:७) भनेका वचनजस्तै, परमेश्वरले अन्तिम बाँकी सन्तानहरूलाई दिनको निम्ति लुकाएर राख्नुभएको परमेश्वरको अन्तिम रहस्यको बारेमा लेखिएको पुस्तक हो ।

अबचाहिँ उपयुक्त समय आएको छ, र अनन्त परमेश्वरको राज्य नजिक आएकोले बाइबलमा बन्द गरेर मोहोर लगाइदेऊ भनिएका सम्पूर्ण रहस्यहरू (यशै ८:१६; दान १२:४, ९-१०; प्रका १०:४) खोलिनुपर्ने समय यही समय हो (प्रका १०:७; २२:१०) । यो पुस्तकमा लेखिएको मल्कीसेदेकको दर्जा र राजा दाऊदको इतिहासले केलाई जनाएको होला ? अनि येशूज्यूको दोस्रो आगमनको प्रश्नको सम्बन्धमा, के येशूज्यूको आगमन अब एकै पल्ट अग्निसाथ इन्साफका प्रभुको रूपमा अन्तिम आगमन हुने होला ? अथवा केही समय गुप्त रूपले शरीरमा आउनुभएर सम्पूर्ण सत्यताको गवाही दिनुभएपछि फेरि इन्साफका प्रभुको रूपमा अन्तिम आगमन हुने होला ? यी सबै प्रश्नहरू त्यत्तिकै छोड्ने कुरा होइनन् ।

यो पुस्तक परमेश्वरको सत्यताको निम्ति तिर्खाउने सबैले अध्ययन गर्नैपर्ने पुस्तक हो । यो पुस्तक सामान्य विश्वासीले मात्र होइन, तर पास्टरहरू र आध्यात्मिक विद्यालयका प्राध्यापकहरूले समेत अनिवार्य रूपमा एक पल्ट अध्ययन गर्नैपर्ने उपयुक्त पुस्तक हो । अन्तिम सत्यताचाहिँ कुनै ठूलो मण्डलीमा घोषणा गरिने होइनकि उहिल्यै बप्तिस्मा-दिने यूहन्नाको समयमा र येशूज्यूको पहिलो आगमनको समयमा जस्तै, उजाड-स्थानमा घोषणा गरिनेछ । जसले होस्, नम्र मन लिएर सुन्नुभई अध्ययन गर्नुभयो भने बुझ्नुहुनेछ ।

अब यो समयचाहिँ चुनिएकाहरूलाई चारैतिरबाट भेला गरिने अन्त्यको समय हो । परमेश्वरको सत्यताको निम्ति तिर्खाउने जो कोहीले कृपया यो पुस्तक अध्ययन गर्नुहोला । यदि राम्ररी बुझ्न सक्नुभएन भने कुनै अप्ठ्यारो नमानीकन हामीलाई भेट्नुहोला । हामीलाई सीधै भेटेर अध्ययन गर्नुभएमा राम्ररी बुझ्नुहुनेछ ।

यो पुस्तकको विषयवस्तुचाहिँ विषयसूचीमा लेखिएका शीर्षकहरूजस्तै, वर्तमान समयका सामान्य मण्डली र आध्यात्मिक विद्यालयमा कहिल्यै नसुन्नुभएको परमेश्वरको रहस्य हो । जसले होस्, अध्ययन मात्र गर्नुभयो भने राम्ररी बुझ्नुहुनेछ, र महसुस गर्नुहुनेछ । परमेश्वरको इच्छा पालन गर्न चाहने जो कोहीले पनि निश्चित रूपले यो शिक्षा परमेश्वरले पठाउनुभएको अन्तिम समाचार हो भन्ने कुरालाई स्वीकार गर्नुहुनेछ (यूह ७:१७) । कृपया यो पुस्तकलाई गम्भीरतापूर्वक अध्ययन गर्नुभई एक पल्ट हामीलाई खबर गर्नुहोस् भन्ने चाहन्छु ।

विषयसूची

  • अध्याय १ सात मेघ गर्जनहरूको रहस्य खोलिएको
  • अध्याय २ तीन चरणका सात वटा चाडहरू
  • अध्याय ३ जीवनको फल र दश आज्ञा
  • अध्याय ४ मोशा र येशूज्यू
  • अध्याय ५ प्रतिज्ञाका सन्तान र बाँकी रहेका प्रजा
  • अध्याय ६ एक लाख चवालीस हजारको विषयमा
  • अध्याय ७ अन्तिम विपत्ति र इन्साफ
  • अध्याय ८ निस्तार-चाडको रहस्य
  • अध्याय ९ विगतको इतिहास हुन आउने कुराहरूको छाया
  • अध्याय १० परमेश्वरको रहस्य
  • अध्याय ११ येशूज्यूको विषयमा
  • अध्याय १२ त्रिएकको विषयमा
  • अध्याय १३ पवित्र आत्माको विषयमा
  • अध्याय १४ पहिलो आगमनका येशू र अन्तिम आगमनका येशू
  • अध्याय १५ मानिसको पुत्र बादलमा आउनुहुनेछ
  • अध्याय १६ झूटा ख्रीष्टहरूको उदय
  • अध्याय १७ मल्कीसेदेकको दर्जा
  • अध्याय १८ सियोनमा परमेश्वरलाई भेटिन्छ
  • अध्याय १९ गुप्तमा आउनुहुने ख्रीष्ट र राजा दाऊद
  • अध्याय २० सियोन सहरमा वास गर्नुहुने शारीरिक परमेश्वर
  • अध्याय २१ दश आज्ञा र लिखित अक्षर
  • अध्याय २२ अदनको बगैँचामा किन परमेश्वरले असल र खराबको ज्ञान दिने रूखको फल लगाउनुभएको होला ?
  • अध्याय २३ विश्राम-दिन र विश्राम हजार वर्ष
  • अध्याय २४ पूर्ण र अपूर्ण
  • अध्याय २५ मानिसको आत्मा कहाँबाट आएको हो ?
  • अध्याय २६ परमेश्वरको जीवित सासद्वारा आत्मा बनिएको
  • अध्याय २७ आत्मा छैन भन्ने मानिसहरूको जिद्दी
  • अध्याय २८ पृथ्वीको मानिस र स्वर्गको मानिस
  • अध्याय २९ स्वर्गदूतको संसारमा किन पाप गर्न दिनुभएको होला ?
  • अध्याय ३० पुरानो करार नयाँ करारमा परिवर्तन भएको
  • अध्याय ३१ नयाँ करारको धर्मविधि
  • अध्याय ३२ निस्तार-चाड र अन्तिम भोज
  • अध्याय ३३ परमेश्वरको छाप लगाउने कार्य
  • अध्याय ३४ अन्तिम झरी पवित्र आत्माको विषयको अगमवाणी
  • अध्याय ३५ जीवनको पानीको मूल

अध्याय १ सात मेघ गर्जनहरूको रहस्य खोलिएको

यस्तो लेखिएको छ :

प्रका १०:४ 『जब ती सात मेघ गर्जनहरूले आ-आफ्ना आवाज निकाले, म लेख्नै लागेको थिएँ, त्यसै बेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्त राख, र ती नलेख ।”』

त्यसोभए सात मेघ गर्जनहरूले निकालेको आवाज सदाको निम्ति गुप्तमा रहिरहने होला कि खोलिन्छ होला ? बाइबलमा लेखिएका वचनहरूमा कुनै पनि अर्थहीन छैनन् । अनि “गुप्त राख” भन्ने वचनभित्र त्यसको खोलिने समय छ भन्ने अर्थ पनि सँगै रहेको छ । “गुप्त राख” भन्नुभएको सात मेघ गर्जन खोलिने कुरा यही अध्यायको पद ७ले जानकारी दिएको छ । यस्तो लेखिएको छ :

प्रका १०:७ 『तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ ।』

यो रहस्य, सुरुको मण्डलीको समयका प्रेरितहरू र अगमवक्ताहरूलाई घोषणा गरिएको नयाँ करारको सुसमाचार हो । यो नयाँ करारको सुसमाचार प्रेरितहरूको युगपछि शैतानको कुल्चाइमा परेर धार्मिक अन्धकारको युग पार गरी आजसम्म गुप्तमा रहेको छ । तर 「त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु」 भन्नुभएको वचनजस्तै यो अन्त्यको समयमा साँच्चै पूरा भइरहेको छ । यस्तो लेखिएको छ :

प्रका २२:१० 『तब तिनले मलाई यसो भने, “यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ ।”』

यशै ६०:२२ 『“तिमीहरूमध्ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ । म परमप्रभु हुँ । त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु ।”』

बाइबलमा मेघ गर्जन भनेर धेरै ठाउँमा उल्लेख गरिएको छ । त्यो आवाजलाई स्पष्टसँग सुन्न नसक्ने मानिसहरूको निम्ति मेघ गर्जनको आवाजमा सुनिएको हो । यस्तो लेखिएको छ :

यूह १२:२८-३० 『“हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस् ।” तब स्वर्गबाट यस्तो एउटा आवाज आयो, “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु ।” त्यहाँ खडा भएको भीडले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो !” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन् !” येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो ।”』

प्रेरित यूहन्नालाई चाहिँ परमेश्वरको आवाज सीधै सुन्न सक्ने कान दिइएको थियो । यूहन्नाको सुसमाचार लेख्ने व्यक्ति तिनै प्रेरित यूहन्ना हुन् । अरू मानिसहरूले चाहिँ मेघ गर्जनको आवाजमा मात्र सुन्न सके, तर यूहन्नाले चाहिँ 「मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु」 भन्नुभएको त्यो आवाजलाई सीधै सुनेर यस यूहन्नाको सुसमाचारमा लेखे । सात मेघ गर्जन पनि यूहन्नाले चाहिँ सीधै सुनेर लेख्नै लागेका थिए, तर “गुप्तमा राख” भन्ने आदेश भएकोले उनले लेखेनन्, केवल सात मेघ गर्जन भनेर लेखे ।

त्यसोभए सात मेघ गर्जनले केलाई जनाउँछ होला ? यो सात मेघ गर्जनको रहस्य अहिलेसम्म चाहिँ उपयुक्त समय नभएकोले कसैले पनि बुझ्न सकेनन् । तर अब अन्त्यको दिन भएकोले सातौँ स्वर्गदूतले आवाज निकाल्ने दिन भएकोले र त्यो तुरही फुक्नुपर्ने समय भएकोले बुझ्न सकिएको छ । जसले होस्, निम्न लिखित व्याख्यालाई अध्ययन गर्नुभएमा स्पष्टसँग बुझ्नुहुनेछ ।

यो प्रश्नको सम्बन्धमा सर्वप्रथम अङ्क ७को विषयमा अध्ययन गरेपछि मेघ गर्जनको बारेमा अध्ययन गर्न आवश्यक छ । अङ्क ७ भनेको पूर्णताको अङ्क हो, सातलाई पूर्णतामा परिवर्तन गरेर भन्ने हो भने सात मेघ गर्जनलाई पूर्ण मेघ गर्जन भन्न सकिन्छ ।

त्यसोभए पूर्ण मेघ गर्जन कहाँबाट घोषणा गरिएको थियो ? यो पूर्ण मेघ गर्जन एक जना वा दुई जना मानिसको अगाडि घोषणा गरिएको थिएन, तर इस्राएलीहरूका सारा समुदायको अगाडि घोषणा गर्नुभएको मेघ गर्जन नै पूर्ण मेघ गर्जन हो भन्न सकिन्छ । यो पूर्ण मेघ गर्जनको आवाज घोषणा भएको समय करीब ई.पू. १४९८तिर हो । उहाँले सीनै पर्वतमा अग्निको ज्वालाको बीचबाट दश आज्ञा र करारको वचन घोषणा गर्नुहुँदा मेघ गर्जनको आवाजमा घोषणा गर्नुभयो । यस्तो लेखिएको छ :

प्रस २०:१८-१९ 『जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढै उभिरहे । तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौं, तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं ।”』

त्यो समयमा मेघ गर्जनको आवाजलाई मोशाले चाहिँ सुन्न सके तर मानिसहरूले चाहिँ बुझ्न नसकेर सात मेघ गर्जन मात्र सुने । त्यसैले मोशाले सात मेघ गर्जनको आवाज सुनेर मानिसहरूलाई सुनाएका हुन् । यस्तो लेखिएको छ :

व्य ५:५ 『(त्यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खडा भएँ, किनकि तिमीहरू अग्निको कारण डराएका थियौ, र पर्वतमा उक्लेनौ ।)』

अनि बाइबलमा भएको हरेक पदको निश्चित जोडी छ । त्यो पदको जोडी खोजेर बाइबलद्वारा नै त्यसको अर्थ लगाउने गरिएको छ ।

यशै ३४:१६ 『परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ । यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोडीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ ।』

अनि ‘गुप्त राख’ भन्ने वचनको बारेमा निम्नानुसार लेखिएको छ ।

यशै ८:१६ 『यो गवाही-पत्र बाँधिदेऊ र यो व्यवस्था मेरा चेलाहरूका बीचमा बन्द गरेर त्यसमा मोहोर लगाइदेऊ ।』

प्रकाश १०:४मा 「सात मेघ गर्जनहरूलाई गुप्त राख」 अनि यशैया ८:१६मा चाहिँ 「यो व्यवस्था मेरा चेलाहरूको बीचमा बन्द गरेर त्यसमा मोहोर लगाइदेऊ」भनिएकोले सात मेघ गर्जन, अवश्य नै व्यवस्थामध्येको कुनै निश्चित भाग हुनुपर्छ । व्यवस्थामध्ये आजसम्म गुप्त रहेको चाहिँ ३ चरणका ७ वटा चाडहरू मात्र हुन् । यो सात मेघ गर्जनको रहस्य अर्थात् ३ चरणका ७ वटा चाडहरूभित्रबाट स्वर्गीय पवित्रस्थानको रहस्य जान्न सकिन्छ, दियाबलसको ओडार देख्न सकिन्छ र चुनिएका सन्तानहरूलाई दिनको निम्ति हजारौँ वर्ष अघिदेखि लुकाएर राखिएको बहुमूल्य धन के हो भन्ने कुरा थाहा पाउनुको साथै भविष्यमा मण्डलीमाथि के हुँदैछ भन्ने अगमवाणी पनि जान्न सकिन्छ ।

उहिले योशियाह राजा र हिजकिया राजाले पनि चाडहरू थाहा नभएको समयमा मूर्तिलाई पुज्न पुगेका थिए । तर चाडहरू थाहा पाएर मानेपछि चाहिँ तिनीहरूले सबै मूर्तिलाई पूर्ण रूपले नष्ट गरेका थिए (२ राज २३:२१-२५; २ इति ३०:१-२७; २ इति ३१:१) ।

“परमेश्वरले यस्ता कुराहरूलाई गुप्त राख्नुभएर किन जटिल पार्नुभएको होला ?” भनेर प्रश्न गर्ने मानिसहरू पनि छन् । यस विषयमा विभिन्न तरिकाले सोच्न सकिए तापनि बाइबलमा लेखिएको वचनद्वारा हेर्ने हो भने, केवल चुनिएका सन्तानहरूलाई दिनको निम्ति राख्नुभएको विशेष उपहार हो । येशूज्यूले भन्नुभएको छ :

मत्ती १३:१०-११ 『अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ ?” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्वर्ग-राज्यका रहस्यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन ।”』

अनि सात मेघ गर्जनलाई गुप्तमा राख्नुमा, अन्तिम सङ्कष्टको बेला आफ्ना प्रजाहरूलाई दिनुभएर उद्धार गर्ने परमेश्वरको उद्देश्य रहेको छ । लेखिएको छ :

दान १२:४ 『“तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख । धेरै जना ज्ञान बढाउनलाई यता र उता जानेछन् ।”』 KJV बाइबलमा यस्तो लेखिएको छ, 『“तर दानिएल, तिमीले चाहिँ अन्त्यको समयसम्म वचनहरू बन्द गर र ग्रन्थमा मोहोर लगाऊ, धेरै जना यताउता दौडनेछन् र ज्ञानको वृद्धि हुनेछ ।”』

दान १२:९-१० 『तिनले जवाफ दिए, “हे दानिएल, तिम्रो आफ्नो बाटो लाग, किनभने यी वचनहरू अन्तको समयसम्मको लागि बन्द गरी मोहोर लगाइएका छन् । धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन् र खारिनेछन्, तर दुष्टहरूचाहिँ दुष्ट काम गर्दैजानेछन् । दुष्टहरूमध्ये कसैले बुझ्नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्नेछन् ।”』

「दुष्टहरूमध्ये कसैले बुझ्नेछैन」 भनिएको छ । त्यसोभए दुष्टहरू भन्नाले को होलान् ? बाइबलमा खोज्ने हो भने यसको निश्चित उत्तर पाइनेछ । यस्तो लेखिएको छ :

नहे १३:१७ 『यहूदाका भारदारहरूलाई हप्काएर मैले भनें, “यस्तो दुष्ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो ?”』

शबाथ-दिन अपवित्र गर्नुलाई बाइबलमा दुष्ट चाल भनिएको छ, र यशैया अगमवक्ताले चाहिँ मानिसको आज्ञा पालन गरेमा बुद्धिमान् मानिसहरूको बुद्धि नष्ट हुने र सबैभन्दा चतुर मानिसहरूको चतुऱ्याइँ लोप हुनेछ भनेका छन् ।

यशै २९:१३-१४ 『परमप्रभुले यसो भन्नुहुन्छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन् र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढा छ । मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन् । यसकारण म एक पल्ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्क पार्नेछु, र तिनीहरूका बुद्धिमान् मानिसहरूको बुद्धि नष्ट हुनेछ, र तिनीहरूको सबैभन्दा चतुर मानिसहरूको चतुऱ्याइँ लोप हुनेछ ।”』 तर यसको ठीक विपरीत बाइबलमा यस्तो पनि लेखिएको छ :

प्रका १४:१२ 『परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ ।』

प्रेरित पावलले बुद्धि पाएका मानिसहरूको विषयमा निम्नानुसार लेखेका छन् :

एफि १:७-९ 『उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो । किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ,』

दान १२:१० 『… दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्नेछन् ।』 भनिएअनुसार नयाँ करार निस्तार-चाडको थुमाको रगतद्वारा उद्धार पाउनेहरूले बुद्धि र समझशक्ति प्रशस्त मात्रामा पाएर परमेश्वरको सम्पूर्ण रहस्य जान्नेछन् ।

तैपनि सर्वप्रथम त, उहाँले चुन्नुभएको अगमवक्तालाई जानकारी गराउनुहुन्छ, र ती अगमवक्ताद्वारा सत्यता स्वीकार गर्ने यहाँहरूलाई जानकारी गराउनुहुन्छ । यस्तो लेखिएको छ :

आमो ३:७ 『निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न ।』

परमेश्वरका प्रत्येक रहस्यहरूको आ-आफ्नो तोकिएको समय छ । त्यस्तै अन्तिम रहस्य, सात मेघ गर्जन पनि तोकिएको समयमा तोकिएको मानिसद्वारा मोहोर तोडेर खोलिनेछ । किनकि यसलाई बन्द गरेर नराखिएको भए परमेश्वरको अन्तिम कार्यमा ठूलो बाधा पर्ने जोखिम हुनेथियो ।

यो सात मेघ गर्जन गुप्तमा राखिएको चाहिँ उहिले बेबिलोनका राजा नबूकदनेसरले सपना बिर्सेजस्तै हो । यदि राजाले सपना नबिर्सेका भए बेबिलोनका सबै ज्योतिषीहरू, बिजुवाहरू र जादूगरहरूले झूटो र गलत अर्थ लगाउनेथिए । ती राजाको सपनाचाहिँ युगको अन्त्यमा परमेश्वरका सन्तानहरूले अनन्तको देश अधिकार गर्ने अति महत्त्वपूर्ण विषयसम्बन्धी थियो । यदि त्यो सपनाको गलत अर्थ लगाइएको भए के हुनेथियो होला ? यसैकारण परमेश्वरले राजालाई सपना बिर्साइदिनुभयो, र सपनाको सही अर्थसहित दानिएललाई खटाउनुभयो ।

दान २:९ 『“यदि तिमीहरूले मलाई सपना बताएनौ भने तिमीहरूका लागि एउटै मात्र सजाय छ । यो परिस्थिति बद्लिएला भन्ने आशाले मलाई भ्रम र दुष्ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ । यसकारण मलाई सपना बताओ, अनि मलाई थाहा हुनेछ कि तिमीहरूले यसको अर्थ मलाई बताउन सक्नेछौ ।”』

यदि राजालाई त्यो सपना बताउन र त्यसको अर्थ लगाउन नसकेमा बेबिलोनका सबै जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, बिजुवाहरू र ज्योतिषीहरू मात्र नभएर परमेश्वरका प्रजा दानिएल र उनका तीन साथीहरूसमेत मारिने गम्भीर चिन्ताको विषय थियो । त्यसैले अरू मानिसहरूलाई त्यसको अर्थ लगाउन नसक्ने गराउनुभई, दानिएलद्वारा त्यो सपना जानकारी गराइदिनुभएर दानिएलले लगाएको अर्थ सही छ भनेर मान्यता प्राप्त गराउनुभयो । त्योजस्तै यो सात मेघ गर्जनमा पनि मण्डलीको भाग्य निर्धारण गर्ने महत्त्वपूर्ण सत्यता रहेकोले यस प्रश्नको अर्थ नलगाएमा यो संसारको बेबिलोनका सम्पूर्ण विद्वान्‌हरू अर्थात् झूटा मण्डलीका विद्वान्‌हरू मात्र नभएर परमेश्वरका प्रजाहरूसमेत सबैको आत्मा नष्ट हुनेछ । यसरी राजाको सपना बिर्साइदिनुभएजस्तै, सात मेघ गर्जन पनि गुप्तमा राख्नुभयो । ताकि तोकिएको खोल्ने मानिसले त्यसभित्र भएको गहिरो सत्यताको अर्थ लगाउँदा, त्यो सत्यता महसुस गर्ने मानिसलाई दृढ विश्वास दिलाउन सकियोस् । यदि यो सात मेघ गर्जन गुप्तमा नराखिएको भए सायद सबै झूटा शिक्षकहरूले झूटो अर्थ लगाएर परमेश्वरको इच्छालाई गलत तुल्याउनेथिए । त्यसैले यो सात मेघ गर्जन नै अन्तिम मण्डलीको भाग्य निर्धारण गर्ने गहिरो सत्यता भएकोले यसलाई गुप्तमा राखिएको हो ।

त्यसोभए यो गुप्त राखिएको सात मेघ गर्जन कसले मोहोर तोडेर खोल्नुहुन्छ होला ? प्रेरित यूहन्नाले लेखेका छन् :

प्रका ५:१-६ 『सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्द गरिएको थियो । अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ ?” स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन । कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ ।” तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो । उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो । …』

एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो भनिएको छ । अन्त्यको समयमा दाऊदको नाउँमा गुप्तमा आउनुहुने थुमाले सात मोहोर तोड्नुको साथै गुप्तमा राखिएको सात मेघ गर्जन पनि खोल्नुपर्छ । त्यसैले यो सात मेघ गर्जन खोल्ने काम १०० अथवा २०० वर्षअघि स्थापना भएको मण्डलीबाट हुनै सक्दैन । तर अन्तिम एक पुस्ताभित्र पूरा हुनेछ भनेर अगमवाणी गर्नुभएको छ ।

मत्ती २४:३१-३४ 『“उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् । तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान । साँच्चै, म तिमीहरूलाई भन्दछु, कि यी सबै पूरा नहोउञ्जेल यो पुस्ता बितिजानेछैन ।”』

यदि कुनै मण्डलीको विश्वासीमध्ये कसैले सात मेघ गर्जनको रहस्य बुझेर गवाही दियो भने पनि त्यो मण्डलीले त्यसलाई स्वीकार गर्नेछैन । किनभने प्रत्येक मण्डलीको परम्पराले त्यो मण्डलीलाई नियन्त्रण गरिरहेको हुन्छ ।

अध्याय २ ३ चरणका ७ वटा चाडहरू

मोशाको व्यवस्थामा एक वर्षमा ३ चरणका ७ वटा चाडहरू छन् । प्रस्थानको पुस्तकमा यी चाडहरूलाई 「अखमिरी रोटीको चाड, अगौटे फल चढाउने कटनीको चाड, अन्न भित्र्याउने चाड」 भनिएको छ (प्रस २३:१४-१७; ३४:१८-२३) । व्यवस्थाको पुस्तकमा 「अखमिरी रोटीको चाड, साताहरूको चाड, छाप्रो-वासको चाड」 भनिएको छ (व्य १६:१६-१७), र २ इतिहासको पुस्तकमा चाहिँ 「अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाड」 भनिएको छ (२ इति ८:१३) ।

त्यसोभए ३ चरणका चाडहरूको नाउँ किन फरक-फरक भएको होला ? योचाहिँ चाडको अर्थलाई सङ्केत गर्ने चाडहरूको दुई वा तीन वटा फरक-फरक नाउँहरू भएकोले हो । तर चाडको नाउँ फरक-फरक छ भन्दैमा चाड नै फरक-फरकचाहिँ होइन, अर्थात् कटनीको चाड(हिउँदे बाली) र साताहरूको चाड एउटै चाड हो । अनि अन्न भित्र्याउने चाड(वर्षे बाली) र छाप्रो-वासको चाड सातौँ महिनामा पर्ने एउटै चाड हो ।

३ चरणका चाडहरू भनिए तापनि चाडहरू ३ वटा मात्र होइनन् तर ३ चरणका ७ वटा चाडहरू हुन् । यी ७ वटा चाडहरूको वास्तविक नाउँ र सहायक नाउँ गरेर जम्मा १५ वटा जति नाउँहरू छन् । अनि मोशाको व्यवस्थामा नपरेको पूरीम र मन्दिर समर्पणको चाड पनि छ (एस ९:२१, ३१; यूह १०:२२) ।

७ वटा चाडहरूको वास्तविक नाउँ यस प्रकार छ : निस्तार-चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड, पेन्तिकोसको दिन, तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड । यी ७ वटा चाडहरूलाई ३ चरणमा वर्गीकरण गरिएको छ :

१. पहिलो चरण : निस्तार-चाड र अखमिरी रोटीको चाड
२. दोस्रो चरण : अगौटे फलको चाड र पेन्तिकोसको दिन
३. तेस्रो चरण : तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड

यी ७ वटा चाडहरूलाई कहिलेकहीँ अर्कै नाउँले पनि बोलाइने गरिन्छ । उदाहरणको लागि, अखमिरी रोटीको चाडलाई सात दिनसम्म मनाइने चाड पनि भनिन्छ (इज ४५:२१), अगौटे फलको चाडलाई बिटा डोलाइने चाड पनि भनिन्छ (लेवी २३:११; प्रस २३:१५-१६; प्रस ३४:२२) । अनि छाप्रो-वासको चाडलाई झुप्रो-वासको चाड पनि भनिन्छ (एज्रा ३:४-६; यूह ७:२) । यसरी यी ७ किसिमका चाडहरूलाई धेरै नाउँले बोलाइएको छ । ती नाउँहरू यस प्रकार छन् :

अखमिरी रोटीको चाड, निस्तार-चाड, सात दिनसम्म मनाइने चाड, कटनीको चाड(हिउँदे बाली), अगौटे फलको चाड, बिटा डोलाइने चाड, साताहरूको चाड, पेन्तिकोसको दिन, अन्न भित्र्याउने चाड, कटनीको चाड(वर्षे बाली), सातौँ महिनाको चाड, झुपडीहरूको चाड, छाप्रो-वासको चाड, तुरहीको चाड, र प्रायश्चितको दिन ।

यस्ता नाउँहरू भएकाले ३ चरणका ७ वटा चाडहरूलाई विभिन्न किसिमले बोलाइने गरिएको हो (नहे ८:२, १४; प्रस २३:१५-१७; ३४:१८-२२; लेवी २३:१०-१६, ३९-४१; व्य १६:९-१०) ।

चाड र अगमवाणी

परमप्रभुले यी ३ चरणका ७ वटा चाडहरू स्थापना गर्नुभएको चाहिँ पछि येशूज्यूले क्रूसदेखि लिएर अन्तिम इन्साफको दिनसम्ममा पूरा गर्नुहुने कुरालाई मोशाको कार्यद्वारा तोक्नुभएकोले गर्दा हो । यी ७ वटा चाडहरूलाई ३ चरणमा विभाजन गरिएको छ ।

पहिलो चरणमा निस्तार-चाड र अखमिरी रोटीको चाड सँगसँगै सुरु हुन्छ । पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझदेखि एक्काइसौँ दिनको बेलुका, सात दिनसम्म अखमिरी रोटी अर्थात् खमिर नहालेको रोटी खाँदै मानिसहरूले प्रत्येक वर्ष यी दिनहरूको सम्झना गर्थे (प्रस १२:१८) । इस्राएलीहरूले निस्तारको साँझमा परमप्रभुको शक्तिद्वारा मिश्र देश छोडेर लाल समुद्र तर्नेसम्म भोगेका कष्ट अनि परमेश्वरको शक्तिलाई सम्झना गर्न सकून् भनेर निस्तार-चाड र अखमिरी रोटीको चाड तोक्नुभई पुस्तौँसम्म मान्न लगाउनुभयो (प्रस १३:७-८) । यो चाडमा कष्टलाई सङ्केत गर्नको निम्ति तीतो साग र अखमिरी रोटी प्रयोग गर्न लगाउनुभएकोले अखमिरी रोटीलाई कष्टको रोटी पनि भनिन्छ (व्य १६:३; प्रस १२:१७-१८; गन्ती ९:११; लेवी २३:५-६; २ इति ३५:१७; मर्क १४:१२) ।

यो चाडको वास्तविकताले, येशूज्यूले चेलाहरूसँग अन्तिम निस्तार-चाड मान्नुभएपछिको त्यो रातदेखि कष्ट सुरु भएर क्रूसमा देह त्याग गर्नुहुने समयसम्मको कष्टलाई जनाउँछ । अनि लाल समुद्रमा पस्नुले येशूज्यू चिहानभित्र जानुहुने कुरालाई जनाउँछ भने समुद्रबाट निस्कनुले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । हामीले लिने बप्तिस्माद्वारा त्यो अर्थ देखाइएको छ (१ कोर १०:१-२; १ पत्र ३:२१) ।

दोस्रो चरणमा अगौटे फलको चाड सुरु हुन्छ । इस्राएलीहरूले अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार), बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याएर डोलाइने बलिको बिटाको रूपमा चढाउँथे, र त्यसपछिको समयदेखि सात शबाथको भोलिपल्ट, जम्मा पचासौँ दिन पुग्ने पेन्तिकोसको दिनमा नयाँ अन्न चढाउँथे (लेवी २३:१०-१६; प्रस ३४:२२; गन्ती २८:२६; व्य १६:९-१०; प्रे २:१) । यो चाड तोक्नुभएको चाहिँ इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेर लाल समुद्र पार गरेका दिन, पहिलो महिनाको बाइसौँ दिनदेखि मोशा दश आज्ञा लिन सीनै पर्वतमा उक्लेका दिन, तेस्रो महिनाको एघारौँ दिनसम्म जम्मा पचास दिन पुगेकोले (प्रस १९:१६-२५; २४:१-१८), ती दिनहरूको सम्झना गराउन कटनीको चाड तोक्नुभएर पुस्तौँसम्म मान्न लगाउनुभएको हो (प्रस १४:२९-३१; १९:१-२; २४:१२-१६) । यो चाडको वास्तविकताचाहिँ येशू ख्रीष्टले आफू पुनरुत्थान हुनुभएको दिनदेखि स्वर्गीय महा-पवित्रस्थानमा प्रवेश गर्नुभएको दिन, जम्मा पचास दिन पुगेको पेन्तिकोसको दिनमा पवित्र आत्मा खन्याइदिनुभएर पूरा भयो । मोशाले सीनै पर्वतमाथि गएर दश आज्ञाको पाटी प्राप्त गरी ल्याएका कुराले भविष्यमा येशूज्यूले स्वर्गीय महा-पवित्रस्थानमा प्रवेश गर्नुभएर पवित्र आत्मा लिनुभई आफ्ना चेलाहरूमाथि खन्याउनुहुने कुरालाई सङ्केत गर्दछ (प्रे २:१-४; हिब्रू ९:११-१२) ।

अनि लाल समुद्र पार गरेको दिन, पहिलो महिनाको बाइसौँ दिनदेखि जम्मा चालीस दिन पुगेको दिन, पवित्र पात्रोअनुसार तेस्रो महिनाको पहिलो दिन, सीनै पर्वतको अगाडि पाल टाँगेर मोशा पर्वतमाथि परमेश्वरको सामु गएका थिए । यो कार्यले येशू ख्रीष्ट पुनरुत्थान हुनुभएपछिको चालीसौँ दिनमा स्वर्ग उचालिनुहुने कुरालाई दर्शाउँछ (प्रस १९:१-७; प्रे १:३-९) । SNB(सरल नेपाली बाइबल)को प्रस्थान १९:१मा ‘तेस्रो महिनाको पहिलो दिन’ भनेर लेखिएको छ । त्यसैले मोशाले सीनै पर्वतमा गरेका कार्यहरूले पछि येशूज्यूले स्वर्गीय पवित्रस्थानमा पूरा गर्नुहुने कुरालाई देखाएको छ ।

तेस्रो चरणमा, शरद्को अन्न भित्र्याउने चाड सुरु हुन्छ । यो चाडलाई सातौँ महिनाको चाड पनि भनिन्छ (नहे ८:१३-१४) । पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिन ठूलो सोरमा तुरही फुकेर मानिसहरूले प्रायश्चितको दिनको तयारी गर्थे, र त्यही महिनाको दशौँ दिनमा प्रधान पूजाहारीले आफ्नो र मानिसहरूको पापको निम्ति, बाछा र बोकाको रगतद्वारा पाप-बलि चढाएर वर्षमा एक पल्ट महा-पवित्रस्थानमा प्रवेश गरी धूप बाल्ने गर्थे । अनि तिनीहरूले पवित्र पात्रोअनुसार सातौँ महिनाको पन्ध्रौँ दिनदेखि सात दिनसम्म छाप्रो-वासको चाड मनाउँथे । सम्पूर्ण मानिसहरूले पर्वतमाथि उक्लेर खजूर र लहरे-पीपलका हाँगाहरू जम्मा गरी छाप्रो बनाएर घरको छाना र परमेश्वरको भवनमा लगाएर त्यसभित्र बसी मोशाद्वारा बनाइएको पवित्रस्थानको सम्झना गर्ने गर्थे । अनि आपसमा सहयोग गर्दै खुशी मनाउँथे (व्य १६:११-१५; लेवी २३:३९-४३; नहे ८:९-१८) ।

यो चाड पनि मोशाको कार्यद्वारा तोकिएको थियो, जुन यस प्रकार छ : मोशा पहिलो पटक दश आज्ञाको पाटी लिनको लागि तेस्रो महिनाको एघारौँ दिनमा सीनै पर्वतमा परमप्रभुको सामु गए (प्रस २४:१५-१८), र तिनले त्यहाँ चालीस दिन बिताउँदा, यता इस्राएलीहरूले सुनको बाछाको मूर्ति बनाएर पुज्न थाले । जब मोशा दश आज्ञाको पाटी प्राप्त गरेर चौथो महिनाको एक्काइसौँ दिनमा पर्वतबाट तल ओर्ले, तब तिनले तिनीहरूको त्यो तमाशा देखे । अनि आफूले लिएर आएको दश आज्ञाको पाटी पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए । यसले गर्दा इस्राएलीहरूबीच आन्तरिक लडाइँ भएर ठूलो विपत्ति आयो, र करीब ३,००० जना मरे (प्रस ३२:१-२८) । त्यसपछि सबै कुरा मिलाएर नयाँ मन लिई मोशाले छाउनीबाहिर धेरै टाढामा पाल सारेपछि मानिसहरूलाई आफ्ना गहनाहरू फुकाल्न लगाई तिनीहरूको मन शुद्ध गराई छाउनीबाहिरको भेट हुने पालमा गएर परमप्रभुलाई दण्डवत् गरे (प्रस ३३:१-११) । मोशाले परमप्रभुसँग गहिरो बिन्ती गरेकाले परमप्रभुले फेरि अनुग्रह गर्नुभएर पहिले फुटालेको जस्तै ढुङ्गाका दुई वटा पाटी बनाई त्यो लिएर माथि आउने आदेश पाए (प्रस ३३:१२-१७) ।

दश आज्ञाको शिला-पाटी पाएको दिन

मोशाले छैटौँ महिनाको पहिलो दिनमा, पहिले फुटाएको जस्तै दुई वटा ढुङ्गाका पाटी तयार गरी त्यो लिएर सीनै पर्वतमा परमप्रभुको सामुन्ने गई चालीस दिन उपवास बसेर बिताएको समयमा परमप्रभुले त्यस पाटीमा दश आज्ञा खोपेर लेखिदिनुभयो । पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा परमेश्वरबाट प्राप्त गरेको त्यो दश आज्ञा लिएर मोशा तल ओर्लिए, र सम्पूर्ण इस्राएलीहरूलाई परमप्रभुले आज्ञा गर्नुभएको सबै वचन तथा पवित्र वासस्थान निर्माण गर्ने विभिन्न विषयका कुराहरू घोषणा गरे । अनि त्यही महिनाको पन्ध्रौँ दिनदेखि पवित्र वासस्थान बनाउन इच्छुक मानिसहरूले सुन, चाँदी, मसिनो सूती कपडा, काठ, छालाहरू जस्ता सामग्री धेरै चढाएर निर्माण सामग्री पर्याप्त भयो (प्रस ३४:४-३५; ३६:५-७) । करीब सात दिनसम्म इस्राएलीहरूले सबै किसिमको प्रयत्न गरे । परमप्रभुले यी सबै कुराको पुस्तौँसम्म सम्झना गराउनको निम्ति मोशाको कार्यअनुसार चाडहरू तोक्नुभयो । मोशाले सीनै पर्वतबाट दश आज्ञाको पाटी प्राप्त गरी तल ओर्लेका दिनलाई प्रायश्चितको दिन भनेर तोकिदिनुभयो । अनि इस्राएलीहरूले पवित्र वासस्थान निर्माणका सामग्रीहरू ल्याउन सुरु गरेका दिनलाई छाप्रो-वासको चाड भनी तोकिदिनुभएको चाहिँ सात दिनसम्म पवित्र रूपले मानेर पवित्र वासस्थान बनाएको कार्य सम्झना गरून् भनेर हो ।

तर तुरहीको चाडलाई सातौँ महिनाको पहिलो दिनमा तोकिएको चाहिँ प्रायश्चितको दिनको तयारीको दिन भएकोले हो । मोशा दश आज्ञा लिनको लागि पर्वतमा उक्लनुअघि नै परमप्रभुले दश आज्ञा उहाँकै आवाजद्वारा घोषणा गर्नुभएकोले मोशा पहिलो पल्ट दश आज्ञा लिन सीनै पर्वतमा चढेको दिनलाई चुन्नुभएर यसलाई पेन्तिकोसको दिनको रूपमा तोकिदिनुभयो (प्रस २०:१-१९; २४:१५-१८) ।

अनि मोशाले चालीस दिनसम्म उपवास बसेर दोस्रो पल्ट दश आज्ञा प्राप्त गरेको दिनलाई चुन्नुभयो र मानिसहरूको पाप-क्षमा गरिदिनको निम्ति यसलाई प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो ।

छाप्रो-वासको चाड र अगमवाणी

यी सबै चाडहरूचाहिँ भविष्यमा हुने कुराहरूको छाया हुन् । मोशाले सीनै पर्वतमा परमप्रभुबाट दश आज्ञा प्राप्त गरी मानिसहरूलाई दिएका कुराले, भविष्यमा येशू स्वर्गीय महा-पवित्रस्थानमा प्रवेश गर्नुभएर पवित्र आत्मा लिई प्रेरितहरूमाथि खन्याइदिनुहुने कुरालाई देखाएको छ (प्रे २:३२-३३) ।

तर मोशाले पहिलो पल्ट प्राप्त गरेको दश आज्ञाको पाटीचाहिँ, मानिसहरूले सुनको बाछाको मूर्ति बनाएर पुजेका पापले गर्दा फुटाउनुपरेजस्तै, येशूले पहिलो पल्ट स्वर्गीय महा-पवित्रस्थानमा प्रवेश गर्नुभएको पेन्तिकोसको दिनमा, परमेश्वरबाट प्राप्त गरेर प्रेरितहरूमाथि खन्याइदिनुभएको पवित्र आत्मा, मण्डली भ्रष्ट भएर सूर्य देवता पुजेको हुनाले फिर्ता लिनुभयो, र ख्रीष्टको निम्ति एक धर्सो ज्योति मात्र बाँकी राखेर ल्याउनुभएको हो । यस्तो लेखिएको छ : 「… मेरो सामुन्ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस् …」 (१ राज ११:३६) । योचाहिँ दाऊदका छोरा सोलोमनले पाप गरेर त्यो राज्य दुई देशमा विभाजन भएको समयमा भन्नुभएको वचन हो (१ राज ११:१-१३) ।

वास्तवमा यो अगमवाणी प्रेरितहरूको समयपछि पूरा हुने कुरा हो । मण्डली अति सतावट पाएर लामो समयसम्म शैतानको कुल्चाइमा पऱ्यो । अनि मोशाले दोस्रो पल्ट सीनै पर्वतमा उक्लेर दश आज्ञा लिएका कुराले चाहिँ भविष्यमा येशूज्यू दोस्रो पल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभएर अन्तिम सुसमाचारको निम्ति सन् १८४४ अक्टोबर २२ तारिख अर्थात् पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन, प्रायश्चितको दिनमा स्वर्गीय महा-पवित्रस्थानमा प्रवेश गर्नुहुनेछ भन्ने कुरालाई देखाएको छ ।

३ चरणका ७ वटा चाडहरूमा असीमित सत्यताहरू समावेश छन्, जसले मोशाको समयदेखि संसारको अन्त्यसम्ममा पूरा हुने कुरालाई देखाएको छ । यसकारण ३ चरणका चाडहरूले पिताको युग, पुत्रको युग र पवित्र आत्माको युगलाई देखाएको छ । अनि ती चाडहरूमा प्रत्येक युगका मुक्तिदाताको शक्ति प्रकट भएको छ ।

पहिलोचाहिँ अखमिरी रोटीको चाड हो, जसलाई पिताको युग भन्न सकिन्छ । परमप्रभु परमेश्वर स्वयम्‌ले शारीरिक इस्राएलीहरूलाई मिश्र देशबाट डोऱ्याएर ल्याउनुभयो ।

दोस्रोचाहिँ कटनीको चाड(हिउँदे बाली) हो, जसलाई पुत्रको युग भन्न सकिन्छ । येशूज्यू सुतिजानेहरूमा प्रथम पाकेको फलको रूपमा पुनरुत्थान हुनुभएर (१ कोर १५:२०) स्वर्ग उचालिनुभई स्वर्गीय महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र पहिलो झरी पवित्र आत्मा झारिदिनुभई सुरुको मण्डलीको समयका सबै गहूँहरू बटुल्नुभयो ।

तेस्रोचाहिँ छाप्रो-वासको चाड हो, जसलाई पवित्र आत्माको युग भन्न सकिन्छ । यो चाडले शरद्को अन्तिम फसल कटनीको समयलाई जनाउँदछ, जब संसारका सबै बालीहरू जम्मा गरिएर स्वर्गीय ढुकुटीमा ल्याइन्छ ।

अहिलेसम्म सबै चाडहरू पूरा भएका छन्, तर अन्तिम चाड एउटा बाँकी रहेको छ, जुन छाप्रो-वासको चाड हो । यो छाप्रो-वासको चाडले येशूज्यूको अन्तिम आगमनको बारेमा अग्रिम घोषणा भएपछि येशूज्यूको अन्तिम आगमनको अभियान हुने कुरालाई जनाएको छ । उहिल्यैदेखि मानिँदैआएको छाप्रो-वासको चाडको अगमवाणीको पूर्णता नै अन्तिममा येशूज्यूको अन्तिम आगमनको अभियान हो ।

चाड र क्रूस

अहिले हामीले विशेष गरी जान्नुपर्ने कुराचाहिँ येशूज्यूले स्वर्गीय पवित्रस्थानमा के गरिरहनुभएको छ, र यो समय कुन समय हो भन्ने कुरा हो । परमेश्वरले सबै जान्न सकिने गरी मोशाको व्यवस्थामा भएको पृथ्वीको पवित्रस्थानको विषयको अध्ययनद्वारा स्वर्गीय पवित्रस्थान देख्न सकिने गरेर तयार गर्नुभएको छ । मोशाले पवित्र वासस्थान बनाउने आदेश पाउँदा, भविष्यमा येशूज्यूले कार्य गर्नुहुने स्वर्गीय पवित्रस्थान देखाइदिनुभएर त्यसैको नकलस्वरूप निर्माण गर्न लगाउनुभएको हो । यस्तो लेखिएको छ :

हिब्रू ८:१-५ 『अब हामीले भन्न चाहेको कुराचाहिँ यही हो : हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ । मानिसले होइन, तर परमप्रभुले खडा गर्नुभएको पवित्रस्थान, साँचो पवित्र वासस्थानमा उहाँ सेवक हुनुहुन्छ । किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढाउन नियुक्त भएका हुन्छन् । यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्यक छ । उहाँ यस पृथ्वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्यवस्थाबमोजिम भेटी चढाउने पूजाहारीहरू त छँदैछन् । तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू ।”』

मोशाले देखेका स्वर्गीय पवित्रस्थानचाहिँ त्यस बेलाको होइनकि नयाँ करारको समयमा आएर येशूज्यूले स्थापना गर्नुहुने स्वर्गीय पवित्रस्थान हो । पृथ्वीको पवित्रस्थानको अध्ययनद्वारा स्वर्गीय पवित्रस्थानको विषयको अत्यावश्यक सत्यता र मानव-जातिको उद्धारको निम्ति त्यस ठाउँमा येशूज्यूले गरिरहनुभएको सेवा-कार्य के हो भनी जान्न सकिन्छ । पृथ्वीको पवित्र वासस्थानचाहिँ हाम्रा मार्गदर्शक हुनुभएका ख्रीष्टले परमेश्वरको सामु सेवा गर्नुहुने स्वर्गीय पवित्रस्थानलाई मानिसले कल्पना गर्न सक्ने गरेर नमूनाको रूपमा देखाइदिनुभएको हो । यसकारण पवित्रस्थानको विषयमा अध्ययन नगरी मुक्तिको प्रबन्ध जान्न सकिँदैन, र मुक्तिको प्रबन्ध नजानीकन मुक्ति पाउन सकिँदैन । ३ चरणका ७ वटा चाडअनुसार गरिएको पुरानो लिखित विधानको बलिचाहिँ क्रूसद्वारा आत्मा र सत्यतामा गरिने प्रार्थनाको आराधनामा बद्लिएको छ (हिब्रू ७:१२; ८:३; १ कोर ५:७-८; यूह ४:२४) ।

येशूज्यू कति प्रकारको बलि हुनुभयो ?

क्रूसले सबै चाडहरूलाई एकै चोटि पूरा गरिदिएकोले ख्रीष्टको अनमोल रगत निस्तारको थुमाको रगत पनि भयो, पूजाहारीको निम्ति पापबलिको साँढेको रगत पनि भयो, मानिसहरूका निम्ति पापबलिको बोकाको रगत पनि भयो । यसरी ख्रीष्ट अनन्तको पापबलि हुनुभयो (हिब्रू १३:१०-१२; रोम ३:२५) । अनि उहाँको क्रूसको कष्ट र शारीरिक मृत्युले चाहिँ, शारीरिक इस्राएलीहरूले पापको भूमि मिश्र छाडेजस्तै, अखमिरी रोटीको चाडको अगमवाणी पूरा गर्नुभयो, र अगौटे फलको चाडमा पुनरुत्थान हुनुभएर रोपेको गहूँको पहिलो पाकेको फल भई बिटा डोलाइने बलि पूरा गर्नुभयो, पुनरुत्थान हुनुभएपछिको पहिलो पेन्तिकोसको दिनमा स्वर्गीय महा-पवित्रस्थानमा प्रवेश गर्नुभई पिताबाट पवित्र आत्मा लिनुभएर प्रेरितहरूमाथि खन्याइदिनुभयो (हिब्रू ९:११-१२, २४; ६:१९-२०; प्रे २:३३) । अनि सन् १८४४, पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा स्वर्गीय महा-पवित्रस्थानमा दोस्रो पल्ट प्रवेश गर्नुभएर प्रायश्चितको दिनको अगमवाणी पूरा गर्नुभयो । यसकारण क्रूसलाई अनन्त नयाँ करारको चिन्हको रूपमा संसारको अन्त्यको दिनसम्म सम्झना गर्नुपरेको हो (१ कोर ११:२६; यशै ३३:२०; सप ३:१८) ।

मोशाको व्यवस्थामा चाहिँ यी सबै विधिलाई “जीवनभरि सम्झना राख्नू, अनन्तको विधि होस्” (प्रस १२:१४, २४; लेवी २३:२१; व्य १६:३) भन्नुभएको छ । यसकारण ती विधिमा सहभागी हुने जोसुकैले पनि ती विधिको सत्यता थाहा पाउनेछ । जसले निस्तार-चाड पवित्र रूपले मान्छ, उसले निस्तार-चाडको सत्यता थाहा पाउनेछ । अगौटे फलको चाड र पेन्तिकोसको दिन पवित्र रूपले मान्नेले ती चाडहरूको सत्यतालाई महसुस गर्नेछ । मोशाको व्यवस्थाका ३ चरणका ७ वटा चाडहरू क्रूसद्वारा पूरा भएको परमेश्वरको शक्तिशाली दिनको रूपमा परिवर्तन भएका छन् । त्यसैले प्राचीन इस्राएलीहरूले चाडहरू पवित्र रूपले मानेर शारीरिक आशिष् पाए (प्रस २०:२४; सप ३:१८-२०; जक ६:१९-२२; मला २:४-९) । त्योजस्तै वर्तमानका हामीहरूले चाहिँ क्रूसद्वारा पूरा भएको परमेश्वरको शक्तिशाली दिनहरू मनाएर आत्मिक आशिष् पाउनेछौं ।

अहिले हामीले आराधना गर्ने ठाउँचाहिँ स्वर्गीय पवित्रस्थान हो । यो पवित्रस्थानभित्र, हाम्रो हृदयमा खोपिएको नयाँ करारको येशूज्यूको रगतद्वारा, हाम्रो शरीर परमेश्वरको पवित्र आत्माको मन्दिर हुन्छ (हिब्रू १२:१८-२४; ८:६-१०; २ कोर ३:३) । जहाँसुकै होस्, करार भएको ठाउँचाहिँ परमेश्वरको मन्दिर हो ।

अध्याय ३ जीवनको फल र दश आज्ञा

परमेश्वरले अकाश र पृथ्वी सृष्टि गर्नुभएपछि अदनको बगैँचामा जीवनको रूख लगाउनुभएर पहिलो मानिस आदम र हव्वालाई त्यसको फल टिपेर खाई सधैँभरि जीवित रहो भन्नुभयो । तर आदम र हव्वाले पाप गरेकाले परमेश्वरले अदनको बगैँचाबाट तिनीहरूलाई निकालिदिनुभई दुई करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभएर जीवनको रूखतर्फको बाटो पहरा गर्न लगाउनुभयो । यस्तो लेखिएको छ :

उत ३:२२-२४ 『तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै असल र खराबको ज्ञान जान्ने भएको छ । अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्यो सधैँभरि जीवित रहला ।” यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो । उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ।』

यदि पापीले आफ्नो हात बढाएर जीवनको रूख छोयो भने ऊ ज्वालामय तरवारले मारिन्थ्यो । त्यस बेलादेखि जीवनको फल गुमाएका आदमचाहिँ, पावलले भनेजस्तै “हाय, म कस्तो दु:खी मानिस ! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला ?” (रोम ७:२४) भन्दै शोकाकुल थिए । तर परमेश्वरले तिनलाई जीवनको फल फेरि खान सक्ने सत्यता देखाइदिनुभयो । जुनचाहिँ क्रूसमा बगाउनुभएको ख्रीष्टको अनमोल रगतद्वारा जीवनको फल पुन: प्राप्त गर्ने बाटो टाढाबाट देखाइदिनुभएको हो (हिब्रू ११:४, १३) ।

उहाँले त्यो सत्यता कयिन र हाबिललाई देखाउनुभयो । तब कयिनले सत्यता ग्रहण नगरी आफ्नै विचारले भूमिको उब्जनीबाट चढाए तर हाबिलले चाहिँ आज्ञाकारी मनद्वारा सत्यता ग्रहण गरी ख्रीष्टको अनमोल रगतलाई सङ्केत गर्ने थुमाको रगत बगाएर बलि चढाए (उत ४:१-४) । यो रीति मोशाको समयसम्म हस्तान्तरण हुँदैआयो (उत ८:२०-२२; १२:७; १५:९) । मोशाको समयमा परमेश्वरले यो रीतिलाई पूर्ण विधिको रूपमा स्थापना गर्नुभयो । अनि त्यसलाई मोशाद्वारा ३ चरणका ७ वटा चाड लेख्न लगाउनुभएर भविष्यमा आउनुहुने ख्रीष्टको विषयमा गवाही दिनुभयो (हिब्रू ३:५) । मोशाले पार्थिव पवित्रस्थान बनाउँदा भविष्यमा ख्रीष्टले स्वर्गीय पवित्रस्थानमा गर्नुहुने कुरालाई हेरेर त्यसैअनुसार बनाएका हुन् । परमेश्वरले मोशालाई देखाउनुभएको पवित्रस्थानचाहिँ त्यस बेलाको पवित्रस्थान होइनकि पछि ख्रीष्टले क्रूसद्वारा खडा गर्नुहुने साँचो पवित्रस्थानलाई प्रकाशमा देखाइदिनुभएर त्यसैअनुसार बनाउन आज्ञा गर्नुभएको हो (हिब्रू ८:२, ५; ९:११-१२, २४; १०:१ तुलना) ।

जीवनको फल र करूब

पार्थिव पवित्रस्थानलाई हेर्दा, दोस्रो पर्दाको पछाडि महा-पवित्रस्थान थियो, त्यसभित्र करारको सन्दूक थियो र सन्दूकको दुवै किनारामा करूबहरू थिए । जस्तो लेखिएको छ :

प्रस २५:१८-२१ 『“पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारामा होऊन्– एउटा करूब एक किनारामा र अर्को करूब अर्को किनारमा । ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुई किनारमा बनाउनू । ती करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाएका र कृपा-आसनलाई आफ्ना पखेटाले ढाकेको हुनुपर्छ । तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ । त्यो कृपा-आसनलाई सन्दूकको माथि राख्नू, अनि सन्दूकभित्र गवाही-पाटी राख्नू, जो म तँलाई दिनेछु ।”』

त्यसोभए परमेश्वरले करारको सन्दूकमाथि कृपा-आसनको दुवै किनारामा दुई करूबहरू खडा गर्नुभएको कारण के थियो होला ? यसको कारणचाहिँ अनन्त जीवनमा प्रवेश गर्ने जीवनको फल त्यसभित्र भएकोले हो ।

अर्को शब्दमा भन्ने हो भने दश आज्ञाचाहिँ आदम र हव्वाले टिपेर खाएका जीवनको फलको सट्टामा दिइएको थियो । त्यसैले येशूज्यूले 「तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर」 (मत्ती १९:१६-१७) भन्नुभएको हो । स्वर्गमा भएको जीवनको फल खायो भने सधैँभरि बाँच्ने कुरा निश्चित हो । तर यो विनाशी शरीर अविनाशी शरीरमा परिवर्तन नभएसम्म पापले गर्दा गुमाउनुपरेको जीवनको फल खान कोही पनि योग्यको नहुने भएकोले जीवनको फलको सट्टामा दश आज्ञा दिनुभएको हो । तर यो दश आज्ञा पनि पापको शरीरमा ग्रहण गर्न सकिँदैनथ्यो, प्रायश्चितको बलिदानको रगतद्वारा शुद्ध भएपछि मात्र मानिसहरूले दश आज्ञा प्राप्त गर्न सक्थे । यदि पापीले आफ्नो अशुद्ध हात लिएर करारको सन्दूकको नजीक गई त्यसलाई छोयो भने, ऊ मारिन्थ्यो (लेवी १०:१-२; गन्ती १८:३; १ शमू ६:१९; २ शमू ६:६-७ तुलना) । किनभने दुई करूबहरूले ज्वालामय तरवार लिएर स्वर्गीय जीवनको रूखको पहरा गरेजस्तै, करारको सन्दूक पहरा गर्ने दुई करूबहरूले पनि ज्वालामय तरवार लिएर करारको सन्दूकको पहरा गरिरहेका थिए । फेरि भन्ने हो भने महा-पवित्रस्थानभित्र सन्दूकको पहरा गरिरहेका करूबहरूले स्वर्गीय जीवनको रूखको पहरा गर्ने करूबहरूलाई सङ्केत गर्दछ (उत ३:२२-२४; प्रस २५:१६-२२, ४०) । लेखिएको छ :

प्रका ११:१९ 『स्वर्गमा परमेश्वरको मन्दिर खोलियो, र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दूक देखियो । …』

तसर्थ प्रधान पूजाहारी नै भए पनि महा-पवित्रस्थानभित्र एक पल्ट प्रवेश गर्नको निम्ति, पापबलिको पवित्र रगतद्वारा शुद्ध भएपछि मात्र महा-पवित्रस्थानभित्र प्रवेश गरेर धूप बाल्न पाउँथे (लेवी १६:१-३४; हिब्रू ९:७, १८-२८) ।

तर यी सबै कुराहरू हुन आउने कुराहरूका छाया मात्र हुन् । मोशाको समयदेखि गरिँदैआएका छायाका विधिहरूले ख्रीष्टको अनमोल रगतलाई सङ्केत गर्दछ । त्यसैले पशुको रगतद्वारा शुद्ध हुने होइनकि येशू ख्रीष्टको अनमोल रगतद्वारा शुद्ध हुने हो । येशूज्यूले क्रूसमा बगाउनुभएको अनमोल रगतचाहिँ सम्पूर्ण मानव-जातिको पापको ज्यालाको निम्ति बगाउनुभएको हो । त्यसैले उहाँको रगतद्वारा मात्र हामीहरू महा-पवित्रस्थानमा प्रवेश गरेर दश आज्ञा(जीवनको फल) प्राप्त गरी अनन्त जीवनमा प्रवेश गर्न सक्छौं (हिब्रू १०:१९-२०; ६:१९-२०; रोम ३:२२-२५; ८:३-४ तुलना) । यो संसारमा जतिसुकै धर्मी भए तापनि ख्रीष्टको अनमोल रगतले शुद्ध नभएसम्म अनन्त जीवनमा प्रवेश गर्न सक्दैन (प्रे ४:१२; यूह ६:४८-५७; हिब्रू १०:१९-२० तुलना) ।

हामीले ख्रीष्टको अनमोल रगतलाई सङ्केत गर्ने प्रत्येक चाडहरू मानेर दश आज्ञाको अर्थ पूरा गर्छौं । चाडविना ख्रीष्टको अनमोल रगतद्वारा शुद्ध हुन सकिँदैन । उहिले पुरानो करारको समयमा होस् अथवा वर्तमान नयाँ करारको समयमा, चाडद्वारा मात्र ख्रीष्टको अनमोल रगतले शुद्ध हुन सकिन्छ । त्यसैले परमेश्वरले “मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू देखाएँ, किनभने जुन मानिसले ती पालन गर्छ, तिनैबाट त्यो बाँच्नेछ” (इज २०:११; १८:९; लेवी १८:४-५) भन्नुभएको हो ।

पार्थिव पवित्रस्थानमा गरिएको धर्मविधिचाहिँ ख्रीष्टद्वारा स्वर्गीय पवित्रस्थानमा गरिनेछ । पार्थिव पवित्रस्थानमा छायाको रूपमा गरिएका सबै कार्यहरू, स्वर्गीय पवित्र-स्थानमा अनिवार्य रूपमा गरिनेछन् । यदि चाडहरू रद्द भएका हुन् भने येशूज्यूले प्रधान पूजाहारीको रूपमा कार्य गर्न आवश्यक नै छैन (हिब्रू ८:३; यशै ३३:२०) ।

कसै-कसैले चाडहरू दश आज्ञासँग सम्बन्धित छैन भन्ने गर्छन् । यस्ता मानिसहरू मुक्तिको प्रबन्ध थाहा नभएका मानिसहरू हुन् । वास्तवमा दश आज्ञा भएकोले पवित्रस्थान निर्माण भएको हो, र पवित्रस्थान भएकोले चाडहरू आवश्यक परेको हो । मोशाद्वारा दिइएको सम्पूर्ण चाडका विधि र नियमहरू परमेश्वरको पहिलो आज्ञामा पर्ने भएकोले परमेश्वरका प्रजाले अनिवार्य ती पालन गर्नुपर्छ ।

यदि हामीले परमप्रभु(यहोवा)का चाडहरू मानेनौं भने संसारका धेरै देवताहरूमध्ये कुन देवतालाई पुजिरहेको छु भन्ने आफैलाई पनि थाहा नभई अरू देवताहरूलाई पुज्न पुगिन्छ । उहिले इस्राएलका राजा यारोबामले इस्राएलीहरूलाई परमप्रभुका चाडहरू मान्नबाट वञ्चित गराउनको निम्ति सुनको बाछाका मूर्तिहरू बनाएका थिए (१ राज १२:२५-३३) । तर हिजकिया र योशियाह राजाले चाहिँ परमप्रभुका चाडहरू थाहा पाएर मानेपछि मूर्तिहरू, वेदीहरू र जोखना हेर्नेहरूसमेत सबैलाई नष्ट गरेका थिए (२ इति ३०:१-५; ३१:१-२; २ राज २३:१-४, २१-२४) । योशियाह राजाले पनि परमेश्वरका चाडहरू थाहा हुनुअघि चाहिँ आफ्ना हजुरबुबा मनश्शेले खडा गरेका वेदी र मूर्तिहरू पुजेका थिए । जसले होस्, परमेश्वरको साँचो इच्छालाई बुझेन भने स्वभावत: मूर्तिपूजा गर्न पुग्छ ।

पछाडि जाने

साइट नक्सा

사이트맵 전체보기