‘के यहोवा परमेश्वर नै येशूज्यू हुनुहुन्छ ?’ भन्ने प्रश्नको सन्दर्भमा थुप्रै व्याख्या र विचार आउँछ । कारण स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्नुभएका र लाल समुद्रलाई दुई भाग गर्नुभएका यहोवा परमेश्वर, अनि सिकर्मीका छोराको रूपमा जन्मनुभएर हामीजस्तै शरीरमा जिउनुभएका येशूज्यू एकदमै भिन्न देखिनुहुन्थ्यो । त्यसैले येशूज्यू नै यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई मानिसहरू सजिलै विश्वास गर्दैनन् । तर यहोवा परमेश्वर र येशूज्यूसम्बन्धी बाइबलका अभिलेखहरूलाई तुलना गरिहेर्ने हो भने नयाँ करारका पुत्र येशूज्यू नै पुरानो करारका पिता यहोवा परमेश्वर हुनुहुन्छ भन्ने यथार्थतालाई निश्चित गर्न सकिन्छ ।
मुक्तिदाता हुनुभएका यहोवा र येशू
पुरानो करार बाइबलमा देखा पर्नुभएका मुक्तिदाता नै यहोवा परमेश्वर हुनुहुन्छ । पुरानो करार बाइबलमा यहोवाबाहेक अरू कोही मुक्तिदाता छैन भनेर लेखिएको छ ।
“म हुँ, म नै परमप्रभु हुँ । मबाहेक अरू कोही मुक्तिदाता छैन ।” यशै ४३:११
तर नयाँ करार बाइबलमा चाहिँ येशूज्यूबाहेक अरू कोही मुक्तिदाता छैन भनेर लेखिएको छ ।
“‘यो[येशू] त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ ।’ अरू कसैमा मुक्ति छैन …” प्रे ४:११
यदि यहोवा परमेश्वर र येशूज्यू फरक-फरक हुनुहुँदो हो त यी दुई वचनमध्ये एउटाचाहिँ गलत ठहरिनेथियो, र बाइबल विरोधाभासपूर्ण बन्न पुग्नेथियो । तर बाइबलका अभिलेखहरू सही छन् । किनभने येशूज्यू नै शरीर धारण गरी यो पृथ्वीमा आउनुभएका यहोवा परमेश्वर हुनुहुन्छ । यहोवा परमेश्वर र येशूज्यू एकै परमेश्वर हुनुभएकोले यहोवाबाहेक अरू कोही मुक्तिदाता छैन भन्ने वचन र येशूज्यूबाहेक अरू कोही मुक्तिदाता छैन भन्ने वचनको अर्थ एउटै हो ।
बालकको रूपमा जन्मनुहुने पिता परमेश्वर
पुरानो करार बाइबलमा पिता परमेश्वर बालकको रूपमा जन्मनुभएर दाऊदको सिंहासनमा बस्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । … दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । … यशै ९:६-७
योचाहिँ पिता यहोवा बालकको रूपमा जन्मनुभएर दाऊदको सिंहासन मा बस्नुहुनेछ भन्ने अर्थ हो । यो अगमवाणी पूरा गर्नुभएका व्यक्ति नै येशूज्यू हुनुहुन्छ भनेर नयाँ करार बाइबलमा गवाही दिइएको छ ।
“… तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । … परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन ।” लूक १:३०-३३
स्वर्गदूतले येशूज्यू मरियमको कोखबाट बालकको रूपमा जन्मनुहुनेछ र दाऊदको सिंहासनमा बस्नुहुनेछ भनेर बताए । यसकारण ७०० वर्षअघि लेखएको यशैया अध्याय ९को अगमवाणीअनुसार एक जना छोरो, एक जना बालकको रूपमा जन्मनुभएर दाऊदको सिंहासनमा बस्नुभएका पिता परमेश्वर अर्थात् यहोवा परमेश्वर नै येशूज्यू हुनुहुन्छ ।
शबाथका प्रभु हुनुभएका यहोवा नै येशू
छ दिनको सृष्टि कार्यपछि यहोवा परमेश्वरले सातौँ दिनमा विश्राम लिनुभयो र त्यो दिनलाई शबाथ-दिन तोक्नुभयो, अनि शबाथ-दिनलाई पवित्र मान्न आज्ञा गर्नुभयो (उत २:२-३; प्रस २०:८-११) । शबाथ-दिन मान्नेहरूलाई आशिष् दिनुहुने शबाथका प्रभु नै यहोवा परमेश्वर हुनुहुन्छ । त्यसैले पुरानो करार बाइबलमा ‘परमप्रभु(यहोवा)को शबाथ’ भनेर लेखिएको छ ।
“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा(यहोवाका) शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ ।” प्रस ३१:१३
तर नयाँ करार बाइबलमा चाहिँ येशूज्यू शबाथको प्रभु हुनुहुन्छ भनेर लेखिएको छ ।
“किनकि मानिसको पुत्र शबाथको प्रभु हो ।” मत्ती १२:८
यसकारण यहोवा परमेश्वर र येशूज्यू एकै परमेश्वर हुनुहुन्छ । येशू ख्रीष्ट नै स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ । तैपनि यहोवा परमेश्वर र येशूज्यू फरक-फरक हुनुहुन्छ भनेर जिद्दी गर्नुचाहिँ ‘यहोवाको शबाथ’ भन्ने वचन र ‘येशूज्यू शबाथको प्रभु हुनुहुन्छ’ भन्ने वचनमध्ये एउटालाई इन्कार गर्नु हो । फेरि भन्नुपर्दा, योचाहिँ हामीलाई बचाउन यो पृथ्वीमा शरीरमा आउनुभएका सृष्टिकर्तालाई इन्कार गर्नुसरह हो ।
अल्फा र ओमेगा हुनुभएका यहोवा नै येशू
प्रकाश अध्याय १मा, यहोवा परमेश्वरले आफूलाई अल्फा र ओमेगा भन्नुभएको छ ।
“अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ । प्रका १:८
नयाँ करार बाइबलमा ‘परमप्रभु परमेश्वर’ले यहोवा परमेश्वरलाई जनाउँछ । प्रकाश अध्याय ४मा, परमप्रभु सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो र हुनुहुन्छ र जो आउनुहुनेछ, उहाँ नै स्वर्गीय सिंहासनमा विराजमान हुनुहुने र चार जीवित प्राणीहरू र चौबीस जना धर्म-गुरुहरूबाट सदासर्वदा महिमा पाउनुहुने सृष्टिकर्ता यहोवा परमेश्वर हुनुहुन्छ भनिएको छ (प्रका ४:८-११) । प्रकाश १:८मा उल्लेखित परमप्रभु परमेश्वर नै यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई, पिता र पुत्र फरक-फरक हुनुहुन्छ भनेर जिद्दी गर्ने यहोवाका साक्षीहरूले समेत इन्कार गर्न सक्दैनन् । त्यसैले तिनीहरूले प्रकाशन गरेको न्यू वर्ल्ड अअनुवादमा पनि परमेश्वरलाई यहोवाको रूपमा अभिव्यक्त गरिएको छ ।
तसर्थ प्रकाश १:८को वचनले यहोवा परमेश्वर नै अल्फा र ओमेगा हुनुहुन्छ भन्ने अर्थ बुझाउँछ । यहाँ ‘अल्फा’चाहिँ ग्रीक वर्णमालाको २४ वटा वर्णमध्येको पहिलो वर्ण हो भने ‘ओमेगा’चाहिँ अन्तिम वर्ण हो । त्यसैले यहोवा परमेश्वर पहिलो र पछिल्लो, सुरु र अन्त्य हुनुहुन्छ भन्ने अर्थ हो । योचाहिँ पुरानो करारको समयदेखि नै जोड दिइँदैआएको कुरा हो (यशै ४४:६) । तर प्रकाश अध्याय २२मा पनि “म अल्फा र ओमेगा हुँ” भन्नुभएका अर्को व्यक्ति हुनुहुन्छ ।
“म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ ।” प्रका २२:१३
अहिलेसम्म अध्ययन गरेको वचनअनुसार यहाँ ‘म’ भन्नुभएका व्यक्ति यहोवा परमेश्वर हुनुहुन्थ्यो । तर यसपछिको वचनमा अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्यचाहिँ येशूज्यू हुनुहुन्छ भनेर लेखिएको छ ।
“म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ । … म येशूले … दाऊदका मूल र सन्तान, अनि बिहानको चहकिलो तारा म नै हुँ ।” प्रका २२:१३-१६
उही हातद्वारा लिखित प्रकाश अध्याय १मा यहोवा परमेश्वर अल्फा र ओमेगा हुनुहुन्छ भनिएको छ तर अध्याय २२मा चाहिँ येशूज्यू अल्फा र ओमेगा हुनुहुन्छ भनिएको छ । त्यसैले के यो नै यहोवा परमेश्वर र येशूज्यू एकै परमेश्वर हुनुहुन्छ भन्ने अर्थ होइन र ? यदि येशूज्यू पिता परमेश्वर नहुनुभई पुत्र मात्र हुनुभएको भए उहाँलाई कदापि अल्फा भनेर बोलाउन मिल्दैनथ्यो । किनभने पिता अल्फा अर्थात् पहिलो हुनुहुन्छ भने पिताद्वारा जन्मिएको पुत्र अनिवार्य रूपले उहाँभन्दा पछि हुनुपर्ने हुन्छ । तर बाइबलमा येशूज्यू अल्फा र ओमेगा हुनुहुन्छ भनेर स्पष्टसँग भनिएको छ । यो नै, येशूज्यू स्वयम् यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुराको स्पष्ट प्रमाण हो ।
येशूज्यू सामान्य सिकर्मीको छोराको रूपमा देखा पर्नुभएर, मानिसले जसरी जिउनुभए तापनि वास्तवमा उहाँ अल्फा र ओमेगा हुनुभएका पिता परमेश्वर हुनुहुन्छ । येशूज्यूले आफूलाई ‘पुत्र’ भन्नुभएको चाहिँ उहाँले पवित्र परमेश्वरको महिमालाई प्रकट नगरी आफ्ना सन्तान रहेका मानव-जातिले झैँ शरीर धारण गर्नुभएकोले गर्दा हो । तर बाइबलद्वारा येशूज्यूलाई सही तरिकाले चिनेको मानिसले उहाँ मूलभूत रूपमा परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्नेछ (फिलि २:५; रोम ९:५) ।
मुक्तिदाताको रूपमा यो पृथ्वीमा आउनुभएर पाप-क्षमाको व्यवस्था नयाँ करार स्थापना गरिदिनुभएका येशूज्यू । बालकको रूपमा जन्मनुभएर दाऊदको सिंहासनमा बस्नुभएका येशूज्यू । शबाथका प्रभु हुनुभएका अनि अल्फा र ओमेगा हुनुभएका येशूज्यू नै बाइबलले गवाही दिएको यहोवा परमेश्वर हुनुहुन्छ ।